• शुक्रबार, २१ बैशाख, २०८१
  • १९:१८:२०
  • नेपालीको अभिमत

जनप्रतिनिधि

‘आफू सक्षम भएमा अरूसँग गुनासो गर्नु पर्दैन’

नेपालमत

बुधबार, १८ फाल्गुण, २०७८

नेपालमतको अभियान ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल’ अन्तर्गत आजको कुराकानीमा संखुवासभाको पाँचखपन नगरपालिकाकी उपमेयर भीमादेवी राई हुनुहुन्छ । प्रस्तुत छ, नेपालमतकर्मी इन्द्रसरा खड्काले उपमेयर राईसँग गर्नुभएको कुराकानीको सम्पादित अंश:

उपमेयरज्यू, आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

कार्यकालको अन्तिम चरणमा पुगेका छौं । यस अवधिमा गरेका कामको समीक्षा गर्दैछौं ।

समग्रमा कस्तो रह्यो कार्यकाल ?

धेरै सिकाइ र थोरै अनुभव साट्दै बित्यो । संघीयतापछिको पहिलो स्थानीय तहको निर्वाचन भएकोले धेरै कुरामा अलमल भयो । विस्तारै सिक्दै गयौं । शुरूका एक/दुई वर्ष सिक्दैमा गयो । त्यसपछि लय समात्दै थियौं कोरोना कहरले सोचे अनुसार काम गर्न सकिएन । तैपनि; जे–जति गर्न सकियो राम्रै गरियो भन्ने लागेको छ । 

चुनावको वेला भोट माग्न जाँदा जनता समक्ष यो–यो काम गर्छु भनेर वाचा गर्नुभएको थियो होला नि ?

हाम्रो पालिकामा खानेपानी, विद्युत्, शिक्षा लगायतका विषयमा पूर्वाधारको आवश्यकता थियो । मैले पनि यिनै समस्यालाई समाधान गर्नेछु भनेको थिएँ । स्वास्थ्य सेवा सबैलाई सजिलै उपलब्ध हुने वातावरण बनाउँछु भनेको थिएँ । त्यस्तै; बेरोजगार युवाको लागि रोजगारको अवस्था सृजना र महिलाको हकहितको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएको थिएँ ।

पूरा भए त यी कुरा ?

छोटो समयमा सबै कुरा पूरा गर्न सकिंदो रहेनछ । तर, हामीले शुरूआत चाहिं गरेका छौं । विद्यालय नभएको ठाउँमा विद्यालय स्थापना, शिक्षक कम भएका विद्यालयमा शिक्षकको व्यवस्था गरेका छौं । विद्युत् लाइन विस्तारको काम गरेका छौं । जे होस्; हामीले प्रतिबद्धता जनाएकामध्ये ५० प्रतिशत काम पूरा गरेका छौं ।

पूरा हुन नसकेका काम के–के हुन् ?

पालिकाभित्रका सबै बाटो पक्की गर्छौं भनेका थियौं, त्यो सकेनौं । ‘एक घर, एक धारा’ भनेका थियौं, त्यो पनि शतप्रतिशत पूरा हुन सकेन । कम्प्युटर शिक्षा लागू गरी हरेक विद्यालयमा कम्प्युटर उपलब्ध गराउने प्रतिबद्धता पनि पूरा हुन सकेन, तर शुरूआत चाहिं गरिसकेका छौं ।

करिब पाँच वर्षको यो अवधिमा न्यायिक समितिमा लगभग दुई सय उजुरी आए । तीमध्ये लेनदेनका झगडा, श्रीमान्–श्रीमतीबीचका झगडा, सासू–बुहारीबीचका झगडा, बालविवाह, सीमा विवाद मुख्य थिए ।

तपाईं न्यायिक समितिको संयोजक पनि हो । कस्ता उजुरी बढी आए ?

करिब पाँच वर्षको यो अवधिमा न्यायिक समितिमा लगभग दुई सय उजुरी आए । तीमध्ये लेनदेनका झगडा, श्रीमान्–श्रीमतीबीचका झगडा, सासू–बुहारीबीचका झगडा, बालविवाह, सीमा विवाद मुख्य थिए ।

कत्तिको न्याय दिन सकियो भन्ने लाग्छ ?

हामीले गर्ने भनेको मेलमिलाप हो । कतिपयलाई मेलमिलाप गराउन सफल भयौं भने नसकेकोलाई प्रहरीकहाँ पठायौं ।

बालविवाहसम्बन्धी परेका उजुरी के गर्नुभयो ?

यस्ता मुद्दालाई प्रहरीकोमा पठाएर हामीले सहजीकरण गर्ने काम गर्‍यौं । तीमध्ये कतिपयलाई उमेर पुगेपछि बिहे गर्न शर्तमा अलग–अलग बस्न भनिएको छ भने कतिपयको मुद्दा चलिरहेको छ । यस्ता उजुरीमा हामीले गर्ने भनेको सहजीकरणको काम हो ।

बालविवाहको कारण के पाउनुभयो ?

हाम्रो समाजमा अहिले पनि पुरानो सोच कायमै छ– छोरी अलि हुर्कने बित्तिकै बिहे गरिदिनुपर्छ भन्ने मान्यताले केही हदसम्म काम गरेको छ भने अर्को कुरा; आजभोलिका किशोरकिशोरी फोनमा कुराकानी गर्ने, फेसबुक जस्ता सामाजिक सञ्जालमा कुराकानी गर्ने र पछि भागेर बिहे गर्ने क्रम बढ्दो छ । यो कुरा समस्याकै रूपमा विकसित हुँदै गएको छ । यसो हुनुमा कानूनी पाटोबारे ज्ञान नराख्नु पनि एउटा कारण हुनपुगेको छ । 

यस्ता कानूनका बारेमा जानकारी गराउने काम तपाईंहरूको हो नि ! जनचेतनामूलक कार्यक्रमहरू गर्नुभएन ?

गर्‍यौं नि । समाजमा रहेका यस्ता पुराना सोच, चलन हटाउन सचेतनामूलक कार्यक्रम गरेका छौं । बालविवाह न्यूनीकरणका लागि नगरस्तरीय बालसञ्जाल गठन गरी बालबालिकालाई चेतना दिने काम गरेका छौं । यस्तै नगरमा रहेका एकल महिला, सीप सिक्न खोज्ने महिलालाई तालिम दिएर आत्मनिर्भर बन्न सल्लाह दिएका छौं ।

महिलालाई हेर्ने दृष्टिकोण, गर्ने व्यवहार फरक रहेको महसूस त हुन्छ नै । तर, पनि आफू आफ्नो काम, कर्तव्य र अधिकारको बारेमा जानकार भई काम गर्न सक्यो भने कसैले विभेद गर्न खोज्दैमा आत्तिनु नपर्ने रहेछ ।

कार्य सम्पादनमा चुनौती पनि सामना गर्नुभयो होला ?

काम गर्दाको बखत समस्या त आइ नै रहन्छन् । तर, मैले यस्ता समस्या र चुनौतीलाई अवसर र सिकाइका रूपमा लिएको छु ।

कतिपय जनप्रतिनिधिले कर्मचारीबाट सहयोग नपाएको, उपमेयरले मेयरबाट विभेद खेप्नुपरेको भन्ने खालका समाचार आइरहेका छन् । तपाईंलाई पनि त्यस्तो केही समस्या भयो ?

हामी (महिला)लाई हेर्ने दृष्टिकोण, गर्ने व्यवहार फरक रहेको महसूस त हुन्छ नै । तर, पनि आफू आफ्नो काम, कर्तव्य र अधिकारको बारेमा जानकार भई काम गर्न सक्यो भने कसैले विभेद गर्न खोज्दैमा आत्तिनु नपर्ने रहेछ । मलाई मैले गर्ने कामको बारेमा थाहा छ, कार्यालय जान्छु आफ्नो काम गर्छु । यस्तो अवस्थामा कसैले ‘किन ?’ भन्ने हिम्मत राख्न सक्दैनन् । म के भन्छु भने, आफू सक्षम भएर जिम्मेवारी लिन सक्यो भने अरूसँग गुनासो गर्नु पर्दैन ।

आउँदो वैशाख ३० मा स्थानीय तहको चुनाव हुँदैछ । फेरि चुनावमा उठ्नुहुन्छ कि ? के छ योजना ?

मैले अहिले नै योजना बनाएको छैन । तर, काम गर्ने इच्छा चाहिं जति सिक्दै/बुझ्दै गयो उति नै हुँदो रहेछ । यद्यपि; मैले इच्छा गरेर मात्र हुँदैन । सर्वप्रथम त पार्टीले टिकट दिनुपर्‍यो अनि जनताले पनि माया गर्नुपर्‍यो । पार्टीले जे निर्णय गर्छ त्यसैमा सहमत हुन्छुु ।

अन्त्यमा; छुटेका कुरा केही छन् कि ?

धेरै कुरा त आइसके । जनप्रतिनिधि बन्न त्यति सजिलो रहेनछ । पहिलो कुरा त बन्न नै गाह्रो । दोस्रो; बनिसकेपछि पनि काम गर्न गाह्रो हुँदो रहेछ । राज्यले दिएको जिम्मेवारी सम्हाल्न ठूलै तागत चाहिने रहेछ ।

अन्त्यमा यति कुरा भन्न चाहें– हामीले शुरू गरेर पूरा गर्न नसकेका जति पनि काम छन्, ती कामलाई अब निर्वाचित भएर आउने जनप्रतिनिधिले अघि बढाउनुपर्छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved