ताजा

  • सोमबार, २ असार, २०८२
  • ०६:३८:३४
  • नेपालीको अभिमत

कारोबार

आइएमईको २५ वर्षे यात्रा, रेमिटेन्स क्षेत्रको पायोनियर

नेपालमत

शनिबार, ३२ जेठ, २०८२

काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले  लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गर्नु भएको छ। शुक्रवार ललितपुरमा आयोजित आइएमईको २५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधि विकास र उद्यम विस्तारमा राष्ट्र बैंक सहजीकरण गर्न तयार रहेको बताउनु भयो । 

द्वन्द्वले देश अप्ठ्यारो समयमा रहेको बेला समेत जोखिम मोलेर आइएमई स्थापना भएको स्मरण गर्दै गभर्नर पौडेलले देशलाई अहिले पनि जोखिम लिन सक्ने धेरै उद्यमीहरूको खाँचो रहेको उल्लेख गर्नु भयो।

सो अवसरमा आइएमईका संस्थापक अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमई ग्रुपको सफलतामा तीन वटा आधारहरू रहेको प्रस्ट्याउनु भयो । अध्यक्ष ढकालले आइएमई ग्रुपका कम्पनीहरुले नाफा मात्रै कमाउने कुरामा ध्यान नदिएर आम मानिसले खोजेको सेवा, सरकारले राखेको प्राथमिकता र व्यवसायको रूपमा अघि बढाउन सकिने तीन वटा मूल सिद्धान्तमा केन्द्रित बनेर सफलता हासिल गर्न सम्भव भएको बताउनु भयो । 

यिनै तीन वटा मुख्य व्यावसायिक सिद्धान्तमा टेकेर आइएमई ग्रुपले रेमिट्यान्सबाट बैंकिङ, बिमा, पर्यटन, सूचना प्रविधि, जलविद्युत् लगायतका क्षेत्रमा लगानी विस्तारमार्फत हजारौँ गुणस्तरीय रोजगारी सृजना गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरिरहेको पनि संस्थापक अध्यक्ष ढकालले उल्लेख गर्नु भयो।

सो अवसरमा आइएमईका सहसंस्थापक तथा अध्यक्ष हेमराज ढकालले उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आइएमईले आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नु भयो। अध्यक्ष ढकालले युवाहरूले सूचना प्रविधि क्षेत्रमा नेपालमै बसेर विदेशमा सेवा निर्यातबाट कमाएको रकम सहजै भित्र्याउन डिजिटल रेमिटेन्स पूर्वाधार विस्तारमा प्रोत्साहन गर्न राष्ट्र बैंकको सहयोगको अपेक्षा गरेको  पनि बताउनु भयो। 

यसै गरी विदेशमा काम गर्न जाने क्रममा युवाहरूले  महँगो ब्याज तिरेर ऋण लिन वाद्य हुनु परिरहेको अवस्थाको अन्त्य गर्न आइएमई मार्फत नै सानो कर्जा दिन सकिने व्यवस्था मिलाउन पनि अध्यक्ष ढकालले आग्रह गर्नु भयो।

त्यसै गरी आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको बताउनु भयो। प्रविधिमा भएको विकासलाई आत्मसात् गर्दै थप विविधिकृत सेवाहरूको माध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गर्नु भयो।

उक्त समारोहमा वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेताहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो। सो समारोहमा नेपाल सरकारका मन्त्रीहरू,राजनीतिज्ञहरू,उच्चपदस्थ कर्मचारीहरू, विभिन्न क्षेत्रका विज्ञहरू सहित आइएमई लिमिटेड तथा आइएमई ग्रुपमा आबद्ध कम्पनीहरूका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू लगायत कर्मचारीहरूको उपस्थिति थियो।

आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन  प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २५ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved