ताजा

  • शुक्रबार, ३१ जेठ, २०८२
  • ०३:५१:४३
  • नेपालीको अभिमत

अभिमत / विचार

गैरआवासीय नेपाली संघ : संरचना, विवाद र स्वायत्तता

रमेश कँडेल 

बिहीबार, २३ जेठ, २०८२

गैरआवासीय नेपाली संघ विश्वभर फैलिएका नेपालीहरूको साझा संस्था बन्ने उद्देश्यका साथ सन् २००३ मा स्थापित भएको हो । प्रवासी नेपालीहरुले गौरव गर्न लायक संस्थाको रुपमा यस्को पहिचान रहेको छ । अहिले पनि संसारका करिब ८० देशहरुमा यस संस्थाको आफ्नै संरचना र लाखौं प्रतिबद्ध पंजिकृत सदस्यहरु छन् । 

संघले आफ्नो स्थापनाकालदेखि नै विदेशमा नेपालीहरुले आर्जन गरेको पूँजी र सीपलाई मातृभूमी नेपालको सर्वाङ्गिण विकासमा समाहित होस भनेर शिक्षा, स्वास्थ्य, जलबिद्युत लगायतका क्षेत्रका लगानीलाई प्राथमिकता दिइरहेको छ ।  एक पटकको नेपाली, सँधैका लागि नेपाली भन्ने मूल भावका साथ विभिन्न अभियानहरुलाई निरन्तरता दिइरहेको इतिहास छ । 

त्यस्तै संघका विभिन्न देशहरुमा रहेका राष्ट्रिय समन्वय समितिहरुले पनि आफ्नो गच्छे अनुसार नेपाल र नेपालीहरुको सम्पदा, संस्कृति, स्थानीय उत्पादन लगायत पर्यटन प्रवर्धन लगायत क्षेत्रको विकास र प्रचारप्रसारका लागि तत् देशमा विभिन्न कार्यक्रमहरु गर्दै आई रहेका छन् । 

त्यतिमात्र हैन कतिपय देशहरुमा त संघ दुख, पीडा र सहाराविहिन प्रवासी नेपालीहरुको अभिभावकीय भूमिकामा समेत समर्पित छ । केहि समय पहिले यो संस्थाको सदस्य हुन’मा एक प्रकारको गौरबको अनुभूति हुन्थ्यो । संसारभरी छरिएर रहेका नेपालीहरुको धुरीखामोको रुपमा पनि यो संस्थालाई हेर्ने गरिन्थ्यो । तर पछिल्ला केहि बर्ष यता भने संघको कार्यप्रणाली, संघ भित्र देखिदै र मौलाउँदै गएको आन्तरिक दलगत राजनीति, र नेपाल सरकारसँगको सम्बन्धलाई लिएर गम्भीर प्रश्नहरू उठ्न थालेका छन् । 

- लेखक रमेश कँडेल - 

प्रवासमा रहेका आम नेपालीहरुको भरोषा र अभिभावकीय भूमिका निर्वाह गरिरहेको यस्तो गरिमामय संस्थाको अदातलमैं आधा दर्जन बढी मुद्दा छन् । तालुकदार परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री र मन्त्रीले समेत आफु अनुकुलको समुहलाई मान्यता दिलाउन न्वारनदेखिको बल लगाएको देखिन्छ । 

यतिमात्र हैन, पछिल्लो समयमा संघ भित्र परराष्ट्रको संलग्नता र हस्तक्षेपले संस्थाको स्वायत्तता, उद्देश्य र दूरदृष्टिमाथि नै प्रश्न खडा गरेको छ । यो हस्तक्षेपले प्रवासमा रहेका आम नेपालीको मन र मस्तिष्कमा स्वायत्त संघ भित्र पनि राजनीति भनेर जिब्रो टोक्ने अवस्था पैदा गरेको छ । 

यो अवस्था किन र कसरी आयो ? अव संघभित्र समीक्षा गर्ने बेला आई सकेको छ । संघ भित्र मौलाउँदै गएको दलीय संस्कृतिलाई कसरी निरुत्साहित गर्ने ? संघलाई स्वायत्त कसरी बनाउने ? लगायतका प्रश्नमा अवको नेतृत्वले पनि सोच्ने बेला देखिएको छ । 

संघ स्वायत्त छ र हुनुपर्दछ भन्ने मान्यता आम प्रवासी नेपालीहरुको देखिन्छ । यदाकदा सरकारले पनि संघको स्वायत्तता माथि धावा नबोल्ने र यसलाई प्रवासी नेपालीहरुकै साझा संस्थाका रुपमा स्थापित हुनु पर्दछ भन्ने भनाई सार्वजनिक गरिरहे पनि केवल भाषणमा मात्र सिमित भएको देखिन्छ । त्यस्तै विगत केहि समय यता संघलाई नेपालको परराष्ट्र मन्त्रालयको निर्देशन र निगरानीमा राख्ने कानूनी अवस्था सिर्जना गरेको पनि देखिन्छ । यस्तो कानुनले पक्कै पनि संघको निर्णयको अधिकारमाथि आघात पु¥याउने र संघलाई जुन दलको परराष्ट्र मन्त्री आयो उसैले डोर्याउने र गैरराजनैतिक संस्था भित्र दलीय भावना मौलाउँदै जाने आभाष अहिले हुन थालेको छ । 

त्यतिमात्र होइन, संघमा देखिएको विवाद, अदालतको फैसला, परराष्ट्रको निर्णयमा समेत संस्था दलगत राजनीतिमा फस्दै गएको अवस्था छ । चित्त नबुझे संवादका माध्यमबाट समस्याको समाधान गर्नुको साटो अदालत र परराष्ट्रको ढोेका ढक्ढ्क्याउन जाने प्रबृतिले संघका तमाम सदस्यहरुको भावनामा ठेस लागेको देखिन्छ ।  

पछिल्लो समय केन्द्रमा देखिएको राजनैतिक खिचातानीको प्रभाव विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरूमा देखिन थालेको छ । फलस्वरुप गुटबन्दी, पक्षपात र दलगत राजनीतिको प्रबेश प्रत्यक्ष रुपमा देखिएको छ । यहाँसम्मकी नयाँ कार्यसमिति चयन गर्दा समेत परराष्ट्रको 'निर्देशन' कुर्न र मान्न पर्ने देखिएको छ । यो दुर्भाग्य हो । 

तर, बास्तविकता के हो भने संघ भित्र केहि चरम राजनीतिजीविहरुको प्रवेश छ । यस्ता राजनीतिजीविहरुले नै संघलाई बदनाम गराउने र राजनीतिलाई प्रबेश गराउने काम गरिरहेका छन् । संघको स्वायत्तता भाषणमा मात्र हैन व्यहारमा समेत देखाउन आवश्यक छ । चुनाव लड्दा यो वा त्यो गुट भन्दै राजनीतिक गुट बनाइनुका कारण पनि संघ भित्र अहिले राजनीतिले प्रबेश पाएको यथार्थतालाई स्वीकार गर्नु पर्दछ । संघलाई कसरी स्वायत्त बनाएर प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुको एउटा मात्र साझा संस्थाका रुपमा विकसित गर्दै दोश्रो पुस्तालाई समेत जोड्दै जाने भन्ने बारे पनि सोच्न जरुरी देखिन्छ । 

कतिपय देशहरुमा संघको स्वायत्तता प्रदान गर्न तत्तत् देशको कानुनको अधिनमा रहेर दर्ता गर्ने गरिएको छ । यो स्वागत योग्य छ । गैरआवासीय नेपाली संघको अस्तित्व, उद्देश्य र आवश्यकता आज पनि उत्तिकै सान्दर्भिक छ । यसको संरचना, कानुनी स्थिति र कार्यशैलीमा व्यापक पुनरावलोकन आवश्यक देखिन्छ । 

यथार्थमा एउटा स्पष्ट उत्तर चाहिएको छ, गैरआवासीय नेपाली संघ वास्तवमै प्रवासी नेपालीहरूको साझा संस्था हो भने यसले केबल नाममा मात्र नभै संरचनामा पनि ‘अन्तर्राष्ट्रिय स्वरूप’ पाउन आवश्यक देखिन्छ । संघलाई स्वायत्त कसरी बनाउने आजको अह्म प्रश्न पनि यहि हो । 

(लेखक गैरआवासीय नेपाली संघ, बेल्जियमका पूर्व महासचिब हुनुहुन्छ)
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved