• शुक्रबार, २१ बैशाख, २०८१
  • १०:३१:२६
  • नेपालीको अभिमत

जनप्रतिनिधि

‘मेयरले मेरो काममाथि हस्तक्षेप गर्नुभयो’

नेपालमत

शुक्रबार, ६ फाल्गुण, २०७८

नेपालमतको अभियान ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल’ अन्तर्गत आजको कुराकानीमा जुम्लाको चन्दननाथ नगरपालिकाकी उपमेयर अप्सरादेवी न्यौपाने हुनुहुन्छ । प्रस्तुत छ, नेपालमतकर्मी इन्द्रसरा खड्काले मेयर न्यौपानेसँग गर्नुभएको कुराकानीको सम्पादित अंश:

उपमेयरज्यू; आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

पालिकाकाे नियमित काम गरिरहेकाे छु ।

पाँच वर्षे कार्यकाल कस्तो रह्यो ?

निर्वाचित भएर आएपछि चुनौतीपूर्ण घडीमा थियौं । संघीयता कार्यान्वयनको क्रममा थियो । कानून बनेका थिएनन् । कर्मचारी थिएनन् । निकै अन्योलको अवस्था थियो । पहिलो वर्ष व्यवस्थापनमै बित्यो । त्यसपछि काम हुन थाले पनि जनआकांक्षा अनुरूप काम हुन नसकेको हो कि भन्ने लाग्छ । यद्यपि; कामै नभएको भन्न खोेजेको चाहिं होइन ।

के–के काम गर्नुभयो त ?

जुम्ला विकट जिल्ला हो । हाम्रो पालिकामा सडक सञ्जाल पुगेको थिएन । स्वास्थ्यचौकी थिएनन् । खानेपानी, शिक्षाको समस्या उस्तै थियो । विद्युत् लाइन धेरै ठाउँमा थिएन । अहिले जस्तो सञ्चारको सुविधा थिएन, फोन गर्न डाँडा चढ्नुपर्थ्यो ।

अहिले पालिकाका १० वटै वडामा सडक पुर्‍याएका छौं । वडामै बर्थिङ सेन्टर स्थापना गरेका छौं । सञ्चारको विस्तार भएको छ । सरकारी विद्यालयमा विद्यार्थी नहुने समस्या थियो । हामीले शैक्षिक गुणस्तर वृद्धिका साथै भौतिक पूर्वाधारमा जोड दियौं, जसले गर्दा अहिले त्यो समस्या केही घटेको छ ।

चुनौतीको त कुरै नगर्नु, चुनौती नै चुनौतीमा यो कार्यकाल बित्यो । जनप्रतिनिधिहरूबीच मिल्ती नहुनु, आवश्यक कर्मचारी नहुनु, भएका पनि धेरै नबस्नु र बसेकाले पनि भनेको नसुन्नु के–के हो के–के !

पालिकाभित्र एक ठाउँमा ५८ किलोवाट र अर्को ठाउँमा एक सय आठ किलोवाट विद्युत् निकालेका छौं । यसको साथै केन्द्रीय प्रसारण लाइन पनि जोडिएको छ । विभिन्न कानून निर्माण गरेका छौं ।

चुनावका प्रतिबद्धता के थिए ?

पालिकालाई हराभरा बनाउँछु, विकास निर्माणका काम गर्छु भनेको थिएँ ।

भए त ? 

धेरै भएका छन् । कतिपय चाहेर पनि भएनन् ।

के के भएनन् चाहेका काम ?

१० वटै वडामा कालोपत्रे सडक पुर्‍याउने योजना आन्तरिक समस्याका कारण पूरा हुन सकेन । जनताको आवश्यकता एकातिर काम अर्कोतिर भयो ।

काम गर्दाका चुनौती के–के रहे ?

चुनौतीको त कुरै नगर्नु, चुनौती नै चुनौतीमा यो कार्यकाल बित्यो । जनप्रतिनिधिहरूबीच मिल्ती नहुनु, आवश्यक कर्मचारी नहुनु, भएका पनि धेरै नबस्नु र बसेकाले पनि भनेको नसुन्नु के–के हो के–के !

भनेपछि; जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध राम्रो भएन ?

त्यस्तै भन्नुपर्‍यो । कर्मचारी मात्र होइन, जनप्रतिनिधिबीच पनि कुरा मिलेन । यहाँ उपसचिव नबस्नुको कारण पनि यही हो । जनप्रतिनिधिबीच नै द्वन्द्व भएपछि कर्मचारीले नटेर्ने भइहाले । नगरसभाविना बजेट अगाडि बढाउने, अनुगमन नगरी योजना सम्झौता भइहाल्ने, भुक्तानी भइहाल्ने आदि कारणले जनप्रतिनिधिबीच द्वन्द्व बढ्दै गयो ।

मेयर र उपमेयरमा दुवै महिला हुनुहुन्छ, महिलाको क्षेत्रमा के–के गर्नुभयो ?

महिला सशक्तीकरणको सवालमा; दश वटै वडामा फरक–फरक कार्यक्रम गरेका छौं । कुनैमा ढाका बुनाइ, कुनैमा स्याउको जाम, जेरी बनाउने तालिम, दुधको डेरी स्थापना गर्ने, सिलाइकटाइ, राडी–काम्ला बुन्ने लगायतका विभिन्न सीपमूलक तालिम दिएका छौं । यस्तै; किशोरकिशोरीका लागि पनि सचेतनामूलक कार्यक्रम गरेका छौं ।

यस्ता कार्यक्रमले कत्तिको फाइदा पुगे जस्तो लाग्यो ?

यसको परिणाम तत्क्षण देखिंदैन । पक्कै पनि यस्ता कार्यक्रमले फाइदै पुर्‍याउँछन् ।

तपाईंको पालिकामा छाउपडीको कुप्रथा कस्तो छ ?

अहिले पनि छ तर पहिलेभन्दा घट्दै गएको छ । पहिले बाहिर बस्नेहरू अहिले घरभित्र बस्ने सम्म भएका छन् । तर, खाना पकाउने, घरको अरू काम गर्ने गरेको चाहिं देखिंदैन । 

तपाईं के गर्नुहुन्छ ?

पहिले ५/६ वर्षसम्म कसैलाई नभनी घरमै बसें । घरमा बुढी सासू हुनुहुन्छ । महिनावारी किन रोकियो भन्ने कुरा चल्यो । अनि; सासूले घरमै बस्दा राम्रो नहुने भनेपछि फेरि अहिले तीन दिनसम्म आफ्नै कोठामा मात्र बस्छु । खाना पकाउने लगायतका काम गर्दिनँ ।

बालविवाहको अवस्था कस्तो छ ?

उमेर नपुग्दै बिहे गरेमा जन्मदर्ता, बिहे दर्ता रोक्ने भनेपछि कमी आएको छ । किशोरकिशोरीलाई चेतनामूलक कार्यक्रममा सहभागी गराएका छौं । यसले पनि बालविवाह रोक्न मद्दत नै गरेको होला भन्ने ठानेका छौं ।

उमेर नपुग्दै बिहे गरेमा जन्मदर्ता, बिहे दर्ता रोक्ने भनेपछि बालविवाहमा कमी आएको छ । किशोरकिशोरीलाई चेतनामूलक कार्यक्रममा सहभागी गराएका छौं । यसले पनि बालविवाह रोक्न मद्दत नै गरेको होला भन्ने ठानेका छौं ।

मेयर र उपमेयरको सम्बन्ध कस्तो छ ?

मलाई त निकै गाह्रो भयो । मेयरले मेरो काममाथि हस्तक्षेप गर्नुभयो । कानून अनुसार न्यायिक समितिको संयोजक उपमेयर हो । योजना तर्जुमा तथा अनुगमनको संयोजक उपमेयर हो । तर, मेयरज्यू सबै काम आफैं गर्नुहुन्छ । उहाँले यसो गर्दा मेरो अधिकार खोसियो । वर्षौंपछि महिलाले पाएको अधिकारले हामी मेयर र उपमेयर भएका छौं, तर उहाँले यो कुरा बुझ्नुभएन ।

भनेपछि; तपाईं अन्यायमा पर्नुभयो ?

हो, ममाथि अन्याय भएको छ । मैले अनुगमन नगरेरै गएको वर्षका योजनाहरू अघि बढे । अर्को कुरा; नगरसभामा बजेट उपमेयरले लानुपर्ने हो । एनजीओ/आईएनजीओसँग समन्वय गर्ने अधिकार पनि उपमेयरकै हो । तर, कुनै प्रक्रिया पूरा नगराई मेयरको मनोमानीमा गर्ने गरिएको छ । मेयर र उपमेयर कहिल्यै सँगै बैठकमा बसेका छैनौं । कतिपय बैठकमा मलाई जानकारी नै गराइँदैन ।

तपाईंको कुरा अनुसार; पाँच वर्षे कार्यकाल द्वन्द्वमै सकियो ?

एकदमै । नगरसभा बेगर बजेट पारित हुँदा पनि महालेखा परीक्षण कार्यालयले चुपचाप अडिट गर्‍यो । किन यस्तो भयो भनेर सम्म सोधेन । जमिनभित्र तार बिच्छ्याउने भनेर १०/१५ लाख खर्च गरियो । यस्ता यावत् काममा अनियमितता भएका छन् । पत्रकारहरूलाई प्रमाण सहित पेश गर्दा पनि साथ दिनुभएन । नेपालमा यस्तो बेथिति रहेछ उपाध्यक्ष भएपछि थाहा पाएँ । कानून त सानालाई मात्र लाग्ने रहेछ !

कतै उजुरबाजुर गर्नुभएन त ?

म अल्पमतमा छु । पत्रकार सम्मेलन गरें, समस्या बताएँ तर सुनवाइ भएन ।

यो कार्यकाल द्वन्द्वमै बितेछ । अबको योजना के छ ?

अब म मेयरको दाबेदार हो । यदि भएन भने सांसदको लागि प्रयास गर्छु ।

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, ६ फाल्गुण, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved