• शुक्रबार, १४ बैशाख, २०८१
  • १२:२५:४३
  • नेपालीको अभिमत

जनप्रतिनिधि

मुखले बोले जस्तो काम गर्न सजिलो रहेनछ : उपमेयर बस्नेत

नेपालमत

शुक्रबार, २३ पौष, २०७८

नेपालमतको अभियान ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल’ अन्तर्गत आजको कुराकानीमा भक्तपुरकाे सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेत हुनुहुन्छ । प्रस्तुत छ, नेपालमतकर्मी इन्द्रसरा खड्काले उपमेयर बस्नेतसँग गर्नुभएको कुराकानीको सम्पादित अंश:

आजभोलि केमा व्यस्त हुनुहुन्छ उपमेयरज्यू ?

हिजो चुनाव प्रचारका क्रममा हामीले जित्यौं भने यो यो काम गर्छौं भनेर जनतामाझ वाचा गरेका थियौं । अहिले हाम्रो कार्यावधि सकिनै लाग्दा वाचा गरिएका के के काम भए ? के के बाँकी छन् ? नभएका काम कहाँ रोकिए ? आदि विषयको छलफलमा केन्द्रित छौं ।

भनेपछि, पाँच वर्षे कार्यकालको समीक्षा हुँदैछ ?

हो ।

मुलुक संघीयतामा गएपछिको पहिलो स्थानीय सरकारको प्रतिनिधि बन्नुभयो । कस्तो रह्यो त अनुभव ?

हामी जनप्रतिनिधिको रूपमा पालिकामा प्रवेश गर्दा न कानून थियो न कर्मचारी थिए । सबै अस्तव्यस्त थियो । हामी आएपछि पालिकाभित्रका संरचना; विद्यालय, स्वास्थ्य, सडक लगायत सबै वस्तुस्थितिबारे अध्ययन गर्‍यौं । तथ्यांक संकलन गर्‍यौं । अनि के कसरी काम अगाडि बढाउने भनेर छलफल गरी योजना बनायौं र सोही अनुसार काम गर्‍यौं ।

अहिले हामीसँग ५५ वटा कानून बनेका छन् । सामुदायिक विद्यालय पहिले ३९ वटा थिए, अहिले ५ वटालाई अन्यमा गाभेर ३४ वटामा झारेका छौं ।

चुनावको वेला मैले शहरी क्षेत्रका वडामा समस्याको रूपमा रहेको ढलको सहज व्यवस्थापन गर्ने, बाटो बनाउने, पानी घर–घरमा पुर्‍याउने प्रतिबद्धता जनाएको थिएँ । महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र आत्मनिर्भरताका लागि काम गर्ने घोषणा गरेको थिएँ । यसमा धेरै काम भइसकेको छ ।

२०७२ सालको भूकम्पले विद्यालयका भवन भत्किएका थिए, ती भवन निर्माण गरिसकेका छौं । ६ मिटरदेखि १४ मिटरसम्मका ठूला बाटा विस्तार गरेका छौं । झण्डै ८० प्रतिशत बाटो कालोपत्रे गरेका छौं । हाम्रो नगरपालिका नयाँ भएको हुनाले पूर्वाधार विकासलाई पहिलो प्राथमितामा राखेर काम गरिरहेका छौं ।

तपाईंले नागरिकमाझ गर्नुभएका प्रतिबद्धता पूरा भए त ?

चुनावको वेला जनतामाझ धेरै प्रतिबद्धता गरेका थियौं । जस्तै; मैले शहरी क्षेत्रका वडामा समस्याको रूपमा रहेको ढलको सहज व्यवस्थापन गर्ने, बाटो बनाउने, पानी घर–घरमा पुर्‍याउने प्रतिबद्धता जनाएको थिएँ । महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र आत्मनिर्भरताका लागि काम गर्ने घोषणा गरेको थिएँ । यसमा धेरै काम भइसकेको छ ।

काम गर्ने तीव्र इच्छा हुँदाहुँदै सम्पन्न हुन नसकेका योजना पनि छन् कि ?

छन् नि । एकै पटकमा सबै काम त कहाँ गर्न सकिंदो रहेछ र ! हामीबाट जनताको धेरै आकांक्षा छन् । कति जना तपाईंहरूले दिएको बजेट पुगेन, काम अधुरो भयो, तपाईंहरूकै पालामा पूरा गर्न पाए हुन्थ्यो भन्दै आउनुहुन्छ । छुटेका योजनालाई कसरी अघि बढाउने भन्नेबारे सबै जनप्रतिनिधिबीच छलफल चलिरहेको छ ।

तपाईं त न्यायिक समितिको प्रमुख पनि हो । समितिमा कस्ता उजुरी आउँछन् ?

धेरै उजुरी जग्गाको साँध सिमाना मिचिएको भनेर आउँछन् । अनि कहिलेकाहीं घरायसी झगडा, सम्बन्ध विच्छेदका उजुरी पनि आउँछन् । यसका लागि हामीले वडा–वडामा मेलमिलाप केन्द्र गठन गरेका छौं । त्यसैले धेरै झगडा वडामै मेलमिलाप हुन्छन् । त्यहाँ नमिलेका मुद्दाहरू मात्र हामी कहाँ आउँछन् । हामी दुवै पक्षलाई बोलाएर छलफल गर्छौं मिलाउन सक्ने मिलाउँछौं । हामीबाट पार नलाग्ने मुद्दालाई प्रहरी, अदालतमा पठाउँछौं ।

अहिले देशभरि महिला हिंसाको घटना बढेको भन्ने कुरा आइरहेका छन् । तपाईंको पालिकामा के छ अवस्था ?

महिला हिंसासँग सम्बन्धित मुद्दा यो वर्ष पाँच वटा मात्र आए । वडा वडामा पनि मेलमिलाप समूह छन् त्यहीं जानुहुन्छ होला वा त्यहाँ नभए प्रहरी कहाँ जानुहुन्छ होला । तसर्थ हामी कहाँ यस्ता मुद्दा धेरै आएका छैनन् ।

हामीले आफ्ना आमाबुवाको राम्रोसँग पालनपोषण नगर्ने, रेखदेख नगर्नेहरूलाई कारबाही गर्ने कानून नै बनाएका छौं ।

एकै पटकमा सबै काम त कहाँ गर्न सकिंदो रहेछ र ! हामीबाट जनताको धेरै आकांक्षा छन् । कति जना तपाईंहरूले दिएको बजेट पुगेन, काम अधुरो भयो, तपाईंहरूकै पालामा पूरा गर्न पाए हुन्थ्यो भन्दै आउनुहुन्छ । छुटेका योजनालाई कसरी अघि बढाउने भन्नेबारे सबै जनप्रतिनिधिबीच छलफल चलिरहेको छ ।

एकल महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि कार्यक्रमहरू बनाएका छौं । भोलि जुन पार्टीका प्रतिनिधि आए पनि हामीले बनाएको बाटो हिंडून् भन्ने हाम्रो चाहना हो ।

महिलाहरू आर्थिक रूपमा परनिर्भर भएर नै हिंसा सहनुपरेको हो भन्ने कुराहरू आउँछन् । तपाईंले महिलाहरूलाई आत्मनिर्भर बनाउन के–के काम गर्नुभयो ?

सूर्यविनायक नगरपालिका ग्रामीण र शहरी क्षेत्रमा पर्छ । हामीले ग्रामीण क्षेत्रका एकल, विपन्न महिलाहरूका लागि बाख्रा, भैंसी पालनको लागि सहयोग गरेका छौं । भक्तपुरमा फूल खेती राम्रो हुन्छ, यसका लागि फूलको बिउ वितरण गर्‍यौं । शहरी भेगका महिलालाई कौसी खेतीको तालिम, फोहोरलाई घरमै मल बनाउन सकिने तालिम, कम्प्युटर तालिम, ड्राइभिङ, सिलाइ लगायतको सीप सिकाएका छौं । कतिपय दिदीबहिनीहरू यो सीप सिकेर आत्मनिर्भर बन्नुभएको पनि छ ।

यो अवधिमा कर्मचारी, मेयरबाट कत्तिको सहयोग पाउनुभयो ?

उपमेयरको काम, कर्तव्य र अधिकार कानूनले स्पष्ट तोकेको छ । सोही अनुसार मैले काम गरेको छु । आफ्नो अधिकारभित्र रहेर काम गर्दा सबैको साथ पाएँ ।

कतिपय पालिकाका उपप्रमुखले मलाई प्रमुखले काम नै गर्न दिनुभएन भनेर गुनासो गर्नुभएको छ । भनेपछि, तपाईंलाई चाहिं यो समस्या रहेन ?

मेयर पनि एउटै पार्टीको भएकोले पनि हो कि मलाई चाहिं त्यस्तो असहज भएन । यद्यपि; मेयरसँग आर्थिक अधिकार हुन्छ हामीसँग हुँदैन । कहिलेकाहीं यो कुराले चाहिं घोच्यो । अन्य विषयमा भने हामीले मिलेर, सहकार्य गरेर नै काम गरेका छौं ।

सूर्यविनायक नगरपालिका ग्रामीण र शहरी क्षेत्रमा पर्छ । हामीले ग्रामीण क्षेत्रका एकल, विपन्न महिलाहरूका लागि बाख्रा, भैंसी पालनको लागि सहयोग गरेका छौं । शहरी भेगका महिलालाई कौसी खेतीको तालिम, फोहोरलाई घरमै मल बनाउन सकिने तालिम, कम्प्युटर तालिम, ड्राइभिङ, सिलाइ लगायतको सीप सिकाएका छौं ।

कार्यकाल सकिंदैछ । शुरूका दिनलाई याद गर्नुपर्दा कसरी सम्झनुहुन्छ ?

चुनाव जितेर आउँदा र अहिले धेरै फरक छ । पहिले लथालिङ्ग थियो । हामी आएपछि ६ वटा समिति बनाएर तिनीहरूलाई विभिन्न शाखाको जिम्मा दिनुका साथै कर्मचारीको व्यवस्थापन गरी जनताको काम सहजतापूर्वक सम्पन्न हुने व्यवस्था मिलाएका छौं । यही कारण जनप्रतिनिधिको आवश्यकता पर्दो रहेछ । यत्रो २० वर्ष जनताले दुःख पाए भन्ने जस्तो लाग्छ । 

अबको योजना के छ ?

अब अर्को चुनाव हुँदैछ । हामीले गरेको काम पार्टीले पनि मूल्यांकन गरेको होला । अबको निर्वाचनमा के गर्ने भन्ने कुरा पार्टीको हातमा हुन्छ । फेरि पनि तपाईंहरू नै दोहोरिनुस् भनेमा त्यसै गरौंला, होइन तपाईंलाई मेयरको टिकट दिन्छौं भनेमा त्यो पनि स्वीकार्य छ । अनुभव भइसकेको छ । धेरै कुरा थाहा पनि भइसकेको छ । तर, यो सबै पार्टी र जनताको हातमा छ ।

अन्त्यमा; भन्न छुटेको कुरा केही छ ?

सबै कुरा आइसक्यो । हामीले विकास निर्माणदेखि लिएर धेरै काम गर्ने प्रयास गरेका छौं । यद्यपि; मुखले भने जस्तो काम गर्न चाहिं गाह्रै हुँदो रहेछ ।

कोरोनाको कारण एक वर्ष बढी समय काम गर्न पाएनौं, अहिले पनि जोखिम कायमै छ । सबै जना सजग रही, स्वास्थ्य मापदण्ड अपनाएर काम गरौं भन्न चाहन्छु ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved