• शनिबार, १५ बैशाख, २०८१
  • ०८:११:४२
  • नेपालीको अभिमत

जनप्रतिनिधि

‘उपमेयरलाई अधिकार नै दिइएको छैन’

नेपालमत

सोमबार, ५ पौष, २०७८

नेपालमतको अभियान ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल’ अन्तर्गत आजको कुराकानीमा वीरगञ्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीसँगको भलाकुसारी लिएर आएका छौं । उमेरले नौ दशक पार गरिसक्नुभएकी कार्की राजनीतिमा अझै पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । प्रस्तुत छ, नेपालमतकर्मी इन्द्रसरा खड्काले उपमेयर कार्कीसँग गर्नुभएको कुराकानीको सम्पादित अंश:

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

पार्टीको महाधिवेशन थियो । त्यसमा प्रतिनिधि भएर काठमाडौं गएकी थिएँ, भर्खर फर्किएँ । अब बाँकी रहेका काम अघि बढाउने योजनामा छु ।

मुलुक संघीयतामा गएपछिको पहिलो कार्यकाल । कस्तो रह्यो त यहाँको अनुभव ?

म १५ वर्षकै उमेरदेखि राजनीतिमा लागेकी हुँ । बीपीको हातबाट सदस्यता लिएर राजनीतिको बाटो समातेको हो । धेरै वर्ष जेल बसें, आन्दोलनमा घाइते भएँ । राजनीतिमा विभिन्न उतारचढावका बीच यो उमेरमा आएर जनप्रतिनिधि भएर काम गर्न पाउँदा निकै खुशी लागेको छ । पहिलो पटक जनप्रतिनिधिको रूपमा काम गरेको र प्रणाली पनि स्थापित हुँदै गरेकोले धेरै कुराहरू अन्योल जस्तै भयो । अर्को कुरा; उपमेयरलाई त्यति धेरै अधिकार पनि नहुने ! कुनै पनि काममा माथिबाटै मेयरको नाममा तोक लगाएरै आउँछ कि कुन्नि, सबै काममा मेयरकै नाममा जाँदो रहेछ ।

उपमेयरको लागि पनि स्पष्ट नीति नै बनेको छ त ! के–के गर्न पाउने भनेर अध्ययन गर्नुभएको छैन र ?

उपमेयर/उपाध्यक्षलाई कुर्सी त दिइयो तर अधिकार दिइएको छैन । उपमेयर तथा उपाध्यक्षको अधिकारमा नगरपालिका तथा प्रमुखले तोके बमोजिमको कार्य गर्ने भन्ने लेखिएको छ । यस्तो लेखिनु नै गलत हो किनकि प्रमुखले अधिकार नै नदिने अभ्यास बढेको छ । जति पनि काम हुन्छन् प्रमुख आफैं मात्र गर्नुहुन्छ । यो समस्याले धेरै उपाध्यक्ष/उपमेयरहरू हैरान छन् । यस सम्बन्धमा मैले धेरै उपाध्यक्ष/उपमेयरको गुनासो सुनेकी छु । त्यसैले मैले कांग्रेस महाधिवेशनमा पार्टीका नेताहरूलाई यो कुरा सुनाएकी छु ।

पहिलो पटक जनप्रतिनिधिको रूपमा काम गरेको र प्रणाली पनि स्थापित हुँदै गरेकोले धेरै कुराहरू अन्योल जस्तै भयो । अर्को कुरा; उपमेयरलाई त्यति धेरै अधिकार पनि नहुने ! कुनै पनि काममा माथिबाटै मेयरको नाममा तोक लगाएरै आउँछ कि कुन्नि, सबै काममा मेयरकै नाममा जाँदो रहेछ ।

यहाँको उमेर पनि ९१ वर्ष पुगिसकेछ । तपाईंको मेयर, कर्मचारीलाई ‘बुढी उपमेयरलाई के सोधिरहनु !’ भन्ने पो लाग्छ होला कि ?

कसले भन्यो म बुढी भएँ ? उमेरले बुढो भएर हुन्छ ? शारीरिक एवं मानसिक रूपमा अझै स्वस्थ छु । मेयरले गर्नसक्ने जति काम म पनि गर्नसक्छु । बुढी भएँ भनेर बस्ने वेला आएको छैन । मैले अहिले उपप्रमुखको अधिकारका लागि नबोल्ने हो भने भोलि आउने साथीहरूलाई झन् अप्ठेरो हुन्छ । त्यसैले मैले पालिकादेखि प्रदेश र केन्द्रमा पनि यही कुरा उठाउँदै आएकी छु । पत्रकारहरूसँग कुराकानी गर्दा पनि यही कुरा राख्ने गरेकी छु ।

तपाईंले मेयरबाट केही त्यस्तो विभेद खेप्नुपर्‍‍यो ?

उपमेयरलाई कुनै अधिकार नै छैन । यसलाई विभेद भयो भन्ने कि के भन्ने ? मलाई अधिकार नदिइए तापनि नागरिकलाई भेटेर समस्या के छ भनी सोध्दै खोज्दै काम गरिरहेकी छु ।

चुनावताका; मलाई भोट दिनुहोस्, मैले जितेमा यो–यो काम गर्छु भन्ने बाचा गर्नुभएको थियो होला ? ती बाचा के–के पूरा भए त ?

मैले कुनै आश्वासन नै दिएको थिइनँ । किनकि चुनाव आउनु केही दिनअघि मात्र उपमेयरको टिकट हात परेको हो । त्यो वेला चुनावी घोषणापत्र बनाउने समय पनि थिएन । र, चुनाव प्रचारको लागि जति समय थियो त्यतिमा पनि  गर्न नसक्ने कुनै कुरा गरिनँ । मैले गरेको कामको कुरा गर्नुपर्दा; महिलाका हक–अधिकारका लागि लडिरहेको छु ।

पालिकाका नागरिकको लागि के–के काम गर्नुभयो ?

कृषि, शिक्षा, स्वास्थ्य, सडक सबैको ठेक्कापट्टा मेयरको हातमा हुन्छ । मैले के गर्न सक्छु र ! तर पनि म जनतासँगसँगै हिंडेको छु । केही समस्या पर्‍यो भने त्यहीं गएर छलफल गर्छु । अन्यायमा परेकाहरूसँग पालिकामै बोलाएर छलफल गर्छु ।

महिलाका क्षेत्रमा के–के काम गर्नुभयो त ? 

तराईका महिला अझै घुम्टोभित्र छन् । आफूमाथि हिंसा भयो भने पनि खुलेर बाहिर आउँदैनन् । घरमै सहेर बस्छन् । आफूले थाहा पाएर छलफलका लागि बोलाउँदा पनि बोल्न डराउँछन् ।

अहिले राजनीतिमा महिला सहभागिताको कुरा उठिरहेको छ । स्थानीय तहमा हेर्ने हो भने सहभागिता पनि छ । तर, महिलालाई ‘उप’मा मात्र सीमित राखियो । यसका लागि जिल्लाका यति पालिकामध्ये यतिमा अनिवार्य रूपमा महिलालाई अध्यक्ष/मेयरको उम्मेदवार बनाउनुपर्छ भनेर तोकिनुपर्छ ।

तराईमा महिलाको अवस्था निकै दुःखदायी छ । सानै उमेरमा बिहे हुन्छ । दाइजोको समस्या उस्तै छ । हुनतः तराई, पहाड सबैतिरका महिलाको समस्या हो यो तर पनि तराईमा अझै बढी हुन्छ । यसका लागि हामीले गरीब, एकल महिलाहरूका लागि सीप सिकाइ लगायतका आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरिरहेका छौ ।

तपाईं न्यायिक समितिको संयोजक पनि हो । महिलाका कस्ता–कस्ता उजुरी आउँछन् ?

घरायसी विवाद, सिमानाको झगडा जस्ता घटना धेरै आउँछन् । घरेलु हिंसाका घटना पनि फाट्टफुट्ट आउँछन् । तर मैले अघि पनि भनें, यहाँका महिला जतिसुकै अन्याय भए पनि बाहिर आउँदैनन् । घरमै हिंसा सहेर बस्ने गर्छन् ।

अब त कार्यकाल पनि सकिंदैछ, आउने चुनावको योजना के छ ?

अहिले राजनीतिमा महिला सहभागिताको कुरा उठिरहेको छ । स्थानीय तहमा हेर्ने हो भने सहभागिता पनि छ । तर, महिलालाई ‘उप’मा मात्र सीमित राखियो । यसका लागि जिल्लाका यति पालिकामध्ये यतिमा अनिवार्य रूपमा महिलालाई अध्यक्ष/मेयरको उम्मेदवार बनाउनुपर्छ भनेर तोकिनुपर्छ । अन्यथा; महिलाले अधिकार पाएर पनि काम गर्न सक्नेवाला छैनन् ।

अब कुरा गरौं मेरो योजनाबारे । म ९१ वर्ष पुगें । अझै पनि मलाई मर्नुभन्दा अघि केही गर्नुपर्छ भन्ने लागेको छ । यदि पार्टीले टिकट दियो भने मेयरमै लड्छु । होइन भने फेरि उपमेयरमै भए पनि लड्ने योजना छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved