• सोमबार, १ कार्तिक, २०७८
  • ०१:१४:२४

टिकटकमा ७८ वर्षीया ‘भाइरल आमा’

७८ वर्षीया कृष्णकुमारी तिवारी

गोरखा - ७८ वर्षीया कृष्णकुमारी तिवारीको परिचय अहिले बदलिएको छ।

गोरखा नगरपालिका–३ नारेश्वर घलाङकी उनलाई अहिले सबैले ‘भाइरल आमा’ भनेर चिन्न थालेका छन्। उनको यो परिचय पछिल्ला दिनमा सामाजिक सञ्जाल टिकटकका कारण फेरिएको हो। तिवारीको आफ्नो नाच्ने चाहनालाई टिकटकले झनै हौस्याइदिएको छ।

छिमेकी नातिनी १९ वर्षीया सुनिता बानियाँले उनी नाचेको टिकटक सामाजिक सञ्जालमा पोस्ट गरिदिइन्। त्यही टिकटकले ७८ वर्षीया तिवारीमा खुसी थपिदियो। ‘आमा ! तपाइँकाे नाच त भाइरल भएको छ भन्छन्, धेरै ठाउँबाट फोन पनि आउँछ, गाउँघरमा पनि भेट्ने नानीबाबुले त्यसै भन्छन्,’ उनले भनिन्। तिवारी आफू सामाजिक सञ्जाल चलाउन जान्दिनन्। तर पनि उनलाई आफू सञ्जालमा भाइरल भएको, धेरैले नाच मन पराइदिएको भन्ने सुन्दा खुसी लागेको बताउँछिन्।

‘पहिलोपटक गोठालो गएका बेला नाचेको भिडियो नातिनीले खिचेर हालिदिइछ,’ उनले भनिन् ‘अहिले पनि बेलाबेला आमा नाच्नू न भन्छे, म नाचिदिन्छु।’ ‘सारंगी र्‍याइँर्‍याइँ, भयो जीवन तिरिमिरी झ्याइँ’ भन्ने गीतमा नाचेको टिकटक उनको सबैभन्दा धेरैले हेरेका छन् भने प्रतिक्रिया पनि धेरै आएका छन्।

नातिनीको अनुरोधमा त्यसपछि पनि उनले धेरै गीतमा नाचेकी छन्। तिनै नाचमा टिकटक बनेका छन्। सामाजिक सञ्जालका अन्य मञ्चभन्दा टिकटक सबैभन्दा कान्छो हो। मोबाइल एपमा टिकटक सन् २०२० मा मात्र आएको हो। यसअघि सन् २००५ मा माइस्पेस सन् २००८ मा फेसबुक र सन् २०१४ देखि सुरु भएको इन्स्ट्राग्रामजस्ता सामाजिक सञ्जाल लोकप्रियताको शिखरमा छन्।

टिकटकमा साना भिडियोहरू सेयर गर्ने गरिन्छ। ३० सेकेन्डदेखि तीन मिनेटसम्मका यस्ता भिडियो सबै पिँढीका लागि लोकप्रिय हुने गरेका छन्। विश्वमा सबैभन्दा बढी डाउनलोड गरिने एपमा टिकटक अग्रपंक्तिमा आउँछ। त्यही सामाजिक सञ्जाल टिकटकमा लोकप्रिय बनेकी तिवारीलाई अहिले त मेलापात जाँदा, पूजाआजा हुँदा, मठमन्दिरमा जाँदा आमा नाच्नू न भन्नेहरू धेरै हुन्छन्। 

‘मेरो नाच मन पराएर भनेको होला जस्तो लाग्छ, म नाच्छु,’ तिवारीले भनिन्, ‘जस्तो बाजा बज्छ, त्यस्तै नाच्ने हो।’ उनलाई मठमन्दिर र पूजाआजामा नाच्न औधी रुचि लाग्छ। भजनमा पनि नाच्छिन्। ‘मलाई नखाए पनि हुन्छ तर मठमन्दिरमा ननाची बस्नै सक्दिनँ,’ उनले भनिन्।गाउँमा पूजाआजा, भजनकीर्तन हुँदा सकेसम्म नाच्न नछुटाउने उनी बताउँछिन्। ‘सानो छँदा बाबुआमाको डर हुन्थ्यो, खुलेर नाच्न पाइँदैनथ्यो, कस्तो उत्ताउली हो भन्थे, त्यसैले नाचिनँ,’ उनले भनिन्, ‘अहिले डर हरायो, यसरी नै नाचेरै मर्न पाए हुन्थ्यो जस्तो लाग्छ।’ काम गर्न नसके पनि नाच्न सधैं सक्छु होला जस्तो उनलाई लाग्छ। 

अहिले बुढेसकालमा नाच्दा सबैले राम्रो भनिदिँदा उनलाई जोसजाँगर बढेको छ । ‘म निकै खुसी छु, सबैले मेरो नाच मन पराइदिएको सुनेको छु, औधी खुसी लागेको छ,’ उनले भनिन्। उनलाई यो त्यो गीत भन्ने छैन। झ्याउरे, तिजगीत, दोहोरी जस्तो बज्छ, त्यस्तैमा नाच्छिन्।नाच्ने उनको सोख हो। तर पनि कृष्णकुमारी तिवारीले बाल्यकाल, युवावस्थमा खुलेर नाच्न पाइनन्। स्कुल नगएकी उनको बिहे नौ वर्षको उमेरमा भएको थियो। उनका दुई छोरा र दुई छोरी छन्। सबैको बिहेवारी भइसक्यो। श्रीमानको मृत्यु भएको २७ वर्ष भयो। ७८ वर्षकी उनी अहिले पनि मेलापात गर्छिन्।

‘खेत रोप्ने सिजन छ, मेलापात जानुपर्छ, अहिले हिलोमा नाचिदिनू न आमा भन्छन् नानीहरू, म त नाच्छुु,’ उनले भनिन्, ‘त्यसको पनि टिकटक बनाएका छन्।’खेतीकिसानी गरेर गुजारा चलाउँदै आएकी उनको १५/२० मुरी धान हुने खेत छ। आफ्नो खेती लगाउन उनी अर्मपर्म पनि गर्छिन्। नाच्दै घरधन्दा, खेतीपाती गरेर उनको गुजारा चलेको छ। भन्छिन्, ‘मैले नाचेर मलाई त रमाइलो लागेको छ नै, सबैलाई राम्रो लागेको छ भने सधैँ नाच्छु जस्तो लाग्छ।’ वृद्ध अवस्थाकी उनी काम गर्न नसक्दा गुजारा चलाउन गाह्रो हुने हो कि भन्ने चिन्ता भने लाग्ने गरेको बताउँछिन्। नागरिक दैनिकमा यो खबर छापिएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।