• बिहीबार, १३ बैशाख, २०८१
  • १८:४०:५५
  • नेपालीको अभिमत

छापाबाट

तीनै तहको चुनाव एकसाथ गर्न सत्ता गठबन्धनबीच छलफल

नेपालमत

सोमबार, १ कार्तिक, २०७८

काठमाडौं–गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन । 

प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा छैनन्, सहयोगी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सुरुमा संसदीय चुनावमा जान अनिच्छुक छन् । मिलनबिन्दु खोज्न तीनै तहको चुनाव एकैपटक गर्ने प्रस्ताव गठबन्धनभित्र प्रवेश भएको छ । 

स्थानीय तहको चुनावमा पार्टीले राम्रो गर्न सक्छ भन्नेमा देउवा ढुक्क नरहेको कांग्रेसकै नेताहरू बताउँछन् । ‘स्थानीय तहका पछिल्ला दुई चुनाव (२०५४ र २०७४) मा एमालेले एकलौटीजस्तो बनायो, गत चुनावमा त माओवादीसँग मिल्दा पनि कांग्रेसले राम्रो गर्न सकेन, यसपालि पनि त्यस्तै भयो भने संसदीय चुनावको माहोल बिग्रन्छ, त्यसैले स्थानीय तहको चुनाव पहिल्यै गर्न हुन्न भन्ने प्रधानमन्त्रीको धारणा छ,’ कांग्रेसका एक नेता भन्छन् ।

संसदीय चुनाव छिटो गर्न भने कांग्रेसका सबैजसो नेता सहमत छन् । ‘यो सरकार जति चल्यो, भोट त्यति नै घट्ने हो । कम्युनिस्टहरूबीच सम्बन्ध तिक्त भएको यही मौकामा चुनाव गर्नुपर्छ भन्ने मत कांग्रेसभित्र बलियो छ,’ कांग्रेसका ती नेता भन्छन्, ‘धेरैजसो प्रभावशाली नेताहरू संसद्बाहिर रहेकाले सक्दो छिटो चुनावको पक्षमा छन् ।’

उता, माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सकेसम्म चुनाव पर धकेल्ने पक्षमा छन्  । छिटो गर्ने हो भने तीनै तहको चुनाव एकैपटक गर्ने प्रस्ताव दाहालले कांग्रेससँग राखिसकेका छन् । ‘अब, लगत्तै संसदीय चुनाव हुने सम्भावना छैन,’ दाहालको भनाइ उद्धृत गर्दै निकट नेताले भने, ‘बरु अब तीनवटै निर्वाचन एकैपटक गर्नुपर्छ । प्रधानमन्त्री देउवासँग यो प्रस्ताव राखिएको छ ।’

कांग्रेस नेता शेखर कोइरालाले आफूसँगको भेटमा पनि दाहालले तीन निर्वाचन एकैसाथ गर्ने प्रस्ताव राखेको बताए  । ‘केही समयअघि प्रचण्ड र मेरो भेट भएको थियो, तीनै चुनाव एकैपटक गर्ने प्रस्ताव उहाँको छ,’ उनले भने, ‘तर सबै चुनाव एकैपटक गर्न सहज छैन ।’

दाहालको प्रस्तावमा प्रधानमन्त्री देउवाले कुनै स्पष्ट जवाफ नदिएको कांग्रेस स्रोतको भनाइ छ । ‘उहाँको सम्पूर्ण ध्यान अहिले महाधिवेशनमा छ । सभापतिमा पुनः निर्वाचित भएमा जेठमा चुनाव गर्न उहाँ तयार हुनुहुन्छ, तर त्यो बेलासम्म पार्टीको नेतृत्व आफ्नो हातमा रहन्छ कि रहन्न भन्ने निश्चित भइसकेको छैन, त्यसैले उहाँ चुनावका बारेमा मंसिरभन्दा पहिले बोल्ने पक्षमा हुनुहुन्न ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा चुनावी मितिबारे महाधिवेशनपछि मात्र औपचारिक छलफल हुने बताउँछन् । ‘यो विषयले महाधिवेशनपछि आकार लिन्छ होला,’ उनले भने । त्यस्तै एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले चुनाव कार्यतालिका सार्ने विषय आफैंमा गम्भीर भएकाले छलफल हुने बताए  । ‘संवैधानिक र प्राविधिक रूपमा कति सम्भव हुन्छ, ठूलो छलफलको विषय हो,’ उनले भने ।

प्रमुख प्रतिपक्ष दल एमाले तीनै निर्वाचन एकैपटक गर्न नहुने पक्षमा छ । प्रवक्ता प्रदीप ज्ञवालीले तोकिएको तालिकाअनुसार निर्वाचन हुनुपर्ने बताए । ‘जनताले सार्वभौम अधिकार प्रयोग गर्ने अवसर हो निर्वाचन,’ उनले भने, ‘कुन दललाई लाभ हुन्छ, कुन दललाई हुँदैन भनेर तालिका तलमाथि गर्नु हुँदैन ।’ उनले संघ तथा प्रदेश र स्थानीय तहका एजेन्डा नै फरक हुने भएकाले एकैपटक चुनाव गर्नु उचित नहुने तर्क पनि गरे ।  उक्त समाचार आजको कान्तिपुर दैनिकमा गंगा बीसीले बिस्तृतमा लेख्नु भएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र पाइने

    काठमाडौं–लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महीनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड...

  • नेपालमत

    संसदमा राेकिएका विधेयक अघि बढ्नै सकेनन्

    काठमाडौं–दुई पटकसम्म अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गर्दा प्रभावित भएको कानून निर्माणको काम संसद् पुनःस्थापना भएको महीनौं बिते पनि अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल...

  • नेपालमत

    जुम्ली स्याउको मुल्य प्रतिकेजी १ सय ५१ रुपैयाँ

    जुम्ला - एक दशक अघिसम्म जुम्लाको स्याउको मुल्य प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म थियो । ढुवानीको एकमात्र माध्यम हवाइमार्ग थियो ।  स्याउको खरिद मुल्यभन्दा ढुवानी भाडा दोब्बर हुन्थ्यो...

  • नेपालमत

    दशैँपछिको पुँजी बजारमा उत्साह थपिदैँ

    काठमाडौं–दशैँपछिको पहिलो दिन नेपालको सेयरको दोस्रो बजार सकारात्मक देखिएको छ । कारोबार खुलेको १५ मिनेटपछि ओरालो लय समाएको बजार सूचक १ बजेपछि भने उकालो लाग्दै...

  • नेपालमत

    कात्तिक ६ गते देशैभर एमालेले वडा अधिवेशन गर्ने

    काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कात्तिक ६ गते शनिबार देशैभरका सबै स्थानीय तहका वडाहरुको अधिवेशन एकसाथ उद्घाटन गर्ने भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved