अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि लामो समयदेखि आवाज उठाउँदै आउनुभएकी जमुना सुवेदी गौतम अहिले एग्रो मार्ट (कृषि बजार)को व्यवसायमा लाग्नुभएको छ ।
ललितपुरस्थित सातबाटोमा रहेको भाटभटेनीबाट करिब चार सय मिटर अगाडि सडकको छेउमै छ उहाँको ‘एग्रो मार्ट’ । जहाँ जमुनाको आफ्नै बारीमा फलेकोदेखि जुम्ला, रारा, मुगुका किसानहरूले उत्पादन गरेको दाल, गेडागुडी, जिम्मु, स्याउ, जुनार, एभोकाडो, सिमी, च्याख्ला, पिठो पाइन्छ । साथै; मुन्तला, आँप, कागती लगायत विभिन्न फलफूलका बिरुवा पनि पाइन्छ ।
काठमाडौं उपत्यकामा विषादीरहित खानेकुरा पाउन गाह्रो छ । विषादी नभएका खानेकुरा खान कि आफ्नै बारीमा आफैंले फलाएको हुनुपर्यो कि बजारबाट किनेर खानै छोड्नुपर्यो । जमुनालाई काठमाडौंको विषादी र कोभिड–१९ ले व्यवसायी बन्न सिकायो । त्यो पनि अर्गानिक तरकारी उत्पादनको । अहिले उहाँ यही पेशामा व्यस्त हुनुहुन्छ ।
अर्गानिक खानेकुराहरू पाइने ‘एग्रो मार्ट’को सञ्चालनसँगै जमुना अपाङ्गता भएका व्यक्तिलाई कसरी तरकारी व्यवसाय गर्ने भन्नेबारे सिकाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अपाङ्गता भएका व्यक्तिले अरूको भरमा होइन, आफ्नै भरमा बाँच्न सिक्नु पर्छ । यसका लागि हामी आफैंले संघर्ष गर्नुपर्छ ।”
जमुनाको घर नवलपरासीको बर्दघाट हो । उहाँ नौ वर्षको हुँदा दुर्घटनामा परी दुवै खुट्टा गुमाउनुपर्यो । अहिले उहाँले कृत्रिम खुट्टा राख्नुभएको छ । “गर्ने इच्छाशक्ति हुनुपर्छ कुनै पनि काम कुनै पनि कारणले रोकिंदैन । मैले यही इच्छा र श्रीमान्को साथले व्यवसाय शुरू गरेकी हुँ,” उहाँ भन्नुहुन्छ ।
“दुवै खुट्टा नभएकोले हिंडेर विद्यालय जान सम्भव थिएन । घिस्रँदै घिस्रँदै विद्यालय पुग्दा साथीभाइ र शिक्षकको व्यवहार राम्रो हुन्थेन । आफू दुःख गरेर विद्यालय पुग्यो शिक्षकहरू किन आएको ? अब नआउँदा हुन्छ भन्थे ।”
अपाङ्गता भएका व्यक्तिलाई गाउँ, समाजमा हेलाको दृष्टिले हेर्ने प्रवृत्ति सम्झँदै उहाँ थप्नुहुन्छ, “मान्छे शारीरिक रूपमा सपाङ्ग मात्र भएर हुँदैन, उसले अरूलाई हेर्ने नजर, गर्ने व्यवहार पनि सफा हुनुपर्छ । म शारीरिक रूपमा अपाङ्ग भए पनि आफ्नै खुट्टामा उभिएर व्यवसाय गरेकी छु ।”
‘इम्युनिटी पावर’को बहसले बढाएको साहस
नेपालमा कोभिड–१९ देखिएको समयमा इम्युनिटी पावर अथवा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको बारेमा निकै बहस चल्यो । जो व्यक्तिमा रोगसँग लड्न सक्ने क्षमता धेरै छ उसलाई कोरोनाले गलाउन सक्दैन भन्ने सुनेपछि घरभित्रै बस्नुभएकी जमुनालाई छटपटी चल्यो । अनि कसरी इम्युनिटी पावर बढाउन सकिन्छ भनेर सोच्न थाल्नुभयो ।
नेपालमा २०७६ माघमा कोरोना संक्रमणको पहिलो केस भेटिएको थियो । त्यसको दुई महिनापछि चैतमा अन्य व्यक्तिलाई पनि संक्रमण देखिएपछि देशव्यापी लकडाउन घोषणा गरियो । मान्छे घरभित्रै थुनिए । एकातिर संक्रमणको डर थियो भने अर्कातिर घरभित्रै थुनिनुपर्ने आम नेपालीको बाध्यता थियो ।
‘इम्युनिटी पावर’ कसरी बढाउने भनेर घोत्लिुनभएकी जमुनालाई एउटा जुक्ति फुर्यो– कम्तीमा विषादीरहित खानेकुरा खाने हो भने रोग प्रतिरोधात्मक क्षमता बढ्छ । अनि उहाँले कौसीमा तरकारी खेती गर्ने योजना बनाउनुभयो । घर सल्लाहबाट सहमति पाएपछि कौसी खेती शुरू गर्नुभयो ।
कौसीमा तरकारी फल्न शुरू गरेपछि उहाँलाई हौसला बढ्यो । फलस्वरुप व्यावसायिक रूपमै तरकारी खेती गर्ने सोच मनमा पलाउन थाल्यो । नेपालमतसँग कुरा गर्दै जमुना भन्नुहुन्छ, “रेडियो, टेलिभिजनमा ‘कोरोनाबाट बच्न इम्युनिटी पावर बढाऊँ’ भन्दै सूचना फुक्थ्यो तर बजारमा विषादी बाहेक केही भेटिंदैन । अनि हामीले कुसुन्तीमा जग्गा किनेर अर्गानिक तरकारी फलाउन शुरू गर्यौं ।”
शुरूमा उहाँले चार रोपनी जग्गा भाडामा लिनुभयो । गोलभेंडा, बोडी, सिमी लगायतका तरकारी रोप्नुभयो । गाईवस्तुको मल प्रयोग गरिएको अर्गानिक तरकारी फलाउन थालेपछि बारीमै तरकारी किन्नेहरूको लर्को लाग्न थाल्यो । मान्छेको चासो बढ्न थालेपछि उहाँलाई आफूले उत्पादन गरेको सामान बेच्न आफ्नै एग्रो मार्ट खोल्न मन लाग्यो । यो कुरामा श्रीमान्ले साथ दिएपछि एग्रो मार्ट सञ्चालन गर्नुभयो । आफ्नो बारीमा उत्पादन भएका तरकारी बाहेक उहाँले ७७ वटै जिल्लामा उत्पादन हुने दाल, गेडागेडी, चामल पनि एग्रो मार्टमा राख्नुभएको छ ।
व्यवसायले दिएको खुशी
कुसुन्तीमा भाडामा लिएको आधा जग्गालाई पछिल्लो समय जमुनाले नर्सरीमा परिणत गर्नुभएको छ । त्यहाँ विभिन्न किसिमका फलफूलका बिरुवा उमार्नुभएको छ । व्यवसायमा श्रीमान्को राम्रो साथ पाउनुभएकी उहाँको यो व्यवसायबाट आठ जनाको परिवार पालिन सहज भएको छ । उहाँको यस कृषि बजारमा भक्तपुरदेखि नैकापसम्मका ग्राहकहरू आउनुहुन्छ ।
जमुनाले उत्पादन गर्ने अर्गानिक तरकारीमा युरिया मलको प्रयोग हुँदैन । उहाँले प्रयोग गर्ने मल अवी फर्ट कम्पनीले उत्पादान गर्ने मल हो । जुन मलको प्रयोग गरेर मनाङ, मुस्ताङमा स्याउ उत्पादन भइरहेको छ । यस्तै अर्को प्रारङ्गिक मल हो जुन गड्यौलाबाट उत्पादन गरिन्छ ।
दुर्घटनामा खुट्टा गुम्यो, समाजको व्यवहार फेरियो !
पुस/माघको महिना थियो । धुम्म हुस्सु लागेको थियो । किसानहरूलाई उखु काट्न भ्याइनभ्याइ थियो । उखु बोक्ने गाडीको पछाडि केटाकेटीहरू झुन्डिन्थे । सडकमा केटाकेटी भएकाले सडक छोडेर जमुनाको घरको आँगनबाट ट्याक्टर हिंड्यो । आँगनमा जमुना र उहाँका भाइबहिनी खेलिरहेका थिए । एक्कासी ट्याक्टरले जमुनालाई किचेर गयो । त्यो घटना हुँदा उहाँ तीन कक्षामा पढ्नुहुन्थ्यो । त्यतिखेर जमुनालाई कुनै होस थिएन । होस आउँदा अस्पतालको बेडमा हुनुहुन्थ्यो भने खुट्टा दुवै थिएनन् । बितेका दिन सम्झँदै उहाँ भन्नुहुन्छ, “दुवै खुट्टा गुमाउँदा कस्तो अनुभव भयो त्यति सम्झिनँ तर बुझ्ने हुँदै गएपछि आफन्त, साथीभाइ र शिक्षकले गरेको व्यवहारले अहिले पनि चित्त दुख्छ ।”
जमुनाले दुवै खुट्टा गुमाएको वर्षमै आमालाई पनि गुमाउनुपर्यो । त्यसपछिका दिन पक्कै सहज भएनन् । जमुनाका पाँच दिदीबहिनी र दुई दाजुभाइमध्ये उहाँ काइलो हुनुहुन्छ । आमाको मृत्युपछि बुबाले अर्को बिहे गर्नुभयो ।
“मेरो बाल्यकाल निकै दुःखमा बित्यो । बुबाले छोरीलाई जसरी भए पनि पढाउँछु भन्ने आँट गरेर मलाई पढाउनुभयो । उहाँको यो गुन म कहिल्यै बिर्सन सक्दिनँ । माइतीमा छँदा बुबा र बिहेपछि श्रीमान्को माया र सहयोगले म अहिले व्यवसायी बनेकी छु,” उहाँ भन्नुहुन्छ, “दुवै खुट्टा नभएकोले हिंडेर विद्यालय जान सम्भव थिएन । घिस्रँदै घिस्रँदै विद्यालय पुग्दा साथीभाइ र शिक्षकको व्यवहार राम्रो हुन्थेन । आफू दुःख गरेर विद्यालय पुग्यो शिक्षकहरू किन आएको ? अब नआउँदा हुन्छ भन्थे ।” तर, जमुनाका बुबाले घरमै शिक्षक बोलाएर ट्युसनको व्यवस्था मिलाइदिनुभयो । ६ कक्षासम्म उहाँले यसरी नै पढ्नुभयो । त्यसपछि भने विद्यालय जान थाल्नुभयो । “कहिले दिदी वा भाइले बोकेर लान्थे, कहिले बुबाले बोकेर लानुहुन्थ्यो । नौ कक्षादेखि ह्वीलचियर पाएँ । त्यसपछि विद्यालय जान–आउन सहज भयो,” जमुनाले विद्यालय जाँदाका दुःख सुनाउनुभयो ।
कक्षा दशपछि काठमाडौं आएर पढ्न थाल्नुभयो । त्यस क्रममा अपाङ्गता भएका अरू व्यक्तिसँग चिनजान हुन थाल्यो । विस्तारै अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा काम गर्ने संघसंस्थामा आबद्ध हुनुभयो । त्यसपछि उहाँको जिन्दगी सहज हुँदै जान थाल्यो । दश वर्षअघि नवलपरासीकै केटासँग बिहे गर्नुभयो । अहिले उहाँसँग नौ वर्षको छोरा हुनुहुन्छ ।
श्रीमान्को दरिलो साथ
एउटा पुरुष सफल हुँदाको पछाडि श्रीमतीको ठूलो भूमिका रहेको भनेर धेरै पढिंदै/सुनिंदै आइएको छ । यस्तै जस्तो जमुना सफल हुनुमा पनि उहाँको श्रीमान् शिव गौतमको ठूलो साथ छ । जोकोही व्यक्ति अपाङ्गता भएका व्यक्तिसँग सम्बन्ध बनाउन चाहँदैनन् । तर, शिवले भने अहिलेसम्म कहिल्यै पनि जमुनालाई अपाङ्गता भएको अनुभव समेत गराउनुभएको छैन । जमुना भन्नुहुन्छ, “माइतीमा बुबा र घरमा श्रीमान् दुवैको साथ र माया नपाएको भए यो अवस्थामा आइपुग्ने थिइनँ । मेरो जिन्दगीमा बुबा र श्रीमान् दुवै उत्तिकै महत्त्वपूर्ण हुनुहुन्छ ।”
शिव गौतम
जमुनाका श्रीमान् पहिले विदेशमा हुनुहुन्थ्यो । कतारमा रहँदा शिवले पनि एग्रो मार्टमै काम गर्नुभएको थियो । उहाँलाई नेपाल फर्केर यस्तै काम गर्ने रहर थियो । नेपाल फर्केपछि टनेल हाउस र थोपा सिचाइँको विषयमा तालिम लिनुभयो । अहिले उहाँ टनेल हाउस र थोपा सिचाइँका बारेमा तालिम दिनुहुन्छ । “मेरो श्रीमान् पनि कृषि क्षेत्रमै काम गर्नुहुन्छ । धेरै ठाउँमा नेटवर्क हुँदा मलाई व्यवसाय सञ्चालन गर्न सहज भएको छ,” जमुना भन्नुहुन्छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
तिमी मात्र तिमी कहाँ हौ र कसरी बिर्सन्छौ ? कसैको खुशी, भरोसा अनि ओत लाग्ने छानो हौ कसरी बिर्सन्छौ ? कस्तुरीले आफ्नो सुगन्ध खोज्दै हिँडे जसरी कसैले तिमीमा भविष्य खोजेको सत्य कसरी बिर्सन्छौ ? तिमी आँगनको डिलसम्म नआइपुग्दासम्म सुकुनले श्वास फेर्नसम्म नसक्ने ती आमाको अत्याट कसरी बिर्सन्छौ ? तिमीसँगै एउटा सुन्दर जीवन बिताउन अनगिन्ती सपना देखेकी अर्धाङ्गीनी कसरी बिर्सन्छौ ? अबोध सानी छोरीको मुहारको खुशी अनि तिम्रो हात...
पल्लागाउँको डाँडो अझै उस्तै छ कि छैन होला कोन्द्राका ती चौतारी नी टिप्ने कोही भएन होला नडडाँडाका अमला र बेलौती नी कति खाइयो खोल्टेपानी खिलुवा अनि खल्लुकसँग प्रित लाइयो मकै भुटि पोको पारी रुखको फेदमा ढाकी राख्थ्यौ बाटो भरि बारी पर्ने काक्रा बोडी टिपी खान्थ्यौ अपनत्वको हिमाल अग्लो मीठो लाग्ने आटो पिठो त्यसैले त भनिन्छ नि बालापनको याद मिठो खान्थ्यौ बिस्कुट भिजाएर, धाकखोलाको कलकल पानी नुनचुक बाँधी...
नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लड्नुभएका राप्रपा नेपालका कमल थापाले आफ्नो हार स्वीकार गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ । पराजयलाई सहर्ष स्विकार गर्दछु। हामीलाई...
अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुक मार्फत ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गर्दै लेख्नुभएको छ:- सबै फूल गुलाफ हूदैनन् , सबै स्वतंत्र बालेन हूदैनन आफ्नो...
जस्ले जे गरेपनि हुने कस्तो जमाना आयो प्रमाणित हुनु पर्दैन आरोप भनेकै भरमा कसैको इज्जत लिलाम भयो खुलेआम हिड्छ एक अपराधी यहाँ मानौंं स्वयँ कानुन उ नै हो झैंं गरि बरु निर्दोष माथि बर्सिन्छन् बिषाक्त नजरका बाण मात्र एक अपराधी सरी कति गर्छौ दुरुपयोग पद अनि चिनजानको मानौंं तिमी एक अजम्बरी झैंं गरी कठै दया लाग्छ तिम्रो सोचाइँको स्तर देखेर घरिघरि बेकसुरलाई दोषी साबित गरि कसरी सुकुनले निदाउन सक्छौ ? कति लिन्छौ चाकडी...