ताजा

  • शनिबार, १२ श्रावण, २०८१
  • ०९:३४:३१
  • नेपालीको अभिमत

खेतीकिसानी

लगातार घाटामा गएपछि कुखुरा किसानद्वारा अण्डाको वैज्ञानिक मूल्यको खोजी

नेपालमत

शुक्रबार, ११ जेठ, २०८१

चितवन - पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेपछि लागत मूल्यको खोजी गरिएको हो । 

नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापकहरु डा.रेवन्त भट्टराई, डा.सुविर सिंह, उपप्राध्यापक डा.अनन्त दाहाल र डा.विष्णु पोखरेल समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो । 

मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अण्डा प्रतिगोटा रु.१६.५६ किसानको लागत मूल्य विज्ञ समूहले निकालेको छ । हाल फार्म मूल्य किसानले सरदर रु.१५.३३ पाउने गरेका छन् । लागत मूल्यका बारेमा स्थानीयस्तरमा सरकारी र निजी क्षेत्रसँग छलफल गरेर समर्थन मूल्य निर्धारणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । 

कार्यक्रममा डा. अनन्त दाहालले अण्डाको लागत मूल्य रु.१६.५६ हुनुका कारणबारे प्रकाश पार्नुभएको थियो । फर्म निर्माण, चल्ला खरिद, दानाको खपत, बैंक व्याज, औषधि, मजदुर लगायतलाई समेटेर लागत मूल्य तय गरिएको उहाँले जानकारी दिनुभयो । सो अवसरमा सहभागीहरुले अब पनि लागत मूल्यभन्दा कममा अण्डा बिक्री भएमा नेपालमा पोल्ट्री क्षेत्र समाप्त हुने भन्दै बजारीकरणमा जुट्न सुझाव दिएको संघका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनुभयो । 

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अहिले अण्डाको उत्पादन आधा घटेको छ । नेपालमा धेरै उत्पादन हुँदा दैनिक ६० लाख वटासम्म अण्डा उत्पादन भएको अनुमान गरिन्छ । हाल दैनिक २८ लाख मात्रै अण्डा उत्पादन हुँदै आएको छ । 

पोखरेलले ७५ प्रतिशत किसान लागत मूल्यमा उत्पादन बिक्री गर्न नपाएपछि विस्थापित हुनु परेको बताउनुभयो । टिकेकाहरुले पनि बैंकको ऋण थप गरेर व्यवसाय धानेको उहाँको भनाई छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved