• शनिबार, ८ बैशाख, २०८१
  • ०१:१७:१०
  • नेपालीको अभिमत

खेतीकिसानी

जापानबाट फर्किएर ४ सय रोपनीमा अङ्गुर खेती गर्दै कार्की, ५० करोडको लगानी

नेपालमत

बिहीबार, ९ असार, २०७९

तस्वीर : रासस

धादिङ – उच्च शिक्षाका लागि डेढ दशकअघि जापान पुगेका व्यवसायी कुमार कार्कीलाई आफ्नै जन्मभूमि नेपालमा रोजगारी विस्तार र कृषि पर्यटन क्षेत्रमा ‘केही गरौैँ’ भन्ने भावना त्यसबेला नै पलाएको थियो ।

निरन्तरको स्वअध्ययन, परीक्षण, मेहेनत र लगानीबाट कार्कीको त्यो सोचले अहिले साकार रूप लिएको छ । जापानको पर्यटन व्यवसाय छाडेर नेपाल फर्किएका व्यवसायी कार्की अनेक चुनौती मोल्दै स्वदेशकै माटोमा नयाँ उद्योगीका रूपमा उदाउन सफल हुनुभएको छ । 

नेपालमा कृषि पर्यटनको विकास र विस्तार गर्ने सोचअनुरुप व्यावसायिकरूपमा अङ्गुर खेती तथा प्राकृतिक (अग्र्यानिक) वाइन उत्पादन उद्योग खोलेर निर्यातसमेत गर्ने र त्योसँगै जोडिने नयाँ पर्यटनको अवधारणासहित कार्कीले काम गरिरहनुभएको छ ।

नेपालको हावापानी अनुकूल हुने अङ्गुरका प्रजाति तथा यस खेतीका लागि उपयुक्त स्थानको छनोटदेखि उद्योग स्थापनाका क्रममा कार्की र उहाँको समूहले व्यहोरेका सङ्घर्ष र सफलताका कथाका पानाहरू बढ्दै गएका छन् । 

परीक्षणका रूपमा सुरु भएको अङ्गुर खेती हाल आएर उद्योगसम्म फैलिएर व्यावसायिक सफलतातर्फ उन्मुख भएको छ । अङ्गुर खेतीका लागि जापानबाट विभिन्न प्रजातिका बिरुवाहरू आयात गरी जापानी विशेषज्ञ र अन्य साथीहरूको सहयोग र परामर्शमा व्यवसायी कार्कीले विसं २०६४ मा नेपालको पहिलो भिनयार्ड स्थापना गर्नुभयो ।

त्यसअघि कार्कीले पर्यटन व्यवसायलाई टेवा दिने र स्थानीय रोजगारी बढाउने लक्ष्य लिएर विसं २०६८ मा थानकोटमा पातलेवन रिसोर्टको स्थापना गर्नुभएको थियो । 

जापानको एक ट्राभल एजेन्सीमा कामसमेत गर्दै विभिन्न कृषि उत्पादन क्षेत्रमा घुमफिरपछि कार्की नेपालमा अङ्गुर खेतीबारे ओकाइयामा विश्वविद्यालयका प्राध्यापकसँगको सम्पर्कमा पनि पुग्नुभएको थियो । 

उहाँले धेरै पानी परिरहने नेपालको एक वर्षसम्मको हावापानीको विवरण जापानी विज्ञलाई दिएर कति उचाइको जमिनमा कुन मौसममा कस्ता प्रजातिका अङ्गुर खेती गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गराउनुभएको थियो । 

कार्कीले पातलेवनस्थित रिसोर्टकै बारीमा सन् २००७ मा जापानबाट २०० बिरुवा ल्याएर नमूनाका रूपमा अङ्गुर खेती सुरु गर्नुका साथै यही बीचमा उहाँले फ्रान्स, स्वीटजरल्याण्डलगायतका मुलुकमा पनि यसबारे अध्ययन गर्नुभयो । त्यसबाट नेपालमा मनसुन अगाडि टिप्ने गरी अङ्गुर खेती गर्न सकिन्छ भन्ने पत्ता लाग्यो । यी कुराहरू पहिचान भएपछि कार्कीले आफ्नो लगानी विस्तार गर्नुभयो ।

अहिले यही समूहले व्यावसायिक साझेदार जुटाउँदै धादिङको थाक्रे गाउँपालिका–८ को काउले र वडा नं १० को काउले, धुनीबेँसी नगरपालिका–८ को मछिन्द्र्रावनमा गरी करिब ४०० रोपनीमा अङ्गुर खेती गरिरहेको छ । निकट भविष्यमा तनहुँको घिरिङ गाउँपालिकामा १०० रोपनी जग्गामा अङ्गुर खेती सुरु हुँदैछ । त्यहाँ घिरिङ भाइनयार्ड एग्रो रिसर्च सेन्टर प्रालिको स्थापना गरिएको छ ।

अङ्गुरबाट नेपाली प्राकृतिक स्वादको वाइन बनाउन सकिने र यसलाई विदेशमा समेत निर्यात गर्न सकिने लक्ष्यका साथ कार्कीले विसं २०६८ मा पातलेवन भाइनयार्ड वाइनरी कम्पनी खोल्नुभयो । सरकारबाट इजाजत लिएपछि उत्पादनको काम थाल्न तथा इटाली, भारत र जर्मनीबाट मेसिनहरू ल्याउनसम्मका अनेक चुनौती खेप्दै अहिले थाक्रेको काउलेमा उत्पादन केन्द्रको नयाँ भवन निर्माणसहित नियमित काम हुन थालेको छ । उहाँले हालसम्म यस उद्योगमा करिब रु ५० करोडको लगानी गरिसक्नु भएको छ ।

बेर्ना रोपेको तीन वर्षमा फल लाग्ने अङ्गुरमा हुने किराहरू मार्न आवश्यक पर्ने डरमेक्स केमिकल ल्याउनका लागि उद्योगले चुनौती झेलिरहेको छ । कम्पनीका अध्यक्ष कार्की युरोपेली मुलुकबाट नेपाल आउने पर्यटकले नेपालमा उत्पादित गोर्खा वियरलाई चाख्न खोजेजस्तै वाइन र जुस उत्पादनमा आफैँ अङ्गुर खेती गरेर त्यसबाट गर्ने पहिलो उद्योग  भएकाले यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने विश्वास व्यक्त गर्नुहुन्छ ।

स्थानीय बजारमा माग बढ्न थालेकाले विदेशी वाइनलाई प्रतिस्थापन गर्न सकिने कार्कीको भनाइ छ । नेपालमा वाइन उत्पादन गर्ने कम्पनीहरूले यसअघि भारतबाट समेत अङ्गुर ल्याउने गर्दथे । रेड र ह्वाइट वाइनको प्रति बोतल रु एक हजार २०० पर्छ ।  यी उत्पादनलाई भारत र पोर्चुगलमा निर्यात गर्न सहज हुने ठानिएको छ ।

नेपालमा उत्पादित एक मात्र आफ्नै बगानबाट फलेको अङ्गुरले वाइन र जुस उत्पादन गर्ने नेपालको पहिलो उद्योग भएकाले यसले राष्ट्रिय अर्थतन्त्रमा राम्रो योगदान दिनेमा कार्की विश्वास व्यक्त गर्नुहुन्छ । स्थानीय बजारमा माग बढ्न थालेकाले विदेशी रेड र ह्वाइट वाइनलाई प्रतिस्थापन गर्न आफूहरूको उत्पादन समर्थ हुने कार्कीको भनाइ छ ।  यी उत्पादनलाई छिमेकी मुलुक भारत, चीन तथा अन्य देशहरूमा निर्यात गर्न सहज हुने ठानिएको छ । 

आगामी पाँच वर्षभित्र वार्षिक तीन लाख बोतल उत्पादन लक्ष्य लिएको सो उद्योगले हाल वार्षिक एक लाख बोतल वाइन उत्पादन गर्छ । उद्योगका साझेदार खत्रीले अङ्गुर खेतीको विस्तारसँगै वाइनको उत्पादन क्रमशः बढ्ने बताउनुभयो । संयुक्त राज्य बेलायतमा काम गरेर स्वदेशमै आर्थिक समृद्धिमा सामेल हुन खत्री र थापा चार वर्षअघि सो उद्योगमा जोडिनुभएको हो । 

हालसम्मको अध्ययनबाट नेपालमा ४०० देखि एक हजार मिटरसम्मको उचाइमा अङ्गुर खेती उपयुक्त हुने देखिएको छ । विश्वमा १० हजार प्रजातिका अङ्गुर रहेकामा नेपालमा सेतो अङ्गुरतर्फ जर्मनीको सोलासिज र मस्कारिज, ओरिबोन, फ्रान्सको स्याडोनी, रातोतर्फ फ्रान्सको क्याबेनिर, मेर्लोट आदि बढी उपयुुक्त हुने पाइएको छ । सो उद्योगले हाल ४० प्रजातिका अङ्गुर लगाएको छ । पानी वा असिना पर्दा अङ्गुरको बोट र फललाई झार्न सक्ने भएकाले माथिबाट कडा खालको जालीले छोप्नुपर्ने यहाँको सिकाइ देखिन्छ ।रासस 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved