• शनिबार, ८ बैशाख, २०८१
  • १८:३१:३९
  • नेपालीको अभिमत

सन्दर्भ

दिदी, मेरो बुढा भेटियो ?

उमा पौडेल

शनिबार, १७ बैशाख, २०७९

छोराहरू बेलाबेलै सोधिरहन्छन्, ‘आमा, हाम्रो बा खोइ ?’ नित्य बिहान झलमल्ल लालीकिरण लिएर उदाउने घामझैँ पक्का भए उनी कति सजिलै छोराछोरीलाई सम्झाउँथिन् होला– ‘तिम्रा बाबा टुप्लुक्क आइपुग्नेछन् भोलि ।’

तर, मानिसको जीवन प्रकृतिजस्तो नियमवद्ध कहाँ हुनु !

त्यसैले छोराहरूले सोधेका प्रश्नहरूलाई आफूभित्रै हुँडलिन दिनु र व्यथित हुनुबाहेक कान्छीमाया राईसँग अरु उपाय छैन । छोराहरूका प्रश्नले कोरलेका अनेकानेक प्रश्नहरूलाई आफूभित्रै हुर्काइरहेकी छिन् उनले ।

बिदा हुने बेला कान्छीमायाको साथमा छोडेर गएका सक्कल कागजातका प्रतिलिपिले भन्छन्, उनका श्रीमान् आजभन्दा एक वर्ष नौ महिना अघि नै घर आइसक्नुपर्छ । बिहान हर्दम नबिराई उदाउने घामको जस्तो नियम भइदिए यतिबेला छोराहरू बाबुको काखमा रमाइरहेका हुन्थे र कान्छीमाया परिवारिक सुखले ओतप्रोत भएर वरिपरि छुनुमुनु गरिरहेकी हुन्थिन् । तर, उनका श्रीमान् केदारजङ्ग आजसम्म घर फिरेका छैनन् ।

मान्छे परिस्थितिको दास न हो । परिस्थितिको परिधिमा जे देखापर्छ त्यसैलाई भोग्नु र दासत्व निभाउनु उसको नियति बनिदिन्छ । कान्छीमाया राई छोराछोरीका अबोध प्रश्नमा नाजवाफ छिन् । छोराहरूका प्रश्नका जवाफ त परिस्थितिले एकदिन आफैं दिएर जान्छ, तर बाहिर कहिल्यै प्रकट हुन नसक्ने उनीभित्रका आफ्नै प्रश्नले उनलाई जीवनभर सताइरहन्छन् ! हुन पनि उत्तर दिएर पुग्ने प्रश्नभन्दा सामना गर्नुपर्ने प्रश्न बलिया हुन्छन् । त्यसैले आफ्नै प्रश्नहरूको सामना गरिरहेकी छिन् उनी र आफूभित्रकै प्रश्नहरूले थिचिएकी छिन् ।

आज (१ बैशाख २०७५) मकहाँ आइपुगेकी छिन्, कान्छीमाया राई । मसँगको यो पहिलो भेट हो । यसको औपचारिकताले उनलाई तान्दैन, किनभने व्यथाको गुरुत्वले उनलाई भित्रभित्रै कैद गरेको छ । मनमा हजारौँ भोल्टको करेन्ट प्रवाहित छ । त्यसको वेदना लुकाएर गरिने संवादको औपचारिकताले कसरी तानोस् ? कुराकानी पनि फगत ढोँङजस्तै । समस्याको सम्बोधन हुने भए पो !

हामीबीच कुराकानी हुन्छ, संवादकै बीचमा बेलाबेला बेप्रसङ्गका प्रश्नहरू उनी भित्रबाट फुटेर आउँछन् । सन्निपातको बिरामीझैं बीचबीचमा आँखाका चेपहरू पुछ्दै उनी सोध्छिन्– ‘दिदी, मेरो बुढो भेटियो ?’

उनले जवाफको अभिलाषा राखेर सोधेकी होइनन्, बरु विक्षिप्त आर्तनादले क्षणिक रुपमा भए पनि आफैँलाई चिथोरेर परिस्थितिमाथि विजय पाएको भ्रममा बाँच्न यस्ता प्रश्न गरिन् झैं लाग्छ । बीचमा उनी फेरि बेप्रासङ्गिक रुपमा बोलिन्, ‘लौन दिदी जसरी पनि पत्ता लाइदिन पर्‍यो । बुढो भेटिएन भने त म पनि मर्छु ।’

हामीबीच कुराकानी हुन्छ, संवादकै बीचमा बेलाबेला बेप्रसङ्गका प्रश्नहरू उनी भित्रबाट फुटेर आउँछन् । सन्निपातको बिरामीझैं बीचबीचमा आँखाका चेपहरू पुछ्दै उनी सोध्छिन्– ‘दिदी, मेरो बुढो भेटियो ?’

‘बुइनी, के भनेको यस्तो, मरेर तिमीले बूढो भेटिन्छ त ?’ मेरो बोली उनलाई सान्त्वना दिने झिनो प्रयास मात्र हो । उनले सामना गर्नुपर्ने सत्य त न मेरो न उनको नै वशमा छ । त्यसैले मैले अझै सान्त्वना दिलाउँदै भनेँ, ‘जिन्दगी निकै लामो छ । यति छिटै हरेस खाएर हुन्छ त, त्यति राम्रा छोरा छन् । छोराहरू हुर्केपछि सुखैसुखका दिन आउँछन् कि !’

हुन पनि मान्छेको जीवन भनेको दुःखहरू भोग्दै भविष्यको सुखद कल्पनामा बाँच्ने सिलसिला न रहेछ !

०००

यो ठाउँमा बसेपछि मेरो अधिकांश समय विदेशमा मृत्यु भएका, हराएका, जेल परेका, खान नपाएका नेपालीको यस्तै यस्तै समस्याहरू सुनेरै बित्छ । उनीहरूको समस्या सुल्झाउन पहल गर्नु मेरो मुख्य जिम्मेवारी पनि हो ।

मलाई उनको र उनीजस्तै महिलाहरूका समस्या एकैखाले लागेर के भो ! कान्छीमायाको लागि त त्यो जीवनकै सबैभन्दा ठूलो समस्या हो । कमाएर फर्किएपछि सुखले बाँचौँला भन्ने अभीप्सा बोकेर श्रीमान्‌को प्रतीक्षामा बाँचेका महिला श्रीमान् महिनौँ सम्पर्कबिहीन हुँदा उनीहरूका मनमा कस्तो हुरी चल्ला ! केवल महसुस गर्न मात्र सक्छु म ।

‘श्रीमान्‌ले विदेश जाँदा केही डकुमेन्ट छाडिदिनुभएको छ ?’ उनका श्रीमान्‌को वैदेशिक रोजगारीमा जाँदाको कागजातबारे सोधेँ । जतनसाथ प्रतिलिपि राखेको रातो फाइबरको झोला उनले मेरा हातमा थमाइदिइन् ।

जहाँ केदारजङ्ग राईको नागरिकता, श्रम सम्झौता, जीवन बीमा, श्रम स्वीकृतिको प्रतिलिपि थियो । अहिले मलेसियामा श्रम अवधि दुई वर्षको हुन्छ । तर केदारजङ्ग जाँदा तीन वर्षको श्रम अवधि थियो ।

सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर ३ का केदारजङ्ग राई अर्थात् कान्छीमायाका श्रीमान्‌को कागजातको प्रतिलिपि बोल्छ, उनको श्रम स्वीकृतिको अवधि समाप्त भइसक्यो । मलेसियाको फ्लेक्सोप्रिन्ट एम एसडीएन बीएचडी (fl exoprint (M) sdn. Bhd) कम्पनीमा Printing prouducer planner पदमा काम गर्न उनले ११ असार २०७१ मा श्रम स्वीकृति पाएका थिए । श्रम सम्झौताअनुसार ११ असार २०७३ मा उनको मलेसिया बस्ने अनुमति समाप्त भइसकेको थियो ।

मासिक नौ सय रियाल (नेपाली करिब २७ हजार रुपैयाँ पारिश्रमिक पाउने गरी श्रम सम्झौता गरिएको रहेछ । कान्छीमायाकै भनाइअनुसार केदारजङ्गलाई कम्पनीले सम्झौताअनुसारको पारिश्रमिक पनि दिएको रहेछ ।

मलेसियामा वैधानिक रहँदासम्म केदारजङ्गले पठाउने नियमित रकमबारे कान्छीमायाले भनिन्, ‘पाँच महिना पुगेपछि १ लाख पठाउनुहुन्थ्यो । भनेको जस्तै काम/तलब छ भन्नुहुन्थ्यो ।’

त्यसो भए किन फर्किएनन् त बुढा ? उनका मनमा एकपछि अर्का प्रश्न गुजुल्टो पर्छन् ।

“श्रम अवधिभन्दा बढी विदेश बसे विदेशमा गाह्रो–साह्रो पर्दा सरकारले हेर्दैन । जेल पर्न सक्ने सम्भावना हुन्छ, दशा कसले देखेको हुन्छ र भोलि मृत्यु, अङ्गभङ्ग केही भइहाले आर्थिक सहायता, राहत रकम पनि पाइँदैन ।” श्रम अवधि सकिएको र गैरकानुनी भएपछि हुनसक्ने जोखिमबारे मैले उनलाई सुझाएँ ।

केदारजङ्ग विगत पाँच महिनादेखि परिवारको सम्पर्कमा आएका छैनन् । काम गर्न पाउने समय सकिएर उनले भोग्नुपर्ने संभावित जोखिमबारे थाहा पाएपछि कान्छीमाया फेरि भक्कानिइन् ।

सम्हालिन निकै बेर लाग्यो उनलाई ।

त्यसपछि उनको स्मृतिमा आए सँगसँगै जीवन बिताउने बाचा कसम गरेर केदारजङ्गसँग सम्बन्धमा गाँसिएका दिनहरू ।

केदारजङ्ग विगत पाँच महिनादेखि परिवारको सम्पर्कमा आएका छैनन् । काम गर्न पाउने समय सकिएर उनले भोग्नुपर्ने संभावित जोखिमबारे थाहा पाएपछि कान्छीमाया फेरि भक्कानिइन् ।

‘उहाँ १८ वर्षको हुनुहुन्थ्यो । म १५ वर्षकी । हाम्रो गाउँ एउटै । भेटघाट भइरहन्थ्यो । नजानेरै प्रेम बसेछ । हुन त प्रेम भन्ने कुरा कसले जानेर गर्छ र ! प्रेम सम्बन्धको वर्ष दिनपछि हामीले भागेर बिहे गर्‍यौँ ।’
मान्छेको मन न हो, सुखदु:खका दिनहरूका सम्झना गर्दै एकाएक मन कहाँकहाँ हुँइकिन्छ, हुँइकिन्छ । प्रेम र विवाहको स्मृतिले कान्छीमायाको अनुहार चहकिएको थियो । आज त्यो मीठो समय उनीसँग भइदिएको भए ! यथार्थमा आइपुग्दा अनुहार कच्याक्कुचुक भयो । अँध्यारो यथार्थले मनको भित्री तहदेखि नै कुँडिइन् उनी ।

रातो पछ्यौराले आँखा पुछ्दै क्षणभरमै सम्हालिइन् र फेरि स्मृतिमै पुगिन् कान्छीमाया– ‘जमिन थोरै थियो । त्यो रुखो ठाउँ । मिहिनेत जति गरे पनि खेतीपातीको उब्जाउले खानै धौधौ हुने । त्यसमाथि विवाहको वर्षै दिनमा छोरा जन्मियो । दुईबाट खाने मुख तीन भएपछि आवश्यकता बढ्ने नै भयो । चार महिनाको छोरा च्यापेर म पनि खेताला हिँड्न थालेँ । बाबुको राम्रो स्याहार नभएर होला, ऊ बिरामी परिरहन थाल्यो । मेला नजाउँ खान पुग्थेन, जाउँ छोरालाई कहिल्यै सञ्चो नहुने ।’

आफूले भोगेको कठोर दुःखको वर्णनपछि कान्छीमायाले खुइऽय गरिन् । शब्दहरू हराएझैँ केही क्षण चुप भइन् । एकनास दृष्टि दूर फ्याँकिरहिन् । मानौँ त्यहाँ उनको हृदयले खोजिरहेको अनमोल वस्तु छ । मैले अनुमान लगाएँ, वास्तविक दृश्य उनको दृष्टिले ठम्याएकै छैन । दृश्य त आँखाले होइन मनले बनाउने गर्छ । मनमा केबल थिए केदारजङ्ग । सायद, त्यो दृश्यमा पनि पूर्णकदका प्रेमी (श्रीमान्) केदारजङ्ग नै देखिँदा हुन् !

आज नेपालका मध्यम र निम्नवर्गीय समाजमा वैदेशिक रोजगारीले निम्त्याउँदै आएको सामाजिक मूल्य चुकाउनेहरूको लामो लाइनमा कान्छीमाया पनि थपिएकी छिन् । त्यो समाज, जहाँ आफन्त र छिमेकीहरू माझ विदेश गएर पैसा कमाएको चर्चा चलिरहन्छ । विदेशको ‘मोटो डलर’ले घर र घडेरी थपिएका कथाहरू नित्य घन्किरहन्छन् । चर्चाहरू सुन्दा यस्तो लाग्छ, हर घरका सदस्य ती कथाका अनिवार्य पात्र बन्नैपर्छ । समाजको अगाडि घर, घडेरीको खाता थपिरहनुपर्छ ।

समाजको अदृश्य दबाब अनि परिवारको अभावका बीच राई दम्पतीलाई विदेश त जानैपर्छ भन्ने लाग्न थालिसकेको थियो । ‘तर, एकअर्कामा छुट्टिने कुराले मन सिरिङ्ग बनाउँथ्यो’ कान्छीमायाले परिस्थितिले जन्माएको विवशताको पोको खोल्दै भनिन्, ‘अनि बलबुताले भ्याएसम्म यतै दुःख गर्ने निधो गर्थ्यौं ।

कहिलेकाहीँ बाध्यताका लहरहरू डोर्‍याएझैं पछिपछि आइपुग्छन् । दोस्रो सन्तान गर्भमा आएपछि त्यस्तै भयो उनीहरूलाई ।

उनलाई आफ्ना भोगाईहरू बताउन असाध्यै कठिन भइरहेको थियो । मजेत्रोको सप्कोले आँखाका चेप पुछ्दै उनले भनिन्, ‘पहिलो छोरा भएको ३ वर्षपछि अर्को सन्तान पेटमा आयो । म मेलापात गर्न नसक्ने भएँ । खर्च झनै बढ्दै गयो । बच्चा जन्मिएपछि श्रीमान् विदेश जाने निर्णयमा दुवैजना पुग्यौं ।’

सास फर्किनु र लास फर्किनु बीच आकाश र जमिन जत्तिकै अन्तर छ । सामान्य मानिसले सोच्दा मात्रै पनि कहाली लागेर आउँछ । तर उनी दुवै परिणामका लागि मानसिक रूपमा तयार छिन् । नेपाली समाजमा कान्छीमायाजस्ता हजारौं महिलाहरू सास र लासबीचको मानसिक अन्तद्वन्द्वको रापमा आफूलाई जलाइरहेका छन् ।

केदारजङ्गले मलेसिया गएको तीन वर्षसम्म भनेअनुसार नै काम गरे र पैसा पठाए । तर उनी आजकल सम्पर्कमा छैनन् । वैदेशिक रोजगारीको समयावधि पनि सकियो । स्वदेश अझै फिरेका छैनन् ।

परिवारको स्वीकृतिबिना गाँसिएको सम्बन्ध । परिवारका कसैले पनि आडभरोसा दिँदैनन् । आफन्त नै दुःखमा सहानुभूतिभन्दा धेरै खुच्चिङ बजाउँछन् । उनको बिलौना कहाँ रोकिन्थ्यो र ‘श्रीमान् एकाएक बेपत्ता भएपछि म पागलजस्तै भा’छु । परिवारका कसैले पनि वास्ता गर्दैनन् । सपनामा बुढोलाई कहिले पागल भएको देख्छु । सपनामै कहिले रुँदै, कान्छी तिमीलाई निकै सम्झिएको छु है, भन्छन् ।’

आज केदारजङ्गको यादमा बाँचिरहेकी छिन् कान्छीमाया । मनभरि अनेक सपना सँगालेर । उनको काँधमा ६ र तीन वर्षका दुई छोराको जिम्मेवारी छ । आफूले आधा पेट खाएर भए पनि छोराहरूलाई पेट अघाएकी छिन् । पेट अघाउनु त सामान्य भयो, ती दुई नाबालकलाई पितृत्वको भोक कसरी मेटाउलिन् कान्छीमाया ।

हातको फोनमा बज्ने हरेक रिङ्गटोनले श्रीमान्‌को आवाजको प्रतीक्षा गरिरहन्छ । तर, पहिलेझैं ‘कान्छी सञ्चै छेस्’ भन्ने आवाज आउँदैन । यादैयादले झनै गलिसकेकी छिन् उनी । कहिलेकाहीँ त उनलाई फोनमा अरूसँग बोल्न पनि झर्को लागेर आउँछ ।

श्रीमानले विदेशमा गरेको कमाइले नेपालमा पक्की घर बनाउने सपना त उनको पनि थियो । आज त्यो टुटेको सपना ब्यूताउँन मन छैन उनलाई । आज सदेह श्रीमान् चाहिएको छ । अरु कुरा गौण भएका छन् उनका लागि । आँखा चिम्लिन्छिन्, अघि आउँछन् श्रीमान् । आँखा खोल्छिन् रित्तो–रित्तो छ दृश्य । कसैगरी चित्तै बुझ्दैन । उनी भन्छिन् ‘सके सास नत्र लासको पर्खाइमा छु ।’

सास फर्किनु र लास फर्किनु बीच आकाश र जमिन जत्तिकै अन्तर छ । सामान्य मानिसले सोच्दा मात्रै पनि कहाली लागेर आउँछ । तर उनी दुवै परिणामका लागि मानसिक रूपमा तयार छिन् । नेपाली समाजमा कान्छीमायाजस्ता हजारौं महिलाहरू सास र लासबीचको मानसिक अन्तद्वन्द्वको रापमा आफूलाई जलाइरहेका छन् ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    भारत : प्रतिपक्ष शासित राज्यमा सत्तापक्षको दमन

    भारतको सबैभन्दा शक्तिशाली नेता  तथा प्रधानमन्त्री नरेन्द्र मोदीको लागि आउने चुनाव धेरै नै महत्त्वपूर्ण छ। समाचार संस्था, व्यवस्थापिका, नागरिक समाजका साथै कहिलेकाहीँ अदालतसमेत प्रधानमन्त्री मोदीको विचारधारा...

  • नेपालमत

    रेडियो(कर्मी)को भविष्यको चिन्ता !

    रेडियो भनेको आवाज सुनाउने माध्यम हो। रेडियोमार्फत सुनेका कुरा श्रोताको मनमा चित्र बनेर बस्छ। रेडियो माध्यमको सबैभन्दा ठूलो शक्ति र विशेषता नै यही हो। ताररहित सुनाउने...

  • नेपालमत

    सिकाइमा मातृभाषा वरदानसिद्ध हुँदोरहेछ

    २०७० साल वैशाखको पहिलो हप्ता । टिच फर नेपालको पहिलो समूहको फेलोको रूपमा दक्षिण ललितपुरको यात्रा शुरू भयो । सातदोबाटोबाट चापागाउँहुँदै छपेलीतिर लाग्दै गर्दा गाडी गुड्ने बाटो...

  • नेपालमत

    कति सुध्रियो हाम्रो फौजदारी न्यायप्रणाली ?

    संविधानसभाले राज्य पुन:संरचनासहितको नयाँ संविधान २०७२ सालमा जारी गर्‍यो।सँगै फौजदारी न्यायप्रणालीमै व्यापक सुधार ल्याउन मुलुकी अपराध संहिता ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि र्यविधि संहिता ऐन...

  • नेपालमत

    आम निर्वाचन र मौन मतदाता

    सरकारले मंसिर ४ गते प्रदेश सभाहरू र संघीय प्रतिनिधि सभाको दोस्रो निर्वाचनको मिति तोकेको छ। निर्वाचन आयोगले सो मितिमा निर्वाचन गराउन उम्मेदवारीको कार्यक्रम नै अगाडि...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved