• शुक्रबार, ७ बैशाख, २०८१
  • ०३:१५:१०
  • नेपालीको अभिमत

सन्दर्भ

बनाउँदिनँ पासपोर्ट, जाँदिनँ विदेश

उमा पौडेल

शनिबार, ११ असार, २०७९

द्र पोशाक । ठाँटिलो व्यवहार । तर, सुख खोजिरहेको निर्दोष मुहारको भावभङ्गी । उनका प्रत्येक शब्दमा सुखैसुख सुनिन्थ्यो । मुहारमा प्रसन्नता झल्केको थियो । आँखामा पढ्न सकिन्थ्यो मिठो जीवनमा सुन्दर सपना ।

बैशाखको मध्यमा पासपोर्ट बनाउन आएकी थिइन् उनी । पासपोर्ट बन्नेबित्तिकै विदेश उड्ने कल्पनामा डुबेकी मनमायाको मनभरि खुसीको मात्रै सपना थियो ।

हामी सुरक्षित आप्रवासन सामी परियोजनामार्फत् वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र ठगीरहित बनाउने अभियानमा लागिरहेका छौँ । सिन्धुली जिल्लाबाट पासपोर्ट बनाउने जो कसैले पनि सुरक्षित आप्रवासनबारे सूचना लिएपछि मात्रै जिल्ला प्रशासन कार्यालयबाट पासपोर्टको बाँकी प्रक्रिया अघि बढ्छ ।

त्यही क्रममा मेरो कार्यकक्षमा आइपुगेकी थिइन् वैंसालु उमेर पार गर्दै गरेकी मनमाया । सहकर्मीले मनमायाका कुरा सुनेपछि केही न केही गडबड छ भन्ने लख काटेछन् । अनि मेरो कार्यकक्षमा लिएर आए ।

उनको नागरिकताको प्रतिलिपि हेर्दै ठट्टै ठट्टामा भनिहालेँ– ‘बैगुनी रैछ्यौ नि दिदी, नामचाहिँ मनमाया कामले चाहिँ नेपाल छाड्ने भनेर पासपोर्ट बनाउन आइछ्यौ ।’

मेरा सहकर्मी मुसुक्क हाँसेर आफ्नो काममा लागे । सायद मेरो खुलापन मनमायाको लागि सहज बाटो बन्यो । उनी आफ्नो ब्यथाको पोको फुकाउन तयार भइन्–

१६ वर्षको उमेरमा एउटै गाउँका केटासँग पिरेम बस्यो । परिवारले त मानेका थिएनन् । मन परेको मान्छेसँग आफूखुसी बिहे गर्न कसले रोक्न सक्छ ! हामी दुईले भागेर बिहे गर्‍यौँ ।

त्यसपछि वर्ष दिनकै फरकमा दुई छोराछोरी जन्मिए । म छोराछोरी हुर्काउने र घरव्यवहार सम्हाल्नमा भूलि गएँ । श्रीमान् त अर्कै बाटोमा लागिसकेछन् । बिहे गरेको ११ वर्षपछि ममाथि सौता ल्याए ।

श्रीमान्‌ले मन परेर ल्याएको सौतासँग मन नपरेकी म, कसरी बस्न सकिन्थ्यो र ! सौता, त्यसमाथि मन चिरिने व्यवहार सहन सकिनँ । ६ महिनापछि आफूले जन्माएको छोराछोरी च्यापरे काठमाडौँ हिडेँ ।

हुन त काठमाडौँ पनि सुखको शहर त कहाँ रहेछ र ! दुःख नै सही दिनदिनै आफ्नैको बेइमानी आँखै अगाडि त देख्नुपर्थेन त्यहाँ । आफ्नै बुताले सन्तान हुर्काउन त सक्छु भन्ने अठोट त थियो नै । यत्रो शहरमा मैले कसो काम नपाउँला झैँ पनि लाग्यो । ज्याला मजदुरी गरेरै भए पनि छोराछोरी र आफ्नो ज्यान पाल्छु भन्ने आँट थियो । नभन्दै काठमाडौँ गएपछि मजदुरी काम पाएँ ।

अचेल त छोराछोरीले पनि काम सघाउँछन् । त्यही कामकै क्रममा एकजना दाइसँग चिनजान भयो । उहाँलाई यसअघि कहिल्यै देखेको थिइन । भेटेपछि थाहा भयो उहाँ मनको निकै धनी हुनुहुँदोरहेछ ।

उहाँले हो मेरो दुःख देखेर विदेश जाने सल्लाह दिनुभएको । उहाँले विदेशमा पैसा पनि कमाइने २/४ वर्षपछि छोराछोरी पनि साथै लान मिल्छ भन्नुभएको छ ।

जसरी हुन्छ पासपोर्ट बनाएर विदेश जाने अनि कमाएर छोराछोरीलाई सुख दिने मेरो चाहना छ । मैले ती दाइ मनको धनी यसै भनेको ठान्नुहोला, उहाँले त पासपोर्ट बनाउने मात्रै होइन बाटोखर्च समेत हालिदिनुभएको छ ।

मेरो दुःख देखेर मलाई कोटेश्वरबाट सिन्धुलीसम्मको भाडा उहाँले तिरिदिनुभयो । उहाँको दिदी नाता पर्नेलाई पनि पासपोर्ट बनाउने काममा सघाउन साथै पठाउनु भएको छ । बरु कसैले सोधिहाले भने के नाता भन्ने अप्ठ्यारो होला भनेर मेरो सानीमा हुँ भन्नु भन्नुभएको छ ।

मनमायाका मुखबाट यत्ति कुरा सुनेपछि उनको जीवनको जोखिम आँकलन गर्न मलाई क्षणभर लागेन । जसरी पनि यिनलाई तत्काल विदेश जानबाट रोक्नुपर्छ भन्ने निर्णय लिएँ । अपरिचित व्यक्तिले सहयोगको नाटक मञ्चन गर्नुको पछाडि मनमाया बेचिने प्रवल जोखिम रहेकोमा प्रष्ट थिएँ, म ।

उनलाई पनि आफ्नै श्रीमान्‌ले त धोका दिए, अर्को अपरिचितले विनास्वार्थ यतिसम्मको सहयोग नगर्नेबारे पटकपटक सम्झाएँ । उनलाई मेरो कुरामा कन्भिन्स गराउन बिना सीप विदेश जानुहुँदैन भनेर पटकपटक भनेँ । महिलाहरूले विदेश जाँदा सीप तालिम सिकेर गए, कम्पनी वा कार्यालयको काममा गएमात्रै सुरक्षित हुन सकिने कुराहरू भने । घरेलु काममा गर्न जाँदा काम गर्ने कुनै पनि समय तोकिएको नहुने, पारिश्रमिक नियमित र उचित नहुने कुराहरू सम्झाएँ । अझ घरेलु काममा नै गएर कतिपय महिलाहरूले भोग्नुपरेको हिंसा र अप्ठ्याराको विभिन्न उदाहरणहरू पनि सुनाएँ ।

लगत्तै मनमायालाई सानीमा भन्नु भनेर सिकाएकी महिलालाई बोलाएर ल्याउन लगाएँ । ती महिलासँगको केहीबेरको कुराकानीपछि नै छर्लंग भयो– उनी पनि केही आर्थिक प्रलोभनमा परी त्यस पुरुषले खटाएको काममा लागेकी रहिछन् ।

हुन त ती महिला स्पष्टसँग कुनै पनि कुरा गर्दैनथिन् । उनलाई नै धेरै कुरा थाहा थिएन । हुन पनि मानव बेचविखनमा संलग्न उनीजस्ता स्थानीय महिलाको नेटवर्क त्यो लोकल एजेन्टभन्दा माथि नहुने उदाहरणहरू छन् । उनी ईन्डिया जाने अनि त्यहाँबाट प्लेनमा विदेश जाने मात्रै पटकपटक भनिरहन्थिन् । निश्चित आर्थिक प्रलोभनका लागि मानव बेचविखनको पहिलो तहको ऐजेण्टको रुपमा उनी काम गर्दैरहिछिन् ।

हुन त मेरो कामको जिम्मेवारी उनलाई आवश्यक सूचना र जानकारी दिनुमात्रै न थियो । न त मसँग उनलाई विदेश जानबाट रोक्न सक्ने हक नै थियो, न त उनलाई पासपोर्ट नदिने अधिकार नै ।

घरायसी जिम्मेवारीबाट बाहिर निस्किएर काम गर्न त पितृसत्तात्मक सोचले बाँधेको हाम्रो समाजमा विदेश गएर पैसा कमाउने आँट राख्ने महिलालाई त व्यक्तिगत हिसावले जहिले सम्मान गर्छु । तर, एउटी अवोध महिला श्रमको नाममा बेचबिखनको जोखिममा छिन् भनेर जान्दाजान्दै मैले उनलाई जोखिमपूर्ण बाटोमा अघि बढ्न नदिनु मानवीय धर्म पनि थियो ।

यही सोचका साथ ती दुई महिलालाई सँगै लिएर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको कोठामा गएँ । उनीहरूको सबै वास्तविकता सुनाएपछि अनुरोधको भावमा भनेँ, ‘सकिन्छ भने उहाँको पासपोर्ट रोकौँ सर ।’

उहाँले प्रमुख जिल्ला अधिकारी (सिडिओ)को कार्यकक्षमा पठाउनुभयो । दुवैजना महिलालाई साथै लिएर म सिडिओको कोठामा गएँ । सानीमा बनेर पुगेकी एजेन्ट महिलाको फोन बजेको बजेकै भयो । सबैको अगाडि उनको फोन मागेर रिसिभ गरेँ । नौलो आवाज सुनेपछि ती व्यक्तिले फोन काटे र तुरुन्तै आफ्नो फोन स्वीच अफ गरिहाले ।

प्रमुख जिल्ला अधिकारीले समय लगाएर उनीहरूका कुरा सुन्नुभयो । उहाँलाई पनि शङ्कास्पद लागेपछि “तपाईंलाई पासपोर्ट दिन मिल्दैन” भनिदिनुभयो र प्रहरीकहाँ लिएर जान सुझाउनु भयो ।

दुई महिलासँगै प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा पुग्यौँ हामी । परामर्श कक्षदेखि लिएर, प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी, महिला तथा बालबालिका सेलका प्रमुख कसैले पनि उनलाई सम्झाउन बाँकी राखेका थिएनौं ।

दुवै जनालाई प्रहरी कार्यालयमा केही घण्टा राखियो । त्यसमा हामी कसैको गलत नियत थिएन । नियत यति मात्रै थियो मनमायाको पासपोर्ट बनाइदिएर जीवन जोखिममा नधकेलौँ ।

यसैबीच मनमायाका आफन्त पर्ने व्यक्तिहरूले उनीहरू प्रहरीमा भएको कुरा थाहा पाएछन् । आफन्तलाई सम्झाइ बुझाई हामीले महिला तथा बालबालिका सेवा केन्द्रबाट आफन्तको जिम्मा लगाएर मनमायालाई पठायौँ ।

आर्थिक प्रलोभनमा परी आएकी महिलालाई अबदेखि यस्तो काम नगर्न चेतावनी दिएर छाडियो । मनमायाका आफन्तसँगै म पनि फर्किँदै थिएँ ।

जिल्ला प्रशासन कार्यालय नजिकै पुगेपछि जिस्काउँदै भनेँ, ‘जाम मनमाया दिदी पासपोर्ट बनाउन ।’ मेरा कुरा नसकिँदै मनमाया बोलिन्, ‘झण्डै बेचिदिएछ । बनाउँदिनँ पासपोर्ट । जाँदिनँ विदेश । ज्याला गरेर दिनको १५ सय कमाउँछु, त्यही खान्छु बस्छु ।’

आज तिनै मनमाया दिदीको याद बिहानैदेखि आइरहेको छ । अफिसको रजिस्ट्ररमा टिपोट गरिएको उनको नम्बरमा फोन लागेन । उनीसँग भन्न मन थियो, ‘ए ! मनमाया दिदी, तिमीसँग एउटा फोटो खिच्न नपाएकोमा मलाई धेरै पछुतो छ ।’

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    भारत : प्रतिपक्ष शासित राज्यमा सत्तापक्षको दमन

    भारतको सबैभन्दा शक्तिशाली नेता  तथा प्रधानमन्त्री नरेन्द्र मोदीको लागि आउने चुनाव धेरै नै महत्त्वपूर्ण छ। समाचार संस्था, व्यवस्थापिका, नागरिक समाजका साथै कहिलेकाहीँ अदालतसमेत प्रधानमन्त्री मोदीको विचारधारा...

  • नेपालमत

    रेडियो(कर्मी)को भविष्यको चिन्ता !

    रेडियो भनेको आवाज सुनाउने माध्यम हो। रेडियोमार्फत सुनेका कुरा श्रोताको मनमा चित्र बनेर बस्छ। रेडियो माध्यमको सबैभन्दा ठूलो शक्ति र विशेषता नै यही हो। ताररहित सुनाउने...

  • नेपालमत

    सिकाइमा मातृभाषा वरदानसिद्ध हुँदोरहेछ

    २०७० साल वैशाखको पहिलो हप्ता । टिच फर नेपालको पहिलो समूहको फेलोको रूपमा दक्षिण ललितपुरको यात्रा शुरू भयो । सातदोबाटोबाट चापागाउँहुँदै छपेलीतिर लाग्दै गर्दा गाडी गुड्ने बाटो...

  • नेपालमत

    कति सुध्रियो हाम्रो फौजदारी न्यायप्रणाली ?

    संविधानसभाले राज्य पुन:संरचनासहितको नयाँ संविधान २०७२ सालमा जारी गर्‍यो।सँगै फौजदारी न्यायप्रणालीमै व्यापक सुधार ल्याउन मुलुकी अपराध संहिता ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि र्यविधि संहिता ऐन...

  • नेपालमत

    आम निर्वाचन र मौन मतदाता

    सरकारले मंसिर ४ गते प्रदेश सभाहरू र संघीय प्रतिनिधि सभाको दोस्रो निर्वाचनको मिति तोकेको छ। निर्वाचन आयोगले सो मितिमा निर्वाचन गराउन उम्मेदवारीको कार्यक्रम नै अगाडि...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved