खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भन्नुभयो, “यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन ।”
गुरुङको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ मा बसोबास रहेको छ । उमेरले ९६ वर्ष पुग्नुभएकी उहाँलाई सम्मानले बोलाउने नाम बनेको छ ‘पियारी आमा’ । पियारी आमाको घर सानो भए पनि मन भने ठूलो छ । उहाँले आफूसँग भएको सबै सम्पत्ति विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।
पियारी आमाले कावासोती–४ स्थित सरस्वती माविलाई आफ्नो नाममा रहेको सबै आठ कठ्ठा जग्गा दान गर्नुभएको हो । निःसन्तान उहाँ श्रीमानको मृत्यु भएपछि एक्लै बस्दै आउनुभएको छ । पियारी आमाको साथी भने पनि साक्षी भने पनि एक कोठासहित सानो खरले छाएको घरमात्रै छ ।
विद्यालयलाई दिएको जग्गामै उहाँको घर रहेको छ । खेतमा हुने सबै उब्जनी पियारी आमाले विद्यालयलाई दिने गर्नुभएको छ । “मैले दान दिएकी हुँ, दान दिएको फेरि आफूले लिनहुन्न”, उहाँले भन्नुभयो, “त्यसैले यहाँ जे–जे लगाउँछु पछि विद्यालयलाई लगेर बुझाउने गरेको छु ।”
पियारी आमाले आफूसँग भएको जग्गामात्रै होइन, उहाँका श्रीमान् भारतीय सेनाबाट निवृत्त भएकाले आउने पेन्सनसमेत अरुलाई सहयोग गर्ने गर्नुभएको छ । विशेषगरी विद्यालयलाई दान दिनमै उहाँको रुचि छ ।
पियारी आमाले विद्यालयमा विभिन्न समयमा आफूसँग भएको पैसा ल्याएर दिने गर्नुभएको सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील पौडेलले बताउनुभयो । “अरूलाई सहयोग गरौँ भन्ने उहाँको भावना छ, विद्यालयमा बेला–बेलामा सहयोग प्रदान गर्नुभएको छ”, उहाँले भन्नुभयो । अरुबाट केही आश नगर्ने, केही लिन नखोज्ने तर आफूले भने सहयोग गर्ने स्वभाव उहाँको छ । शिक्षा क्षेत्रमा आफूसँग भएको सबै रकम दान गरेकाले विद्यालयले पियारी आमालाई सर्वस्वदाताका रूपमा सम्मानसमेत गरेको छ ।
शिक्षाको विकासका लागि निस्वार्थ भावमा आफ्नो सबै जायजेथा दान गरेकाले उहाँको सम्मानमा अहिले पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागिएको छ । पियारी आमाको घरछेउमा स्मृतिस्तम्भ निर्माण गर्न लागिएको कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले बताउनुभयो । “शिक्षाको विकासमा बिनास्वार्थ पियारी आमाले गरेको दान ठूलो छ, हामीले दाताको हौसला बढाउनुपर्छ, यसैले सम्मानस्वरुप पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ साङ्केतिक भाषामा सञ्चार गरेका भरमा स्नातक तहसम्मको अध्ययनको यात्रा तय गर्नु पक्कै पनि सहज छैन । पढ्न चाहेर पनि सबै स्थानमा घर नजिकै त्यस प्रकारका...
जानकी- बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उहाँको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो ।...
काठमाडौँ- “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ रु ६० अर्बको लगानी गरिसकेको छ । होटलमा मात्र रु ३० अर्ब लगानी थपियो ।...
काठमाडौँ- समय नपत्याउँदो तरिकाले बितिरहेको छ । तर वर्तमानले जबर्जस्त नयाँ सन्देश प्रवाह गर्न खोजिरहेको छ । नेपाली राजनीतिमा यो विशेष महत्वका रुपमा दर्ज हुदैछ...
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २६ वैशाखमा काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्दै भन्नुभएको थियो, ‘‘भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ...