• शनिबार, ८ बैशाख, २०८१
  • ०३:४७:४९
  • नेपालीको अभिमत

राजनीति

अर्थतन्त्र पुनर्संरचना गर्न ढिलो नगरौँ

नेपालमत

शनिबार, २७ फाल्गुण, २०७९

काठमाडौं- मुलुकको अर्थतन्त्रलाई उद्दार गर्न तत्काल संरचनागत सुुधारसहितको पहल आवस्यक रहेको जानकारले बताएका छन् ।

राष्ट्रिय आर्थिक सरोकार समाजले आज काठमाडौँमा आयोजना गरेको ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मलेन, २०७९’ कार्यक्रमका वक्ताले अहिलेको कार्यशैली र तौरतरिकाबाट समस्या समाधान हुन नसक्ने भएकाले अर्थतन्त्रको पुनःसंरचना आवस्यक रहेको धारणा राखेका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकस्तरमा अहिलेको जस्तो निराशा आफूले पहिले कहिल्यै नदेखेको बताउनुभयो । “अर्थतन्त्रका सूचक र तथ्यतथ्याङ्कले के भन्छन् भन्दा पनि अवस्थालाई समग्रतामा हेर्ने हो । अहिलेको अवस्थालाई नागरिकले कसरी हेरिरहेका छन् भन्नेकुरा मुख्य हो । अहिले नागरिक आत्तिएका छन् । यति धेरै मानिस एकैपटक यसरी आत्तिएको मैले पहिले देखेको थिइन ।” कांग्रेस महामन्त्री थापाले भन्नुभयो ।

अर्थतन्त्रमा अहिले देखिएका समस्या एकैपटक आएको नभइ लामो समयदेखि समाधान नभएका समस्या थपिँदै गएको पनि थापाको भनाइ छ । “हाम्रो अर्थतन्त्रमा हामीले लामो समयदेखि पन्छाउँदै आएका समस्या थुप्रिएका छन् । यी समस्या उत्पादनसँग जोडिएका छन् । युवा विदेश जाने र त्यहाँबाट पठाएको पैसाले वस्तु आयात गरेर उपभोग गर्ने समस्या रहेको छ ।”, उहाँले भन्नुभयो ।

नेपालका राजनीतिज्ञमा अर्थतन्त्रबारे निकै कम ज्ञान हुने गरेको पनि थापाको भनाइ छ । “राजनीतिज्ञले अर्थतन्त्रका आयाम केलाउँदैन् । उनीहरुले जनतालाई गरेका वाचा हेर्छन् । राज्यको स्रोत एकातिर हुन्छ, राजनीतिज्ञहरुलाई जसरी पनि जनताका आकांक्षा पूरा हुनुपर्छ भन्ने छ । यसकारण राजनीतिज्ञलाई अर्थतन्त्रका बारेमा बुझाउन आवस्यक छ ।”, उहाँले भन्नुभयो । गृह प्रशासन निरीह हुँदा चोरी पैठारी मौलाएको पनि उहाँको भनाइ छ ।

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता विजय पौडेलले नेपालको आर्थिक स्थिति जटिल बिन्दुबाट गुज्रिरहेको बताउनुहुँदै आन्तरिक उत्पादन वृद्धिमा जोड दिइनुपर्ने बताउनुभयो । उत्पादन बढाउने विगत देखिका योजनाको लक्ष्य प्राप्त गर्न नसकेको पौडेलको भनाइ छ । “विगतदेखि उत्पादन बढाउने योजना प्रभावकारी हुन सकेनन् । सरकार र हाम्रा निकायले निर्धारण गरेका लक्ष्यप्रति उनीहरु जवाफदेही हुनुपर्छ ।” पौडेलले भन्नुभयो । राजनीतिक दलले आपूm सरकारमा हुँदा अर्थतन्त्र ठिक छ भन्ने र प्रतिपक्षले गम्भीर अवस्थामा छ भन्ने प्रवृत्ति कायम रहेको पनि उहाँले बताउनुभयो । त्यस्तै, अहिले उद्योगी व्यवसायीले निराशाको मात्रै कुरा गरिरहेको पनि पौडेलको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयालले नेपालले आफ्नो सामथ्र्य पहिचान गरेर स्रोतसाधनको अधिकतम उपयोगमार्फत् उत्पादन बढाउनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । नेपालले तुलनात्मक लाभका वस्तुको पहिचान गरी त्यस्ता वस्तुको उत्पादन बढाउनुपर्ने उहाँको भनाइ छ । “उपलब्ध स्रोत साधनको परिचालनमार्फत् उत्पादन र उत्पादकत्व बढाउँदै लैजाने नीति लिइनुपर्छ । तुलनात्मक लाभका वस्तु उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा जान सक्नुपर्छ ।” उहाँले भन्नुभयो । उत्पादन र उत्पादकत्व बढाउने गरी वित्तीय दक्षता कायम गर्न आवस्यक रहेको पनि उहाँले बताउनुभयो ।

त्यस्तै, बजेट विनियोजनमा कुशलता र कार्यान्वनयमा दक्षताको विषयलाई गम्भीरतापूर्वक लिइनुपर्ने फुँयालको भनाइ छ । प्राथमिकताका क्षेत्र पहिचान गरेर चाडो नतिजा दिने आयोजनालाई बजेटको प्राथमिकतामा राख्नुपर्ने पनि उहाँले बताउनुभयो ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अहिले बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रका लागि सकारात्मक ढाडस आवस्यक रहेको बताउनुभयो । कोभिड–१९ महामारी, रुस–युक्रेन युद्ध, विश्व ऊर्जा सङ्कट तथा मूल्यवृद्धिलगायतका विश्वव्यापी समस्याको प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिएको बताउँँदै गभर्नर अधिकारीले अहिले अर्थतन्त्रको बाह्य क्षेत्र बिस्तारै सुधार हुँदै गएको बताउनुभयो ।

त्यस्तै, नेपालको अर्थतन्त्र सुधार्न संरचनागत सुधार आवस्यक रहेको पनि उहाँले बताउनुभयो । “हामीसँग प्रसस्त चुनौती छन् । हाम्रो संरचनागत सुधार आवस्यक छ । सँगसँगै सकारात्मक कुरा पनि जरुरी छ । हाम्रो शोधनान्तर स्थिति बचतमा छ । गतवर्षको तुलनामा बैङ्कको निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) घटेको छ । हाम्रोजस्तै अर्थतन्त्र भएका विश्वका अरु मुलुकभन्दा मूल्यवृद्धि कम छ ।” गभर्नर अधिकारीले भन्नुभयो ।

बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको सही उपयोग हुन नसकेको पनि गभर्नर अधिकारीले बताउनुभयो । “बैङ्कले पैसा दिने तर त्यसलाई सदुपयोग गर्न सकिएन भने प्रतिफल आउँदैन । अहिले उत्पादन क्षेत्र भन्दापनि अनुत्पादक क्षेत्रमा बढी लगानी भयो ।” उहाँले भन्नुभयो । यद्यपि, राष्ट्र बैङ्कले उत्पादन क्षेत्रको कर्जा बढाउनका लागि क्षेत्रगत कर्जा विस्तारमा जोड दिएको गभर्नर अधिकारीले बताउनुभयो ।

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शनिबार, २७ फाल्गुण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved