ताजा

  • मंगलबार, ३० बैशाख, २०८२
  • १७:२६:४३
  • नेपालीको अभिमत

मनोरञ्जन / साहित्य

विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र

नेपालमत

शुक्रबार, २० माघ, २०७९

सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त हुनुभएको छैन । ‘विसङ्गत अभिरुचि’ उहाँको पछिल्लो संस्मरण कृति हो । 

सरकारी सेवाको लामो यात्रामा झेल्नुपरेका सास्ती र सङ्घर्षका क्षणलाई उहाँले पुस्तकमा लिपिबद्ध गर्नुभएको छ । उहाँकै भाषामा प्रशासनिक क्षेत्रमा लुकेका बेथिति र विकृतिको उजागर पनि हो( ‘विसङ्गत अभिरुचि’ । “पुस्तक लेखेर समाजलाई सत्य थाहा दिने धोको पुरा गरेको छु”, बानियाँले भन्नुभयो ।

बनावटी कथन र भावनात्मक संवेग लेखनको उद्देश्य नरहेको बानियाँले प्रस्ट पार्नुभयो । कृतिमा २८ शीर्षकका सस्मरण छन् । बत्तिस वर्ष मालअड्डामा जागिरे जीवन बिताउनुभएका उहाँले पुस्तकमा बढीजसो जग्गा प्रशासनमा भएका अवाञ्छित क्रियाकलापको पर्दाफास गर्नुभएका छन् । 

कर्मचारीतन्त्रमा हुने भ्रष्टचार, अनियमितता र ज्यादतिविरुद्ध उहाँले निर्भयतापूर्वक कलम चलाउनुभएको छ । गैरकानुनी कामलाई सदर नगर्दा कार्यकक्षमै पेस्तोल ताकेर ज्यान लिने प्रयास भएकोसम्मका घटनालाई बानियाँले संस्मरणमा समेट्नुभएको छ । 

कार्यालय प्रमुखको थिचोमिचो, सरुवामा भएको चलखेल, वर्षौँसम्म एउटै पदमा रहिरहँदाको मनादेशालाई उहाँले सजीवरूपमा उतार्नुभएको छ । कपितय पात्र र प्रवृत्तिबारे उहाँले खुलेरै प्रतिवाद गर्नुभएको छ । “सरकारी सेवामा रहँदा देखेभोगेका मिठानमिठा अनुभवलाई दबाएर राख्न सकिन, अनि लेखेँ”, बानियाँले भन्नुभयो ।

हालै म्याग्दीमा भएको कृतिको लोकार्पण समारोहमा बोल्दै मदन पुरस्कार विजेता लेखक चन्द्रप्रकाश बानियाँले कृष्णले आँट जुटाएर संस्मरण लेखेको बताउनुभयो । “म आफैँ भएको भए पनि यसरी लेख्न सक्ने थिइँन, संस्मरणमा हिम्मतिला कथाहरू छन्”, उहाँले भन्नुभयो, “समाज र राज्यव्यवस्थाका विकृत पक्षलाई पुस्तकले बाहिर ल्याइदिएको छ ।”

धवलागिरि बहुमुखी क्याम्पसका प्रा डा दिनबहादुर थापाले भ्रष्ट, अविवेकी कर्मचारीतन्त्र, माफिया संयन्त्र, सामन्ती र अन्धविश्वासी संस्कारप्रति लेखक बानियाँले कटाक्ष गरेको बताउनुभयो । “निष्ठापूर्वक जागिर खाएर पनि अपमान, अभाव र विसङ्गत जीवन भोग्नुपरेको यथार्थलाई पुस्तकमा उजागर गरिएको छ”, उहाँले भन्नुभयो ।

पुस्तकले लेखकीय इमान्दारिता र सुक्ष्म घटनालाई उधिन्ने काम गरेको प्रा डा थापाले बताउनुभयो । घटना, दृश्य, पात्र र विषयवस्तुले कृतिलाई ओजिलो बनाएको उहाँले उल्लेख गर्नुभयो । लेखकले इमान्दार राष्ट्रसेवक, सेवाग्राही, निमुखा र असहायप्रति सहानुभूति दर्शाएको उहाँको टिप्पणी छ ।

पुस्तकमा निष्पक्षता, तटस्थता, नैतिकता र वस्तुगत अवस्थाप्रति लेखकीय इमान्दारिता कायम गरिएको प्रा डा थापाको भनाइ छ । समालोचक रामप्रसाद सुवेदीले बानियाँको संस्मरण कृतिले कर्मचारी प्रशासनभित्रको विसङ्गतिको फर्दाफास गरेको बताउनुभयो । पत्यारिला घटना शृङ्खला र सत्यमा आधारित रहेकाले संस्मरणको सैद्धान्तिक पक्षसँग पनि पुस्तकको सङ्गति मिलेको उहाँको कथन छ । 

“आत्मकथा काल्पनिक संसारको निर्माण होइन, लेखक सत्यको कसीमा खरो उत्रनुपर्छ, विश्वसनियता चाहिन्छ, यसमा बानियाँ सफल देखिनुभएको छ”, सुवेदीले भन्नुभयो, “संस्मरणमा निराशावादभित्र पनि आशावाद छ ।” केही शब्दगत त्रुटिका बाबजुद सरल र रोचक भाषाशैलीले पुस्तकमा ओज थपेको उहाँको भनाइ छ ।

“भ्रष्ट कर्मचारीतन्त्र, नातावाद, कृपावाद, तराईमा हुने गरेको जग्गाको अवचलन, सक्षम र इमान्दार कर्मचारीको नियतिजस्ता विषयलाई पुस्तकले उठान गरेको छ”, सुवेदीले भन्नुभयो, “पुस्तकले सार्वजनिक सेवा क्षेत्रका विसङ्गति हटाउन र सुशासन कायम गराउन सम्बद्ध पक्षलाई झक्झकाउँछ, यसबाट राज्य संयन्त्रले पाठ लिन सक्नुपर्छ ।”

कथानक शैलीमा लेखिएको पुस्तक पठनीय र जानकारीमूलक रहेको उहाँले बताउनुभयो । प्रशासनिक क्षेत्रबाहेक राजनीति, समाज, संस्कृति, आञ्चलिकता, प्रजातान्त्रिक आन्दोलनजस्ता विषयले पनि पुस्तकमा ठाउँ पाएका छन् । विसं २०३७ मा भएको जनमत सङ्ग्रहमा सहायक कर्मचारीका रुपमा म्याग्दीको ताकममा खटिएको प्रसङ्गलाई पनि बानियाँले उप्काउनुभएको छ । 

पर्वत राज्यको एतिहासिकतादेखि सरकारी सेवाका अवधिमा विभिन्न जिल्लामा पुग्दाका यात्रा वर्णनलाई पनि उहाँले पुस्तकमा समेट्नुभएको छ । “जति लेखेँ, इमान्दार भएर लेखेँ, गलत कुरा र प्रवृत्तिको विरोध गरेको छु, समाज र राज्य व्यवस्थाका कमीकमजोरी औँल्याएको छु”, बानियाँले भन्नुभयो, “मालपोतलाई भ्रष्ट अड्डाका रुपमा हेर्ने नजिरिया छ, म त्यसबाट जोगिएँ र इमानको बाटो समातेँ ।”

समाजसँग सङ्गति नमिलेका आफ्ना भोगाइ र विचारलाई पुस्तकको आकार दिएको उहाँले बताउनुभयो । बानियाँले पुस्तकको आखिरीतिर जागिरे जीवनबाट निवृत्त हुँदा खेत रोपाइँको मैजारोपछि जुवाबाट मुक्त भएको गौरुको काँधझैँ आफ्नो मनमष्तिष्कको बोझ हलुका भएको टिप्पणी गर्नुभएको छ ।

विसं २०३३ मा शिक्षक बनेर जागिरे जीवन सुरु गर्नुभएका बानियाँ विसं २०७४ मा मालपोत अधिकृतबाट सेवानिवृत्त हुनुभएको थियो । जागिरका सिलसिलामा उहाँ १६ जिल्ला पुग्नुभएको थियो । बत्तीस वर्ष मालपोत, साढे दुई वर्ष निर्वाचन आयोग, सामान्य प्रशासन मन्त्रालय र निजामति किताबखानामा एक वर्ष, गृह मन्त्रालयमा सात महिना र खानेपानी विभागमाले पाँच महिना काम गर्नुभएको थियो । 

म्याग्दीको बेनी नगरपालिका-७ मा जन्मनुभएका बानियाँको यसअघि ‘केही अनुभव : केही अनुभूति’ नियात्रा (२०६३), ‘म्याग्दीको बानियाँ बंश’ सामाजिक इतिहास (२०६५) र ‘पुलस्त्य(पुलहाश्रमको परिचय र महत्व’ धार्मिक इतिहास (२०६६) प्रकाशित छ । उहाँको पछिल्लो संस्मरण कृति ‘शिखा बुक्स’ले प्रकाशित गरेको हो । बानियाँ पुलस्त्य साहित्य प्रतिष्ठान म्याग्दीका अध्यक्षसमेत हुनुहुन्छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    सिड्नीमा नेपथ्यको विशाल प्रस्तुति

    सिड्नी - पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शकले भरिभराउ ‘होर्डन पभिलियन’ मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो। कन्सर्टका...

  • नेपालमत

    नारी प्रधान चलचित्र ‘कोशेढुंगा’को निर्माण सुरु

    काठमाडौं - चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ ।  चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको महाशिवरात्रिकाे अवसर पारेर बुधबार शुभमुहूर्त गरिएको हो...

  • नेपालमत

    ‘लाज शरणम्’मा रहेको बालेनको गीतले बनायो रेकर्ड

    चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ। युट्युबमा यो गीतले रेकर्ड बनाएको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै...

  • नेपालमत

    'पहाड' मार्फत निर्देशनमा फर्किए तुलसी घिमिरे

    निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ को मुहुर्त गर्दै छायाङ्कन सुरू गरेका छन् । आज गोरखा दरबारमा पुजा गरेपछि छायाङ्कन सुरू गरिएको फिल्ममार्फत झन्डै आठ वर्षपछि निर्देशक...

  • नेपालमत

    नेपालगञ्जमा पल शाहको क्रेजमा उर्लिए दर्शक

    नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को चौथो दिन आइतबार नायक पल शाहको क्रेजमा दर्शकको ओइरो लागेको छ । कालो पहिरनमा कालो चस्मा लगाएर टिमसहित स्टेजमा उक्लेका...

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved