• बिहीबार, १३ बैशाख, २०८१
  • १९:१९:३३
  • नेपालीको अभिमत

अभिमत / डायरी

मृत्युको नजिक पुगेर फर्किएको त्यो क्षण...

गीता श्रेष्ठ

बिहीबार, ३ कार्तिक, २०७९

विभिन्न ठाउँमा यात्रा गर्दा मेरो मन प्रफुल्लित हुन्छ । मेरो जागिरको सबैभन्दा राम्रो पाटो पनि यही हो भन्ने लाग्छ । कामको सिलसिलामा सर्भे गर्नु, डाटा संकलन गर्नु, समूह छलफल, फरक–फरक ठाउँका मानिसहरूसँग भेटघाट गर्नु, अन्तर्वार्ता लिनु, उनीहरूको कथा सुन्नु, उनीहरूको जीवनलाई नजिकबाट नियाल्नु, जीवन परिवर्तनका कथाहरू संकलन गर्नु अनि उनीहरूको बारेमा अरूलाई बताउनु, यी काम साह्रै रमाइला लाग्छन् । 

अनुगमन तथा मूल्याङ्कन विभागमा कामको दशकभन्दा बढी समय बिताइसक्दा पनि नेपालको सुन्दर सुदूर पश्चिमका ठाउँहरूको भ्रमण गर्ने अवसर जुरेको थिएन । यसपाली कर्णाली अञ्चलका केही सुन्दर ठाउँहरूमा भ्रमण गर्न पाएको अवसरमा बटुलेका अनुभव अन्य ठाउँका भन्दा बेग्लै छन् । 

एक दशकको अवधिमा कामको सिलसिलामा नेपालका विभिन्न ठाउँमा यात्रा गर्दा कैयौं जीवनहरू परिवर्तन भएको, सोच र ज्ञानमा वृद्धि आएको देखेको र अनुभव गरेको छु । आफू जन्मेर हुर्केको ठाउँ सुन्दर नगरी पोखरा, जहाँ म शहरिया परिवेशमा हुर्केको र पढाइमा सीमित मेरो विद्यार्थी जीवनले घुमघाम गर्ने खासै अवसर नपाउँदा गाउँले जीवनशैलीको रसोस्वादन गर्ने खासै अवसर पाएन । बाबाले पुख्र्यौली घर धादिङको खाल्टेमा लैजानुहुँदा भने थोरै मात्र भए पनि गाउँले जीवनको अनुभव बटुल्न पाउँथे । पोखराको शहरिया जीवनको बानी परेकाले होला गाउँमा विशेषगरी बोराले बारेको चर्पी र खुला ठाउँमा नुहाउनुपर्ने बाध्यताले एकदमै असहज महसूस हुन्थ्यो । यस्तो देख्दा गाउँले जीवन निकै कष्टकर लाग्थ्यो ।

स्नातकसम्मको पढाइ सकिएपछि जागिरे जीवनमा गरिब, पिछडिएका र सीमान्तकृत समुदायसँग नजिकबाट काम गर्ने अवसर मिल्यो । यसै क्रममा नेपालका दुर्गम जिल्लाहरूमा गई ती समुदायका मानिसको जीवन परिवर्तनका कथाहरू संगाल्ने काम गर्न थालिसकेकी थिएँ ।

यात्रा यस मानेमा पनि रोचक थियो कि हाम्रो गाडीको २२ वर्षे ड्राइभर भाइ टीकाराम विष्ट साह्रै रमाइला र मिजासिला थिए । उनको कहिल्यै नसकिने रमाइलो अनुभव सुनेर हामी जोकजस्तो मानी पेट मिचिमिची हाँस्थ्यौं ।

एन्टेना फाउण्डेशनमा काम गर्न थालेपछि उक्त संस्थाद्वारा उत्पादित तथा प्रसारित नेपालको अभिभावक शिक्षा, बाल विवाह तथा यौन तथा प्रजनन स्वास्थ्यमा आधारित रेडियो नाटकबारे स्रोताहरूको परिवर्तनका कथा संकलन गर्ने सिलसिलामा कर्णाली अञ्चललगायत सुदूर पश्चिमका विभिन्न ठाउँहरूको भ्रमण गर्ने अवसर मिल्यो । म निकै उत्साहित थिएँ; कारण यी क्षेत्रको यात्रा मेरो जीवनमा पहिलो पल्ट हुँदैथियो भने एन्टेना फाउण्डेशनमा मेरो नियमित जागिर सम्झौता अवधि सकिसकेपछि उक्त संस्थाबाट पुनः कर्णाली र सुदूर पश्चिमको यात्रा गर्ने अवसर पाएँ । आफ्नो नियमित जागिर नभएपछिको यो मेरो पहिलो यात्रा थियो । त्यसैले म एकप्रकारले अत्यन्त खुशी थिएँ भने अर्कोतिर जागिर खोज्ने दौडमा मन आत्तिरहेको थियो । तर पनि यात्राले छुट्टै जोश, जाँगर, आशा र ऊर्जा दिएको थियो ।

कर्णाली र सुदूर पश्चिम निकै सुन्दर छन् भन्ने सुनेकी थिएँ, त्यसैले ती ठाउँको प्राकृतिक रसोस्वादन गर्न हतारिएकी थिएँ । १६ सेप्टेम्बर २०२२ मा काठमाडौंबाट नेपालगञ्जसम्म हवाइयात्रा थियो । नेपालगञ्जको गर्मीले राम्रै स्वागत ग¥यो । काठमाडौंको शीतल हावापानीमा बस्ने बानी भएको म नेपालगञ्जमा ओभनभित्र हालेको पाउरोटीजस्तै भएकी थिएँ । धेरै पटक तराईको ४१ डिग्रीको तापक्रममा काम गरिसकेको बानी भएकोले त्यो पचाउन असहज भने भएन ।

नेपालगञ्जबाट गाडी रिजर्भ गरी सुर्खेतसम्मको यात्रा गर्दा मौसम चिसिंदै गएको थियो । त्यस यात्रामा एन्टेना फाउण्डेशनका पाँच जना र पपुलेसन मिडिया नेपालबाट १ जना गरी हामी ६ जना यात्रामा थियौं । यात्रा शुरू गरेकै दिनदेखि पानी पर्न थालेको थियो । काठमाडौंमा पानी पर्दा मौसम चिसो हुने भए पनि नेपालगञ्जमा भने भारी वर्षा भइरहँदा पनि गर्मीमा कमी आएको थिएन । थुप्रै ठाउँमा बाढी, पहिरो गएको समाचार आइरहेको थियो; धेरै ठाउँमा यात्रा गर्नुपर्ने भएकाले यसबाट अलि चिन्तित थियौं । हाम्रा स्रोताहरूलाई भेट्न हामी विकट ठाउँहरूमा जानुपर्ने भएकाले ठाउँ–ठाउँमा पहिरो, मोबाइल नेटवर्कको समस्या थिए ।

सुर्खेतको गुटु भन्ने ठाउँमा एक जना स्रोतालाई भेट्ने कार्यक्रम तय भएको थियो । तर, नेटवर्कको समस्याका कारण पहिलो रात सुर्खेतमा नै बास बस्नु पर्‍यो । सम्बन्धित स्रोतासँग सम्पर्क हुन नसकेका कारण गुटु जाने कार्यक्रमलाई थाँती राखी छिन्चु भन्ने ठाउँमा एक जना दृष्टिविहीन स्रोतालाई भेट्न जाने योजना बन्यो । उहाँसँगको भेटपछि हामी सुर्खेतको अर्को ठाउँ करेखोलातर्फ रवाना भयौं । गाडी जाने बाटोबाट झण्डै १० मिनेट हिंडेपछि एक जना महिला स्रोतालाई भेट्यौं । पानी पर्न थामिएको र मौसम हल्का चिसो भएकाले हामीलाई बिहानै यात्रा गर्न सहज भएको थियो । ती महिलाको परिवारको सदस्य संख्या देख्दा नेपालमा अझै पनि सगोलमा बस्ने, एक–अर्काप्रति उत्तिकै माया, प्रेम र सहयोगी भावना जीवितै रहेछ भन्ने महसूस भयो । उहाँको परिवारमा ११ जना मिलेर बस्नुभएको र हामीले प्रसारण गरेको नाटकले त्यो परिवारमा पारेको प्रभावले ल्याएको ज्ञान र परिवर्तनको कथा हामीले संकलन गर्‍यौं । त्यो परिवार बस्ने घर सानो थियो तर ११ जना कसरी अटाएका होलान् र एक–अर्कामा यति धेरै माया एवं सहयोगी भावना कसरी आयो होला भन्ने कौतुहलता मेरो मनमा खेलिरह्यो । यति ठूलो परिवारले हामीलाई गरेको स्वागत सत्कारमा अतिथि देवो भवः प्रष्ट झल्किन्थ्यो । शहरमा यस्तो परम्परा हराउँदै गएको छ । शहरमा आफ्नै घरछेउ बस्ने छिमेकी पनि चिनिदैंन । गाउँको बारीमा फलेका अम्बा, काँक्रो र आगोमा पकाएको दूधको चियाको स्वाद अझै मुखमा झुण्डिरहेको छ । काम सकिनासाथ फेरि वर्षा शुरू भयो । हामी फर्केर सुर्खेत बजारमै दोस्रो रात पनि बितायौं ।

तेस्रो दिन बिहानै गुटुको यात्राको निम्ति रवाना भयौं । गुटुका ती स्रोताको परिवर्तनको कथा साँच्चै राम्रो थियो । त्यसैले पनि हामी सकेसम्म जान कोशिश गरिरहेका थियौं । पहिरो र अप्ठ्यारो बाटोको कारण आधा बाटो पुगी फर्किनुपर्‍यो र बड्डीचौर हुँदै दैलेखतिर लाग्यौं । बाटोमा एक ठाउँमा गएको पहिरो पन्छाइँदै रहेछ । झण्डै १५ मिनेट पर्खेपछि अगाडि बढ्यौं । बाटोभरि सिमसिम पानी परिरहेको भए तापनि यात्रा सहज नै थियो । छहरामा खिचेको तस्वीर मेरो सबैभन्दा प्रिय थियो । सुर्खेतदेखि दैलेखको यात्रामा सुन्दर पहाड, छहरा नियाल्दै स्वच्छ हावाको स्वाद लिंदै अगाडि बढ्यौं । 

यात्रा यस मानेमा पनि रोचक थियो कि हाम्रो गाडीको २२ वर्षे ड्राइभर भाइ टीकाराम विष्ट साह्रै रमाइला र मिजासिला थिए । उनको कहिल्यै नसकिने रमाइलो अनुभव सुनेर हामी जोकजस्तो मानी पेट मिचिमिची हाँस्थ्यौं । अर्का ड्राइभर उनका मामा जसको वजन १०६ किलो थियो जो पहिलो पल्ट हवाई जहाज चढ्दा जहाज उड्ने वेला उनको वजन बढी भएकोले जहाज ढल्किएको र अर्को सीटमा बसेपछि बल्ल सन्तुलनमा आएको; विदेश जाने तरखरमा लाग्दा म्यानपावर कम्पनीले झुलाउनसम्म झुलाएर काठमाडौंबाट पोखराको जहाजमा चढाइदिएको र कति छिटो विदेश आइपुग्यो ? विदेशमा पनि पोखरा रहेछ भन्दै उनको मामा अचम्ममा परेको घटना सुन्दा हाँस्नुसम्म हाँसियो ।

दैलेख बजार नपुग्दै पहिरोले फेरि बाटो बन्द भएको रहेछ । बाटो बन्द भएको मौकामा हामीले त्यहीं खाजा खाने मेसो गर्‍यौं । गर्मीको कारणले हुन सक्छ मलाई पिसाब पोल्न थालेको जस्तो भयो । सहकर्मी भाइ सुरज श्रेष्ठलाई सुनाएँ । र, उनकै सल्लाहमा नजिकैको औषधि पसलमा गयौं । पसलेले DJ Citral औषधि दिए । पानीको कमीले पिसाब पोलेको हुनसक्ने भएकोले धेरै पानी पिउन सल्लाह दिए । त्यसपछि औषधिसँगै बोतलका बोतल पानी पिउन थालें । दैलेख पुग्दासम्म पनि पिसाब पोलिरहेको थियो । साँझ ६ बजेतिर दैलेख बजार पुग्यौं । त्यहाँ प्रहरी निरीक्षक भुवनेश्वर साहलाई भेट्ने मौका मिल्यो जो मिजासिलो, रमाइलो र फरासिलो हुनुहुन्थ्यो ।

भोलिपल्ट बिहान ६ बजे उठेर झ्यालबाट बाहिर हेर्दा म तीन छक्क परें । म बसेको ठाउँ बादलमाथिजस्तो लागिरहेको थियो । हाम्रो अगाडि दहीको भाँडाजस्तो शहरमाथि टन्न बादल थियो । त्यही दहीजस्तो देखिने बादलको कारण पनि त्यो ठाउँको नाम दैलेख रहन गएको किम्वदन्ती रहेछ । हामी त्यो सुन्दर दृश्यमा रमायौं । सानो बजार, सफा बस्ती, सुन्दर थियो दैलेख बजार ।

चौथो दिन बिहान नाटकको अर्को एक जना स्रोतालाई भेट्न गयौं । उनलाई भेटेपछि अछामको यात्रामा अघि बढ्यौं । यात्राको दोस्रो दिनमै मेरो महिनावारी भएको थियो । अछाममा एक जना रेडियोकर्मी र हाम्रो नाटकको नियमित स्रोतालाई भेटेर अघि बढ्यौं । सबै ठाउँमा शौचालय नहुने र भएको शौचालय पनि सफा नहुँदा पिसाब गर्दा संक्रमण हुने सम्भावना धेरै थियो । पिसाब गर्दा Urinary tract मार्फत ब्याक्टेरिया शरीरभित्र पस्ने रहेछ । सन् २०१३ को समीक्षाअनुसार पिसाबको संक्रमण ५० देखि ६० प्रतिशत महिलालाई हुने गर्दछ र यसले जीवनभर असर गर्दछ । यस्तो असर महिलाको दाँजोमा पुरुषलाई अत्यन्त न्यून सम्भावना रहेछ । महिलाको मूत्रपथ पुरुषको भन्दो छोटो हुने भएकोले महिलामा छिटो ब्याक्टेरिया मूत्रथैली र मृगौलासम्म पुगी संक्रमण हुने उक्त रिपोर्टमा उल्लेख छ ।

अर्का ड्राइभर जसको वजन १०६ किलो थियो जो पहिलो पल्ट हवाई जहाज चढ्दा जहाज उड्ने वेला उनको वजन बढी भएकोले जहाज ढल्किएको र अर्को सीटमा बसेपछि बल्ल सन्तुलनमा आएको; विदेश जाने तरखरमा लाग्दा म्यानपावर कम्पनीले झुलाउनसम्म झुलाएर काठमाडौंबाट पोखराको जहाजमा चढाइदिएको र कति छिटो विदेश आइपुग्यो ? विदेशमा पनि पोखरा रहेछ भन्दै उनी अचम्ममा परेको घटना सुन्दा हाँस्नुसम्म हाँसियो ।

सत्ताला, अछाम पुग्दा मलाई पिसाबको संक्रमण भइसकेको रहेछ । अरू साथीहरू त्यहाँको सुन्दर दृश्य हेर्न, मोबाइलमा कैद गर्न व्यस्त थिए । खाना खाने समयमा सबै सहकर्मी होटलमा खाना खाइरहँदा मलाई भने असह्य भइसकेको थियो । मलाई हिंड्न समेत गाह्रो भइरहेको थियो । खाना खाने होटल बाटो छेऊमा भए पनि शौचालय भने बाटोबाट झण्डै तीन तला तल झर्नुपर्ने रहेछ । जसोतसो जाने कोशिश गरें ।

अघिल्लो दिन किनेको झोल औषधि आधाजसो खाइसकेकी थिएँ । तर पनि दुखाइ कम हुनुको साटो झन्‌झन्‌ बढ्दै गयो । भर्‍याङ चढ्न पनि नसक्ने भएँ । असह्य पीडा भएपछि त्यहीं धुरूधुरू रुँदै सँगै गएकी बहिनी सचिनासँग पीडा पोखें । उनकै सहयोगमा बल्लतल्ल भर्‍याङ चढेर माथि गएँ । सबैलाई व्यवस्थित गराउने, सबैभन्दा ठूलो आवाजमा कुरा गर्ने, दिल खोलेर हाँस्ने, अरूलाई काम सिकाउने मान्छे म दुखाईको पीडा सहन नसकेर बच्चाजस्तै धुरुधुरु रुन थालें । कार्यालयमा मलाई भेट्न मेरो चर्को हाँसो पछ्याउँथे साथीहरू । त्यसैले म त्यसरी रोएको देख्दा मेरो पीडा सबैले सहजै अनुमान गर्न सक्थे । मेरो रुवाइ सुनेर टीमका सबै आत्तिन थाले । हामी खाना खान रोकिएको ठाउँ नजिकै सानो औषधि पसल रहेछ । म रुँदै त्यहीं गएँ । औषधि पसलेले दुखाइ कम गर्ने लगायत ग्याष्ट्रिक, पत्थरीको गरी चार वटा ट्याबलेट दिए । साथीहरूले ‘यति धेरै औषधि एकै पटक खाने ?’ भनेर सोध्दा पसलेले दुखाइ कम हुन्छ भने । मैले पनि दुखाईको पीडामा मकै खाएसरी एकै पटकमा खाएँ । त्यसपछि पसलेले ‘अलिअलि झुम्म हुन सक्छ र दुखाइ पनि कम हुन्छ’ भन्दै अर्को क्याप्सुल दिए । अनि त्यो पनि खाएँ । अझै सन्चो हुने छाँटकाँट नदेखिएपछि हामी त्यहाँबाट निस्कियौं । गाडीमा पनि म सचिना बहिनीको काखमा पल्टिएको थिएँ । दुखाइ सहन नसकी नाबालिकाजस्तै एकोहोरो दुख्यो दुख्यो, मलाई घर पुर्‍यादिनू भन्दै रुँदै थिएँ । यात्राभरि गाडीको अगाडि सिटमा बसेर चर्को स्वरमा गफ गर्दै सबैलाई रमाइलो गराउने मेरो यस्तो हालत देखेर ड्राइभर भाइ पनि निकै दुःखी भएका थिए । 

औषधि खाएको आधा घण्टा भइसक्दा पनि मेरो दुखाइ कम भएन । पानी धेरै पिएको कारण गाडीबाट ओर्लिएर सचिना बहिनीको सहयोगमा नजिकै खोल्सामा पिसाब गर्न बसें । पिसाब गरेर उठ्न लाग्दा अन्धकार बाहेक केही देखिनँ । म त्यहीं बेहोस भएछु । सचिना बहिनी अत्तालिदैं सुरज सर, विनय सर भनेर चिच्याउन थालिछन् । सुरज भाइ र विनय सरले मलाई होसमा ल्याउन हर प्रयास गर्नुभएछ तर म पूरै बेहोस भइसकेकी थिएँ । विनय सरले बोकेर सचिनाको काखमा सुताउनुभएछ । सुरज जसलाई म भाइ भन्छु उनले केही अफ्ठ्यारो नमानी मेरो दुवै खुट्टा आफ्नो काखमा राखेर पाइतालामा मालिस गर्दै तातो बनाउने कोशिश गरेछन् ।

सत्ताला, अछाम पुग्दा मलाई पिसाबको संक्रमण भइसकेको रहेछ । अरू साथीहरू त्यहाँको सुन्दर दृश्य हेर्न, मोबाइलमा कैद गर्न व्यस्त थिए । खाना खाने समयमा सबै सहकर्मी होटलमा खाना खाइरहँदा मलाई भने असह्य भइसकेको थियो ।

माहोल तनावपूर्ण भयो, सबैजना आत्तिएका थिए । सचिना बहिनी र विनय सरले मलाई होसमा ल्याउन पानी छम्किरहेका थिए भने सुरज भाइले ‘दिदी, दिदी, आँखा खोल्नुस्, केही हुन्न’ भन्दै थिए । पानी छम्किन थालेपछि मेरो आधा होस खुलेको थियो । म उहाँहरूलाई अलिअलि सुन्न सक्थें तर कुनै प्रतिक्रिया जनाउन सक्दिनथिएँ । सचिना बहिनीले मुखमा अलिअलि पानी हालिदिन्थिन् भने सुरज भाइले पाइतालामा मालिस गरिरहेका थिए ।

म घरिघरि आधाजस्तो मात्र आँखा खोल्न सक्थें । उनीहरू मेरो गाला सुम्सुम्याउँदै ‘आँखा खोल्नुस् दिदी’ भन्दै आत्तिरहेका थिए । मलाई बोल्न मन थियो तर बोल्नै सक्दिनथें । सचिना पानी खुवाउँदै ‘म्याम उठ्नुस् न’ भनिरहेकी थिइन् । सचिना अन्तर्मुखी स्वभाव कि थिइन्, कसैसँग खासै हाँसेर नबोल्ने, भावना प्रकट नगर्ने स्वभाव कि मान्छे । उनको अनुहार हेरें, पूरै डरले भरिएको थियो ।

विस्तारै उनीहरूले बोलेको सुन्न छाडें । मलाई मेरो पाँच वर्षको छोराको अनुहार मात्र झलझली याद आउन थाल्यो । मेरो श्रीमान् मेरो अनुहारमा हाँसो ल्याउन जे गर्न पनि सक्छु भन्नुहुन्छ, उहाँलाई अन्तिम पल्ट हेर्न पाए हुन्थ्यो भन्ने सोच मनमा आउन थाल्यो । माइतीतिर पनि कुराकानी नभएको धेरै समय भएको थियो । ममी, बाबा र दिदीबहिनीको झझल्को आयो । मैले हरेस खाइसकेकी थिएँ । केही समयपछि ‘आँखा खोल्नुस् दिदी’ भनेको फेरि सुनें । विस्तारै आँखा खोल्न प्रयास गर्दै थिएँ । करिब चार घण्टाको यात्रापछि एउटा ठाउँमा स्वास्थ्यचौकी भेटियो । सबै जनामा आशा पलायो तर त्यहाँ केवल एक जना अहेव मात्र रहेछन् । उपचार गर्ने साधन, स्रोत केही थिएन । साथीहरूमा फेरि डरको बादल मडारिन थाल्यो । सुरज भाइले अस्पताल आइपुग्यो दिदी डराउनुपर्दैन भन्दै थिए । म पनि अलिकति आशावादी भएँ । तर उक्त स्वास्थ्यचौकीमा उपचार हुने छाँटकाँट नदेखिएपछि फेरि अस्पताल खोज्न थालियो । विनय सरले ‘गीताजी, तपाईं बलियो हुनुहुन्छ, तपाईंले यो पार गर्न सक्नुहुन्छ’ भनेको सुनें । अनि मैले पनि म अकालमा मर्न चाहन्नँ, कोशिश गर्छु भन्ने सोचें । लगभग ६ घण्टासम्म खोज्दा पनि कतै पनि प्राथमिक उपचार गर्न सकिनेसम्मको स्वास्थ्यचौकी वा अस्पताल भेटिएन । म कमजोर हुँदै गइरहेकी थिएँ । मेरो आत्मबल घट्दै गइरहेको थियो । शरीरमा पानी कम भएर म पूरै निर्जलित भइसकेकी थिएँ । स्वास्थ्यसेवा उपलब्ध नहुँदा महिलाहरूले बच्चा जन्माउन नसकी प्राण गुमाएको, प्राथमिक उपचार र सिटामोल समेत नपाएर साधारण रोगविमारबाट समेत मानिसले मृत्युवरण गर्दछन् भन्ने पढे–सुनेकी थिएँ । ती क्षेत्रका मानिसहरूमा प्राथमिक स्वास्थ्यसेवाको पहुँचको अवस्था कस्तो छ भन्ने उदाहरण म आपैंm बनें । १०० किलोमिटरको यात्रा गर्दा समेत एउटा पनि स्वास्थ्य संस्था थिएन । मेरो देशको स्वास्थ्यसेवाको अवस्था देखेर म विचलित भएँ ।

करिब दुई घण्टाको यात्रा पार गरेपछि बल्ल एउटा पोलिक्लिनिक भेटियो डोटी जिल्लाको राकुम भन्ने ठाउँमा । त्यहाँ पुग्नु अघिसम्म हाम्रो गाडी चलाउने ड्राइभर भाइले समेत आत्मबल गुमाइसकेका थिए । विनय सरले हेलिकप्टर मगाउने बाहेक अर्को कुनै उपाय नरहेको महसूस गरिसक्नुभएको रहेछ । म लगभग मृत्युको मुखमा पुगिसकेकी थिएँ । राकुममा पोलिक्लिनिक भेटिएपछि सबैमा आशाको दियो बल्यो । मलाई क्लिनिकको बेडमा सुताइयो तर डाक्टर नै छैन भन्ने खबरले सबैको अनुहार फेरि मलिन भयो । एक जना मेडिकल प्राक्टिसनर मात्र थिए । उनले डाक्टरलाई फोन गरे । डाक्टर छुट्टिमा बसेका रहेछन् । डाक्टरले फोनबाटै मेरो स्वास्थ्य अवस्थाको जानकारी मागे । पिसाबमा नै संक्रमण भएको पुष्टि भयो । सबैभन्दा ठूलो गल्ती त त्यो औषधि पसलेले दिएको नार्कोटिक्स औषधि रहेछ । जसको असरले म बेहोस भएको र मेरो शरीरको कुनै पनि अङ्ग नचलेको खुलासा भयो । त्यो नार्कोटिक्स औषधि सेवनले आठ घण्टा बेहोस बनाउने रहेछ । उक्त औषधि डाक्टरको प्रेस्किप्सन विना बेच्न र सेवन गर्न नहुने रहेछ । मेरो भाग्य भनौं धन्न म पूरै बेहोस नभई अर्धचेत मात्र भएकी थिएँ । डाक्टरले फोनबाटै स्लाइन चढाउने र क्यानुलाबाट कुन कुन औषधि दिने भन्ने बारेमा उक्त मेडिकल प्राक्टिस्नरलाई बताए । इन्जेक्सनबाट औषधि दिनको लागि मेरो नशा नै भेटिएन । फेरि मुखैबाट जीवनजल खुवाएपछि करिब आधा घण्टाजतिमा नशा भेटियो । म अर्धचेत भएकीले मेरो उपचारमा खटिएका व्यक्ति पनि आत्तिरहेका थिए । स्लाइन पानी चढाएर इन्जेक्सनबाट औषधि दिएपछि विस्तारै मेरो दुखाइ कम हुँदै गयो । त्यसपछि शायद निदाएछु । उक्त पोलिक्लिनिकमा एकदम धेरै लामखुट्टे आउने र डेंगीको भयले मलाई नजिकैको होटलमा लगेर सुताइयो । करिब एक घण्टापछि विस्तारै होस खुल्यो । सचिना बहिनी मेरो अगाडि न्याउरो मुख लगाएर बसिरहेकी थिइन् । मैले पुलुक्क उनलाई हेरें, ‘कस्तो छ म्याम अहिले ?’ उनले सोधिन् । अहिले दुख्न कम भएको छ, सुन्न सक्छु र अलिअलि चल्न पनि सक्छु भनें । म होसमा आएपछि सबै सहकर्मीहरू कोठामा आए । म मुसुक्क मुस्कुराएँ । म मुस्कुराएको देखेर सबैजना कति धेरै खुसी भएर ‘गीताजी, तपाईं मुस्कुराएको देखेर हामीलाई आजजस्तो खुशी कहिल्यै भएको थिएन’ भने । थोरै जाउलो र कुखुराको मासुको झोल खाएर म फेरि पल्टिएँ । पछि थाहा भयो, मलाई तागत आओस् भनेर साथीहरूले लोकल कुखुरा ल्याएर झोल बनाएका रहेछन् । राति २÷३ पटक चर्पी गएँ, दुखाइ अझै केही मात्रामा थियो ।

औषधि पसलेले दुखाइ कम गर्ने लगायत ग्याष्ट्रिक, पत्थरीको गरी चार वटा ट्याबलेट दिए । साथीहरूले ‘यति धेरै औषधि एकै पटक खाने ?’ भनेर सोध्दा पसलेले दुखाइ कम हुन्छ भने । मैले पनि दुखाईको पीडामा मकै खाएसरी एकै पटकमा खाएँ । त्यसपछि पसलेले ‘अलिअलि झुम्म हुन सक्छ र दुखाइ पनि कम हुन्छ’ भन्दै अर्को क्याप्सुल दिए । अनि त्यो पनि खाएँ ।

शायद धेरै रोएकोले होला भोलिपल्ट बिहान आँखा र अनुहार पूरै सुन्निएको थियो । मनमा चाहिं घर फर्किएर मुटुको टुक्रा छोरा र श्रीमान्‌लाई भेट्न पाउँछु भन्ने आशा र विश्वास पलाएको थियो । बिहान उठेपछि अनन्त सरले ‘गीताजी, के गर्ने ?’ भनी सोध्नुभयो । मैले अब काम गर्ने भनें । उहाँ खिसिक्क हाँस्नुभयो । मलाई सकुशल देखेर ड्राइभर भाइ पनि खुशी हुँदै ‘दिदी, हिजो त लास्टै तर्साइदिनुभयो, एकदम डर लागेको थियो’ भने ।

दुई जना ड्राइभरले त मलाई कुन तरिकाबाट काठमाडौं लान सकिन्छ भनी सल्लाह नै गरेका रहेछन् । हामी जुन कामको निम्ति गएका थियौं मेरो कारण सो बिग्रनु हुँदैन भन्ने सोचेर मैले नै काममा लाग्न सबैलाई अनुरोध गरें । मेरो स्वास्थ्यमा पनि सुधार आएको थियो । त्यसैले हामीले अघि बढ्ने निर्णय गर्‍यौं । हामी काममा फर्किनको लागि विस्तारै अगाडि बढ्यौं । मलाई पानी कम भएकोले पानी पिइरहनुपर्थ्यो । पानी धेरै पिएको कारण हरेक आधा घण्टामा पिसाब गर्नुपर्थ्यो । ड्राइभर भाइले मैले जहाँ भन्यो त्यहीं नै गाडी रोकिदिन्थे । बाटोमा सार्वजनिक शौचालय नभएकोले भीर, पाखातिर पिसाब गर्न जानुपथ्र्यो तर सबैले झर्को नमानी पर्खिदिन्थे । ठाउँ–ठाउँमा आराम गर्दै, औषधि खाँदै हामी अघि बढ्यौं । स्याउले भन्दा अगाडि पहिरो गएको रहेछ । साँझ परिसकेको र पहिरो हटाउने ठूलो डोजर नभएको कारण पहिरो हटाउन समय लाग्ने भएकोले त्यो दिन हामी दिपायलमै बस्यौं ।

यात्राको अन्तिम दिन हामी अत्तरियाको निम्ति प्रस्थान गर्‍यौं । बाटोभरि मनमा एउटै कुरा खेलिरह्यो । म सुविधासम्पन्न ठाउँमा जन्मेर हुर्केको मान्छे, आफ्नै देशको एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा बिरामी परियो भने मर्नसमेत सक्ने अवस्था रहेछ । देशको यस्तो अवस्था देखेर मन साह्रै खिन्न भयो । मनमनै सोचें; देश समृद्ध बनाउने भाषण मात्र गरिरहनुभन्दा सर्वप्रथम हरेक क्षेत्रमा आधारभूत स्वास्थ्यसेवा उपलब्ध गराउने पहल होस् । बालबालिका, महिला तथा कुनै पनि नागरिकले आधारभूत स्वास्थ्य सेवा समेत नपाइ अकालमा मृत्युवरण गर्न नपरोस् ।

यात्रामा ठाउँ–ठाउँमा पिसाब गर्नुपर्ने मेरो बाध्यता थियो । यसै क्रममा एक ठाउँमा पिसाब गर्न लाग्दा जुका लागेर मेरो सातोपुत्लो उड्यो । राजमार्गमा ठाउँ–ठाउँमा सार्वजनिक शौचालयको कति आवश्यकता रहेछ, सो प्रत्यक्ष अनुभव गर्न पाएँ । महिनावारी भएकी महिलालाई वेला–वेलामा प्याड बदल्नुपर्ने अर्को बाध्यता त छँदैछ । समयमै प्याड बदल्न नपाए संक्रमण हुन सक्ने ठूलो सम्भावना हुन्छ । राजमार्गमा सार्वजनिक शौचालय नहुँदा एउटी महिलालाई खुला ठाउँमा दिसा–पिसाब गर्न कम्ती अप्ठ्यारो हुँदैन ! यसैले ठाउँ–ठाउँमा सार्वजनिक शौचालयको निकै खाँचो रहेछ भन्ने अनुभूति गरें । 

‘ट्वाइलेट’ नामक एक हिन्दी चलचित्रमा बुहारीले खुला ठाउँमा शौच गरेको ससुराले देख्दा बुहारीलाई दोषी ठहराएको दृश्य देखेको थिएँ । यात्रामा रहँदा हामी नेपाली महिलाहरू पनि यस्तै अवस्था भएर जबर्जस्ती दिसा–पिसाब रोकेर बस्नुपर्दा संक्रमण हुने निकै सम्भावना हुन्छ । जसोतसो हामी अत्तरिया आइपुगेर एक जना महिलाको कथा बटुल्यौं । त्यसपछि धनगढी आई एक जना क्याम्पस पढ्ने विद्यार्थीको कथा बटुल्ने काम भयो । औषधि र पानीको भरमा दिन बित्यो र साँझ ७ः३० बजेको फ्लाइटमा हामी धनगढीबाट काठमाडौं फर्कियौं ।

विस्तारै उनीहरूले बोलेको सुन्न छाडें । मलाई मेरो पाँच वर्षको छोराको अनुहार मात्र झलझली याद आउन थाल्यो । मेरो श्रीमान् मेरो अनुहारमा हाँसो ल्याउन जे गर्न पनि सक्छु भन्नुहुन्छ, उहाँलाई अन्तिम पल्ट हेर्न पाए हुन्थ्यो भन्ने सोच मनमा आउन थाल्यो ।

प्राविधिक कारणले फ्लाइट केही समय ढिलो भयो । मलाई कुन वेला घर पुगुँ र छोरा एवं श्रीमान्‌लाई भेटुँजस्तो भइरहेको थियो । रातको झण्डै ९ः४५ बजेतिर घर पुग्ने बितिक्कै छोरालाई अँगालोमा हालेर भक्कानिएँ । श्रीमान्‌को मनोविज्ञानले म छोरा र श्रीमान्लाई मिस गरेकोले रोएको नभई अरू कुनै कारणले भक्कानिएको पत्ता लगायो । अनि उहाँले सोधेपछि मैले सबै वृतान्त सुनाएँ । मेरो यस्तो बलियो श्रीमान्‌लाई पहिलो पल्ट गलेर हातखुट्टा काँपेको देखें । उहाँलाई खबर नगरेकोमा रिसाउँदै म जसरी पनि त्यहाँ आउँथे भन्नुभयो । तर मलाई थाहा थियो; म जुन ठाउँमा जुन हालतमा थिएँ, उहाँलाई त्यहाँ तुरुन्तै पुग्न सम्भव थिएन । घरमा आएर श्रीमान् र छोरालाई हेर्न पाएपछि त्यो रात श्रीमान्को काखमा यति मज्जाले निदाएँ, त्यस्तो मीठो निद्रा मलाई पहिले कहिल्यै परेको थिएन ।

मलाई यस्तो हालतमा एकछिन साथ नछोडी मेरो हेरचाह गर्ने मेरो टीमप्रतिसधैं आभारी रहनेछु । मेरो टीमले दिलोज्यानले मेरो हेरचाह नगरेको भए शायद कर्णाली र सुदूर पश्चिमको यात्रा नै मेरो जीवनमा पृथ्वीको अन्तिम यात्रा हुने थियो । म जहाँ रहेता पनि मेरो टीमप्रति सधैं ऋणी रहनेछु । सुरज भाइ, सचिना बहिनी, विनय सर, अनन्त सर, जे.बी. सर र हामीलाई सुरक्षित एवं रमाइलो यात्रा गराउने हँसिलो, मिजासिलो ड्राइभर भाइप्रति हार्दिक नमन गर्दछु ।

सुन्दर र मनोरम ठाउँहरूको अदम्य दृश्यको रसोस्वादन लिइरहेको वेला स्वास्थ्य सेवा पहुँचको अभावमा भोग्नुपरेको पीडाको तीतो अनुभव मेरो मनमस्तिष्कमा अझै ताजा छ । कर्णाली र सुदूरपश्चिम मनै लोभ्याउने प्राकृतिक छटाले भरिपूर्ण भए पनि ती क्षेत्रमा भएको स्वास्थ्य सेवाको नाजुक अवस्था आफैंले अनुभव गरेको हुनाले ती क्षेत्रमा काम गर्ने संघ–संस्था, राजनीतिक दलहरूले विशेष ध्यान पुर्‍याउन् भन्नका लागि पनि मैले अनुभव बाँड्नका लागि यो यात्रा अनुभव लेख्ने निर्णय गरेकी हुँ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    ज्योतिषीय नजरमा नयाँ वर्ष २०८१

    ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...

  • नेपालमत

    नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा

    नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...

  • नेपालमत

    आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

    १९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...

  • नेपालमत

    'प्राचीन नेपालले इतिहासको नयाँ र शानदार अध्याय लेख्‍नै बाँकी छ'

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...

  • नेपालमत

    एफएम रेडियोमा कानुनको घनचक्कर

    नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved