• बिहीबार, ६ बैशाख, २०८१
  • १९:५७:५६
  • नेपालीको अभिमत

व्यक्ति-कथा

पढ्दैछु भनेर घरमा ढाँटी संगीत सिकें : गायिका पुष्पा बोहरा

इन्द्रसरा खड्का

सोमबार, ६ भदौ, २०७९

हर गीत गाउने तर यो रहरमा बाधक थियो आमाबाबुको छोरी ‘गाइने’ बन्ली भन्ने डर । परिवारको डरको सामु पुष्पाको रहरले जित्यो । आफूलाई मन परेको काम गर्न पाएपछि मान्छेले मजाले मेहनत गर्छ । रहर, आँट र मेहनतको मिश्रण भएपछि असम्भव भन्ने कुरा रहने कुरै भएन ।

पुष्पा अर्थात् पुष्पा बोहरा । पुष्पाले अहिले हजारौं देउडा तथा लोकगीतमा आवाज भरिसक्नुभएको छ । कतिपय आमाबाबुलाई अझै पनि छोरीले गीत गाएको, नाचेको राम्रो लाग्दैन । समाजले नराम्रो नजरले हेरिदेला कि भन्ने डर उहाँहरूलाई हुन्छ । ऊ वेला पुष्पाका आमाबुबालाई पनि यही डर थियो । तर, पुष्पाले डरमा बस्ने होइन बरु छाती फुलाएर हामी उसको बाआमा हौं भन्ने बनाउनुभयो । अहिले छोरीको पेशालाई आमाबुबाले पनि उत्तिकै सम्मान गर्नुहुन्छ ।

“गीत सुन्दै गाईबाख्रा चराउँदा कम्ती रमाइलो हुन्नथ्यो ! अझ आफू पनि गुनगुनाउँदै सुन्दा त आफैंले गाइरहे जस्तो लाग्थ्यो ।”

पुष्पाको घर दार्चुलाको अपीहिमाल गाउँपालिकास्थित खण्डेश्वरी हो । शौका समुदायकी उहाँ अहिले काठमाडौंमा बसेर रेडियो नाटक खेल्ने, गीत गाउनेदेखि लिएर साइड भोकल (कोरस) सिकिरहनुभएको छ । देउडा क्षेत्रमा बढी चर्चित उहाँले देउडा, आधुनिक, लोकगीत गरी एघार सय बढी गीत गाइसक्नुभएको छ । विहीबार नेपालमतको कार्यालयमा आउनुभएकी उहाँ भन्नुहुन्छ, “सांगीतिक क्षेत्रमा लाग्न त्यति सजिलो छैन । बजारमा कैयौं प्रतिभावान् कलाकार हुनुहुन्छ । उहाँहरूसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ । जेहोस्; सिक्दैछु, आफूले चाहेको काम गर्न पाएकी छु, यसैमा खुशी छु ।”

सानैदेखिको गाउने रहर

खण्डेश्वरी दार्चुलाको एकदम विकट ठाउँमध्येमा पर्छ । जहाँ अहिले पनि यातायात पुग्न सकेको छैन । झन् पुष्पा सानै हुँदा त अहिले जस्तो मोबाइल, इन्टरनेट केही थिएन । मनोरञ्जनको एउटै साधन थियो रेडियो नेपाल । त्यो पनि साँझ–बिहान बा, काकाहरूले समाचार सुन्ने भाँडो थियो । बा, काकाहरूले समाचार सुनिसकेपछि रेडियोमा बजेका गीतले पुष्पालाई तान्थ्यो । कान ठाडा पार्दै रेडियो नजिक पुग्नुहुन्थ्यो ।

बिहान ९ बजेपछि र साँझ ९ बजेपछि रेडियोमा मिठा–मिठा गीत बज्दा पुष्पाको मन लोभ्याउँथ्यो । बा, काकाहरूले समाचार सुनिसकेपछि उहाँ लुकीलुकी गीत सुन्न थाल्नुभयो । बिदाको दिन दिउँसो गोठालो जाँदा पनि रेडियो चोरेर लानुहुन्थ्यो । “गीत सुन्दै गाईबाख्रा चराउँदा कम्ती रमाइलो हुन्नथ्यो ! अझ आफू पनि गुनगुनाउँदै सुन्दा त आफैंले गाइरहे जस्तो लाग्थ्यो,” पुष्पा सुनाउनुहुन्छ ।

गाउँमा हुँदा विद्यालयमा हुने सांस्कृतिक कार्यक्रम, दशैं–तिहारमा लाग्ने मेलापर्वमा उहाँ गीत गाउनुहुन्थ्यो । गाउँबाटै एसएलसी पास गरेपछि दार्चुलासँगै सीमाना जोडिएको भारतको धार्चुला गएर प्लस टु गर्नुभयो ।

धार्चुलामा पढ्दा गाउँभन्दा फरक ठाउँको अनुभव भयो । गीत गाउन हुँदैन भन्नेहरू साथमा थिएनन् । कलेजमा कार्यक्रमहरू भइरहन्थे । धार्चुलामा हिन्दीसँगै कुमाउ, गडुवाल भाषा बढी प्रयोगमा आउँछ । नेपाली पनि धेरै जनाले बुझ्थे । कलेजमा भएका कार्यक्रममा पुष्पा पनि भाग लिनुहुन्थ्यो । कहिले हिन्दी, कहिले कुमाउ, कहिले गडुवाल भाषाका गीत गाउनुहुन्थ्यो तर उहाँलाई नेपाली गीत सुनाउन आग्रह गरिन्थ्यो । पुष्पाको मिठो स्वर सुनेर शिक्षकहरू संगीत सिक्न सल्लाह दिन्थे । उहाँ भन्नुहुन्छ, “शिक्षकहरूले मलाई तिम्रो स्वर मिठो छ, यो स्वर त्यत्तिकै खेर नफाल । भारत ठूलो छ, यहाँ अवसर कम हुन्छ । संगीत सिक, आफ्नो देशको राजधानीमा गएर प्रतिभा देखाऊ भन्नुहुन्थ्यो । उहाँहरूकै सल्लाहले अहिले धेरैले चिन्ने पुष्पा बन्न सकें ।”

रामकृष्ण ढकालसँग स्टेज शेयर गर्दाको खुशी

पुष्पा सानैबाट रामकृष्ण ढकालका गीत खुब सुन्नुहुन्थ्यो । २०६३ फागुनमा दार्चुलाको सदरमुकाम खलंगामा महोत्सव आयोजना गरिएको थियो । त्यो कार्यक्रममा रामकृष्ण ढकालसँगै चलेका थुप्रै कलाकार पुगेका थिए । त्यति वेला पुष्पाले पहिलो पटक राष्ट्रिय कलाकारसँग गीत गाउने मौका पाउनुभयो । उहाँले रामकृष्ण ढकालसँग ‘छिट्को गुन्यु तिमीले लगाउँदा’, ‘जोगले हुन्छ भेट’ लगायत तीन वटा गीत गाउनुभयो । त्यसपछि काठमाडौं आएर सांगीतिक क्षेत्रमा लाग्नुभएकी उहाँले विभिन्न खालका गरी अहिलेसम्म हजारौं गीत गाइसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “जिन्दगीमा उतारचढाव हुन्छन् नै । तर मलाई कहिल्यै किन यो क्षेत्र रोजेछु भन्ने लागेन । आफ्नै छनोटले यो पेशामा लागेकी थिएँ, अहिलेसम्म खुशी छु ।”

पुष्पालाई आफूले स्वर दिएका सबै गीत उत्तिकै राम्रा लाग्छन् । यद्यपि उहाँलाई धेरैले चिन्ने गीतमध्ये ‘मै डोली चढन्या वेला’, ‘बरयातकी दिन’ लगायतका देउडा गीत हुन् ।

पारस शाहको जन्मदिनले जुराएको अवसर

२०६३ सालतिरको कुरा हो । पूर्व युवराज पारस शाहको जन्मदिन थियो । यस अवसरमा  राष्ट्रियस्तरको लोकगीत प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा दार्चुलाबाट शौका समुदायको सहभागिता थियो । जसमा गायनतर्फ पुष्पा हुनुहुन्थ्यो । शौका समुदायले गायनमा तेस्रो, वेशभूषामा दोस्रो गरी तीन विधामा जित्यो । गाउँमा छँदा विद्यालय र भारतमा कलेज पढ्दा भएका प्रतियोगितामा पाएका पुरस्कारभन्दा यो पुरस्कारले पुष्पालाई बढी हौसला प्राप्त भयो । उहाँले गाएको सुनेर गाउँका काकाको साथीले स्वर मिठो भएको र यही क्षेत्रमा लाग्न सल्लाह दिंदा झन् उत्साह थपियो ।

कालाकारिता क्षेत्र बाहिरबाट हेर्दा जति राम्रो छ, त्यति राम्रो पनि छैन र जति नराम्रो देखिन्छ त्यस्तो पनि छैन । राम्रा कलाकारले यही पेशाबाट प्रगति गरिरहेकै छन् । औसतलाई भने गाह्रो छ ।

त्यसपछि उहाँलाई काठमाडौंबाट गाउँ फर्कन मन लागेन । घरमा बाआमालाई अब काठमाडौंमै बसेर पढ्छु भनी खबर गर्नुभयो । छोरीले पढ्ने भनेपछि आमाबुबाले पनि नाइँ भन्नुभएन । 

बहाना पढ्ने चाहना अर्कै !

पुष्पालाई पढ्नेभन्दा पनि गीत गाउने रहर थियो । उहाँ पढ्नतिर नलागेर जमलमा संगीत सिक्न थाल्नुभयो । “घरमा बुबाआमालाई छोरी काठमाडौंमा पढ्छे भन्ने थियो । तर, म भने आफ्नो रहर कसरी पूरा गर्ने भन्ने ध्याउन्नमा थिएँ । बुबाआमालाई भनेरै गरुँ भने घरमा बोलाउनुहुन्थ्यो । अनि, नभनीकनै संगीत सिक्नतर्फ लागें,” पुष्पा भन्नुहुन्छ । घरबाट पठाएको पैसाले शुरूमा हार्मोनियम किन्नुभयो । त्यसो हुँदा कक्षामा सिकेको कुरा कोठामा रियाज गर्न सजिलो भयो ।

पारस शाहको जन्मोत्सवमा स्वरको तारिफ गर्नुभएका काकाका साथीले संगीत सिक्ने क्रममा काँठेभाकाको गीत गाउने अवसर दिनुभयो । २०६३ सालमा पहिलो गीत काँठेभाकामा रेकर्ड भयो । त्यसपछि देउडा गीत ‘बरयातकी दिन’ रेकर्ड भयो । दुई वटा गीत गाइसकेपछि अरू अफर आउन थाल्यो । चार/पाँच वटा गीत गाएपछि चाहिं बाआमाले पनि थाहा पाउनुभयो । 

“रेडियोमा गीत बजेको बाआमाले सुन्नुभएछ । त्यसपछि त उधुम रिसाउनुभयो,” पुष्पा त्यति वेलाको सकस सुनाउनुहुन्छ ।

गाउँमा महिलाको लागि सबैभन्दा राम्रो पेशा शिक्षण मानिन्छ । साँझ–बिहान घरको काम गर्दै जागिर खान पाइने भन्दै गाउँघरको आकर्षण यसमा देखिन्छ । पुष्पाका बाआमालाई पनि छोरीले काठमाडौंमा पढाइ गरेर आओस् अनि गाउँमा शिक्षक बनोस् भन्ने थियो ।

विकल्पको खोजी

कालाकारिता क्षेत्र बाहिरबाट हेर्दा जति राम्रो छ, त्यति राम्रो पनि छैन र जति नराम्रो देखिन्छ त्यस्तो पनि छैन । राम्रा कलाकारले यही पेशाबाट प्रगति गरिरहेकै छन् । औसतलाई भने गाह्रो छ ।

कलाकारको बाँच्ने गतिलो आधारमध्ये मेला महोत्वस एक हो । कोभिड–१९ पछि पहिले जस्तो मेला महोत्सव हुन छोडे । यसले गर्दा प्रायः कलाकारलाई आर्थिक रूपमा सकस छ । कति त यो पेशाबाट पलायन नै भइसके भने कतिले वैकल्पिक पेशा अँगालेका छन् । कोरोना कहर आउनुभन्दा पहिले दिनमै चार/पाँच वटा गीत रेकर्ड गराउनुभएकी पुष्पा अहिले त्यस्तो अवस्था नरहेको बताउनुहुन्छ । “कोरानापछि त आर्थिक मन्दी नै लागेको छ भन्दा पनि हुन्छ,” कोभिड–१९ को लहर आउनुअघि नेपालमा मात्र नभई भारतको उत्तराखण्ड, दुबई, कतार लगायतका ठाउँमा समेत गीत गाउन पुग्नुभएकी पुष्पा भन्नुहुन्छ, “सांगीतिक क्षेत्र नशा रहेछ, छोड्न चाहेर पनि नसकिने । तर, अब भने विकल्प खोज्नुपर्ने वेला आएको छ । यही पेशाको भरमा मात्र बाँच्न गाह्रो होला जस्तो लाग्न थालेको छ ।”

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

सोमबार, ६ भदौ, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved