• आइतबार, १६ बैशाख, २०८१
  • ०३:३७:०६
  • नेपालीको अभिमत

व्यक्ति-कथा

पाँच 'इन्टेग्रिटी आइकन'को नाम सार्वजनिक, को ? किन भए उत्कृष्ट ? (विस्तृत विवरण सहित)

नेपालमत

सोमबार, १६ पौष, २०८०

काठमाडौं - एकाउन्टविलिटी ल्याब नेपालले पाँच जना 'इन्टेग्रिटी आइकन'को नाम सार्वजनिक गरेको छ ।

विगत दश वर्षदेखि उत्कृष्ट सेवादिने कर्मचारीलाई खोजेर ल्याबले इन्टेग्रिटी आइकन मार्फत् सम्मानित गर्दै आएको छ । 

यस वर्ष इन्टेग्रीटी आईकनका लागि देशभरीबाट ४ सय ६६ मनोनयन प्राप्त भएकामा प्राप्त मनोनयनहरूबाट निर्णयक समितिले पाँच जना इन्टेग्रीटी आईकन छनौट गरेको आयोजकले जनाएको छ ।  ल्याबका अस्मिता शर्माका अनुसार यसै पौष २७ गते एक समारोहमा उहाँहरुलाई सम्मानित गरिने छ । 

निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल रहनुभएको थियो ।

को ?  किन परे उत्कृष्ट पाँचमा ? ल्याबले उपलव्ध गराएको विस्तृत विवरण यस्तो छ -  

प्रतिक राई
प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालय, झापा

प्रतिक राई मोरङको केराबारीमा अति सामान्य किसान परिवारमा जन्मिका थिए । उनको बाल्यकाल गाईवस्तु चराउदै र खेतीपाती गर्दै बित्यो । प्रतिक राईका बुबा र काकाहरू सबै नेपाली सेनामा जागिरे थिए । उनि ठुलो हुँदै गईसकेपछि उनको लक्ष पनि सेनाको जागिरे बन्ने थियो । उनलाई सानै देखि अनुशासनमा बस्न मन पर्छ । उनले त्यसको लागि तयारी पनि गरे । तर, कलर ब्लाईण्डनेसका कारण उनको नेपाली सेनामा जागिर खाने सपना पुरा हुन सकेन ।

सानै देखि रहर गरेको जागिरको ढोका बन्द भएपछी उनि केहि समय मानसिक आघातको सिकार बने । त्यसपछिका दुई वर्ष उनले कृषि पेशामै बिताए । अर्को विकल्प उनले सोचेका थिएनन्, तर पनि उनलाई आफ्नो पढाईलाई निरन्तरता दिनुपर्छ भन्ने लाग्यो । उनि पढाईलाई निरन्तरता दिन धरान झरे । धरानबाट एमबीएसको पढाई सकेपश्चात उनि काठमाण्डौ लागे । त्यहाँ एउटा सहकारीमा काम गर्न थाले ।

वित्तीय क्षेत्रमा काम गर्दैगर्दा उनले कृषि बिकास बैंकमा खुला प्रतिस्पर्धाबाट अधिकृत तहमा नाम निकाले । साढे ३ वर्षजति कृषि बिकास बैंकमा काम गरे । साथीहरूको संगतले उनले निजामती सेवाबारे थाहा पाए । उनले आफ्नो लागि कृषि बिकास बैंकको जागिरभन्दा निजामति सेवा उपयुक्त हुने ठानेपछि लोकसेवा परिक्षाको तयारीमा लागे । फलस्वरूप २०७१ सालमा उनले लोकसेवा परिक्षा पास गरी निजामती सेवामा प्रवेश गरे । 

अस्तव्यस्त विभागलाई सेवाग्राहीले हेर्ने दृष्टिकोण नै फेरियो 
प्रतिक राई, व्यवस्था नियम कानून अनुसार चल्नु पर्दछ र सेवामा सम्मान हुनुपर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्दछन् । आफुले दिने सेवा प्रवाहमा पनि सोहि मुल्यमान्यताको अवलम्बन गर्दछन् । सकेसम्म सेवाग्राहीले सरल सेवा पाउन र सेवा प्रवाहमा नियम कानूनको पालना होस् भन्ने चाहन्छन् ।

उनि अध्यागमन विभागमा काम गर्दा अध्यागमन विभागको गैर‑पर्यटक भिसा शाखाको अवस्था अस्तव्यस्त थियो । को कर्मचारी, को सेवाग्राही छुट्याउनै गाह्रो हुन्थ्यो । भिड मात्र देखिन्थ्यो । कर्मचारी र सेवाग्राहीहरू दुबैलाई सेवा लिन र दिन त्यतिक्कै कठिन थियो । उनलाई लाग्यो सेवाग्राही बस्ने ठाउँ नै नभएर त्यस्तो अस्तव्यस्त भएको हो ।

उनले त्यसको समाधानका विषयमा शाखाका अन्य कर्मचारी र महानिर्देशकसँग छलफल गरे । समाधान स्वरूप सेवाग्राही बाहिरै बस्ने कुर्सिहरू राखियो । सेवाग्राहीलाई सहजीकरण गर्न सहायता कक्ष राखियो । सहायता कक्षले सेवाग्राहीको पालो पनि मिलाउन थाल्यो । यसले सेवाग्राहीको चाप व्यवस्थापन गर्याे । सेवा प्रवाहको काम पहिला भन्दा छिटो र व्यवस्थित ढंगले अगाडी बढ्यो । 

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी धर्म राज भट्ट भन्छन,“सेवा प्रवाह गर्दा उहाँ ऐन‑कानूनको मिहिन अध्ययन गरेर मात्र गर्नुहुन्थ्यो । हामी माझ एउटा यस्तो धारणा पनि थियो कि, उहाँको काम गराईबाट त्रुटि हुँदैन । अरु व्यक्तिभन्दा उहाँले बढी मानवीय व्यवहार र सेवा प्रवाह गरेको अनुभुति हुन्थ्यो ।” अध्यागमन विभागका अध्यागमन अधिकृत राजेश महर्जनका अनुसार त प्रतिक राईले सेवा प्रवाहलाई सहज बनाउन खेलेको भूमिकाका कारण त्यसबखत सेवाग्राहीले विभागलाई हेर्ने दृष्टिकोण नै फेरिएको थियो ।

तिन महिना खरिदार र सुब्बा बस्ने कोठा पछाडी टेबल र कुर्सि राखेर काम गरे
२०७६ बैशाखमा प्रतिक राई प्रशासकीय अधिकृतको जिम्मेवारी लिएर जिल्ला प्रशासन कार्यालय उदयपुर पुगे । त्यहाँ सेवा प्रवाहको लागि दुइटा भवनहरूको प्रयोग भइरहेको थियो । प्राय जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने र राहदानी बनाउने सेवाग्राहीहरूको बढी भिड हुने गर्दछ ।

उदयपुरको अवस्था पनि त्यो भन्दा फरक थिएन । उनको जिम्मेवारी नागरिकता फाँटमा थियो । उनि जाँदा नागरिकता जारी गर्ने प्रक्रिया एउटा भवनबाट सुरु हुन्थ्यो भने, अन्तिम स्विकृतिको लागि उनि बस्ने अर्काे भवनमा पुग्नुपर्दथ्यो । लाईनमा बसेका सेवाग्राहीलाई कुराएको जस्तो नहोस् भनेर कर्मचारीहरू आफै कागजातहरू बोकेर ओहोर‑दोहोर गरिरहन्थे । सेवाग्राही पनि हातमा कागजात लिएर यता‑उता कुदिरहेका हुन्थे । त्यहाँ पनि अस्तव्यस्त सेवा व्यवस्थापनलाई उनले समस्याको रुपमा देखे ।

छोटो समयको बसाईमा उनले व्यवस्थापनमा धेरै योगदान दिन नसकेपनि सेवाग्राहीको काम सहज होस् भनेर आफ्नो तीन महिनाको सेवा अवधिभर उनले एउटै भवनमा खरिदार र सुब्बाको कोठा पछाडि टेबल र कुर्सि राखेर काम गरे । त्यसपछि सेवाग्राही र कर्मचारी फाईल बोकेर छुट्टै भवनमा धाउनु परेन ।

चुनौतिपूर्ण समस्यालाई बुद्धिमतापूर्वक समाधान तर्फ लैजान सक्ने सहकर्मी
उदयपुरबाट फर्किएपछी उनले केहि समय गृह मन्त्रालय अन्तर्गतको स्थानीय प्रशासन तथा समन्वय शाखामा शाखा अधिकृतको रुपमा काम गरे । त्यहाँ पनि सहकर्मी माझ उनको छुट्टै परिचय थियो । अरु सहकर्मीले चुनौतीपूर्ण ठानेका कामलाई उनले बुद्धिमतापुर्वक समाधान गर्नसक्ने क्षमताको चर्चा पनि उनीसँगै काम गरेका सहकर्र्मी माझ हुने गर्दछ । 

संघीयता आएसँगै नवलपरासी जिल्ला पूर्व र पश्चिम गरी दुई भागमा विभाजन भयो । त्यहाँ मदरसा मेला आयोजना गर्ने गरेको संस्थाका व्यक्तिहरू पनि विभाजित भए । मदरसा मेला कुन जिल्लाले आयोजना गर्ने भन्ने विषयमा अन्योल हुनुका साथसाथै संस्थाका पदाधिकारहरूको बिचमा पनि झैंझगडा हुने अवस्था आयो ।

जिल्ला प्रशासन कार्यालयले समेत समाधान दिन नसक्दा सो मुद्दा सिधै गृह मन्त्रालयमा सिफारिस भएर आयो । अन्य सहकर्मीलाई यो मुद्दा चुनौतिपूर्ण लागेको थियो । राईले भने यस मुद्दालाई बुद्धिमता पुर्वक समाधान तर्फ लागे । उनले  दुवै पक्षलाई छलफलका लागि बोलाए । राजनीतिक दबाबका साथै धार्मिक आस्था जोडिएको विषय भएकोले यो आफैंमा चुनौतिपूर्ण मुद्दा थियो । कसैको डर र प्रलोभनमा नपरी उनले दुवै पक्ष सन्तुष्ट हुने गरी निस्पक्ष समाधानको उपाय निकाले ।

हरेक ५ वर्षमा मतदान हुँदै आएको आयोजक समितिको निर्वाचन साढे दुई वर्षमा हुने र दुवै पक्षहरूलाई पालै पालो मेला आयोजना गर्ने प्रस्ताव अघि सारे । यो प्रास्ताव दुवै पक्षलाई मनपर्याे । छलफलमा आएका पक्ष विपक्ष समस्याको समाधान लिएर घर फर्किए । उनिसँगै गृह मन्त्रालयमा काम गरेका एन्तोष प्रधान भन्छन, “प्रतिक सरले हरेक परिस्थितिलाई निकै सरल तरिकाले अगाडी बढाउनुहुन्छ । घटनाको गम्भीर तवरले अध्ययन गर्नुहुन्छ । घटनालाई प्रभावित पार्नसक्ने राजनीतिक दवाब वा डर धम्कीलाई वास्ता गर्नु हुँदैन । उहाँले सेवाग्राहीलाई केन्द्रमा राखेर मात्र काम गर्नुहुन्छ । निर्भिक र स्वार्थरहित काम गर्नसक्ने उहाँ जस्तो सहकर्मी हाम्रो टिममा अहिलेसम्म कोहि देखेको छैन ।”  

उनि बिरामी पर्दा पनि सचिवले उनको विकल्प देखेनन्
कोभिडको समयमा लकडाउन हुँदा प्रतिक राई गृह मन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा कार्यरत थिए । उनी ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सम्बन्धित मन्त्रालयका सचिवहरू र पत्राकारसँग निरन्तर टेलिफोन सम्पर्कमा बस्नुपर्ने हुन्थ्यो । गाडी या हवाई यातायातहरू अनुमति बिना चल्न पाउदैनथे । कसलाई अनुमति दिने र कसलाई नदिने भनेर पनि उनले नै हेर्ने गर्दथे ।

आपतकालीन अवस्थामा राति १२ बजे भए पनि अनुमति बनाएर पठाउनु पर्ने हुन्थ्यो । त्यस दौरान उनले २४सै घण्टा अनगिन्ति फोन कलहरू उठाए । ४० दिन त निरन्तर कार्यालय भित्रै बसेर काम गरे । निरन्तर कामको दवाबले उनी बिरामी परे । उनले बिदामा बस्न नखोजेका होईनन्, तर मन्त्रालयका सचिवले तिमी नभएपछि यो सब काम रोकिन्छ, तिम्रो विकल्प छैन भनेर अनुरोध गरे । अस्वस्थ हुँदा पनि उनले कामलाई निरन्तरता दिए, जसले गर्दा सेवाग्राही सेवाबाट बिमुख हुनु परेन । 

झापामा पनि सहकर्मी अनि सेवाग्राहीको मन जित्दै
२०७७ असोज देखि २०७९ असोज सम्म भने उनी अध्ययन बिदामा बसे । अध्ययन सकेपश्चात उनि २०७९ कार्तिक देखि हालसम्म प्रशासकीय अधिकृतको रुपमा जिल्ला प्रशासन कार्यालय, झापामा कार्यरत छन् । झापा गएपछि उनले प्रतिलिपि शाखाको जिम्मेवारी पाए ।

त्यहाँ नागरिकताको अनुसूचीहरू अस्तव्यस्त तरिकाले राखिएका थिए । सबैभन्दा पहिले उनले मिति अनुसार अनुसुचिहरूको फाइलिङ्लाई व्यवस्थित बनाउने कामको थालनी गरे । यसका लागि समय र मेहेनत धेरै लाग्ने भएकोले उनले छुट्टीको दिन र बेलुका कार्यालय समय पछी फाईल व्यवस्थापनको काम गर्ने निर्णय गरे । उनको यस प्रयासलाई प्रमुख जिल्ला अधिकारीले पनि समर्थन गरे ।

धुलो टकटक्याएर काम गर्नुपने भएकोले दुइटा मास्क लगाएर भए पनि आफै गर्छु भनेर उनी अघि सरे । सबै फाइलहरू मिति अनुसार वडा छुट्याएर राखे । यसले शाखाको कामलाई सहज बनायो । उनले आफ्नो कामबाट सेवाग्राहीलाई त सन्तुष्ट बनाएका छन् नै, सँगै काम गर्ने सहकर्मीलाई पनि प्रोत्साहित गरेका छन् । उनीसँगै काम गर्ने सहकर्र्मी खाजाको समय छोट्याएर पनि कार्यालयलाई व्यवस्थित बनाउन लागिपरेका छन् । एक जना व्यक्तिले सुधारको नेतृत्व लियो भने, त्यसले सिंगो संरचना सुधारमा टेवा पुर्याउन सक्छ भन्ने एउटा उदाहारण प्रतिक राई हुन् ।

हेमा थापा
अस्पताल नर्सिङ निरिक्षक, नारायणी अस्पताल, बीरगंज

हेमा थापाका बुबा पनि सरकारी सेवामै थिए । उनि जताजता सरुवा हुँदै गए, हेमाको पढाई पनि उतैउतै भयो । छोटो समयका लागि बनेका साथी छोटो समयमै छुट्टीदै गए । त्यसैले पनि उनका बाल्यकालका साथी धेरै भएनन् ।

घुम्दै जाँदा एउटा ठाउँको साथी छुट्ने र अर्काे ठाउँको नयाँ साथी बन्ने । पढाईमा उनका दाई र दिदि अब्बल थिए भने, उनि सामान्य विद्यार्र्थी मात्र थिईन् । तर पनि उनका आमा बुबाको चाहना छोरीले डाक्टर वा इन्जिनियर पढोस् भन्ने थियो । हेमालाई भने स्टाफ नर्स पढ्न मन थियो । पारिवारमा कोहि पनि नर्सिङ क्षेत्रमा नभएको र राति ड्युटी पर्ने काम छोरीले गर्नु नपरोस् भनेर उनका आमा‑बुबाले उनलाई नर्सिङ पढ्न दिईरहेका थिएनन् । उनका दाईले भने बहिनीको सेवा भाव बुझेका थिए । दाईले नै आमा‑बुबालाई मनाए र हेमाले नर्सिङ पढ्न थालिन् । 

छोटो समयमै एनआइसीयूको स्तरोन्नती  
हेमा थापा २०५२ साल देखि नै नर्सको रुपमा बीरगञ्ज अस्पतालमा काम गर्दै आईरहेकीछिन् । उनि आफ्नो सुरुवाती सेवाकाल देखि नै ईमान्दार कर्मचारीको रुपमा चिनिन्छिन । उनको कामको मुल्यांकन गर्दै २०७४ सालमा उनलाई  एनआइसीयूको इन्चार्ज बनाइयो ।

त्यहाँ पनि उनले आफ्नो क्षमतालाई प्रमाणित गरिन् । उनले सरकारी मापदण्द पूरा हुने गरि २ वर्षमा अक्सिजन पाइपलाइन देखि लिएर कंगारु आमा हेरचाह इकाई सम्म स्थापना गराएर एनआइसीयूमा हुनुपर्ने सबै मापदण्ड पूरा गरिन् । एनआइसीयू बिभाग पाँच बेडबाट स्तारोनात्ति भएर दस बेडको भयो । 

सात महिनामै मापदण्ड पुरा गरेर अधिकतम मुद्दा व्यवस्थापन गर्न सफल  
२०७८ साल माघ महिना देखि हेमा एकद्वार संकट व्यवस्थापन केन्द्रको फोकल पर्सनको रुपमा पनि काम गरिरहेकी छिन् । एकद्वार संकट व्यवस्थापन केन्द्रलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न उनले पहिले आफैले तालिम लिईन् । सञ्चालन कार्यविधि र मापदण्ड तयार गरिन् । आफू मातहतका कर्मचारीलाई पनि सिकाउदै गईन् । एउटा साँघुरो कोठामा सिमित, नाम मात्रको केन्द्रलाई चलायमान बनाईन् ।

उनले नेतृत्व लिएको ७ महिनामा बीरगञ्ज अस्पताल स्थित एकद्वार संकट व्यवस्थापन केन्द्रले पुरा गर्नुपर्ने सरकारले तोकेको मापदण्ड पुरा गर्यो । 

एकद्वार संकट व्यवस्थापन केन्द्रमा प्राय महिला हिंसाका घटनाहरू बढी आउछन् । ति घटनाको तत्कालिन समाधानका लागि हेमाले नियम कानूनको मद्दत र घटनाको अवस्था हेरेर कदम चाल्ने गर्दछिन् । तर, मानसिक आघात पुगेकाहरूलाई मनोसामाजिक परामर्श आवश्यक हुन्छ भन्ने बुझेपछि ६ महिनाको मनोसमाजिक परामर्शको प्रशिक्षण लिईन् र आवश्यक परेका पीडितहरूलाई  परामर्श दिन थालिन् । यसले एकद्वार संकट व्यवस्थापन केन्द्रप्रति सेवाग्राहीको विश्वास बढ्न थाल्यो ।

थोरै समयमा नै सरकारको मापदण्ड अनुसार सबै कुरा भएको र अधिक्तम मुद्दाहरूको व्यवस्थापन गर्न सफल भएकै कारण ७ महिना भित्र अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रले प्रसंशापत्र पनि पायो । 

कोभिड हिरो
कोभिडको समयमा उनि दिनरात अस्पतालमै हुन्थिन् । सबै जना आफ्नो काम सकेर घर फर्किदा पनि उनि अस्पतालमै हुन्थिन् । उनलाई साच्चिकै अप्ठेरोमा परेको बिरामी आउँदा कसले हेर्छ भन्ने चिन्ता हुन्थ्यो । आफन्तले उनको जिम्मेवारीलाई जिद्दी ठानेका थिए । तर परिवारले सधै साथ दियो । श्रीमान उनले ड्युटी जानुपर्छ भन्दा पुर्याउन तयार हुन्थे । आमाले दिनमा पाँच पटक फोन गर्नुहुन्थ्यो । कुरा नगरे पनि एक पटक अनुहार देखा भन्नुहुन्थ्यो । परिवारको सहयोगले हेमालाई थप हौसला दियो । उनलाई आफ्नो ज्यान भन्दा पनि जिम्मेवारी प्रतिको बफादारिता महत्वपुर्ण लाग्यो ।

कोभिड विरुद्धको पहिलो सुई कसैले लिन मानेका थिएनन् । यसमा पनि हेमा नै अगाडी सरिन् । धेरैले त उनलाई आत्महत्या गर्न जानथालि भने । उनलाई कसले के भन्छ भन्नेमा कहिल्यै पर्वाह भएन । पाएको जिम्मेवारी ईमानदारिता पुर्वक पुरा गर्न सक्छु या सक्दिन भन्नेमा बढी चिन्ता भयो । 

सुत्केरीको सालनालबाट बायोग्याँस
हेमा थापा सरकारले दिने ६ महिने पर्यवेक्षक प्रशिक्षण कार्यक्रममा सहभागी भएकी थिईन् ।  प्रशिक्षण कार्यक्रम अन्तर्गत उनले एउटा परियोजना गर्नुपर्ने थियो । नारायणी अस्पतालमा महिनामा ९०० जना जति सुत्केरी हुने गर्दछन् ।

त्यसबाट जम्मा हुने सालनालको गन्धले अस्पताल परिसरलाई दुर्गन्धित बनाएको थियो । त्यसको व्यवस्थापन के होला भनेर उनले सोचिरहेकी थिईन् । उनले त्यसको व्यवस्थापनका लागि सालनालबाट चल्ने बायो ग्याँस बनाउने परियोजना अस्पतालका मे.सु.लाई सुनाईन् । मे.सु.लाई पनि उनको परियोजना मन पर्यो । परियोजना कार्यान्वयन भयो । बस्ति प्रदुषणबाट जोगियो । उत्पादित ग्याँस सदुपयोग भयो । 

बोल्न नसक्नेको आवाज अनि असहायको सहारा
जो बोल्न सक्दैनन्, जसको अस्पतालमा पहुँच हुँदैन, जो अस्पतालमा उपचारका लागि आउँछन् तर बेवारिसे जस्तै हुन्छन् । उनीहरूको सहारा हेमा थापा भईदिन्छन् । सुरुमा उनीहरूलाई प्राथामिक उपचार दिएर निको पार्छिन् । आफन्त भए आफन्त खोजेर जिम्मा लगाउछिन् । नभए बीरगञ्ज स्थित मानव सेवा आश्रमको जिम्मा लगाईदिन्छिन् ।

४ वर्ष अगाडी अस्पताल नजिकै भेटिएकी एक जना बेवारिसे आमालाई उपचार पश्चात मानव सेवा आश्रममा लिएर गएकी थिईन् । त्यस पश्चात बेवारिसे थुप्रै महिला पुरुषलाई उनले उपचार गरेर मानव सेवा आश्रमको जिम्मा लगाएकीछिन् र त्यहाँ भएका थुप्रै बृद्ध बृद्धालाई उपचारका लागि सहजीकरण गरेकी छिन् । मानव सेवा आश्रामका दिवस मानवसेवाका अनुसार हेमा घडी हेरेर ड्युटी गर्ने कर्मचारीमा पर्दैनन् । दिवस आफैपनि नर्सिंङ पढ्ने विद्यार्थीलाई तालिम दिन कलेज गईरहन्छन् ।

त्यहाँ आउने धेरै जसो विद्यार्थीले हेमा दिदिजस्तो मान्छे नर्सिंङ क्षेत्रमा भएको देखेर म पनि नर्सिंङ पढ्न आए भनेको सुनेका छन् । त्यसैले पनि दिवसले भेटेका थोरै सम्मानित व्यक्तिमा हेमा पर्दछिन ।     

हेमालाई चिन्नेहरू कसैले उनलाई असहायको सहारा ठान्दछन्, कसैले उनलाई परिवर्तनको प्रयाय त कसैले उनलाई प्रेरणा । अस्पतालकै नर्स श्रुती शाह उनलाई फ्लोरेन्स नाइटिङ्गेलकै साक्षात रुप ठान्दछिन् । उनि भन्दछिन, “हामीले फ्लोरेन्स नाइटिङ्गेल त देखेका छैनौँ, तर हाम्रो लागि फ्लोरेन्स नाइटिङ्गेल हेमा दिदी नै हो । दिन‑रात नभनी कुनै पनि समय आउनुहुन्छ । अस्पतालको लागि मरिमिटेर काम गर्नुहुन्छ । यदि कसैलाई सहयोग चाहियो भने गुहार्नुपर्ने मान्छे पनि हेमा दिदी नै हो ।”

रबिना महर्जन
प्रधानाध्यापक, मनमैजु मा.वि., तारकेश्वर

काठमाण्डौमै जन्मे हुर्के पनि रबिना महर्जनको बाल्यकाल अति कस्टकर र गरिबीमा बित्यो । बुबा र आमा दुबैको जिम्मवारी आमाले मात्र निभाउनु पर्याे । बुबा जाँड रक्सीको कुलतमा फसेका थिए । आमा घरखर्चको जोहो गर्न अरुको घरमा भाँडा माझ्ने र कपडा धुने काम गर्ने गर्दथिन् । आमा जहाँजहाँ काम गर्न जान्थिन उतैबाट फालिएका कापीका पाना सिलाएर कापी बनाएर ल्याउथिन् । कहिलेकाही तिनै सिलाईएकै कापी नपाउदा भने रबिना कक्षाबाट निकालिनु पर्दथ्यो । रबिना कापी नभएर पटक पटक कक्षा कोठा बाहिर निकालिने विद्यार्थीमा पर्दथिन् । 

उनकी आमा हुनेखानेका घरमा काम गर्दथिन् । साहुको घरमा फालिएका खेलौना र पुराना कपडा पाईन्छ भन्ने आशामा उनिपनि आमासँगै पछी लागेर जान्थिन् । भाँडा माझ्दथीन् । पढेर भविष्यमा के बन्ने भन्ने त उनले सोचेकै थिइनन् । किन भने, बिहान खायो भने साँझ खान पाईन्छकि पाईदैन भन्ने टुंगो हुँदैनथ्यो । आधा किलो चामलको १० रुपैयाँ पर्दथ्यो । त्यो पनि नभएपछि उनकी आमा पसलमा झुठो बोलेर डेढ पाउ चामल किन्दथिन् । मन्दिर जानलाई डेढ पाउ चामल किन्दा पसलेले अर्काे प्रश्न सोध्दैन भन्ने उनकी आमालाई लाग्दथ्यो । त्यसैको जाउलो बनाएर आमाले रबिना र उनका भाईलाई विद्यालय पठाउँथिन् । 

रबिना सानोमा पप गित गाउन मन पराउथिन् । उनलाई लाग्दथ्यो, म भोलि गएर गायक पो बन्छु कि ? त्यसपछि उनलाई कराते खेल मन पर्याे, फेरी उनलाई लाग्यो कतै भविष्यमा कराते खेलाडी पो बन्छु कि ? पढाई राम्रै थियो, उनलाई बिज्ञान पद्छु कि जस्तो पनि लाग्यो । त्यो पनि भएन । कापी नभएर कक्षाबाट निकालिदै गर्दा सोच्ने गर्दथिन्, भोली म नै शिक्षक भयो भने कस्तो होला ? 

उनले एसएलसी पास गरिन् । विद्यार्थी हुँदा कहिले छोड्न पाईएला भन्ने लागेको बिद्यालय, साँचिक्कै छोड्नुपरे पछी गईरहन मन लाग्यो । उनले खालि भएका कक्षामा पढाउन थालिन । एक दिन तात्कालिन प्राधानाध्यापकले महिनाको २७०० रुपैयाँ दिन्छौँ, पढाउँछौ ? भनेर सोधे । गरिबीले थलिएको उनको परिवारको लागि त्यो रकम धेरै ठुलो थियो । उनि पढाउन थालिन् ।

उनले बाह्र वर्ष सोही विद्यालयमा पढाईन् । गणित बिषयबाट सुरु गरेर बिस्तारै आफ्नो योग्यता अनुसार मार्केटिङ, अर्थशास्त्र र लेखा पनि पढाईन् । उनि बालबालिकालाई मेरो सेरो फेरो पढाउँथिन् । जाँड रक्सि खानु हुँदैन भनेर सिकाउथीन् । विद्यालय नजिकै भट्टीमा रक्सि खाएर उनका बुबा खुट्टा थाम्न नसक्ने गरी निस्कन्थे । धेरै अवस्थामा विद्यार्र्थीको सहयोगमा बुबालाई घर लानु परेको अवस्था पनि थियो । त्यसले उनलाई बढी पीडा दिन्थ्यो ।
गणितमा रुची नै नभएका विद्यार्थीका लागि ५०% अंक सामान्य हुन थाल्यो । 

भूकम्प लगत्तै उनले शिक्षण अनुमति पत्र परिक्षा पास गरिन् । लगत्तै २०७४ सालमा शिक्षक सेवा आयोग पास गरेपछि उनको पहिलो पदस्थापन च्वादी पब्लिक माध्यमिक विद्यालय, नुवाकोटमा भयो । उनि घर छोडेर पहिलो पटक बाहिर गईन । त्यहाँ कोहि पुरुष शिक्षकले, “फेरी पनि महिलानै आउनुभएछ” भनेको सुनिन् । उनलाई लाग्यो के गर्यो भने पुरुष सरह भईदो रहेछ । च्वादी पब्लिक माध्यमिक विद्यालय जाँदा उनले त्यहाँका विद्यार्र्थीहरू गणित विषयमा निकै कम्जोर भएको पाईन् ।

विद्यार्थीहरूमा गणित विषयको तहगत आधारभूत ज्ञान पनि थिएन र गणित विषयप्रति रुची पनि थिएन । विद्यार्थीहरूको गणित विषयप्रति रुची बढोस भनेर व्यवहारिक सिकाईलाई आधार बनाएर पढाउन थालिन् । कोणको बारेमा पढाउनु परेमा मैदानमा लगेर कोणका प्रकारहरू अनुसार नै विद्यार्थीहरूलाई राखेर सिकाउन थालिन् ।  दैनिक रुपमा प्रयोग हुने समानहरू जस्तै तरकारी, दाल, घाँस, धागो आदि प्रयोग गरेर गणितका कोण, समूह जस्ता विभिन्न अध्यायहरू बुझाएर सिकाउन थालिन् ।

जसले गर्दा विद्यार्थीहरूको गणित विषयमा रुची बढ्न थाल्यो । जुन विद्यार्थीलाई अतिरिक्त कक्षाको आवश्यकता थियो, त्यस्ता विद्यार्थीलाई आफु बस्ने घरमा बोलाएर निशुल्क पढाउन थालिन् । पहिले कमजोर भनिएका विद्यार्थीहरू मध्ये केहिले ९०% अंक सम्म पनि ल्याए भने, ५०% अंक त विद्यार्थीहरूका लागि सामान्य हुन थाल्यो । 

खेतीपातीमा रमाउने विद्यार्थी बिद्यालय आउन थाले
च्वादी पब्लिक माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थी बीच निकै कम अन्तरक्रिया हुन्थ्यो । विद्यार्थीहरू पनि नियमित विद्यालय आउदैनथे । उनिहरू पढाई भन्दा बढी खेतीपाती र हाटबजारमा संलग्न हुन्थे । विद्यालयप्रति आकर्षित गर्न रबिनाले विद्यार्थीका अभिभावकलाई भेटिन् । उनिहरुलाई पढाईको महत्व बारेमा बुझाईन् । विद्यार्थीहरूसँग पनि अन्तरक्रिया बढाइन् ।

विद्यालयमा विद्यार्थीमैत्री वातावरण तयार भयो । गणित भन्ने बित्तिकै दिक्क मान्ने विद्यार्थीहरू नियमित कक्षामा आउन थाले । त्यतिमात्र नभएर उनीहरू अतिरिक्त कक्षा र बिदाको दिन समेत विद्यालय आउन थाले । 

विद्यालयमा कम्प्युटर थिएन । उनले आफ्नो निजी ल्यापटप लगेर विद्यार्र्थीहरूलाई प्रेरणामुलक भिडियोहरू देखाउन थालिन् । भनेको नमान्ने, पढ्न नखोज्ने, अनुशासनमा नबस्ने भनिएका  विद्यार्थीहरूमा समेत सकारात्मक परिवर्तन आउन थाल्यो । एक जना विद्यार्थी विद्यालयमा कम उपस्थित हुन्थे । विद्यालय आएको दिन पनि आफ्नै समूह बनाएर हिड्ने गर्दथे । उनको ध्यान पढाईमा हुँदैनथ्यो ।

उनले उक्त विद्यार्थीलाई उच्च आदरार्थी शब्दले सम्बोधन गरेर अन्तरक्रिया गर्ने र सम्झाउने व्यवहारले धेरै विद्यार्थीमा परिवर्तन आउन थाल्यो । उनलाई होच्याएर बोल्ने, आदर नगर्ने विद्यार्थीहरूले समेत आफै गल्ती महसुस गरेर नियमित कक्षामा उपस्थित हुने र पढाईमा रुची राख्न थाले । त्यसको प्रतिफल नतिजामा पनि देखियो । 

एक वर्षमै प्रधानाध्यापक र “ईमर्जिंग हेड टिचर”
२०७६ सालमा मा.वि तह शिक्षकका लागि शिक्षा सेवा आयोगको परिक्षा पास गरेपछि उनको पदस्थापन काठमाण्डौको मनमैजु मा.वि.मा भयो । उनि त्यहाँको मा.वि. तहको सबै भन्दा कनिष्ठ शिक्षक थिईन् । तात्कालिन प्रधानाध्यापकले अवकाश पाउन थोरै समय बाँकी थियो ।  उनले रबिनाको पढाउने र नेतृत्व लिन सक्ने क्षमताको आंकलन गरिसकेका थिए । उनले नै रबिनालाई सहायक प्रधानाध्यापकको लागि सिफारिस गरे ।

त्यस पश्चात मनमैजु आएको १ वर्ष नहुँदै उनले प्रधानाध्यापकको जिम्मेवारी पाईन् । उनले प्रधानाध्यापकको जिम्मेवारी पाए लगत्तै कोरोना महामारी पनि फैलियो । विद्यालयमा श्रोत साधनको कमि थियो जसले गर्दा अनलाईन कक्षा सञ्चालन गर्न कठिन भयो । आफ्ना बालबालिकाहरूलाई मास्क लगाएर विद्यालय पठाईदिन अभिभावकलाई अनुरोध गर्दा, उनिहरूले मास्क किन्नुको साटो त्यो पैसाले साँझ बिहान साग किनेर खान पुग्छ भन्ने जस्तो जवाफ पठाउथे । मनमैजु मा.वि.मा प्राय विद्यार्थी निम्न वर्र्गीय परिवारबाट आउने गर्दछन् । 

अनलाईन कक्षा संचालन सम्बन्धि निर्णय गर्न विद्यार्थी, शिक्षक र अभिभावकसँग छलफल गरिन् । घरमा मोबाईल फोन हुने विद्यार्थीहरूलाई अरु १‑२ जना साथी बोलाएर सँगै बसेर पढ्ने वातारण तयार गरिन् । सुरुमा थोरै मात्र विद्यार्थी अनलाईन कक्षामा सहभागी भए । विस्तारै उनिहरूलाई अनलाईन कक्षाको महत्व बुझाउदै गईन् ।

विद्यार्थीको संख्या बढेर ८५% सम्म पुग्यो । सानो कक्षाका बालबालिकालाई भने अनलाईन कक्षा सम्भव नभएर शिक्षकहरूलाई कक्षाको तालिका बनाएर रोल नम्बर अनुसार भौतिक दुरी कायम राखेर विद्यालयमै कक्षा  संचालन गर्ने व्यवस्था गरिन् । उनको प्रयासले उक्त विषम अवस्थामा पनि विद्यार्थी पढाईबाट बन्चित हुनु परेन । फलस्वरूप, उनले नगरपालिकाबाट “ईमर्जिंग हेड टिचर” भनेर ज्यापू सरस्वती पदक पाईन् । 

५०० बाट बढेर विद्यार्थी संख्या ८३३ पुग्यो
रबिनालाई आफु पढाउने विद्यालयको गुणस्तर कुनै पनि निजि विद्यालयको भन्दा कम नहोस् भन्ने चिन्ता हुन्छ । त्यसका लागि उनि शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलाप र व्यवस्थापनमा पनि सुधार गर्न लागि परिन् । विद्यार्थीहरूले बाल क्लब गठन गरी त्यसको नेतृत्व आफै लिन थाले । कक्षामा विद्यार्थीले सृजनात्मक क्रियाकलापको अभ्यास गर्नथाले ।

लेख रचनासँगै नियमित डायरी लेखन कार्यलाई अगाडी बढाए । त्यसले विद्यार्थीको आत्मविश्वास बढ्यो । त्यो कुरा समुदायमा प्रतिबिम्बित भयो । ५०० बाट बढेर विद्यार्थी संख्या ८३३ पुग्यो । 

शिक्षक पनि, अभिभावक पनि  
एक जना शिक्षकले आफ्नो जीवनकालमा हजाराँै विद्यार्थीलाई पढाएको हुन्छ । विद्यालयबाट निस्किसकेपछी सबै विद्यार्थीलाई शिक्षकले चिनीराख्न सम्भव पनि हुँदैन । त्यसै गरेर सबै विद्यार्थीले आफुलाई पढाएका सबै शिक्षकलाई सम्झी राख्ने पनि हुँदैन । रबिनामा एउटा गुण छ, जसले गर्दा विद्यार्थीले उनलाई सम्झिरहन्छन । उनि विद्यार्थीको शिक्षक मात्र बन्दिनन् । उनि विद्यार्थीको अभिभावक अनि साथी पनि बनिदिन्छिन् ।

ज्ञानोदयमा रबिनाले पढाउदाका विद्यार्थी राजीव बिक्रम थापा अहिले पनि कुनै निर्णय लिंदा रविनाको सुझाव लिने गरेको बताउछन् । राजीवलाई रबिना कहिल्यै पनि मेरो शिक्षक मात्र हो जस्तो लागेन । उनले जहिल्येई रबिनालाई दिदि अनि अभिभावक माने । राजीव एक उदाहरण मात्र हुन् । रबिनाले पढाएका विद्यार्थी देश विदेशमा विभिन्न ओहोदामा काम गरिरहेका छन् । जसले आफुले पढाएका थुप्रै शिक्षक मध्ये रबिनालाई हालसम्म पनि आफ्नो आदर्श व्यक्ति र अभिभावक मान्ने गरेका छन् ।

पद्मनाथ आत्रेय
बागवानी विकास अधिकृत, शितोष्ण बागवानी विकास केन्द्र, मार्फा, मुस्ताङ

पद्मनाथ आत्रेय पोखरा नजिकैको ग्रामिण कृषि परिवारमा जन्मिएका हुन् । उनि जन्मिदा उनका बुवाको उमेर ६२ वर्षको थियो । उनका हजुरबुबा ठुला पण्डित थिए । उनका बुवा पनि शास्त्री र आचार्य पढ्न १३ वर्षको उमेरमै बनारस गए । ६ विषयमा शास्त्री र आचार्य सकेर घर फर्किए । फर्किदा उनका हजुरबुबा र हजुरआमाले उनका बुबालाई चिनेनन् । पढाई सकेर फर्किदा र त्यसपछि जागिरको शिलशिलामा कालिङपोङ बसेका कारण ढिलो गरी बिवाह भयो ।

चार जना दिदि पश्चात पाँचौ अर्थात कान्छो सन्तानका रूपमा उनको जन्म भयो । सानै देखि दिदिहरूको पछी लागेर उनि विद्यालय जान थाले । उनि पढ्ने विद्यालय मान्द्रोले बेरेको थियो । ढुंगामा बोरा राखेर पढ्नु पर्दथ्यो । साँझ बिहान घाँस दाउराको काम गर्नुपर्दथ्यो । काम सकिएपछी किताब बोकेर विद्यालय जान्थे । उनका बुबा संस्कृतका ज्ञाता थिए । छोरालाई पनि संस्कृतको विद्वान बनाउन चाहन्थे । बुबाको चाहना बमोजिम ५ कक्षाको पढाई छोडेर उनि घरमै बसेर संस्कृत पढ्नथाले । उनि घरमा अष्टाध्याय भन्ने किताब पढ्दथे ।

दिनमा ४ र ५ सुत्र पढ्नु र गाईबस्तु चराउनु उनको दैनिकी थियो । तर उनका साथीहरू विद्यालय गईरहेको र आफु घरमै बसिरहेको देख्दा भने नरमाईलो लागिरहेको थियो । यो कुरा उनकी आमाले बुझेकी थिईन । एक वर्ष पश्चात आमाले बुबालाई नसोधेर पद्मनाथलाई विद्यालय भर्ना  गरिदिईन । त्योभन्दा अगाडिको सामान्य विद्यार्थी त्यस पश्चात कक्षामा प्रथम द्वितीय हुन थाले । 

कृषि कार्यालयमा सेवाग्राहीको पहुँच, उत्पादनमा सुधार
सरकारी सेवामा प्रवेश गरिसकेपछि केहि समय उनि तत्कालिन कृषि तथा सहकारी मन्त्रालयमा बसे । थोरै समय त्यहाँ बिताएपछि उनि बागवानी विकास अधिकृतको रुपमा जिल्ला कृषि विकास कार्यालय पर्वतमा सरुवा भएर गए । उनि पढ्दै गर्दा पर्वत जिल्लामा कृषि सम्भावनाको अध्ययन गरेका थिए । त्यहाँ सुन्तला उत्पादनको सम्भावना राम्रो थियो । तर अपेक्षित उत्पादन हुन सकेको थिएन ।

उनले सुन्तला उत्पादनको सम्भावना बोकेका क्षेत्रहरूलाई नजिकबाट नियाले । सुन्तलाको राम्रो उत्पादन हुने सम्भावना भएको, तर राम्रो व्यवस्थापन नभएका कारण उत्पादन कम भएको अध्ययनबाट पत्ता लगाए । त्यस पश्चात जिल्ला स्थित बगैँचाहरूलाई छनौट गरी बगैँचा सुधारका कार्यक्रमहरू सञ्चालन गरे । उनले थोरै उत्पादन दिने र मर्न लागेका बिरुवा भएका बगैंचाका किसानहरूलाई तालिम दिएर नयाँ बिरुवाहरू वितरण गरे । विस्तारै बगैचा सुधार हुँदैगए । उत्पादन पनि बढ्दै गयो । उनले एक वर्षमा तालिम मार्फत करिव ३०,००० सुन्तलाका विरुवाहरू विस्थापन गरे । त्यस पश्चात करिव ३०० हेक्टर जति जग्गामा सुन्तलाका बगैँचाहरू विस्तार भए ।

यस क्रममा उनि हरेक जसो बगैँचामा पुगेर बगैचाको निरीक्षण गरे । कृषकहरूलाई प्राविधिक सरसल्लाह दिए । आवश्यकता अनुसार जिल्लास्तरीय तथा स्थलगत घुम्ति तलिमहरू सञ्चालन गरे । साथसाथै, जिल्ला कृषि विकास कार्यालयको बागवानी शाखासँग कृषकहरूको पहुँचलाई सहज बनाए । यसले किसानको मनोबलसँगै कृषि विकास कार्यालय प्रति विश्वास पनि बढ्यो । 

कृषकहरूका लागि सरल र उपयोगी पुस्तक प्रकाशन
कृषि सम्बन्धि प्रकाशन हुने प्राय कितावहरू अंग्रेजीमा हुने भएकोले यस्ता सामाग्रिहरू सबै कृषक तथा फिल्डमा काम गर्ने कृषि प्राविधिकहरूले सहजै बुझ्न सक्दैनन् । यस कुरालाई मध्यनजर गरेर, अत्रेयले विभिन्न फलफूल, तरकारी तथा पुष्पजन्य बालिहरूको बारेमा जानकारी दिन विभिन्न किसिमका पुस्तकहरू सरल भाषामा नेपालीमा लेखेर प्रकाशन गरे । स्याऊ, केरा, लिचि, अंगुर, अनार उत्पादन, आदि सम्बन्धि पुस्तकहरू उनका प्रमुख लेखन तथा प्रकाशन हुन् । ति पुस्तकहरू व्यवसायिक किसानहरू, कार्यालयमा जिज्ञासा लिएर आउने किसानहरू र कृषिक प्रावधिकहरूका लागि बढी उपयोगी सावित भए । 

उनि शितोष्ण बागवानी केन्द्र, मार्फामा गएपछि ‘उच्च घनत्वमा स्याऊ खेति’ नामको पुस्तक पनि प्रकाशन गरे । साथसाथै उनले 'फन्डामेटल्स् अफ एग्रोफरेस्टी' नामक प्राविधिक पुस्तक पनि प्रकाशित गरे । किसानहरूलाई मात्र नभई विश्वविद्यालयका विद्यार्र्थीहरूको लागि पनि उपयोगी हुने व्यवहारिक किताबहरू उनले प्रकाशन गरिरहेका छन् । 

यसरी विभिन्न लेखहरू प्रकाशन गरिरहँदा कृषकहरुले यी किताब साह्रै उपयोगी भएको भनी पृष्ठपोषण दिएका धेरै घटनाहरु छन् । नयाँ प्रजातिका फलफूलहरू जस्तै दाँते ओखर, चुच्चे ओखर, एभोकाडो, ड्रागन फल जस्ता फलफूलका बारेमा लेखेका पुस्तकहरू युवा व्यवसायी कृषकहरुमाझ अत्यन्तै लोकप्रिय बनेको कुरा ठाँउ ठाँउवाट फोनहरू आईरह्यो । अहिले उच्च हिमाली क्षेत्रमा उच्च घनत्वमा स्याउ खेति गर्ने कृषकहरुलाई एक वर्ष अगाडिमात्र शितोष्ण बागवानी विकास केन्द्र, मार्फाबाट प्रकाशन गरेको उच्च घनत्वमा स्याउ खेती प्रविधिले ठुलै टेवा पुर्याएको कुरा विभिन्न तालिम तथा फिल्ड भिजिटको क्रममा कृषकहरूले बताउने गरेका छन् । 

योजनाबद्ध कार्यक्रमहरू सञ्चालन
उनले २०६९ देखि २०७३ साल सम्म कीर्तिपुरको फलफूल विकास निर्देशनालयमा फलफूल विकास अधिकृतका रुपमा काम गरे । त्यहाँ काम गर्दा उनले समग्र फलफूलहरूको विकासको लागि योजनाहरू बनाउनका साथै ती योजनाहरूलाई विभिन्न ठाउँमा पठाउने काम गरे । उनी निर्देशनालयमा आएपछि स्याउमा आत्मनिर्भर हुने योजनाहरू बने । ती कार्यक्रमहरू मनाङ, मुस्ताङ र कर्णालीका ५ वटा जिल्लाहरूमा सञ्चालन भए । 

उनले मध्य पहाडलाई ध्यानमा राखेर सुन्तला बगैंचा सुदृढिकरण कार्यक्रम पनि संचालन गरे । त्यसैगरी फलफूलको क्षेत्र बिस्तार कार्यक्रम भनेर आँप र लिचिको क्षेत्र विस्तारको लागि राष्ट्रव्यापी योजना बनाएर त्यस सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरे । धानखेतहरूको कुल वार्षिक कार्यक्रम बनाए । त्यसपछि उनले बागवानी विकास अधिकृतको रुपमा केन्द्रिय बागवानी केन्द्र, कीर्तिपुरमा काम गरे । 

सेवाग्राहीको माग अनुसार गुणस्तरीय बिरुवा वितरण
केन्द्रिय बागवानी केन्द्र, कीर्तिपुरमा विभिन जिल्लाका कृषकहरूले सुन्तला जातको फलफूल, जस्तै सुन्तला, कागती, जुनार आदीहरूको बिरुवा माग गर्दथे । केन्द्रिय बागवानी केन्द्रमा बिरुवाको उत्पादन थोरै र माग धेरै हुने गर्दथ्यो । उनले स्कृन घरहरू (स्कृन घर जाली घर हो । यसको माथी पारदर्शी प्लाष्टिक प्रयोग गरिएको हुन्छ भने चारै दिशामा किरा नछिर्ने जालीहरू प्रयोग गरिएको हुन्छ ।) बनाएर ग्राफ्टिङ प्रविधि प्रयोग गरौँ भनेर आफ्नो कार्यालय प्रमुख र सहकर्मी समक्ष प्रस्ताव राखे । सबैले प्रास्ताव मन पराएपछी त्यसको काम सुरु भयो । 

किराहरुले रोगहरू सार्ने हुँदा त्यस्ता किराहरू छिर्न नसक्ने जालिको घर बनाएर विरुवा उत्पादन गर्दा गुणस्तरिय र रोगमुक्त बिरुवा उत्पादन गर्न सकियो । उनले त्यहाँ ग्राफ्टिङ प्रविधि प्रयोग गरेपछि २०,००० देखी २५,००० सुन्तला जातको  फलफूलका गुणस्तरिय विरुवाहरू उत्पादन भए । यसरी केन्द्रीय बागवानी विकास केन्द्र सेवाग्राहीको माग अनुसार गुणस्तरीय बिरुवा वितरण गर्न सफल भयो । गुणस्तरीय बिरुवाको वितरणले उत्पादनमा पनि सुधार भयो । व्यवासिक कृषकहरूले बिगतमा ८ देखि १० मेट्रिक टन हुने उत्पादन गरिरहेकोमा उत्पादन बढेर १२ मेट्रिक टन प्रति हेक्टरको हाराहारीमा पुग्यो । 

अन्तराष्ट्रिय जर्नलमा लेख प्रकाशन
उनले नेपालमा बागवानी विकास र अध्ययन अनुसन्धान क्षेत्रमा के कस्ता कामहरु र कसरी भईरहेका छन् भन्ने कुरा जानकारी दिनको लागि विभिन्न अन्तराष्ट्रिय फोरममा जर्नलहरू प्रकाशन गर्ने गरेका छन् । उनका अहिले सम्म ८ वटा 'पियर रिभ्युड जर्नल' अन्तराष्ट्रिय फोरममा प्रकाशित भएका छन् । यी जर्नलहरू विश्व प्रतिष्ठित विश्वविद्यालय तथा अनुसन्धान र विकास क्षेत्रमा काम गर्ने कृषि बैज्ञानिकहरू माझ नेपालमा भएका अनुसन्धान र विकासका काम र अनुभवहरू साटासाट गर्ने एक महत्वपुर्ण माध्यम बनेका छन् ।

उनका लेखहरू विश्वका अन्य मुलुकलाई मात्र नभएर नेपालमै  काम गर्ने कृषि विज्ञहरू, अध्ययन अध्यापनमा संलग्न प्राध्यापक, विद्यार्थीहरू, अनुसन्धानकर्मीहरूका साथसाथै अंग्रेजीभाषा सहजै बुझ्न सक्ने युवा कृषि व्यवसायीहरू र अन्य सेवाग्राहीहरूलाई समेत सहयोग पुर्याउने गरेको छ  । 

उच्च उत्पादन दिने स्याउको बिरुवा नेपालमै तयार 

नेपालको हिमाली क्षेत्र स्याउ उत्पादनको लागि उर्बर मानिन्छ । तर पनि, हाल सम्म करोडौं मूल्य बराबरका स्याउका बिरुवाहरू विदेशबाट आयात गरिन्छ । नेपालमा उच्च उत्पादन दिने स्याउको व्यवसायिक खेति सन् २०१५ देखि भईसकेको छ, तर हालसम्म उक्त स्याउको बिरुवा नेपालमा राम्रोसँग उत्पादन हुन सकेको छैन ।

आत्रेय मुस्ताङ आईसकेपश्चात भने यसलाई वार्षिक कार्यक्रममै समावेश गरेका छन् । यसका लागि उनले टिस्युकल्चर ल्यावलाई आवश्यक औजार उपकरणहरू खरिद गरि दुई वर्ष अगाडी देखि कामको थालनी गरिसकेका छन् । टिस्युकल्चर ल्यावभित्र अनुसन्धानात्मक काम भईरहेको छ र त्यहाँ प्रसस्त मदर स्टकहरू तयारी अवस्थामा पनि छन् । यसलाई सेकेन्डरी नर्सरीमा राखि कम्तिमा पनि यस बर्ष ट्रायलको रुपमा १००० बिरुवा ग्राफ्टिङ गर्नको लागि एम ९ का रुटस्टकहरू बनाउने लक्ष्य राखिएको छ । यसरी सफल भएपश्चात आगामि बर्षहरूमा हजारौंको संख्यामा विरुवा यसै केन्द्रवाट उत्पादन गर्न सकिनेछ । 

भिडियो हेरेर युवा विदेशबाट नेपाल फर्किए, रोल्पाबाट मुस्ताङ पुगे  
उनले फेसबुक र युट्युब जस्ता सामाजिक सञ्जालहरू प्रयोग गरेर कृषकहरूलाई कृषि सम्बन्धि जानकारीहरू दिने र उनीहरूका समस्याहरू समाधान गर्ने प्रयत्न गरिरहेका छन् । उनको फेसबुकमा विभिन्न जिल्लाका हजारौँ कृषकहरू जोडिएका छन् । उनलाई मेसेन्जर मार्फत धेरैले जिज्ञासा राख्ने गर्दछन । उनले ति प्रश्नहरूको समाधान सहितका जवाफ पनि दिने गरेकाछन् ।

यस्तै युट्युवमा हालसम्म १०० भन्दा बढी कृषि सम्बन्धि जानकारीमुलक भिडियोहरू बनाएर सार्वजनिक गरेका छन् । उनको युट्युव च्यानल १,१००  भन्दा बढि कृषकले सस्क्राईव गरेका छन् । उनले तयार गरेका भिडियोहरू उपयोगी भएको भनि कृषकहरूले प्रतिक्रिया दिने गर्दछन । 

रोल्पाका लिल बहादुर पुन आम नेपाली युवा जस्तै बैदेशिक रोजगारीको क्रममा मलेसियामा थिए । उनि नेपालमै फर्किएर केहि गर्नुपर्छ भन्ने सोचमा त थिए, तर नेपालमा फर्किएर के गर्ने ? भन्ने प्रश्नले उनको योजनालाई मुर्त रुप दिन सकिरहेको थिएन । उनि नयाँनयाँ उद्यमको बारेमा बुझ्न युट्युब हेरिरहन्थे । यहि क्रममा उनले पद्मनाथले कृषि सम्बन्धि बनाएको भिडियो भेटे ।

उक्त भिडियो ओखर खेति र बदाम खेतीको बारेमा थियो । जुन उनको गाउँको हावापानीका लागि उपयुक्त फलफुल थिए । उनि पद्मनाथसँग सामाजिक सञ्जालमा जोडीए । पद्मनाथले उनलाई सम्भावना देखाए । लिल बहादुरले पद्मनाथ प्रति भरोसा देखाए । लिल बहादुर १० वर्ष देखि जोडीरहेको वैदेशिक रोजगारी छोडेर घर फर्किए । फर्किए लगत्तै उनै पद्मनाथलाई भेट्न मुस्ताङ पुगे । पद्मनाथलाई भेटे पछी उनि बढी विश्वस्त भए ।

१५० वटा ओखर र १५० वटा बदामका बिरुवा बोकेर घर फर्किए । बिचमा उनि परामर्श लिई रहन्छन । उनि आफ््नै जिल्लामा अवस्थित कृषि ज्ञान केन्द्रमा पनि नधाएका होईनन्, तर उनलाई आवश्यक सहयोगको कुनै सुनुवाई भएन । उनलाई पद्मनाथ सरल र सहज सरकारी कर्मचारी लाग्छन् । लिल बहादुरको सिको गर्न चाहने धेरै किसानहरू रोल्पामा छन् । तर, केहि किसान मुस्ताङसम्म जाने बाटो खर्च नभएर रोकिएका छन् भने, कोहि लिल बहादुरको व्यवसायिक कृषिको नतिजालाई पर्खिरहेका छन् । जे होस् पद्मनाथले टाढाका किसानलाई नजिकका बनाएका छन् ।      

नीरा अधिकारी
उपसचिव, महिला तथा बालबालिका विभाग

नीरा अधिकारीको जन्म ललितपुरको गोटिखेलामा संयुक्त परिवारमा भएको थियो । उनका बुबा प्रा.वि. शिक्षक थिए, त्यसैले पनि उनि सानै देखि विद्यालय जान थालिन् । उनि पढाईमा अब्बल बिद्यार्थी थिईन । तर, उनि बिरामी भईरहन्थिन । बिहान सकुशल घरबाट विद्यालय गएकी नीरा सांझ बिरामी भएर फर्किन्थिन । ज्वरो आईरहनु उनको लागि सामान्य थियो । उनि सात वर्षकी थिईन । उनि उच्च ज्वरोले थला परिन् ।

उनका आमा बुबालाई उनि विस्तारै सन्चो भईहाल्छिन् भन्ने विश्वास थियो । सोहि समयमा ठुली आमा (आमाकी दिदि) बितेको कारण सबै जनाको ध्यान उतै थियो । नीराको स्वास्थ्य दिनानुदिन बिग्रिदै गयो । जब उनलाई अस्पताल लगियो, उनलाई टाइफाइड बिग्रिसकेको र दृष्टिमा पनि त्यसको असर परेको थाहा भयो । सोहि घटना, उनको दृष्टि गुमाउनुको कारण बन्यो ।

डाक्टरले अपरेशन पछी पहिलो पटक उनको आँखाबाट पट्टि हटाए, तर उनले केहि देखिनन् । उनले जीवनमा पहिलो पटक असाहय र आशा विहिनताको महसुस गरिन् । एक वर्षसम्म उनका अभिभावकले उनको दृष्टि फर्काउन भरपुर प्रयास गरे, तर अन्त्यमा हार माने । त्यसपछि उनका आमा बुवाले उनको पढाईलाई निरन्तरता दिने निर्णय गरे । उनकी आमालाई उनलाई घरबाट टाढा पठाउन त्यति सजिलो थिएन । तर त्यसको विकल्प पनि थिएन । उनि काठमाण्डौ आएर ब्रेल लिपि पढ्न थालिन् ।

नीरालाई महिला, त्यसमा पनि शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको हक हितमा काम गर्न सानै देखि रुची थियो । नीतिगत स्तरमा परिवर्तन ल्याउन सरकारी सेवामै काम गर्नुपर्ने बुझेकी नीराले २०६६ सालमा सरकारी सेवामा प्रवेश गरिन् । महिला तथा बालबालिका विभागमा अधिकृतका रुपमा सेवा सुरु गरेकी नीरा २०७८ सालमा उपसचिवमा बढुवा भएपछी फेरी सोहि कार्यलयमा काम गरिरहेकीछिन् । महिला तथा बालबालिका जोखिम वर्गमा पर्ने भएकाले उनीहरूको सशक्तिकरणमा ध्यान दिनुपर्ने र विशेष गरेर अपाङ्गता भएका महिला र बालबालिकाको लागि अझै बढी काम गर्नुपर्ने महसुस गरेर उनि विभागमा फर्किएकी हुन् । 

अपाङ्गमैत्री संरचना सुधारको थालानिकर्ता
उनि आफै अपाङ्गता भएको व्यक्ति भएकोले उनकालागि अपाङ्गमैत्री संरचना आवश्यकाता हुन्छ, तर उनीजस्तै अपाङ्गता भएका व्यक्तिलाई अपांगमैत्री संरचना अँझ बढी आवश्यक हुन्छ भनेर उनले बुझेकिछिन् । उनि आउनुपूर्व महिला तथा बालबालिका विभागमा अपाङ्गता भएका व्यक्ति पनि आउन सक्छन भन्ने कुरालाई ध्यानमा राखिएको थिएन । सबै संरचना गैर अपाङ्गमैत्री थियो । यो विषयमा उनले बिभाग र बाहिर थुप्रै छलफल गरिन् ।

उनले पहल गरेपछि तल्लो तलासम्म जाने र्याम्पहरूको व्यवस्थापन भयो । अपाङ्गता भएका व्यक्तिहरूको लागि के–कस्ता संरचना चाहिन्छ भन्ने कुराको जानकारी सबैभन्दा पहिला पूर्वाधार निर्माण गर्नेहरूलाई नै हुनुपर्छ भनेर उनीहरूलाई चाहिने तालिमको लागि पहल गरिन् । उक्त तालिममा इन्जिनियर र विभिन्न कार्यलयका प्रतिनिधिहरू सहभागी भए । उनले नै तयार गरेको तालिमको ढांचा सरकारले नै आधिकारिता दियो ।

अहिले उक्त तालिमको ढांचा अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्था र अन्य कार्यालयहरूले पनि साभार गर्ने गरेकाछन् । उनको विषयगत योगदान र सेवाग्राहीको मनोभाव अनुसार सरकारी सेवामा प्रवाह गरेको मुल्यांकन गर्दै २०७३ सालमा उनि निजामती सेवा पुरस्कारबाट पनि सम्मानित भईन् । 

महिला भित्र पनि अपाङ्गता भएका महिलाका कार्यक्रम
महिला तथा बालबालिका विभागमा बिभाग तथा जिल्ला स्थित कार्यालयमा अपाङ्गता मैत्री शौचालय बनाउने बजेट आवश्यक थियो । महिलाको लागि भनेर बजेट विनियोजन गरेर अर्थमन्त्रालयमा पठाउने काम उनले नै गर्दै आएकी थिइन् । महिलाको लागिमात्र कार्यक्रम हुन्थ्यो । अपाङ्गता भएका महिलालाई कतै समेटिदैनथ्यो ।

उनले यो विषयलाई विशेष महत्व दिएर उठाईन् । यसका लागि महिला विकास अधिकृत राखेर तालिम चलाईन् । परिचय पत्र र अन्य कामका लागि अपाङ्गता भएका महिलाहरू विभागमा आउँथे । सो कुरालाई मध्यनजर गरेर उनले पहिलो चरणमा अपाङ्ग महिला मैत्री शौचालय बनाउने बजेटलाई प्राथमिकतामा राखिन् र त्यसको सुरुवात विभागबाटै भयो । 

सुधारका लागि आफै उदाहरण
हरेक अधिकृत तहका कर्मचारीलाई सहयोगी कर्मचारीको व्यवस्था गरिएको हुन्छ । तर, अरुको सहयोगी र उनको सहयोगी कर्मचारीको भूमिका फरक हुन्छ । आम बुझाईमा उनका सहयोगीले हरेक कुरा पढेर सुनाईदिनुपर्ने हो । तर, उनि कागज रहित कार्यालय बनाउने प्रयासको नेतृत्व गरिरहेकी छिन् ।

त्यसको सुरुवात उनि आफैबाट गर्दैछिन् । उनि आफुले गर्नुपर्ने हरेक काम कम्प्युटर र ईमेलको माध्यमबाट गरिरहेकिछिन् । यसका लागि उनि नयाँ प्रविधिसँग पनि अभ्यस्त हुँदैछिन् । उनको यस अभ्यासले आम मानिसको दृष्टिविहिनले अरुको सहयोग बिना केहि गर्न सक्दैन भन्ने सोचलाई धेरै पछाडी छोडीदिएकीछिन् । 

नीति निर्माणमा उनको योगदान   
सार्वजनिक सेवामा अपाङ्गता भएका व्यक्तिको संख्या एकदमै न्युन छ । त्यसमा पनि उपल्लो ओहदामा त छदैछैन भन्दा हुन्छ । त्यसैले पनि अपाङ्ग मैत्री नीति बनाउदा उनि कुनै पनि समितिको निर्विकल्प सदस्य हुन्छिन् । मन्त्रालयले कुनै नीति बनाउदै छ भेने उनलाई नै  बोलाउने गर्दछ । नीति समिक्षा गर्दा पनि उनि नै अगाडी आउनु पर्ने हुन्छ ।

अपाङ्गता अधिकार ऐन बनाउदा उनि अधिकृत मात्र थिईन्, तर पनि त्यहाँ पनि उनि नभई हुँदैनथ्यो । अपाङ्गता अधिकार ऐनमा महिलाको खण्ड नै थिएन र व्यक्तिगत अपांगताको विषयमात्र उल्लेख थियो । अपाङ्गता भएका महिलाको अवस्था फरक हो भनेर बुझाईन । ऐन आउने बेलामा दफा थपेर नै ऐन ल्याईयो । यसबाट पनि प्रष्ट हुन्छ अपांगताको हक अधिकारमा उनको भूमिका । 

कार्यक्रमको सार्वजनिक परिक्षण
प्राय कार्यक्रमको प्रभावकारिता मुल्यांकन गर्न सर्वेक्षण गर्ने गरिन्छ । ति सर्वेक्षण अंकमा आधारित हुने गर्दछन् । उदाहरणका लागि, अपाङ्गता भएका व्यक्ति कति छन् ? महिला कति छन् ? पुरुष कति छन् ? आदि । तर, संख्यामा आधारित सर्वेक्षणले खासै अर्थ नराख्ने उनको बुझाई छ ।

वास्तविक सेवाग्राही सरकारले दिने सेवालाई कसरी हेरेका छन् ? महिलाका लागि सरकारले उपयुक्त कार्यक्रम ल्याउन सक्यो कि सकेन ? सरकारले  महिलाका लागि ल्याउने सरकारी कार्यक्रमको प्रभावकारिता कस्तो छ ? कस्ता कार्यक्रम ल्याउदा बढी प्रभाकारी हुन्छन् भनेर सर्वेक्षण गरिन् । यसले उनलाई आफ्नो भूमिका भित्र रहेर कार्यक्रमहरू तय गर्न सजिलो भयो । सेवाग्राहीले आफुले चाहेको कार्यक्रम पाए ।

नीरा एक उदाहरण हुन्, जसले आफ्नो क्षेत्राधिकार भित्र रहेर लक्षित समुहलाई केन्द्रमा राखेर सेवाप्रावाहसँगै नीतिगत सुधारमा अहम भूमिका निर्वाह गरिरहेकी छिन् ।   

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved