• शुक्रबार, ७ बैशाख, २०८१
  • ११:०३:३६
  • नेपालीको अभिमत

फिचर

महिनावारी कप : कसरी प्रयोग गर्ने, कति छ मूल्य ?

इन्द्रसरा खड्का

सोमबार, २३ श्रावण, २०७९

हिनावारी हुँदा कप प्रयोग गरिन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, आजकल ‘मेन्स्ट्रुअल कप’ प्रयोग गर्ने नेपाली महिला बढ्दै गएका छन् । स्यानिटरी प्याडभन्दा सजिलो हुने भन्दै महिलाहरूले यसको प्रयोग गर्न थालेका हुन् । 

यो कप नेपाली बजारमा आएको धेरै भएको छैन । त्यसैले पनि होला धेरैलाई भने यो कपबारे थाहा नै छैन । नेपालमतले सुदूरपश्चिमका गाउँदेखि काठमाडौंका केही महिलालाई यसबारे सोध्दा धेरैको उत्तर ‘थाहा नभएको’ आयो । 

अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा रहेको शोडषा प्राथमिक स्वास्थ्य केन्द्रका अनमीहरूलाई महिनावारी कप बारे थाहा छैन । ‘महिनावारी हुँदा कप प्रयोग गर्नेहरू कत्तिको छन् ?’ भन्ने प्रश्नमा अनमी जनक खड्का अचम्म पर्नुभयो । “यस्तो कप पनि हुन्छ ? मलाई त थाहा थिएन । यहाँका महिलालाई पनि यसबारे थाहा छैन,” उहाँले भन्नुभयो । तर, अछामकै कतिपय महिलाहरू भने कप प्रयोग गर्न थालेका छन् । छाउपडी कुप्रथा विरुद्धकी अभियन्ता पशुपति कुँवर कहिलेकाहीं कप प्रयोग गर्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कपबारे थाहा पाएपछि कस्तो हुँदो रहेछ त भनेर अनुभव गर्नको लागि लगाएँ, सहज नै हुने रहेछ ।”

काठमाडौं, कालीमाटीकी मानवी कार्कीले महिनावारी हुँदा कप प्रयोग गर्न थालेको साढे दुई वर्ष भयो । नेपाली बजारमा महिनावारी कप आएको थाहा पाएपछि उहाँले यसबारे जानकारी लिनुभयो । पहिलो पटक प्रयोग गर्दा अप्ठेरो महसूस भए पनि विस्तारै सहज लाग्दै गएको उहाँ बताउनुहुन्छ । “मलाई स्यानिटरी प्याडभन्दा कप सहज लाग्छ । न रगत बाहिर लाग्ला भन्ने डर न प्याडले चिलाउला भन्ने पीर ! एक पटक लगाइसकेपछि साँझसम्मै ढुक्क,” उहाँ भन्नुहुन्छ, “प्याड लगाउँदा कतै बाहिर देखिन्छ कि भन्ने पीर पनि हुन्छ । त्यसमाथि छिनछिनमै फेरिरहनुपर्ने । सबै ठाउँमा फेर्न सहज हुन्छ भन्ने पनि हुँदैन । कप लगाउँदा यो सबको चिन्ता लिनुपर्दैन ।”

लामो यात्रा गर्दा कप अझ धेरै सजिलो हुने प्रयोग गरिरहेका महिलाहरू बताउँछन् । त्यस्तै; उफ्रन, दौडन सजिलो हुने भएकाले खेलाडी महिलाको लागि पनि त्यत्तिकै सान्दर्भिक हुने उनीहरू बताउँछन् । तर; कप प्रयोग गर्ने, निकाल्ने र सफा गर्ने तरिकाबारे भने राम्रोसँग बुझनुपर्ने मानवी बताउनुहुन्छ ।

मानवी जस्तै काठमाडौंकी निशा राईलाई पनि महिनावारी कप सजिलो लाग्छ । पहिले स्यानिटरी प्याड प्रयोग गर्दै आउनुभएकी उहाँ कपबारे थाहा पाइसकेपछि आजकल यसको प्रयोग गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “झट्ट सुन्दा ओहो कप ! कसरी प्रयोग गर्ने भन्ने लाग्छ तर प्रयोग गर्न थालेपछि सबैभन्दा सजिलो यही लाग्ने रहेछ । म तीन वर्षदेखि कपको प्रयोग गर्दै आइरहेकी छु ।”

कपबारे थाहा पाएका महिलाहरूले यसको प्रयोग गरिरहेको भए पनि धेरै महिलालाई भने यसबारे जानकारी छैन । जानकारी भएकाहरूलाई पनि कसरी प्रयोग गर्ने भन्ने तरिका थाहा छैन । कतिपय थाहा भएकाहरूलाई पनि प्रयोग गर्ने आँट छैन । 

विज्ञहरू महिनावारी कपको सही प्रयोग गर्न जाने स्वास्थ्यका लागि जोखिम नहुने बताउँछन् । स्त्रीरोग विशेषज्ञ डा. प्रगति कार्की सिंह सही तरिकाले प्रयोग गर्न र निकाल्न जान्ने हो भने बजारमा पाइने अरू सामग्री भन्दा स्वास्थ्यका लागि फाइदाजनक हुने बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ, “प्रविधिको विकाससँगै कप बजारमा आएको छ । यसको विषयमा अध्ययन गर्दा स्वास्थ्यका लागि जोखिम छ भन्न मिल्दैन ।”

के हो महिनावारी कप ?

यो महिनावारी हुँदा प्रयोग गरिने एक सामग्री हो । यो प्लास्टिकको सानो गिलास जस्तै हुन्छ । यसले महिनावारी भएको वेला बग्ने रगतलाई व्यवस्थापन गर्छ । यो सिलिकनले बनेको हुन्छ । महिलाका लागि सस्तो र वातावरणमैत्री कप हो, जुन एक पटक किनेपछि दश वर्षसम्म प्रयोग गर्न सकिन्छ । यसलाई पहिलो पटक नेपाली बजारमा ‘मेरीस्टोप’ले ल्याएको हो । विदेशका महिलाहरूले कप प्रयोग गर्दा सहज भएको अनुभव साटेपछि नेपाली महिलाहरूका लागि सहज होस् भन्ने उद्देश्यले बजारमा ल्याइएको मेरीस्टोपको भनाइ छ ।

महिनावारी कप अविवाहित महिलाले पनि प्रयोग गर्न सकिन्छ । विवाहितका लागि ठूलो र अविवाहितको लागि सानो आकारको हुन्छ ।

कसरी प्रयोग गर्ने ?

कपको मुखलाई पल्टाएर ‘सी’ आकारको बनाउने । ‘सी’ आकारको बनाइसकेपछि यौनाङ्गबाट विस्तारै पाठेघरको मुखसम्म पुर्‍याएर छोड्नुपर्छ । यति गरिसकेपछि कप भित्र गएर आफैं सेफमा बस्छ । त्यसो गर्दा खस्ने डर हुँदैन । त्यसपछि आफ्ना दैनिक कामकाज गर्न सकिन्छ । रगत भरिएपछि कपको तलपट्टि हातले दबाएर बाहिर निकाल्नुपर्छ ।  यसलाई सफा गरेर पुनः प्रयोग गर्न सकिन्छ । सफा गर्दा तातोपानीमा उमालेर सफा गर्ने र सानो सुर्केथैली बनाएर त्यसमा सुरक्षित राख्न सकिन्छ ।

महिनावारी कप अविवाहित महिलाले पनि प्रयोग गर्न सकिन्छ । विवाहित र अविवाहित महिलाका लागि फरक–फरक हुन्छ । विवाहितका लागि ठूलो र अविवाहितको लागि सानो आकारको हुन्छ । नेपालमा अहिले ‘मेरी रुबी’ लगायत विभिन्न खालका कप आएका छन् । यो सामग्री विशेषगरी डेनमार्क र लन्डनबाट ल्याउने गरिन्छ ।

कपको मूल्य एक हजार ६ सयदेखि चार हजारसम्म पर्छ । बजारमा पाइने स्यानिटरी प्याडभन्दा कप सस्तो पर्छ । कपको मूल्य महिलाले ६ महिनासम्म प्रयोग गर्ने स्यानिटरी प्याडको मूल्य जति नै पर्छ । एक पटक किन्दा महँगो देखिए पनि दश वर्षसम्म प्रयोग गर्न मिल्ने भएकाले प्याडभन्दा सस्तो हुन्छ ।

प्रयोग गर्न जाने जोखिम छैन
डा. प्रगति कार्की सिंह, स्त्रीरोग विशेषज्ञ

यो कप स्वास्थ्यका लागि जोखिम छैन । प्रयोग गर्न जान्यो भने धेरै राम्रो हो । पुनः प्रयोग गर्न मिल्ने भएकोले सस्तो पनि भयो । स्यानिटरी प्याडले जस्तो इन्फेक्सन यसले गराउँदैन । तर, यसका लागि आफ्नो साइज भने थाहा पाउनु पर्छ । कहिलेकाहीं साइज सानो भयो भने खस्ने सम्भावना हुन्छ । बाटोमा हिंड्दा खसिहाल्यो भने आपत् पर्छ । त्यसैले प्रयोगकर्ताले यस्ता कुरा याद गर्नुपर्ने हुन्छ । केही दिनअघि म कहाँ एउटी महिला आउनुभएको थियो । महिनावारी कपको प्रयोगले इन्फेक्सन भयो भन्नुहुन्थ्यो । तर, त्यो समस्या अरू नै कारणले भएको थियो । म कहाँ कपको प्रयोगले समस्या भयो भनेर आउने अहिलेसम्म यही एउटा केस मात्र हो । 

मैले भने कप अहिलेसम्म प्रयोग गरेको छैन । जसले सधैं लगाइरहनुभएको छ उहाँहरूको लागि राम्रै हो । यसको जोखिम खासै छैन । अहिलेसम्म देखिएको पनि छैन । आजभोलि नेपाली महिला पनि आफ्नो स्वास्थ्यमा ध्यान दिन थालेका छन् । घरको कपडा, बजारको स्यानिटरी प्याडभन्दा कप धेरै राम्रो छ ।

मर्यादित महिनावारीका लागि कति उपयुक्त ?

राधा पौडेल, मर्यादित महिनावारी अभियन्ता

कप जस्तै नेपालमा ९ प्रकारका सामग्री छन् । महिनावारीको वेला रगत व्यवस्थापनका लागि प्रयोग गरिने कुनै पनि सामग्री सुरक्षित छैनन् । यो मैले बेलायत, अमेरिका जुन ठाउँबाट किनेर ल्याएको हुँ भने पनि सुरक्षित छन् भन्न मिल्दैन ।

कुनै पनि सामग्री मर्यादित महिनावारीमैत्री छ कि छैन भन्नको लागि हामी ‘थ्री पी एप्रोच’लाई हेर्छौं । जस्तै; व्यक्तिले यो सामग्री लगाउँदै गर्दा माहिनावारी हुँदा उ छुट्टिएर बस्नु पर्छ कि पर्दैन ? उसले २५ दिन जे काम गर्न सक्छ त्यही काम महिनाको पाँच दिनसम्म गर्न पाउँछ कि पाउँदैन ? मर्यादापूर्वक जिउन पाउँछ कि पाउँदैन ? उसले ती सामग्री रोजेर लाउन पाएको छ कि छैन ? पहिलो कुरा यो हेर्नुपर्‍यो ।

यो सामग्रीमा रासायनिक पदार्थ प्रयोग गरिएको छ कि छैन ? यसले महिलाको स्वास्थ्यमा अल्पकालीन या दीर्घकालीन रूपमा असर पार्छ कि पार्दैन ? त्यस्तै; यसको वातावरणीय असर कत्तिको छ, यसले पृथ्वीलाई असर गर्छ कि गर्दैन ? हावा, पानी, माटोलाई प्रदूषित गर्छ कि गर्दैन भन्ने कुरा हेर्न जरुरी छ ।

फोहोर संकलन गर्ने व्यक्तिहरू हुनुहुन्छ नि, उहाँहरूको मर्यादा सुनिश्चित गर्छ कि गर्दैन भन्ने कुरा पनि हेर्नुपर्छ । यस्तै; यो स्थानीयस्तरमा उत्पादन भएको हो कि होइन ? अथवा छिमेकी पालिकामा उत्पादन भएका हुन् कि होइनन् ? सजिलै पाउन सकिने स्थिति के छ ? यसको मूल्य, गुणस्तर, मापदण्ड, ट्याक्स, भ्याट आदि सबै कुराहरू महत्वपूर्ण हुन्छन् ।

महिनावारी कप होस् वा स्यानिटरी प्याड । यी दुवैलाई दाँज्ने तरिका भनेको ‘थ्री पी’ हो । त्यसका आधारमा कप मर्यादित महिनावारी हो कि होइन भनेर हेर्न सकिन्छ । कपलाई योनीमार्गबाट भित्र लानुपर्ने हुनाले आफ्नो यौनाङ्ग र यसको साइजका बारेमा थाहा हुनुपर्छ ।

चाहे महिनावारी कप होस् वा स्यानिटरी प्याड । यी दुवैलाई दाँज्ने तरिका भनेको यही ‘थ्री पी’ हो । त्यसका आधारमा कप मर्यादित महिनावारी हो कि होइन भनेर हेर्न सकिन्छ । कप प्रयोगका लागि आफ्नो यौनाङ्गको बारेमा जानकारी छ कि छैन ? कपलाई योनीमार्गबाट भित्र लानुपर्ने हुन्छ, यसको साइज कत्रो छ ? यी कुरा थाहा नपाइकन सबैलाई लगाउनुस् भन्न सकिंदैन ।

तालिमको खाँचो

यो कप बजारमा ल्याउनेहरूले महिलाहरूलाई तालिम दिनु आवश्यक छ । मैले कुन साइज लगाउने, मेरो शरीर कस्तो छ, लगाउनुपूर्व र लगाइसकेपछि कस्ता कुरामा ध्यान दिनुपर्छ (जस्तै; सरसफाइ गर्ने कुरा) आदि कुरा स्पष्टसँग बताइदिनुपर्छ । अरूले भन्दा र किताबमा पढ्दा यस्ता कुरा सजिला लाग्छन् तर व्यवहारमा उतार्न भने गाह्रो हुन्छ । लगाइएको कप भरियो भने कसरी निकाल्ने जस्ता कुरामा महिलाहरूलाई सिकाउन अनिवार्य छ ।

हामी प्रयोग गरेर निकालिसकेको कपलाई सफा गरेर अर्को पटक लगाउने भनिरहेका छौं । हाम्रो नेपालको कुरा गर्दा; पानी सफा छैन, हामीले पिउँदै आएको पानी त सफा छैन भनिन्छ । त्यसमाथि हाम्रो परिवेश कस्तो छ भने अहिले पनि चर्पी सफा छैन, गोप्य छैन, साबुन छैन । मर्यादित महिनावारीमैत्री संरचना नै छैनन् हामीसँग । यस्तो अवस्थामा कपको प्रयोग कत्तिको प्रभावकारी हुनसक्छ सिकाउनु आवश्यक छ ।

महिनावारी कप विभिन्न संघसंस्थाले गाउँघरमा नमूना परीक्षणका लागि लगिरहेका छन् । त्यहाँ सजिलो भयो भन्नेहरू पनि छन्, प्रयोग गर्न जानिएन भन्नेहरू पनि छन् । महिनावारी सधैं एउटै र एकैनासले हुन्छ भन्ने हुँदैन । यसमा विभिन्न कुराले असर पार्छ । सरकार र यसमा काम गर्नेहरूले यस्ता कुराको कत्तिको ध्यान दिएका छन् ? यी सबै कुरालाई हेरेर मात्र यो कप मर्यादित महिनावारीका लागि उपयुक्त छ/छैन भन्न सकिन्छ ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

सोमबार, २३ श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved