“तस्वीर बोल्दैन तर मनको कुरा सुने जस्तो लाग्छ । कहिलेकाहीं चित्र कोर्दाकोर्दै बोलाए जस्तो लाग्छ, कुराकानी गरे जस्तो लाग्छ । अनि; मुसुक्क मुस्कुराउँछु, आफैंले कोरेका चित्रसँग बातचित गर्छु । अब त यिनै चित्रसँग रमाउने बानी परिसकेको छ,” हप्ता दिन अगाडि काठमाडौंको बागबजारमा पेन्टिङ गर्दैगर्दा भेटिनुभएका जीतकुमार मगरले भन्नुभयो ।
जीतकुमारको काम आँखाले देखेको तस्वीर जस्ताको तस्तै चित्रमा उतार्नु हो । उहाँले बनाएका यस्ता धेरै चित्र कोठाभरि सजिएका छन् । यी सुन्दर चित्र किन्न खोज्नेहरूको त्यहाँ बाक्लै उपस्थिति हुन्छ । कोही भने आफ्नै चित्र कोर्न आइपुग्छन् त कोही तस्वीर थमाउँदै चित्रमा उतारिदिन अनुरोध गर्छन् ।
बागबजारमा रहेको नेशनल इन्स्टिच्युटको तल्लो तलामा छ जीतकुमारको आर्ट ग्यालरी पेन्टिङ इन्स्टिच्युट । जहाँ जीतकुमारले विद्यार्थीलाई आर्ट पनि सिकाउनुहुन्छ ।
उहाँलाई बाल्यकालका चित्र कोर्न बढी मन पर्छ । त्यसमा पनि अझ पहाडको गाउँमा हुर्के–बढेका बालबालिकाको मनोविज्ञानमा आधारित चित्र कोर्न रुचाउनुहुन्छ । “मेरो बाल्यकाल अभावै अभावमा गाउँको कुना कन्दरामा बित्यो । जहाँ राम्रो विद्यालय थिएन । माटोसँग लडीबुडी गर्दै विद्यलय पुगियो । ती अभावका दिनको स्मरण गरेर चित्र कोर्न मन पर्छ,” जीतकुमार भन्नुहुन्छ ।
उहाँको घर रुकुमको भुमे गाउँपालिका हो । उमेरले २५ वर्ष पुग्नुभयो । काठमाडौंमा बसेर पेन्टिङ गर्न थालेको सात वर्ष जति भयो । पेन्टिङ उहाँको बच्चैदेखिको सोख भने होइन । यद्यपि, साभीभाइभन्दा केही फरक काम गर्ने इच्छा पहिल्यैदेखि थियो । स्कूल पढ्दै गर्दा पढिसकेर भोलि के काम गर्ने भन्ने लागिरहन्थ्यो अनि कक्षा १२ मा पुुगेपछि पेन्टिङको सोच आयो । त्यसपछि चित्र कोर्न थाल्नुभयो । “एउटा फिल्म हेरेपछि चित्र कोर्न रहर लाग्यो । तर, रहर मात्र भएर भएन, गाउँमा यसका लागि न राम्रो सिक्ने ठाउँ थियो, न कोही पेन्टिङ गर्ने मान्छे थिए । त्यसपछि मेरो यात्रा काठमाडौंतर्फ मोडियो,” जीतकुमार भन्नुहुन्छ ।
उहाँले कक्षा १ देखि ८ सम्म गाउँमै पढ्नुभयो । त्यसपछि उहाँको परिवार गाउँबाट सदरमुकाम झर्यो । ८ कक्षादेखि १२ सम्म सदरमुकाममा पढ्नुभयो ।
सानै छँदा दुर्घटनामा पनि पर्नुभयो । उक्त दुर्घटनाका कारण एउटा हात गुम्यो । दुर्घटनाको अरू बुझ्न खोज्दा उहाँ यसरी विरक्तिनुहुन्छ, “सानो वेलाको त्यो घटना सम्झँदा अहिले पनि पीडा हुन्छ । त्यसैले यो कुरा मलाई शेयर गर्न मन छैन । यो बारेमा कुरा गर्दा मलाई थप पीडा भएको महसूस हुन्छ । यही पीडा भुलाउन पनि मैले पेन्टिङ गर्न शुरू गरेको हुँ ।”
पेन्टिङको अवसर खोज्दै काठमाडौं
पेन्टिङ गर्ने सोच बनाइसकेपछि कहाँ कसरी सिक्ने भन्ने अन्योल भयो । अनि अन्योल चिर्दै उहाँले काठमाडौं जाने सोच बनाउनुभयो । तर, उहाँको यो सोचमा आमाबुबा भने तयार हुनुभएन । जीतकुमारको परिवारमा उहाँका अलावा दाइ र आमाबुबा हुनुहुन्छ । “चिनेको कोही छैन । एक्लै कतै केही होला कि भन्ने पीर बाआमालाई भयो । तर, मैले ढिपी गरेपछि उहाँहरू पनि तयार हुनुभयो,” जीतकुमार भन्नुहुन्छ ।
उहाँ २०७३ सालमा काठमाडौं आउनुभयो । गाउँ बाहिर एक्लै कतै नहिंडेकालाई काठमाडौं शहर बिरानो हुने नै भयो । काका नाता पर्ने गाउँकै एक जनासँग काठमाडौं आउनुभयो । काठमाडौं आएर बसपार्कमा रहेको एउटा गेस्टहाउसमा बस्नुभयो र पेन्टिङ सिकाउने ठाउँ खोज्न थाल्नुभयो । तर एक महिना बितिसक्दा पनि पत्ता लगाउन सक्नुभएन । “धेरै टाढा एक्लै जान नसकिने, हराइएला कि भन्ने पीर ! एक महिना त खाने बस्ने गरेरै बित्यो,” जीतकुमार पहिलो पटक काठमाडौं आउँदाको अनुभव सुनाउनुहुन्छ, “चिनेका मान्छे पनि धेरै थिएनन् । भएकाहरू पनि काठमाडौंमा साह्रै व्यस्त ! पेन्टिङ सिक्न आएको मैले सिक्ने ठाउँ कता छ भन्ने समेत एक महिनासम्म पत्ता लगाउन सकिनँ ।
चार महिनापछि ललितकला पत्ता लाग्यो
पेन्टिङ सिक्ने ठाउँ खोज्दै काठमाडौंमा भौंतारिएको एक महिनापछि ललितकला क्याम्पसको बारेमा थाहा पाउनुभयो । तर, कुन ठाउँमा छ भन्ने थाहा थिएन । गाउँमा जन्मे–हुर्केको केटो पहिलो पटक काठमाडौं आउँदा सब बिरानो थियो । एउटा गल्लीमा पस्यो, यतै हराउने; अर्को गल्लीमा पस्यो उतै हराउने ! जीतकुमारले यो समस्या धेरै पटक भोग्नुभयो । अहिलेको जस्तो स्मार्ट फोन उहाँसँग थिएन । भएको फोनमा पनि इन्टरनेट थिएन । कुन ठाउँ कहाँ छ भनेर पत्ता लगाउन २० रुपैयाँ तिरेर साइबर जानुहुन्थ्यो । साइबर गए पनि अहिलेको जस्तो ‘लोकेशन’ खोज्ने तरिका थाहा थिएन । “साइबरमा गएर नेटमा सर्च गर्थें । बाहिर निस्केर हिंड्दा फेरि बाटो कता हो कता ! कसैलाई सोध्यो भने, कसैले कुनै ठाउँ देखाइदिने, कसैले कुनै ! बल्लतल्ल चार महिनापछि ललितकला भएको ठाउँ पत्ता लगाएँ,” जीतकुमार भन्नुहुन्छ, “कोही ललितपुरमा छ भन्थे, कोही कतै भन्थे । भनेअनुसारको गाडी चढी गयो तर भेटाइँदैन ! मैले त धेरै दुःख पो पाए काठमाडौं शहरमा ।”
जीतकुमारले एउटा मात्र हातले राम्रा आर्टहरू बनाएको देख्दा मानिसहरू दंग पर्छन् । कसरी एउटा मात्रै हातले यति राम्रो चित्र कोरेको भन्नुहुन्छ कतिले । कोही एउटा मात्र हात छ, कसरी राम्रो बनाउला र भनेर शंका पनि गर्नुहुन्छ ।
ललितकला क्याम्पस भेटाइसकेपछि त्यहाँ भर्ना हुनुभयो । त्यसपछि गेस्टहाउस छोडेर मनमैजुमा कोठा लिएर बस्न थाल्नुभयो । उहाँले ललितकलासँगै बाहिर अर्को इन्स्टिच्युटमा पनि आर्ट सिक्न थाल्नुभयो । हिमाल, डाँडापाखा, मन्दिर, खोला आदिको आर्ट गर्न सिक्नुभयो । लगातार चार वर्ष सिकेपछि उहाँले आफ्नै इन्स्टिच्युट खोल्नुभयो ।
जीतकुमारले एउटा मात्र हातले राम्रा आर्टहरू बनाएको देख्दा मानिसहरू दंग पर्छन् । कसरी एउटा मात्रै हातले यति राम्रो चित्र कोरेको भन्नुहुन्छ कतिले । कोही एउटा मात्र हात छ, कसरी राम्रो बनाउला र भनेर शंका पनि गर्नुहुन्छ । “चित्रकला दिमागले गर्ने हो । हात त त्यसमा प्रयोग मात्र गर्ने हो । मलाई अर्को हात नभएर काममा कुनै अप्ठेरो भएको छैन,” उहाँ भन्नुहुन्छ, “अन्जानमै लागेको यो पेशाले अहिले निकै खुशी दिएको छ । पहिले बिरानो लागेको शहर अहिले आफ्नै लाग्न थालेको छ । अब यसैलाई निरन्तरता दिने छु ।” जीतकुमार अहिले दुई वटा विद्यालयमा आर्ट सिकाउनुहुन्छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
म्याग्दी- रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ । विगतमा...
बझाङ- बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ...
कैलाली- टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला जनप्रतिनिधिमा चुनिनु अघिनै कृषि कार्यमा आबद्ध हुनुहुन्छ । उहाँले अहिले पनि १० बिघा क्षेत्रफलमा गहुँ खेती गर्नुभएको छ...
गलकोट- काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन् । यी सुन्दरमात्र होइनन, टिकाउ पनि उत्तिकै हुन्छन् । तर काष्ठकला निर्माणमा...
ढोरपाटन- ३७ वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिनुहुन्छ । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका...