• मंगलबार, १८ असोज, २०७९
  • ०५:२०:४९
  • नेपालीको अभिमत

फिचर

कता हराए सुतारीका भैंसी ?

इन्द्रसरा खड्का

सोमबार, १६ श्रावण, २०७९

दही खान्या दर्नाली राजा भैसा सुतारीका
कोही छैन बाबुको छोरो सबै मतारीका

यो देउडा गीत हो । यो गीतले सुतार भैंसीको लागि कति प्रख्यात ठाउँ हो भन्ने जनाउँछ । कुनै वेला भैंसी निकै पालिने र दही, दुध, घिउ प्रशस्त पाइने ठाउँ हो सुतार । पहिलेको सुतार गाविस अहिले अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ७ मा पर्छ ।

अछाम जिल्लालाई पहिले नौखुवाको नामले चिनिन्थ्यो । नौखुवाको सबैभन्दा धेरै भैंसी पालिने क्षेत्र सुतार हो । त्यहाँका नागरिकको मुख्य पेशा भनेकै भैंसी पालन थियो । लेकमा खर्क लगाउने, भैंसी पाल्ने र आलु खेती गरेर सुतारका नागरिकले जीविकोपार्जन गर्थे । यसैलाई आधार मानि स्थानीय बासिन्दाले देउडा गीत समेत बनाएका थिए । तर, आजभोलि त्यस्तो छैन । पहिले दही, घिउका लागि प्रख्यात यो ठाउँमा आजभोलि भैंसी देखिनै छोडेको छ ।

सुतारका नयनसिंह भण्डारी सानो छँदा उहाँका बुबाले २०/२२ वटा भैंसी पाल्नुभएको थियो । घरपरिवारका सबै भैंसी लेकमा चराउने, घाँस काट्ने गर्नुहुन्थ्यो । नयनसिंहले पनि आमाबुबासँगै भैंसीको गोठालो जान, घाँस काट्न सानैदेखि सिक्नुभयो । हुर्कंदै जाँदा ती भैंसी पाल्ने जिम्मा उहाँकै काँधमा आयो । उहाँले पनि जानेको काम यही थियो ।

गाउँमा धान, गहुँ फल्ने खेतबारी थिएन । अलि अलि भएको बारीमा मकै लगाइन्थ्यो । बाँकी खेती भनेको आलु हो । खानामा पनि मकैको रोटी, आलुको तरकारी र दही, दुध हुन्थ्यो । चामलको भात खान दशैं तिहार आउनुपर्थ्यो ।

नयनसिंह भण्डारी

नयन सिंहले घाँस काट्ने, भैंसी चराउने गरेरै बाल्य तथा युवावस्था बिताउनुभयो । यद्यपि उहाँलाई सधैंभरि घाँस काटेर भैंसी पालेर बस्न मन भने थिएन । यो भन्दा अरू नै केही काम गर्ने इच्छा थियो तर गाउँमा उहाँलाई मिल्ने केही काम थिएन ।

नयन सिंह भारत जानु भयो । त्यहाँ केही वर्ष चौकीदारको काम गर्नुभयो अनि गाउँ फर्की फेरि भैंसी पाल्न शुरू गर्नुभयो । “जति काम गरे पनि अरूको ठाउँमा आफ्नो गाउँ जस्तो नहुने रहेछ । केही वर्ष भारतमा चौकीदारी गरें र फर्केर घरमै आएँ । अनि फेरि भैंसी पाले,” नयन सिंहले भन्नुहुन्छ ।

सिंह पञ्चायत कालमा सुतार गाविस वडा नम्बर ६ को वडाध्यक्ष पनि बन्नुभयो । वडाध्यक्ष हुँदा समेत भैंसी पालनलाई निरन्तरता दिनुभयो । जिन्दगीको अधिकांश समय खर्कमा बिताउनुभएका ८५ वर्षीय सिंहले अहिले पनि एउटा भैंसी पाल्नुभएको छ ।

“बाजे, बुवाले २०/२२ वटा सम्म भैंसी पाले । मैले पनि १० वटा सम्म पालेकै हो । अब भने मान्छेले भैंसी पाल्न छोडे । कोही विदेश पसे, कोही तराइ झरे, यहाँ भएकाहरूले पढ्न–लेख्न थाले । अब त गाउँमा भैंसी पाउनै गाह्रो हुने भइसक्यो,” सिंहको कथन  छ ।

नयन सिंहको जस्तै सुतारका अरू परिवारको अवस्था पनि उस्तै थियो । प्रत्येक घरमा १५/२० वटा भैंसी हुन्थे । दही, घिउको लागि प्रख्यात सुतारमा घिउ किन्नेहरू आउँथे । तर, आजभोलि गाउँमा घिउ नै पाइँदैन ।

सुतारकी सरस्वती भण्डारी बिहे गरी आउँदा सासूससुराले धेरै भैंसी पाल्नुभएको थियो । उहाँको दैनिकी ती भैंसीको स्याहार–सम्भारमै बित्थ्यो– साँझ–बिहान घाँस काट्ने, दिनभरि भैंसी चराउने । सासूससुरापछि आफ्नो पालामा उहाँले पनि भैंसी पाल्नुभयो । पछि उहाँको श्रीमान् भारत जानुभयो । श्रीमान् भारततर्फ लागेपछि सात सन्तान हुर्काउने जिम्मा उहाँ एक्लैले लिनुपर्ने भयो । अर्कोतिर गोठमा भएका भैंसीको स्याहार–सम्भार छँदैथियो । पछि अर्को छोरा पनि भारत जानुभयो । अहिले भने उहाँले पनि भैंसी पाल्न छोड्नुभएको छ । “छोराछोरी कोही यता पढ्दै छन्, कोही भारतमा छन् । घाँस काट्ने, चराउने मान्छे नै छैन, त्यसैले भैंसी पाल्नै छोड्दिएँ,” भण्डारी बताउनुहुन्छ ।

सरस्वती भण्डारी

वर्ष भण्डारीका बुवाले दश वटा भैंसी पाल्नुभएको थियो । तर, उहाँले भने पाल्नुभएको छैन । ‘भैंसी किन नपाल्नुभएको ?’ भन्ने नेपालमतको प्रश्नमा उहाँ भन्नुहुन्छ, “भैंसी पालेर के गर्नु, न दुध बेच्न मिल्ने न दही बिक्री हुने ! बिक्री हुने भनेको घिउ मात्र हो, त्यो पनि कहिलेकाहीं । छोराछोरी पढाउन पैसा चाहिन्छ, भैंसी पालेर छोराछोरी पढाउने खर्च पुग्दैन, त्यसैले पालिनँ ।” भैंसी पाल्न छोड्नुको कारण सोध्दा अधिकांश सुतारीको उत्तर अहिले यही आउँछ ।

आधुनिकताको प्रभाव पर्‍यो

पहिले गाउँमा विद्यालय थिएन । विद्यालय जानुपर्छ, लेखपढ गर्नुपर्छ भन्ने ज्ञान पनि धेरैलाई थिएन । भैंसी पाल्नु, गोठालो जानु नै काम हो भन्ने लाग्थ्यो । विस्तारै समय फेरिंदै गयो । गाउँमा विद्यालय खुले, लेखपढ गर्नुपर्छ भन्ने थाहा भयो । त्यसपछि सुतारका नागरिकले पनि छोराछोरीलाई विद्यालय पठाउन थाले । विद्यालय जान थालेपछि दिनभरि केटाकेटी विद्यालयमा हुन थाले ।

विस्तारै बाटाघाटा खुल्न थाले । कोही पढ्न त कोही कामको सिलसिलामा बाहिर जान थाले । बाहिरी संसारसँग सम्पर्क बढ्न थाल्यो । अनि कामको प्रकृति विस्तारै परिवर्तन हुँदै गयो । यी विभिन्न कारणले भैंसी पालन कम हुँदै गएको सुतारका वडाध्यक्ष तप्त भण्डारी बताउनुहुन्छ । “मैले पनि दश वटा भैंसी पालेर गोठालो लागेको थिएँ । तर, आज मेरो घरमा एउटै भैंसी छैन । समय फेरिंदै गयो, कोही विदेश जान थाले, कोही लेखपढ गर्न थाले । भैंसी पालेर गोठालो लाग्न अब कसैलाई मन पर्दैन,” वडाध्यक्ष भण्डारी भन्नुहुन्छ, “हाम्रो वडामा करिब सात सय घरपरिवार छन् । यीमध्ये अधिकांश परिवारका सदस्य भारतमा छन् । सात सयमध्ये एक सय परिवारका युवा मात्र घरमा होलान्, ती पनि गाउँमै जागिर भएका । नभए त एउटै घरको तीन/चार जनासम्म भारतमा छन् । अब खेतीपाती गर्ने, भैंसी, गोरु पाल्ने कामले प्राथमिकता पाउनै छाड्यो ।”

बजार नहुँदा समस्या

सुतारीले जति भैंसी पाले पनि बजार नजिक थिएन । अहिले पनि दुध, दही लगेर बेच्न मिल्ने बजार छैन । पहिले घिउ बेच्न मंगलसेन, साँफे जाँदा मूल्य व्यापारीले नै तोकिदिन्थे । “५/६ घण्टा हिंडेर घिउ बोकेर बजार गए पनि आफूले मूल्य तोक्न नपाउँदा सस्तोमै बेच्नुपर्थ्यो । यस्तै यस्तै समस्याले पनि सुतारीले भैंसी पाल्न छोडे,” वडाध्यक्ष भण्डारी बताउनुहुन्छ ।

सुतारका वडाध्यक्ष तप्त भण्डारी ।

एउटै भैंसीले परिवारलाई दुध, दही, घिउ, मही खान पुग्छ । एक भन्दा बढी भैंसी हुँदा दुध खेर जाने डरले दही बनाएर मोही पारी घिउ बनाउने, मही सकेको खाने नभए फाल्ने गरिन्थ्यो भने अहिले पनि दुध, दही बिक्री गर्ने बजार छैन । त्यो वेला घिउ राजापुरसम्म लगेर बेच्थ्यौं,” नयन सिंह पनि बजार अभाव हुँदाको पीडा सुनाउनुहुन्छ ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

सोमबार, १६ श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved