• बिहीबार, २६ माघ, २०७९
  • ०९:२१:३१
  • नेपालीको अभिमत

अभिमत / ब्लग

प्रेमले होस् सम्बन्ध !

सुष्मा राई

शनिबार, १४ श्रावण, २०७९

कति कुरा नभनेर नै मीठा मीठा हुन्छन्
भनिएका कुरा बरू झुटा झुटा हुन्छन्

जीवनमा प्रेमको अनुभव र अनुभूति निकै मिठासपूर्ण रह्यो । देव नारायण प्रधानको स्वरमा रहेको गीतले भने जस्तै कति प्रेम चुपचाप एक्लै गरियो । अव्यक्त र एकोहोरो गरियो । त्यस्तो प्रेमको अनुभूति पनि गज्जबकै रह्यो, जुन प्रेमले हरेक पाइलामा सहयोगी भूमिका खेल्यो ।

प्रेम दोहोरो पनि गरियो । विचार साटियो, भावना साटियो । जिम्मेवारी बाँडेर कर्म गरियो । नाफाघाटाको हिसाब गरिएन । निस्वार्थ र चोखो प्रेम गरियो ।

प्रेम दिलले गरियो । दिमागले गरियो । दिलले सामीप्य बढाइयो, शारीरिक रूपले बढाइएन । त्यसैले नै होला, हिसाब राख्न बही चाहिएन । अपेक्षा राखिएन र प्रेममा तिक्तता सामना गर्न परेन । प्रेमले न मिलन, न त बिछोड नै भोग्न पर्‍यो । स्वस्थ सीमाहरू निर्धारण गरेर प्रेम गरियो । यसरी गरिएको प्रेमको अनुभूति; लाग्छ यस्तै, गीतले भने जस्तै–

लागे जति तिर्खा सबै मेट्नै पर्छ भन्ने केही छैन
मन परेको मान्छेलाई पाउनै पर्छ भन्ने केही छैन

भोगाइले भन्छ, प्रेम एउटा अनुपम अनुभूति हो । प्रेमले निकै आनन्दको अनुभूति दिलाउँछ । जीवन र जगत नै प्रेमले चलेको हुन्छ । परिवार, आफन्त, साथी आदिलाई गरिने प्रेमको अनुभूति बेग्लाबेग्लै खालका हुन्छन् ।

पारिवारिक प्रेम निरन्तर चलिरहन्छ । जस्तोसुकै उत्तारचढाव आओस् । हरेक आरोह–अवरोहमा प्रेमले नै पारिवारिक जीवन अघि बढ्छ । आफन्त र साथीहरूसँगको प्रेम भने अवस्थाजन्य हुन सक्छ । अवस्था अनुसार टिक्न वा भत्किन सक्छ भन्ने अनुभव रह्यो ।

सबैभन्दा पहिले आफैंले आफैंलाई प्रेम गर्न पर्छ भन्ने लाग्छ । जिन्दगी अरूको लागि बाँच्नेभन्दा पनि आफ्नो लागि बाँच्नु पर्छ । आफैंले आफैंसँग गरिएको प्रेम र ख्यालले जीवनमा खुशी ल्याउँछ । स्वस्थ्य जीवन बाँच्न  मद्दत गर्दछ । समाजले सिकाएको मैनबत्ती बन्ने (आफ्नो अस्तित्व अरूको लागि समर्पण) प्रवृत्ति त्यागेकै राम्रो हुन्छ ।

पुरुषलाई जस्तो गल्ती गर्न पनि छुट दिएको छ तर इज्जत, प्रतिष्ठा र परिणाम भने महिलालाई भोगाउँछ पितृसत्तात्मक समाजले । यो हाम्रो समाजको तीतो सत्य हो । यथार्थ हो । त्यसैले, महिलाले प्रेम गर्दा दिल र दिमाग दुवैको प्रयोग गर्नुपर्ने हुन्छ ।

संस्कारी बन्ने बहानामा आफ्नो महत्त्व र आफैंलाई प्रेम गर्ने विषय सधैं गौण हुने गर्दछ । तर अरूको निम्ति आफ्नो खुशी र सारा जीवन त्याग्नु व्यर्थ लाग्छ । आफूलाई केन्द्रमा राखेर हरेक कर्म गर्नु लाभदायी हुन्छ । केन्द्रमा राखेर कर्म गर्नु भन्नुको अर्थ आफ्नो स्वार्थमा लिप्त हुनु होइन । बरू आफू सँगसँगै अरूलाई निर्माण गर्दै, सहयोग गर्दै अघि बढ्नु हो जसले सर्वोत्तम हित गर्दछ ।

महिला र पुरुषबीचमा प्रेम हुनु स्वाभाविक प्रक्रिया हो । प्रेम गर्छु भनेर प्रेम हुने र प्रेम गर्दिनँ भनेर प्रेम नहुने भन्ने हुँदैन । प्रेम स्वस्फूर्त रूपमा भइ नै हाल्छ । यसलाई प्राकृतिक नियम भन्न सकिन्छ । तर महिलाले प्रेमको मामिलामा विशेष ध्यान दिन आवश्यक हुन्छ ।

विजयकुमार पाण्डेको वाक्यांश सापटी लिंदा, “पुरुष पाएसम्म नारीभित्र प्रवेश चाहन्छ । हुनत संसारमा धेरै यस्ता जोडी पनि छन्, जो एकअर्काप्रति शारीरिक रूपले पनि पूरै इमान्दार छन् । अधिकांश पुरुष पाएसम्म धेरै जनासँग अभिसाररत हुन चाहन्छन् ।”

हो, अनुभव पनि यस्तै रह्यो । पुरुषहरू भावना र विचारले कम प्रेम गर्दा रहेछन् । शरीरले प्रेम गर्न चाहँदा रहेछन् । उनीहरू भावना र विचार साट्नभन्दा पनि शारीरिक सामीप्यमा चाँडै अग्रसर भइहाल्दा रहेछन् ।

जब प्रेममा महिलाले सीमा निर्धारण गर्न चुक्छ त्यहाँ शतप्रतिशत  दुर्घटना  हुने सम्भावना हुन्छ । आर्थिक, मनोसामाजिक, भावनात्मक आदि क्षति बेहोर्नुपर्ने हुन्छ । पुरुषले त्यस्ता सीमाहरूको ख्याल नै गर्दैनन् । चाहे पुरुष जतिसुकै भलाद्‌मी देखिओस् या प्रतिष्ठित होस् ।

सीमा भन्नाले भावनात्मक, मानसिक, शारीरिक, आर्थिक, सामाजिक आदि दृष्टिकोणले आफूलाई हानि–नोक्सानी हुनबाट जोगिनका लागि तय गरिएको रेखा हो । त्यस्तो रेखालाई क्रस गरियो भने सबै तरिकाले खतरा हुन्छ भन्ने कुरामा चनाखो हुनु  हो ।

महिला र पुरुष असल साथी बन्न सकिन्छ । तर, कुनै न कुनै बिन्दुमा शारीरिक लाइन क्रस गर्ने भावना र चाहना उत्पन्न भइ नै हाल्छ । त्यस्तो अनुभूति तथा चाहना एकअर्कामा साटिएला या नसाटिएला । एकले अर्कोलाई थाहा दिइएला या नदिइएला । तर मानिसमा स्वभावैले यस्तो भावना र चाहना उत्पन्न भइ नै हाल्छ । त्यस्तो अवस्थामा शारीरिक लाइन क्रस गर्नबाट जोगिन निर्धारण गरिएको सीमा नै स्वस्थ्य सीमा हो ।

पुरुषलाई जस्तो गल्ती गर्न पनि छुट दिएको छ तर इज्जत, प्रतिष्ठा र परिणाम भने महिलालाई भोगाउँछ पितृसत्तात्मक समाजले । यो हाम्रो समाजको तीतो सत्य हो । यथार्थ हो । त्यसैले, महिलाले प्रेम गर्दा दिल र दिमाग दुवैको प्रयोग गर्नुपर्ने हुन्छ । सम्बन्धमा स्वस्थ्य सीमा निर्धारण गर्नै पर्छ । अन्यथा महिलाले पुरुषले भन्दा बढी नकारात्मक नतिजा भोग्नुपर्ने हुन्छ। क्षणभरको गल्तीले पूरै जिन्दगी बरबाद हुन सक्छ ।

प्रेमसहित या रहित हुने शारीरिक सम्बन्धका समाचारहरू दिनदिनै बाहिर आइरहँदा समाज र कानूनद्वारा वर्जित गरिएका गतिविधिहरू रोक्न महिला र पुरुष दुवैले भूमिका खेल्न जरूरी हुन्छ । दिल र दिमागलाई सँगसँगै चलायमान बनाउन आवश्यक हुन्छ । महिला र पुरुष दुवैले आफ्नो सोचाइ र व्यवहार सच्याउन जरूरी छ । एक नाबालिग गायिका र अर्की एक मोडल आदि सुनिएका उदाहरण हुन् । यी त भए प्रतिनिधि उदाहरण । बाहिर नआएका कति होलान् यस्ता घटना । आइन्दा यस्ता घटना कहिल्यै नदोहोरिउन् । छोरीहरूको यस्तो दुर्दशा कहिल्यै सुन्न नपरोस् ।

यस्ता घटना नदोहोरिउन् भन्नका लागि आफ्नो गन्तव्य आफैंले निर्धारण गरेर गन्तव्यमा पुग्न स्पष्ट योजना बनाइयो, अथक प्रयास गरियो, समयमै आवश्यक सहयोग लिइयो भने गन्तव्यमा अवश्य पुग्न सकिन्छ । गन्तव्यमा पुग्ने क्रममा प्रेमलाई प्रधान मान्न थालियो भने अवरोधहरू सिर्जना हुन थाल्छन् । जब कोपिलालाई टिपिन्छ, तब फूल भएर फूल्ने अवसर गुम्छ । हो जीवन पनि त्यस्तै हुन जान्छ, आफ्नो पूर्ण क्षमतामा पुग्न सकिंदैन र सहजताका साथ खुशी जीवन जिउन सकिंदैन ।

स–साना कुरामा संवेदनशील नहुने र भोगेर सिक्ने प्रवृत्ति छ धेरैको । भोगेर सिक्दा धेरै कुराको क्षति भइसकेको हुन्छ । धेरै कुरा प्रतिकूल बनिसकेका हुन्छन् । त्यसैले धेरै भावनामा बग्नु र आवेशमा आउनुभन्दा बढी विवेकशील हुनु लाभदायी हुन्छ ।

गन्तव्यमा पुग्ने क्रममा हरेक चरणमा मन पर्ने र मन पराउनेहरू भेटिन्छन् । प्रेम हुन सक्छ । तर मन र विचार कति मिल्छ, साथ र सहयोग कति जुट्छ,  सम्बन्ध कति टिक्छ, सम्बन्धमा इमानदारीता र विश्वसनीयता कति छ, कति गम्भीरता छ, प्रेम किन गर्ने, के का लागि गर्ने, कति हितकर छ र अवरोधहरू के के आइपर्न सक्छन् जस्ता कुराहरू राम्ररी बुझेर सही समयमा सही निर्णय गर्न सक्नु पर्दछ । अनि मात्र प्रेमलाई खुशीमा बदल्न सकिन्छ । त्यसो गर्न सकिएन भने सम्बन्ध आँशुमा परिणत हुन्छ । आँशुमा गएर टुङ्गिन्छ ।

स–साना कुरामा संवेदनशील नहुने र भोगेर सिक्ने प्रवृत्ति छ धेरैको । भोगेर सिक्दा धेरै कुराको क्षति भइसकेको हुन्छ । धेरै कुरा गुमाइसकिएको हुन्छ र सबै कुरा प्रतिकूल बनिसकेका हुन्छन् । त्यसैले धेरै भावनामा बग्नु र आवेशमा आउनुभन्दा बढी विवेकशील हुनु लाभदायी हुन्छ भन्ने कुरामा ध्यान दिन जरुरी हुन्छ । हरेक संवेगहरू तत्काललाई नियन्त्रण गरेर सोच्न सकियो र प्रतिक्रिया जनाइयो भने निकै लाभदायी हुन्छ ।

तसर्थ; दिल र दिमागले अर्थात् विचार र भावनाले प्रेम गरियोस्  । प्रेमले होस् शारीरिक सम्बन्ध । जहाँ इमानदारी होस् । विश्वास होस् । जिम्मेवारी होस् । वैचारिक मिलन होस् । वैधानिक र दीर्घकालीन सम्बन्ध होस् । बाँकी सम्बन्धहरूबाट जोगिनु नै बेस । तलका हरफले भने जस्तै–

कति नाता नगाँसेर नै मीठा मीठा हुन्छन्
गाँसिएका नाता बरू झुटा झुटा हुन्छन् ।

अनुभव, अनुभूति र सिकाइले यही भन्छ । बुझाइ यस्तै रह्यो ।

सुष्मा राई

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शनिबार, १४ श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved