• मंगलबार, ४ बैशाख, २०८१
  • २२:२४:२६
  • नेपालीको अभिमत

व्यक्ति-कथा

दोहोरी साँझबाट उदाएकी ‘स्टेज क्वीन’

इन्द्रसरा खड्का

शनिबार, ११ असार, २०७९

माको पछ्यौरीको फेर समाउँदै तीजको मेला हेर्न जाँदा होस् या गाउँमा लाग्ने पूजामा आमासँगै जाँदा होस् भूमिकाले आमाको मिठो स्वर सुन्नु हुन्थ्यो । गीत गाउन सक्ने भए पनि आमालाई गाउनको लागि कि तीज आउनुपर्थ्यो कि भने गाउँमा कसैको घरमा सत्यनारायणको पूजा लाग्नुपर्थ्यो । त्यो भन्दा अन्त आमाले गाउने ठाउँ थिएन । भूमिका हुर्कदै गएपछि आमाको गुण उहाँमा सर्‍यो । सानैदेखि नाच्न, गाउनमा खप्पिस उहाँ विद्यालयमा हुने सांस्कृतिक कार्यक्रम हुन् या गाउँघरमा लाग्ने पूजा वा वर्ष दिनमा आउने तीज । त्यहाँ नाच्ने र गीत गाउने गर्न लाग्नुभयो । आमाले पनि आफ्नो सपना छोरीले पूरा गर्ने भइ भन्दै खुलेरै सहयोग गर्नुभयो ।

यसरी आमाको प्रभावमा नाच्न, गाउन सिक्नुभएकी भूमिकाले अहिले आफू मात्र होइन, आफूसँगै हजारौं दर्शकलाई नचाउनुहुन्छ । “आमाकै कारण मैले गीत गाउन सिकें, उहाँकै साथ र सहयोगले यहाँसम्म पुगें । शायद भगवानले आमाको सपना पूरा गर्न मलाई कला र गला दिनुभएको जस्तो लाग्छ,” नेपालमतसँग कुरा गर्दै भूमिकाले भन्नुभयो ।

लोक तथा दोहोरी गायिका भूमिका गिरीको घर दाङको देउखुरी हो । अहिले उहाँ आमा र भाइबहिनीसँग काठमाडौंमा बस्नुहुन्छ । जिल्लामा हुने स्टेज कार्यक्रमदेखि दोहोरी साँझको यात्रा गर्दै गायिकाको रूपमा स्थापित हुनुभएकी उहाँलाई स्टेज कार्यक्रममा बढी देख्न सकिन्छ । देश तथा विदेशमा हुने स्टेज कार्यक्रममा दर्शक÷स्रोतालाई झुमाउन सक्ने कला तथा गला भएकी उहाँले ‘स्टेज क्वीन’ उपनाम पाउनुभएको छ ।

१२ वर्षे सांगीतिक यात्रामा ५० भन्दा बढी दोहोरी गीत समेत गाइसक्नुभएकी उहाँका थुप्रै चर्चित गीत बजारमा छन् । दाङको विकट गाउँ नाकामा जन्मनुभएकी उहाँलाई जिल्ला हुँदै काठमाडौंमा आएर सांगीतिक क्षेत्रमा स्थापित हुन निकै संघर्ष गर्नुपर्‍यो । दुःखसुखका आरोह–अवरोह छिचोल्दै स्थापित हुनुभएकी भूमिकाको सांगीतिक यात्रा यसरी शुरू भएको थियो—

नेपाल र भारतको सीमा जोडिएको क्षेत्र हो दाङ । दाङको नाकामा ५ कक्षासम्म पढ्नुभएकी उहाँ कक्षा ६ मा पुगेपछि उहाँको परिवार नाकाबाट दाङकै देउखुरीमा झर्‍यो । देउखुरीको विद्यालयमा उहाँको पढाइ शुरू भयो । त्यो वेला गाउँमा रेडियो सुन्ने चलन बढी थियो । रेडियोबाट प्रसारण हुने लोकगीतसम्बन्धी कार्यक्रम खुब सुन्नुहुन्थ्यो । कहिलेकाहीं फोन गरेर गीत पनि गाउनुहुन्थ्यो । 

स्थानीय क्लबले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा गीत गाउन र नाच्न सबैभन्दा पहिले उहाँ नै तयार हुनुहुन्थ्यो । विस्तारै जिल्लामा हुने मेला महोत्सवमा पनि भाग लिन थाल्नुभयो । “मलाई टुक्का मिलाउन आउँथ्यो । दोहोरीमा जवाफ फर्काउन सक्ने भएकाले हरेक कार्यक्रम हुँदा मलाई निम्तो आउँथ्यो,” उहाँ भन्नुहुन्छ ।

मेला महोत्सवमा स्टेजमै गएर गाउन थालिसकेपछि उहाँलाई म दोहोरी गाउन सक्छु भन्ने अत्मविश्वास बढ्यो । त्यसपछि यही क्षेत्रमा करिअर बनाउँछु भन्ने सोच्नुभयो । तर, दाङमा पर्याप्त अवसर थिएन । कहिलेकाहीं हुने मेला महोत्सवले पुग्ने कुरा थिएन । अनि, काठमाडौंको यात्रा तय गर्नुभयो ।

काठमाडौंमा भूमिकाको साथी हुनुहुन्थ्यो । उहाँ काठमाडौं आउनुभयो र साथीसँगै बस्नुभयो । “साथी फाइनान्समा काम गर्नुहुन्थ्यो । म पनि उहाँसँगै बसेर काम खोज्न थालें । काठमाडौंमा भन्नेबित्तिकै काम पाउन साह्रै गाह्रो ! मसँग भएको सीप, क्षमता जे भने पनि त्यही गीत गाउन सक्ने थियो,” भूमिका काठमाडौं छिर्दाको अनुभव सुनाउनुहुन्छ, “यसै क्रममा दाङकै चन्द्र शर्मासँग भेट भयो । उहाँले एउटा दोहोरी साँझमा काम खोजिदिनुभयो । त्यसपछि पूर्ण व्यावसायिक रूपमा सांगीतिक क्षेत्रसँग जोडिएँ ।”

दोहोरीको साँझको यात्रा

भूमिकाको सपना पनि दोहोरी साँझमा काम गर्ने थियो । उहाँ भन्नुहुन्छ, “आखिर जे सपना बुनेर काठमाडौं आएकी थिएँ, चन्द्र दाइलाई भेटेपछि पूरा भयो ।” उहाँले शुरूमा सुन्धारास्थित लालुपाते दोहोरीमा काम गर्नुभयो । काम गर्न थालेपछि अलग्गै कोठा लिएर बस्नुभयो । साँझ ६ बजेदेखि राति १२ बजेसम्म दोहोरी साँझमा बिताउँदा धेरै कुरा सिक्ने अवसर मिल्यो । विस्तारै मान्छे चिन्दै गएपछि अरू दोहोरी साँझबाट पनि अफर आउन थाल्यो । दुई वर्ष लालुपातेमा काम गरिसकेपछि उहाँले त्यहाँ छोड्नुभयो ।

“शोषणको कुरामा म आफूलाई भाग्यमानी ठान्छु । धेरै साथीले तलब नपाएको, ग्राहक, साहुबाटै दुर्व्यवहार  सहनुपरेको सुन्दा दुःख लाग्छ । तर, मैले कहिल्यै यस्तो भोग्नु परेन ।”

दोहोरी साँझमा राति काम गर्नुपर्दा महिलाले विभिन्न किसिमका हिंसा सहनुपरेको समाचार धेरै सुनिन्छ । साहु, ग्राहकबाट यौन हिंसा भोग्नुपरेको पनि धेरै सुनिन्छ । तर, ६ वर्षको यस अवधिमा आफूले कुनै पनि दुर्व्यवहार नभोगेको उहाँ बताउनुहुन्छ । “यो कुरामा म आफूलाई भाग्यमानी ठान्छु । धेरै साथीले तलब नपाएको, ग्राहक, साहुबाटै दुर्व्यवहार सहनुपरेको सुन्दा दुःख लाग्छ । तर, मैले कहिल्यै यस्तो भोग्नु परेन,” उहाँ भन्नुहुन्छ ।

उसो त दोहोरी साँझमा काम गर्ने महिलालाई हेर्ने समाजको दृष्टिकोण पनि उस्तै छ । राति त्यो पनि मनोरञ्जन क्षेत्रमा काम गर्नेलाई खासै राम्रो मान्दैन समाज । भूमिका आफूसँग भएको कला र गला देखाउँदैमा यसलाई नराम्रो दृष्टिकोणले हेर्न नमिल्ने बताउनुहुन्छ ।

पहिलो एल्वम

दोहोरी साँझमा काम गर्न थालेको चार वर्ष भएपछि उहाँलाई विक्रम थापाले अब एल्वम पनि निकाल्नुपर्छ भन्ने सल्लाह दिनुभयो । उहाँकै सल्लाहमा भूमिकाले गण्डकी र धौलागिरीमा गाइने रोइला गीत गाउनुभयो । शिव हमालको शब्द रहेको उक्त रोइला त्यो क्षेत्रमा निकै चल्यो । रोइला राम्रो चलेपछि उहाँलाई अर्को गीत गाउने अवसर मिल्यो ।  दोस्रो गीत उहाँले लोक तथा दोहोरी गायक रामजी खाँणसँग ‘तिउन मिठो बनायो चुकैले’ भन्ने गाउनुभयो । त्यसपछि उहाँलाई पछाडि फर्केर हेर्नु परेन । यस पछिका दिनमा उहाँ स्टेज कार्यक्रममा बढी हिंड्न थाल्नुभयो । “आफ्नो गीत नहुँदा स्टेज कार्यक्रममा अरूको गीतको ट्रयाकमा गाउनुपर्ने थियो । आफ्नो एल्वम निस्केपछि यो बाध्यता पनि हट्यो,” उहाँ सुनाउनुहुन्छ ।

‘स्टेज क्वीन’

दाङ, सुर्खेतमा हुने स्टेज कार्यक्रममा धेरै पटक कला प्रस्तुत गर्नुभएकी भूमिकाले राष्ट्रिय स्तरमा राष्ट्रिय कलाकारसँग पहिलो पटक कावासोतीको वसन्तपुरमा आयोजित महोत्सवमा स्टेज शेयर गर्नुभएको थियो । पहिलो पटक राष्ट्रिय कलाकारको रूपमा आफ्नै गीत गाउन पाउँदाको खुशी भूमिकालाई अहिले पनि उत्तिकै छ । “पहिलो पटक बद्री दाइसँग एउटै स्टेजमा गाउन पाउँदा कति खुशी भएँ कसरी भनूँ ! मैले देखेको सपना त्यही दिन पूरा भयो जस्तो लाग्यो,” उहाँले भन्नुहुन्छ ।

त्यसपछि उहाँलाई कार्यक्रमको धेरै निम्तो आउन थाल्यो । स्टेज कार्यक्रममा बढी व्यस्त हुन थालेपछि दोहोरी साँझको काम छोड्नुभयो । यसपछि त देशमा मात्र होइन, विदेशमा हुने कार्यक्रममा पनि सहभागी हुन थाल्नुभयो । स्टेजमा गएर दर्शकलाई मस्त मनोरञ्जन दिनसक्ने भएकाले आफूलाई ‘स्टेज क्वीन’को उपनाम दिइएको उहाँ बताउनुहुन्छ । अहिलेसम्म २२ भन्दा बढी देशमा गइसक्नुभएकी उहाँ नेपालकै पनि प्रायः सबै जिल्लामा पुग्नुभएको छ । १२ वर्षको अवधिमा आफूले पाएको सफलता सुनाउँदै उहाँ भन्नुहुन्छ, “म आफूलाई पूर्ण भएको मान्दिनँ तर पनि मैले एक पटक गरेको कुनै पनि कामले सफलता दिएको छ । म यसमा सन्तुष्ट छु ।”

भूमिका आफ्ना लागि सांगीतिक क्षेत्र नशा भएको बताउनुहुन्छ । उहाँ सुनाउनुहुन्छ, “संगीत मेरो लागि नशा हो । यो क्षेत्रबाट टाढा गएर बस्न गाह्रो हुन्छ । भोलि अरू नै बाटो रोज्नुपरे पनि यो क्षेत्रलाई चटक्कै छोड्न सक्दिनँ ।” भूमिकाका अनुसार यो क्षेत्रमा अवसर र चुनौती दुवै उत्तिकै छन् ।

हरेक क्षेत्रमा अहिले निकै प्रतिस्पर्धा छ । त्यसमाथि अहिले ‘भाइरल’को जमाना छ । चुनौतीको सामना गर्दै संघर्ष गर्नेहरूका लागि सांगीतिक क्षेत्र आर्थिक रूपमा पनि उत्तिकै सवल भएको उहाँ बताउनुहुन्छ ।

भूमिकाले गाउनुभएका करिब ५० वटा गीतमध्ये केही गीत निकै चलेका छन् । ‘तिउन मिठो बनायो चुकैले’ देखि लिएर पछिल्लो समयको ‘चोली मैलै भो’ गीत निकै चर्चित छन् । प्रकाश दुतराजको शब्द रहेको ‘चोली मैलै भो, मैले तिमीलाई नभन्या मात्रै हो मन पर्‍या पैल्यै हो’ मा भूमिकाको अभिनय पनि देख्न पाइन्छ । तीजको गीत ‘श्रृङ्गार पटार गरी आउँछु ब्युटीपार्लरमा’ भन्ने गीतले पनि आफूलाई दर्शकस्रोतामाझ चिनाएको उहाँ बताउनुहुन्छ ।

सांगीतिक क्षेत्रमा छोटो समयमा सफल बन्नुभएकी भूमिकालाई यस क्षेत्रमा अरू केही नयाँ काम गर्ने इच्छा छ । उहाँ भन्नुहुन्छ, “मान्छेका इच्छा, आकांक्षा पनि अनेक हुँदा रहेछन् । पहिले दोहोरी साँझमा गीत गाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो त्यो पूरा भयो । त्यसपछि एल्वम निकाल्न पाए हुन्थ्यो भन्ने लाग्यो त्यो पनि पूरा भयो । त्यसपछि स्टेज कार्यक्रम गर्न मन लाग्यो । यी सबै गर्दा अहिले यो भन्दा अरू केही नयाँ काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ !”

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शनिबार, ११ असार, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved