ताजा

  • मंगलबार, ३१ असार, २०८२
  • ०१:२१:१०
  • नेपालीको अभिमत

व्यक्ति-कथा

‘कृष्णसार आइडल’ रेश्मालाई ‘केशरी’को साथ

इन्द्रसरा खड्का

शनिबार, २१ जेठ, २०७९

गीत खुब मन पर्ने । मन परेका गीत गुनगुनाउनुको मज्जै बेग्लै ! विद्यालय जाँदा होस् वा घरमै हुँदा अथवा कुनै काम गर्दा साथी गीत नै हुन्थ्यो । यो गुनगुनाइ भविष्यमा गायिका बन्छु भन्ने योजना सहित थिएन । थियो त केबल आत्मसन्तुष्टि । त्यही ‘आत्मसन्तुष्टि’ अहिले ‘गायिका’मा परिणत भएको छ ।

पहिले एकान्तमा छँदा गीत गुनगुनाउने बानी भए पनि उहाँ समूहमा गाउन भने लजाउनुहुन्थ्यो । आजकल भने स्टेज तताएर हजारौं दर्शकलाई मन्त्रमुग्ध पार्दै नचाउनुहुन्छ । “अहिले गायिका बन्नुरहेछ र पो मलाई सानैदेखि गीतप्रति आकर्षण बढेको रहेछ,” उहाँलाई हिजोआज यस्तै लाग्छ ।

उहाँ अर्थात् गायिका रेश्मा पुन मगर । घर बाँकेको कोहलपुर हो । चलचित्र, आधुनिक लगायत विधाका ३६ भन्दा बढी गीत गाइसक्नुभएको छ । पछिल्लो समय भने चलचित्र ‘कबड्डी–४’ मा समेटिएको ‘केशरी’ गीतले उहाँ चर्चाको शिखरमा हुनुहुन्छ । उहाँले यस गीतमा ‘फिमेल भर्जन’ दिनुभएको छ । बजारमा उहाँका अरू पनि थुप्रै गीत छन् तर ‘आँखामा सपना केशरी, लजाउँदै नहेर त्यसरी’ बोलको यस गीतले भने दर्शक/स्रोतामाझ बढी चिनाउने काम गर्‍यो । टिकटकमा यो गीत 'भाइरल' जस्तै छ । 

सांगीतिक दुनियाँमा झण्डै सात वर्ष बिताइसक्नुभएकी रेश्मा ‘कृष्णसार आइडल’ पनि हो । बाँकेको नेपालगञ्जमा रहेको कृष्णसार एफएमले सञ्चालन गरेको ‘कृष्णसार आइडल’को उहाँ २०६८ सालको विजेता हुनुहुन्छ । 

कृष्णसार आइडल–२ की विजेता रेश्मा पुन मगर पुरस्कार राशी ग्रहण गर्दै । तस्वीर सौजन्य: कृष्णसार एफएम

‘कृष्णसार आइडल’ बनिसकेपछि रेश्मालाई गीत गाउन सक्छु भन्ने आत्मविश्वास बढ्यो । “पहिले अलि अलि गीत गाए पनि गायिका बन्छु भन्ने थिएन । जब ‘कृष्णसार आइडल’ बनें त्यसपछि भने यही क्षेत्रमा भविष्य छ भन्ने लाग्यो । अहिलेसम्म सोचे जस्तै भइरहेको छ,” उहाँ भन्नुहुन्छ ।

आमाको मुहारमा खुशी छाएन !

रेश्माको गायनतर्फको रुचि र उहाँको मिठो स्वरको साक्षी उहाँसँगै पढ्ने साथी मनु अधिकारी हुनुहुन्थ्यो । मनु कोहलपुरमा रहेको एउटा रेडियोमा बाल कार्यक्रम चलाउनुहुन्थ्यो । उहाँले कृष्णसार एफएमले ‘कृष्णसार आइडल’ सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । शुरूमा त रेश्मालाई त्यहाँ भाग लिने आँट आएन । साथीले ‘तिमी सक्छौ’ भनेर ढाडस दिएपछि भने आँट भरिंदै गयो र भाग लिने मनस्थितिमा पुग्नुभयो । तर, यो कुरा उहाँले परिवारमा कसैलाई थाहा दिनुभएन ।

एक दिन मनु र उहाँ कोहलपुरबाट नेपालगञ्जमा रहेको कृष्णसार एफएममा जानुभयो । “साइकल चढेर कोहलपुरबाट नेपालगञ्जसम्म गयौं । तर, त्यहाँ त फर्म भर्न दुई सय रुपैयाँ लाग्ने रहेछ । आफूसँग त्यत्रो पैसा थिएन, गाउँकी काकी नाता पर्नेसँग मागेर बल्ल तल्ल फर्म भर्‍यौं । त्यो सम्झँदा अहिले पनि अनौठो लाग्छ,” ती दिनका रमाइलोबारे रेश्मा बताउनुहुन्छ ।

फर्म भरेको केही हप्तापछि अडिसन भयो । अडिसनमा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका करिब दुई सय बढी सहभागी थिए । पहिलो चरणको अडिसनमा रेश्मा छनोट हुनुभयो । त्यसपछि उहाँले बाँकेमै म्युजिक सिक्न थाल्नुभयो । यति हुँदासम्म पनि परिवारलाई यो कुरा थाहा थिएन । अडिसन भएको झण्डै एक वर्षमा टपटेनमा पुगिसकेपछि मात्र परिवारलाई थाहा भएको हो । “रेडियोमा बजेको आइडल सम्बन्धि प्रमोशनल विज्ञापन र मैले गाएको गीत सुनेपछि आमालाई थाहा भयो । तर, उहाँको अनुहारमा खुशी छाएन । गीतभन्दा अरू क्षेत्र भइदिएको भए सबै जना खुशी हुनुहुन्थ्यो होला तर गायन क्षेत्र भएर नै होला न बा खुशी हुनुभयो न आमा !” रेश्मा भन्नुहुन्छ । तर,आइडल बनिसकेपछि भने रेश्मालाई म गीत गाउन सक्छु । अब मेरो क्षेत्र यही हो भन्ने आत्मविश्वास बढ्यो ।

गीत गाउने अवसर

आइडल विजेता भइसकेपछि रेश्माले म्युजिक सिकाइलाई निरन्तरता दिनुभयो । उहाँको स्वर मन परेपछि म्युजिक सिकाउने गुरुले नै उहाँलाई गीत गाउने अवसर दिनुभयो । पहिलो गीत गाउँदाको अनुभव सुनाउँदै रेश्मा भन्नुहुन्छ, “पहिलो गीत गाउने कुरा गर्दा खुशी र नर्भस उत्तिकै थिएँ । चलचित्रको गीत हो तर कुन चलचित्र भन्ने बिर्सें । म्युजिक सिकाउने सर केशव बडुले गीत गाउने अवसर दिनुभएको हो ।”

“रेडियोमा बजेको आइडल सम्बन्धि प्रमोशनल विज्ञापन र मैले गाएको गीत सुनेपछि आमालाई थाहा भयो । तर, उहाँको अनुहारमा खुशी छाएन । गीतभन्दा अरू क्षेत्र भइदिएको भए सबै जना खुशी हुनुहुन्थ्यो होला तर गायन क्षेत्र भएर नै होला न बा खुशी हुनुभयो न आमा !”

म्युजिक सिक्नुभयो, एउटा गीत पनि गाउनुभयो तर यसपछिका दिनमा अघि बढ्न भने रेश्मालाई अलमल भयो । “उमेर पनि सानै थियो, चिनजानका कोही थिएनन् । त्यसपछिका ५/६ वर्ष घरमै बिते,” उहाँ भन्नुहुन्छ ।

संघर्षका पाइला काठमाडौंतिर

रेश्मालाई अब के गर्ने, कुन क्षेत्रमा अघि बढ्ने भन्ने दोधार भइरहेको थियो । यही बीचमा नेपालगञ्जको एउटा सांगीतिक कार्यक्रमको याद आयो । त्यस कार्यक्रममा सांगीतिक क्षेत्रमै काम गर्ने मामा नाता पर्ने एक जना हुनुहुन्थ्यो । रेश्माले उहाँसँग परामर्श लिनुभयो । उहाँले काठमाडौं जान सल्लाह दिनुभयो । त्यसपछि रेश्माको यात्रा काठमाडौंतर्फ लम्कियो ।

परिवारको असहमति, बिरानो शहर, सांगीतिक यात्राको कदम ! शुरूका दिन निकै संघर्षपूर्ण रहे । न चिनेका मान्छे, न चिनेको शहर तर पनि हिम्मत हार्नुभएन । सांगीतिक यात्रामा केही गर्ने आशाको पोको बोक्दै शहर छिर्नुभएकी रेश्मा सानेपामा मामाको घरमा बस्नुभयो । मामाको सल्लाह अनुसार म्युजिक क्लास लिन थाल्नुभयो । कालिकास्थानमा भोकल सिकाउने शिक्षक चण्डी काफ्लेले उहाँको मिहिनेत र स्वर सुनेर गीत गाउने चाँजोपाँजो मिलाइदिनुभयो ।

भरत लामाको शब्दमा रहेको ‘म पहाडको’ गीतमा रेश्माले स्वर दिनुभयो । गीतपछि आएको प्रतिक्रियाले थप हौसला मिल्यो । त्यसपछि विस्तारै यस क्षेत्रका साथीभाइसँग चिनजान बढ्दै गयो । गायक, लेखकसँग पनि चिनजान हुँदै गएपछि गीत गाउने अवसर मिल्दै गए । अहिले उहाँ यसै क्षेत्रमा जमेर लागिरहनुभएको छ । स्टेज शोका लागि देश विदेशबाट उहाँलाई निम्तो आउँछ ।  

मौन परिवार

नेपाली समाज छोरीलाई एक्लै घर बाहिर गएको अहिले पनि राम्रो मान्दैन । त्यसमा पनि कलाकारिता क्षेत्रमाथिको दृष्टिकोण राम्रो छैन । रेश्माका आमाबुवा पनि यही समाजको पात्र, उहाँहरूलाई पनि त्यति राम्रो लागेन । “मेरो घरबाट त्यति असहयोग पनि भएन र राम्रोसँग सहयोग पनि भएन । छोरीले अरू नै काम गरेर यो क्षेत्रमा नलागे हुने भन्ने चाहना उहाँहरूले राखिरहनुभयो,” रेश्मा सुनाउनुहुन्छ ।

रेश्मा आमाबुवाको जेठो सन्तान । आफूभन्दा पछिका भाइबहिनीलाई उहाँले नै मार्गनिर्देश गर्नुपर्ने थियो । आमाबुवालाई छोरीले पढाइ सकेर कमाओस् भाइबहिनीको पढाइ खर्चमा भरथेग गरोस् भन्ने चाहना हुने नै भयो । तर, उहाँ आफैं पनि सिकाइकै चरणमा भएकोले कमाइ त्यति राम्रो थिएन । उहाँ भन्नुहुन्छ, “गीत गाएर बाँच्न नसकिने भन्ने होइन । धेरैले गाएर नै राम्रो कमाइराख्नुभएको छ तर शुरूका दिनमा सबै चिजको समस्या भयो ।”

गायन क्षेत्रका मान्छे चिन्दै, सिक्दै अघि बढिरहेकै अवस्थामा कोभिड–१९ को महामारी फैलियो । देशभर  लकडाउन भयो । लकडाउनमा घरभित्रै बस्नुपर्दा हुन लागेका काम पनि बन्द भए । मेला महोत्सव ठप्प भए । पाएका गीत पनि रेकर्ड गर्न पाइएन । तर अहिले बिस्तारै अवस्था सहज हुँदै गएको छ । रेश्मा पनि रेकर्डिङ र स्टेज कार्यक्रमहरूमा व्यस्त हुन थाल्नुभएको छ । “संघर्ष गरेर यहाँसम्म आइपुगेको छु । अझै पनि संघर्ष गरिरहनेछु,” बेलाबखत काम गर्दाका अप्ठेरा सम्झेर किन यस क्षेत्रमा लागेछु भन्ने लाग्दैन ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, “काम गर्न जुनसुकै क्षेत्रमा गाह्रो हुन्छ । तर, अहिलेसम्म किन यो क्षेत्रमा लागेछु भन्ने भएको छैन । अहिलेसम्म यसैमा रमाइरहेको छु । भोलिका दिनमा त के हुन्छ, कसले भन्न सक्छ र !”

टर्निङ प्वाइन्ट

चलचित्र कबड्डी–४ को गीत हो केशरी । एसडी योगीको शब्द र संगीत रहेको यो गीत राम अविरल बिस्टको स्वरमा रेकर्ड भएको छ । यो गीत बजारमा आइसकेपछि राम्रो प्रतिक्रिया पाउँदा महिलाको आवाजमा पनि रेकर्ड गर्ने कुरा भयो । अनि उक्त मौका रेश्मालाई मिल्यो । उहाँले गाउनुभएको यो गीत थोरै समयमा टिकटक र युट्युबमा राम्रो चल्यो । यही गीतमार्फत रेश्मालाई स्रोता र दर्शकले अझ चिने । उहाँ भन्नुहुन्छ, “यस्ता गीतहरू धेरै गाएँ । चल्न पनि चलेकै छन् । तर पनि यो गीत मेरो जीवनको टर्निङ प्वाइन्ट बन्यो ।”

अनि रेश्मा र 'क' को संयोग पनि कस्तो परेको छ भने 'कृष्णसार आइडल'बाट सुरु भएको रेश्माको सांगितिक करिअर 'केशरी' गीतले उचाईंमा पुर्याएको छ । 

 

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शनिबार, २१ जेठ, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    नेपाल प्रहरीका ६ महिने नयाँ आइजिपी दीपक थापा

    काठमाडौं - नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका थापालाई आइजिपी नियुक्त गरेको हो।  यसअघिका प्रहरी महानिरीक्षक...

  • नेपालमत

    विश्वमा चर्चित १० नेपाली भाषी व्यक्तिहरू

    काठमाडौं - नेपाली भाषा र संस्कृतिको समृद्धि र नेपाली भाषी समुदायको गौरव विश्वभर फैलिएको छ। राजनीति, चिकित्सा, विज्ञान, खेलकुद, चलचित्र, आयुर्वेद, सैनिकता, पर्वतारोहण तथा साहित्यका क्षेत्रमा...

  • गरे स्वदेशमै के हुन्न ? कृष्णभक्त दुवालले ९ वर्षमा खोले पाँच उद्योग

    भक्तपुर - स्वदेशमा केही पनि हुन्न, केही गर्न सकिन्न भन्ने निराश युवाहरूको लागि एक जना उदाहरणीय व्यक्तित्व हुन्, भक्तपुरका युवा इन्जिनियर कृष्णभक्त दुवाल। भक्तपुर नगरपालिका वडा नम्बर १० महालक्ष्मीस्थान निवासी इन्जिनियर दुवालले पछिल्लो नौ वर्षको छोटो अवधिमा पाँच वटा ठूला उद्योगहरू सञ्चालन गर्न सफल भएका छन्। ती उद्योगहरूमा उनले सयौं नवयुवाहरूलाई रोजगारी उपलब्ध गराइरहेका छन्।  ‘केही काम गर्नका लागि सवैभन्दा पहिलो प्यासन (लगाव)...

  • नेपालमत

    बङ्गुरले फेरेको रिताको जीवन

    गोरखाको सहिद लखन गाउँपालिकाका महिला सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिन थालेका छन्। विभिन्न सङ्घसंस्था तथा स्थानीय पालिका र वडामार्फत प्रदान गरिँदै आएको सीपमूलक तालिम लिएर...

  • नेपालमत

    पाँच 'इन्टेग्रिटी आइकन'को नाम सार्वजनिक, को ? किन भए उत्कृष्ट ? (विस्तृत विवरण सहित)

    काठमाडौं - एकाउन्टविलिटी ल्याब नेपालले पाँच जना 'इन्टेग्रिटी आइकन'को नाम सार्वजनिक गरेको छ । विगत दश वर्षदेखि उत्कृष्ट सेवादिने कर्मचारीलाई खोजेर ल्याबले इन्टेग्रिटी आइकन मार्फत् सम्मानित गर्दै...

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved