• बिहीबार, ६ बैशाख, २०८१
  • १०:१०:५८
  • नेपालीको अभिमत

व्यक्ति-कथा

‘सेतो पहाड’ फापेका कलाकार

गीताञ्जली दाहाल

शनिबार, १४ जेठ, २०७९

लामको इलाम नगरपालिका–८ का मिलन खत्री ६ वर्षदेखि व्यावसायिक रूपमा कृषि पेशामा आबद्ध हुनुहुन्छ । परिवारले सामान्य जिविकोपार्जनका लागि गर्दै आएको पेशालाई उहाँले व्यवस्थित र व्यावसायिक तरिकाले अगाडि बढाउनुभएको हो । सेतो पहाड डेरी उद्योगका सञ्चालक मिलन कुशल उद्यमी मात्र नभइ एक सफल कलाकार पनि हुनुहुन्छ ।

लेखा विषयमा स्नातक र ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएका मिलन पैसा कमाउन विदेश जानु पर्छ या जागिर नै खानु पर्छ भन्ने सोचको विरुद्ध राम्रो उदाहरण हो । उहाँको घरमा पनि जागिरे कोही छैन । “आफ्नै गाउँ–ठाउँमा भएका स्रोत र साधनको सदुपयोग गर्दै मेहनत गर्ने हो भने पैसा कमाउन विदेश जानु पर्दैन । मैले बुबाआमाले गर्दै आउनुभएको पेशालाई व्यवस्थित गरेको छु, कमाइ भएकै छ,” उहाँ भन्नुहुन्छ ।

सानैदेखि खेतीपाती देख्दै हुर्कनुभएका मिलनलाई पढाइको सिलसिलामा शहर पसेर पढ्दै गर्दै गर्दाका अभावहरूले पनि कृषिमा लाग्न प्रेरित गर्‍यो। कमर्श पढ्दै गर्दा दैनिक प्रयोगमा आउने खाद्यान्न आफ्नै बारीबाट उत्पादन गर्न सके देशको आर्थिक स्थितिमा सुधार ल्याउन सकिने रहेछ भन्ने लागेको उहाँ बताउनुहुन्छ । घरको कमजोर आर्थिक स्थिति र बाल्यकालका अभावले संघर्ष गर्न सिकाएका कारण अहिले सफल हुन सकिएको मिलनलाई लाग्छ ।

स्कूल–कलेजले सिकाएको किताबी ज्ञानभन्दा बाल्यकालको अभावले आफूलाई बढी व्यावहारिक बनाएको हो भन्नुहुन्छ उहाँ । प्लस टु पढ्दादेखि नै व्यवसाय शुरू गर्नुभएका मिलनले स्नातक पढ्दासम्म आफ्नो लागि खर्च जुटाउन थालिसक्नुभएको थियो ।

अहिलेको सफलतासम्म आइपुग्न उहाँको लामै संघर्ष छ । शुरूमा ब्रिटिस आर्मी बन्नका लागि ६ महिना तालिम लिनुभयो तर नाम निस्किएन । त्यसपछि कुखुरा फार्म खोल्नुभयो । यसबाट खासै आम्दानी हुन नसकेपछि फेरि काठ उद्योग खोल्नुभयो । काठबाट पनि भने जस्तो भएन । अनि आफ्नै गाउँमा ‘सेतो पहाड डेरी उद्योग’ खोल्नुभयो । यसबाट भने उहाँ सन्तुष्ट हुनुहुन्छ । 

उहाँले डेरीबाट घ्यू, छुर्पी, चिज, पनिर आदि उत्पादन गर्दै आउनुभएको छ । पछिल्लो समय कृषि फार्म पनि सञ्चालन गर्नुभएको छ । उहाँको डेरीबाट उत्पादित प्रायः वस्तु स्थानीय बजारमा बिक्री हुँदै आएका छन् भने छुर्पी चाहिं विशेषगरी अमेरिका, क्यानडा, चीन, जापान, भारत लगायतका देशमा निर्यात हुँदै आएको छ ।

मिलनको परिवारमा सबैजनाको आ–आफ्नै व्यवसाय छ । आमा र भाउजूले बाख्रा पालन गर्नुभएको छ । खेतीपाती बुबा र दाइले हेर्नुहुन्छ । “कृषिमय छ हाम्रो परिवार । हामीले गरेको देखेर आफन्त, छरछिमेकी पनि कृषि पेशामा आकर्षित हुनुभएको छ,” उहाँ भन्नुहुन्छ ।

कलाकारिता यात्रा

करिअरको शुरूआततिर विभिन्न संस्थाहरूले आयोजना गर्ने तालिममा सहभागिता जनाउँदै गर्दा मानवअधिकार मञ्च नामको एक संस्थामा स्वयंसेवकको रूपमा काम गर्ने अवसर जुर्‍यो । त्यही संस्था मार्फत महिला हिंसा, जातीय विभेद, बालअधिकारका विषय जस्ता विषयमा प्रचार–प्रसार गर्दै जाँदा सडक नाटक, कचहरि नाटकहरूमा सहभागिता जनाउने मौका मिल्यो । 

पछि चेतना नाट्य समूहको स्थापना भयो । त्यही समूहबाट नाटक प्रस्तुत गर्दै कलाकारिता यात्रा शुरू भयो । त्यसपछि इलाम, विराटनगर र काठमाडौंका विभिन्न थिएटरमा स्टेज ड्रामा मञ्चन गर्दै अगाडि बढेको मिलन सम्झनुहुन्छ ।

विस्तारै कलाकारितालाई अलि कम गरेर व्यवसायतिर लाग्नुभयो । पछि कृषि र कलाकारितालाई एकैसाथ अघि बढाउने सोचमा पुग्नुभयो । सन् २०२० मा सार्वजनिक भएको तीनपाते बोलको गीतले मिलनको कलाकारिता जीवनमा राम्रो सफलता हात पार्‍यो ।

तीनपाते गीतको भिडिओमा गाउँ, त्यहाँका मान्छेको जीवनयापनको शैली, कृषि क्षेत्र लगायतका विषयवस्तुलाई समेटिएको छ । गाउँले परिवेश र त्यहाँको मौलिकतालाई जस्ताको तस्तै देखाउन लागिपर्नुभएका मिलनले यस भिडिओ मार्फत उक्त इच्छा पूरा गर्नुभयो । “भिडिओका माध्यमबाट आफ्नो परिवेश, आफ्नो ठाउँ, आफ्नो गाउँमा घटिरहने घटनालाई किन नदेखाउने भन्ने भएपछि त्यो भिडिओको कन्सेप्ट बन्यो र धेरैले रुचाइदिनु पनि भयो,” मिलन सन्तुष्ट देखिनुहुन्छ ।

आफूले अभिनय गरेको म्युजिक भिडिओले यति धेरै सफलता दिन्छ भन्ने मिलनलाई लागेको थिएन । तीनपातेले राम्रो भ्यूज पाएपछि उहाँले लजाएर, ख्याल राख है जस्ता गीतमा अभिनय गर्नुभयो । यी गीतबाट पनि उहाँले राम्रै सफलता पाउनुभयो ।

कलाकारिता र कृषि एउटै लाग्छ मिलनलाई । कृषिमा पनि आफू कलाकार सरह नै मज्जाले जमेको उहाँ बताउनुहुन्छ । “कर्म एउटै हो तर अभिनय र भूमिका फरक फरक हो,” उहाँ भन्नुहुन्छ ।

उसो त उहाँलाई कलाकारिता एउटा सोख मात्र हो । कलाकारिता व्यावसायिक नभइ आफ्नो संस्कृति, रहनसहन, मौलिकता र देशलाई चिनाउने माध्यम मात्र भएको उहाँ बताउनुहुन्छ । कलाकारितालाई कमाइखाने भाँडो बनाउने सोच आफ्नो नरहेको र व्यावसायिक रूपमा स्थापित चाहिं कृषिमै हुने उहाँ बताउनुहुन्छ ।

राम्रै छ आम्दानी

छुट्टाछुट्टै कम्पनी र फार्म भएकाले मासिक तथा वार्षिक आम्दानी पनि छुट्टाछुट्टै हुने गरेको छ । कारोबारको हिसाबले वार्षिक १२ देखि १५ करोडको कारोबार हुन्छ भने मासिक नाफा डेढदेखि दुई लाखसम्म हुने गरेको उहाँ बताउनुहुन्छ ।

भौगोलिक दृष्टिकोण र हावापानीका हिसाबले उर्वर क्षेत्र मानिन्छ इलाम । इलामको कृषि क्षेत्रमा अवसर धेरै रहेको मिलनलाई लाग्छ । “पानी समयमा पर्ने र माटो मलिलो भएकाले कृषि क्षेत्रबाट राम्रो आम्दानी गर्न सकिन्छ । वातावरण अनुकूल हुनु नै इलाम कृषिका लागि प्लस प्वाइन्ट हो,” उहाँ बताउनुहुन्छ ।

युवाहरूमा कृषिप्रति खासै चासो नहुनु इलामको मात्र नभइ देशैभरिको समस्याको रूपमा रहेको मिलनको बुझाइ छ । साथै, यस क्षेत्रमा केही गर्छु भनेर लागेका युवालाई पनि सहज तरिकाले ऋण नपाउने जस्ता समस्या मुख्य चुनौतीका रूपमा रहेको उहाँलाई लाग्छ । “धितो राखेर ऋण लिन खोज्दा बाटोले छोएको जग्गा चाहिन्छ, त्यो अवस्था सबैको नहुन सक्छ । साथै, कतिपय ठाउँमा यातायात पुगेको छैन । यो पनि कृषि कर्मका लागि बाधक नै हो,” उहाँ भन्नुहुन्छ ।

यद्यपि पछिल्लो समय युवाहरूमा व्यवसाय गर्न खोज्नेको संख्या बढ्दै गएको छ । तर, छिटो आम्दानी लिने चाहनाले गर्दा विचलित हुने जस्ता समस्या छन् । छोटो समयमा धेरै फाइदा खोज्दा व्यवसायमै विचलन आउने मिलन बताउनुहुन्छ ।

गीताञ्जली दाहाल

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शनिबार, १४ जेठ, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved