• बिहीबार, २७ बैशाख, २०८१
  • ०२:१०:४६
  • नेपालीको अभिमत

स्थानीय निर्वाचन-२०७९

स्थानीय तह निर्वाचन : देशका विभिन्न ठाँउमा तनाव, प्रहरीद्वारा हवाइ फायर

नेपालमत

शुक्रबार, ३० बैशाख, २०७९

काठमाडौं - देशभर उल्लासका साथ मतदान भैरहँदा कैयौं ठाउँमा झडप भएका छन् भने कैयौं ठाउँमा मतदान सुरु नै हुन सकेको छैन । 

नेपालमतलाई प्राप्त जानकारी अनुसार रामेछापको दुई मतदान केन्द्रमा हवाई फायर भएको छ ।सुनापति र खाडाँदेवी गाउँपालिकाको मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको बताइएको छ ।

सुनापतिको वडा नं. २ मा मतदान केन्द्र बाहिर एउटा पक्षले अर्को पक्षकालाई कुटपिट गरेपछितनाव सुरु भएको थियो । 

यस्तै हुम्लाको अदानचुली मतदान केन्द्रमा ढुंगा हानाहान भएको छ । सो क्रममा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ ।

श्रीमतीको नाममा एक व्यक्तिले भोट हाल्न पाउनु पर्ने अडान लिएपछि अदानचुली गाउँपालिका(४ मा रहेको मतदान केन्द्रमा विवाद भएको थियो ।

यता काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएको छ । एक जनाको भोट परिवारभित्रकै अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

यस्तै सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ ।मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो । 

यता बाजुराको बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रमा तनाव भएपछि हवाई फायर भएको छ ।दुई पक्षबीच सामान्य विवादमा ढुंगा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको छ । 

यस्तै दैलेखको ठाटीकाँध गाउँपालिकाको एक केन्द्रमा मतदानका क्रममा झडप भएको छ । ठाटीकाँध गाउँपालिका-६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा दुई पक्षबीच झप भएको हो । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

यता सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा गोली चलेको छ । मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेपछि ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाईफायर गरेको हो ।

गोली चलेपछि उक्त मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको  छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अहिले स्थिति सामान्य हुँदै गएको र केही बेरपछि मतदान प्रक्रिया सुरु हुने जनाएको छ । 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, ३० बैशाख, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved