उमेर ढल्क्यो, अनुहार चाउरियो, टाढा देख्न हम्मे पर्छ । तर, काम गर्ने जाँगर भने अझै मरेको छैन । कुनै खाली ठाउँ देख्योे कि यहाँ बगैंचा निर्माण गर्न पाए कस्तो हुँदो हो भन्ने लाग्छ । सडक छेउछाउ थुपारिएको फाहोर देख्दा बरु यहाँ सानो वाटिका बनाउन पाए हुने भन्ने लाग्छ । उजाड ठाउँहरू देख्दा मन बेचैन हुन्छ ।
यो अनुभूति बगैंचा बाजेको हो । बगैंचा बाजे अर्थात् भरतकुमार भट्टराई । भट्टराईले बगैंचासम्बन्धी काम गर्न थालेको ३४ वर्ष भयो । बगैंचा कस्तो बनाउने, कस्तो कटिङ गर्ने, के–कस्ता फूल–बिरुवा राख्ने भन्नेबारे उहाँको विशेष दखल छ । यही दक्षताले खारिनुभएका उहाँलाई धेरैले ‘बगैंचा बाजे’ भनेर पनि चिन्छन् ।
शिरमा ढाकाटोपी, निधारमा चन्दन । बुधबार पंक्तिकारसँग भेट हुँदा ७२ वर्षीय बगैंचा बाजेको जोश–जाँगर उत्तिकै देखिन्थ्यो । “मिहिनेत र कर्मले आफ्नो भाग्य कस्तो बनाउने भन्ने कुरा आफैं निर्धारण गर्छ,” निकै फुर्तिला देखिनुहुने बाजेले कुराको शुरूआत यसरी गर्नुभएको थियो । आफ्नो सम्पूर्ण जीवन कृषि कर्ममा खर्चनुभएका बाजेसँग हामीले जवानीदेखि बुढेसकालसम्मका संघर्षका कथा खोतल्ने प्रयास गर्यौं ।
घर नुवाकोटको चौघडा हो । त्यहाँबाट बसाइँ सरी काठमाडौं आएको २४ वर्ष भयो । अहिले सिनामंगलमा रहेको एक उद्यानमा काम गर्नुहुन्छ । साधारण परिवारमा जन्मनुभएका उहाँ सात भाइबहिनीमध्ये सबैभन्दा जेठा हुनुहुन्छ । परिवार पालिनै धौ हुने आर्थिक अवस्थाका कारण विद्यालय पढ्न पाउनुभएन । तर, उहाँले पुराणबाट भने एसएलसी पास गर्नुभएको छ ।
पहिल्यैदेखि गर्दै आएको कामलाई फरक तरिकाले गर्दा उत्पादनमा वृद्धि हुन थाल्यो । तरकारी टन्न फल्न थालेपछि बजारमा लगेर बेच्न थाल्नुभयो । जर्सी गाईको दुध पनि बजारमा लगेर बेच्न थाल्नुभयो । यसपछि भरतकुमारलाई नयाँ जीवन पाए जस्तो भयो ।
उहाँका आमाबुवा खेतीपातीको काम गर्नुहुन्थ्यो । दिनभर काम गर्दा साँझ पेट भर्न मुश्किल पर्थ्यो । जीवनको ४० वर्षसम्म यस्तै गरिबीमा दिन बिताउनुभयो । ती दिन सम्झँदै उहाँ भन्नुहुन्छ, “दशैं–तिहार आउँदो छोरछोरीलाई कसरी लुगाकपडा किन्नु, कसरी खानेकुरा किन्नु भन्ने पीर हुन्थ्यो । गाउँकाले पाँच रुपैयाँ पत्याउँदैनथिए । निकै दुःख थियो । यो क्षेत्रमा लागेपछि चाहिं मेरो भग्य नै बदलियो ।” भरत दम्पतीका चार छोरी एक छोरा छन् । उनीहरू सबैको घरजम भइसक्यो ।
नुवाकोटमा छँदा भरतको घर नजिकै गाविस कार्यालय थियो । वरिपरि विभिन्न कार्यालय हुँदा हाकिमहरूसँग भेट भइरहन्थ्यो । गाउँमा जेटीजेड भन्ने संस्थाले कृषिको बारेमा काम गरिरहेको थियो । त्यो संस्थाले कसरी आधुनिक तरिकाले कृषि खेती गर्ने भन्नेबारे तालिम दिने भयो । उहाँलाई हाकिमले उक्त तालिम लिन सुझाए । त्यो तालिम लिएपछि आफूले गरिरहेको कृषि कर्म र अहिले पालिरहेका गाईभैंसीलाई कसरी व्यावसायिक रूप दिन सकिन्छ भन्ने कुराबारे थाहा भयो । त्यसपछि उहाँले घर नजिकैको सानो बारीमा नर्सरी शुरू गर्नुभयो । नर्सरीमा फलफूलका लगायत विभिन्न बोटबिरुवा उमार्नुभयो । घरमा पालिरहेका गाईगोरुलाई बेचेर जर्सी गाई ल्याउनुभयो । बारीमा तरकारी लगाउनुभयो । घरामा मौरी राख्नुभयो ।
पहिल्यैदेखि गर्दै आएको कामलाई फरक तरिकाले गर्दा उत्पादनमा वृद्धि हुन थाल्यो । तरकारी टन्न फल्न थालेपछि बजारमा लगेर बेच्न थाल्नुभयो । जर्सी गाईको दुध पनि बजारमा लगेर बेच्न थाल्नुभयो । यसपछि उहाँलाई नयाँ जीवन पाए जस्तो भयो ।
कृषि व्यवसायबाट राम्रो हुन थालेपछि गाउँलेहरूको जग्गा भाडामा लिएर काम गर्न थाल्नुभयो । “त्यसपछि त म आफैंलाई अचम्म लाग्ने गरी मेरो दैनिकी फेरियो । पहिले त्यही खेतबारीमा काम गर्दा पेटभरि खान पुग्दैनथ्यो । पछि त्यहीं गरेकोले अरूलाई समेत खुवाउने बनायो,” भट्टराई रोमाञ्चित बन्नुहुन्छ । उहाँले घाँस खेती, नर्सरी, बगैंचा, पशुपालन सबै गर्नुभयो ।
भरतकुमारले कृषिमा राम्रो गर्न थालेपछि जिल्ला कृषि विकास कार्यालयले उहाँको कामको प्रशंसा गर्दै सहयोग गर्यो । अनि, कृषि सम्बन्धी थप तालिम पनि लिनुभयो । उहाँले फलाएका मेवा, भुईंकटहरले जिल्लामा मात्र होइन, देशभर चर्चा पायो । कृषिमा राम्रो गर्न थालेपछि उहाँलाई जिल्लाकै उत्कृष्ट कृषकका रूपमा लिइयो । कृषि मन्त्रालयबाट मन्त्री तथा सचिव सहितको टोली उहाँले गरेको काम हेर्न नुवाकोट पुग्यो ।
भरतकुमारले फलाएका मेवा, भुईंकटहरले जिल्लामा मात्र होइन, देशभर चर्चा पायो । कृषिमा राम्रो गर्न थालेपछि उहाँलाई जिल्लाकै उत्कृष्ट कृषकका रूपमा लिइयो । कृषि मन्त्रालयबाट मन्त्री तथा सचिव सहितको टोली उहाँले गरेको काम हेर्न नुवाकोट पुग्यो ।
प्रतिफल राम्रो हुँदै गएपछि भरतकुमारले २०४५ सालमा कृषिलाई व्यसायका रूपमा अगाडि बढाउनुभयो । गाउँलेले हेर्ने नजर पनि फेरियो । “पहिले पाँच रुपैयाँ नपत्याउनेहरू पछि मेरै बारीको तरकारी दुध किन्न थाले,” ती दिन सम्झँदै उहाँ मुस्कुराउनुहुन्छ ।
उत्पादन प्रशस्त हुन थालेपछि बजारको समस्या भयो । बजार नपाएर तरकारी सड्न थाल्यो । यसपछि उहाँ कृषि–भ्रमणमा धेरै जिल्ला पुग्नुभयो । त्यति वेलासम्म उहाँ राम्रो किसानका रूपमा छाइसक्नुभएको थियो ।
काठमाडौं–यात्रा
कुरा २०५५ सालतिरको हो । कृषि कर्ममा राम्रो गरिरहनुभएका भरतलाई काठमाडौंको दुगड कम्पनीले बोलायो । बालाजु, नयाँ बसपार्कमा रहेको आठ रोपनी खाली जग्गामा कृषि खेती गर्ने जिम्मा दियो । उहाँले आफ्नो सीपलाई भरपुर प्रयोग गर्नुभयो । राम्रै भइरहेको थियो तर चार वर्षपछि कम्पनीले उक्त जग्गामा काम गर्न रोक लगायो । छेउछाउको दुर्ई रोपनी जग्गामा उहाँलाई बस्न र काम गर्न दियो । त्यही जग्गामा उहाँकी श्रीमतीले क्यान्टिन सञ्चालन गर्नुभयो भने उहाँले सानो नर्सरी खोल्नुभयो ।
दुवै जनाको व्यवसाय राम्रो चल्यो । उहाँहरूले घडेरी किनेर घर पनि बनाउनुभयो । पछि त्यही उद्योगले मिनभवनमा एउटा वाटिका बनाउने काम दियो । त्यहाँ पनि राम्रो काम भयो । पछि बाटो बिस्तार गर्ने क्रममा त्यो वाटिका गयो । त्यसपछि उहाँलाई भक्तपुरको दरबार स्क्वायरमा रहेको २० रोपनी जग्गामा बगैंचा बनाउन भनेर बोलाइयो । “ठूलो गार्डेन, पार्क, नर्सरी बनाउन भनेर बोलायो तर काम भएन । त्यसपछि त्यहाँबाट फर्केर सिनामंगल आएँ । अहिले सिनामंगलको पञ्चकुमारी पुस्तक वाटिकामा काम गरिरहेको छु,” भट्टराई भन्नुहुन्छ ।
उहाँ यस वाटिकामा काम गर्न थालेको १० वर्ष भयो । यहाँ आलंकारिक बिरुवा, फूलका बिरुवा बनाउने लगायत नर्सरीको काम गर्नुहुन्छ । उहाँलाई त्यहाँभित्रै खाने–बस्ने व्यवस्था छ । “मलाई काम गर्न रहर लाग्छ । अहिले पनि नर्सरी सञ्चालन गरेको छु । मिहिनेत ग¥यो भने कृषिका हरेक व्यवसायमा पैसैपैसा छ,” उहाँ भन्नुहुन्छ ।
उत्पादन प्रशस्त हुन थालेपछि बजारको समस्या भयो । बजार नपाएर तरकारी सड्न थाल्यो । यसपछि उहाँ कृषि–भ्रमणमा धेरै जिल्ला पुग्नुभयो । त्यति वेलासम्म उहाँ राम्रो किसानका रूपमा छाइसक्नुभएको थियो ।
७२ वर्षका बगैंचा बाजेलाई यसै गरी काम गर्दागर्दै सासले छोडोस् भन्ने छ । यो उमेरसम्म बिरामी भएर अस्पताल गएको थाहा छैन । उहाँ भन्नुहुन्छ, “वातावरण हरियाली, सफा हुनुपर्यो । कुनै चिन्ता नलिई आफ्नो कर्ममा व्यस्त रह्यो भने हतपत रोग लाग्दैन । अहिले पनि उहाँ बिहान पाँच बजे उठेर आफ्नो कर्ममा लाग्नुहुन्छ ।
“पहिले गाउँमा हुँदा बिहान चार बजे उठेर भकारो सोर्ने, गाईवस्तुलाई घाँस कुँडो बनाउने, भैंसी दोएर दुध बजारमा लगेर बेच्थें । अहिले त्यति त गर्नुपर्दैन तर पनि म काममै व्यस्त हुन्छु,” उहाँ बताउनुहुन्छ ।
सुख र दुःखसँगै जीवनका सात दशक काट्नुभएका भरतकुमार कर्ममा विश्वास गर्नुहुन्छ । उहाँ जिन्दगीलाई एक संघर्षको यात्रा बताउनुहुन्छ । अहिले पनि कतिपय युवा बेकारमा हात हल्लाउँदै हिंडिरहेको, बुढापाकाहरू पार्टी/चौतारामा बसिरहेको देख्दा उहाँलाई नरमाइलो लाग्छ । “तपाईं आफू जति कर्म गर्नुहुन्छ, मिहिनेत गर्नुहुन्छ उति नै फल पाउनुहुन्छ । काम सानो–ठूलो नभनी गर्दा हरेक व्यवसायले नयाँ जीवन दिन्छ,” उहाँ भन्नुहुन्छ, “मैले पनि मिहिनेत नगरेको भए नुवाकोटको एउटा गाउँमा सीमित हुन्थें होला । मिहिनेत गरें त्यसैले त अहिले सबैले बगैंचा बाजे भनेर चिन्नुहुन्छ । त्यसैले जीवनमा कर्म गर्नुपर्छ ।”
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
गोरखाको सहिद लखन गाउँपालिकाका महिला सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिन थालेका छन्। विभिन्न सङ्घसंस्था तथा स्थानीय पालिका र वडामार्फत प्रदान गरिँदै आएको सीपमूलक तालिम लिएर...
काठमाडौं - एकाउन्टविलिटी ल्याब नेपालले पाँच जना 'इन्टेग्रिटी आइकन'को नाम सार्वजनिक गरेको छ । विगत दश वर्षदेखि उत्कृष्ट सेवादिने कर्मचारीलाई खोजेर ल्याबले इन्टेग्रिटी आइकन मार्फत् सम्मानित गर्दै...
नेपालगञ्ज – लोकप्रिय स्रष्टा श्यामानन्द सिंह ठकुरी अहिले क्यान्सर रोगसँग जुधिरहनु भएको छ । ६९ वर्षिय वरिष्ठ कलाकार सिंहको पेटको आन्द्रामा क्यान्सर देखिएपछि एक महिनादेखि...
म्याग्दी- रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ । विगतमा...
बझाङ- बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ...