• मंगलबार, ४ बैशाख, २०८१
  • २३:१५:१८
  • नेपालीको अभिमत

फिचर

महिला उम्मेदवारलाई भान्छाबाट निस्कनै गाह्रो !

इन्द्रसरा खड्का

सोमबार, १९ बैशाख, २०७९

रका महत्त्वपूर्ण काममध्ये हामीले देख्दै, गर्दै र भोग्दै आएको एउटा काम हो– भान्छा । र, यो भान्छाको कामलाई समाजले परापूर्वकालदेखि महिलाको काँधमा सुम्पिदिएको छ । कुनै पुरुषले घरमा महिला हुँदाहुँदै (पकाउन–तुल्याउन नमिल्ने बाहेक) भान्छाको काम गरेमा खिसी टिउरी गर्ने समाज अझै कायमै छ । यद्यपि; पहिलेभन्दा अहिले यो परिस्थितिमा धेरै सुधार हुँदै गएको छ । तैपनि, पूर्ण रूपमा पितृसत्तात्मक सोच बदलिएको छैन ।

देश अहिले चुनावमय छ । चुनाव चिन्ह हातमा पाइसकेका विभिन्न पार्टीका उम्मेदवारदेखि स्वतन्त्र उम्मेदवारहरू आ–आफ्नो पक्षमा भोट माग्नमा व्यस्त छन् । गाउँ–टोल र घर–घरमा मात्र होइन, किसानहरूले काम गरिरहेको बारीमै पुगेर पनि उम्मेदवारहरूले भोट मागिरहेका भेटिन्छन् । यसरी भोट माग्नेमा ५५ हजार ६ सय २३ जना महिला उम्मेदवार छन् । तर, यसरी भोट माग्न जान पनि उनीहरूलाई घरको कामले बाँध्न खोज्छ । अर्थात्, उनीहरू पुरुष जत्तिकै स्वतन्त्र रूपमा हिंड्न नसकिरहेको अवस्था छ ।

एउटा पुरुष उम्मेदवार जो बिहान सबेरै घरबाट निस्कन्छ र साँझ घर फर्कन्छ वा घर फर्कनु नै पर्छ भन्ने अनिवार्य हुँदैन । तर, त्यही ठाउँमा महिला उम्मेदवारले बाहिर निस्कनुअघि भान्छाको कामदेखि घरभित्रको काम सक्नुपर्छ । अझै कुनै ठाउँमा कार्यक्रमको समय लम्बियो भने कार्यक्रम छोडेर घर फर्कनुपर्छ ।

बाँकेको बैजनाथ गाउँपालिका–५ मा नेकपा (एमाले)का तर्फबाट दलित महिला सदस्यकी उम्मेदवार पुष्पा नेपाली बिहान चार बजे उठ्नुहुन्छ । अरू वेला अलि ढिलो उठ्ने उहाँ चुनाव लागिसकेपछि भने चारै बजे उठ्न थाल्नुभएको हो । दिउँसो चुनावी कार्यक्रममा जानुपर्दा बिहान सबै काम गरिसक्नुपर्ने भएकाले पहिलेको भन्दा छिटो उठ्ने गरेको उहाँ बताउनुहुन्छ । “चुनाव लागेदेखि मलाई भ्याइनभ्याइ छ । बाख्रा, कुखुरा, खरायो पालेकी छु, मान्छेभन्दा पहिले उनीहरूको दानापानीको व्यवस्था गर्नुपर्छ । एकातिर भोट माग्न जानुपर्ने, अर्कोतिर घरको कामले थिच्ने ! हामी महिलालाई आनन्दले हिंड्न सक्ने अवस्था छैन,” नेपालमतसँग कुरा गर्दै नेपाली भन्नुहुन्छ ।

पुष्पा नेपाली

बाजुराको विकट ठाउँमा रहेको हिमाली गाउँपालिकामा नेकपा एमालेकै तर्फबाट राजकला सार्की उपाध्यक्षमा उठ्नुभएको छ । उहाँ घर छोडेर प्रचार–प्रसारमा लागेको तीन दिन भयो । साविकको बिच्छया, रुगिन, बांधु गाविस मिलाएर बनेको हिमाली गाउँपालिकाका सबै टोलमा पुग्न १२/१३ दिन भन्दा बढी लाग्छ । तीन दिन पहिले घरबाट निस्कनुभएकी उहाँको घर फर्किने योजना २७/२८ गतेको छ । एक वडाबाट अर्को वडामा जान दिनभरि लाग्छ तसर्थ दिउँसो कार्यक्रम गरी साँझ घर फर्कन सम्भव छैन । राजकलाको घरमा ९ वर्षकी छोरी, ७ वर्षको छोरा, श्रीमान् र ससुरा हुनुहुन्छ । उहाँ घरको जिम्मा श्रीमान्‌लाई लगाएर चुनावी प्रचारमा लाग्नुभएको छ । “बारीमा गहुँ पाकेको छ । छोराछोरी सानै छन् । श्रीमान्‌ले म छु, सबै गर्छु त भन्नुभएको छ तर कहिल्यै नगरेको मान्छेले कसरी सम्हाल्नुहुन्छ भन्ने पीर लागेको छ,” राजकलालाई भोट माग्न जाँदा पनि उहाँलाई घरको चिन्ता छ ।

राजकला सार्की

लामो समयदेखि सामाजिक कुरीति विरुद्ध आवाज उठाउँदै आउनुभएकी जुम्लाको तातोपानी गाउँपालिकाकी नारायणी चौलागाईं यस्तै सोचलाई परिवर्तन गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ । नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्षमा उठ्नुभएकी उहाँ भन्नुहुन्छ, “महिलालाई चुलोचौकोमा मात्र सीमित पार्नुपर्छ भन्ने सोच जुम्लामा अझ बढी छ । मैले श्रीमान्‌लाई घरको जिम्मा लगाएर बाहिर आए पनि म जस्ता थुप्रै उम्मेदवार दिदीबहिनीलार्ई चुनावी प्रचारमा जानै मुश्किल परेको छ ।” घरभित्रको काम त्यो पनि विशेषगरी भान्छाको काम महिलाले मात्र गर्नुपर्छ भन्ने मान्यता शहरबजारमा भन्दा गाउँघरमा बढी भएको चौलागाईं बताउनुहुन्छ ।

नारायणी चौलागाईं

अहिले विभिन्न पार्टीका चुनावी अभियान हेर्दा प्रचार–प्रसारमा हिंड्नेहरूमा पुरुषको संख्या नै बढी छ । डेढ/दुई सय जनाको जत्थामा महिला बढीमा २०/२५ जना हुन्छन्, त्यसमा पनि धेरै त घरको काम सकेर सहभागी भएका हुन्छन् । चुनाव लागे यता पुरुषलाई दशैं लागे जस्तो भएको छ । उनीहरू पाटी, पौवा, पसलमा बसेर कसले जित्छ, कसले हार्छ भन्ने अड्कलबाजी गर्दै गफ चुटिरहेका हुन्छन्, महिलालाई भने दाउरा, घाँस र घरभित्रको कामले एक छिन आराम गर्ने समय पाउन पनि गाह्रो हुन्छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कूल एक लाख ५३ हजार २२० जनाको उम्मेदवारी परेकोमा ८ हजार जनाले नाम फिर्ता लिएका छन् । ७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र ६ हजार ७४३ वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि वैशाख ३० गते निर्वाचन हुँदैछ ।

महिलालाई घरै पासो

चुनावको वेला मात्र होइन कुनै महिला सरकारी कर्मचारी होस् वा कुनै निजी क्षेत्रमा होस् उसले चटक्क घर छोडेर बाहिर जान मिल्ने वातावरण हरहमेशा मिल्दैन । केही दिनको लागि मिलाउनै परे पनि उसको मानसपटलमा घर र घरभित्रको काम रहिरहन्छ । पहिलेदेखि नै घरभित्र खाना पकाउने, खुवाउने, सरसफाइ गर्ने, छोराछोरीको हेरविचार गर्ने काम महिलाको हो भनेर छुट्याइएकाले महिलाहरू विभिन्न बन्धनमा बाँधिनुपरेको महिला अधिकारकर्मीहरू बताउँछन् । 

महिला अधिकारको क्षेत्रमा आवाज उठाउँदै आउनुभएकी अधिकारकर्मी इन्दिरा घले यसलाई समाजले निर्माण गरेको सामाजिक संरचनाको असर भन्नुहुन्छ । “समाजले महिला र पुरुषले गर्ने कामको वर्गीकरण गरिदिएको छ । त्यो सीमाभन्दा महिला बाहिर जाँदा पुरुषलाई मन पर्दैन । जसका कारण महिलाले यस्ता समस्याहरू भोग्नुपर्छ,” उहाँ भन्नुहुन्छ ।

महिलालाई नेता नै नमान्ने समाज
रीता शाह, लेखक तथा महिला अधिकारकर्मी

सबैभन्दा पहिलो कुरा त हाम्रो समाजले महिलालाई नेता नै मान्दैन । त्यो प्रभाव अहिलेको चुनावमै पनि देखिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ४१ प्रतिशत महिला विजयी हुनुभएको थियो तर अहिले हुन लागेको चुनावमा लगभग ४० प्रतिशत मात्र उम्मेदवारी पर्‍यो ।

समाजले महिलालाई नेता नमाने पनि कानूनको बाध्यतामा परी महिलाहरूलाई उठाइन्छ । महिलाहरू जे–जसरी राजनीतिमा आएको भए पनि बच्चा हुर्काउने, घरको रेखदेख गर्ने भूमिकामा भने कमी आएको छैन । अहिले पनि हाम्रो समाजमा बच्चाहरू हुर्काउने, घरपरिवार हेर्ने जिम्मेवारी महिलाको हो भन्ने बुझिन्छ । पुरुषहरू भनेको बाहिरको काम गर्ने, राजनीति गर्ने हो भन्ने मान्यता छ । 

अहिले उम्मेदवार भएका महिलाहरू जस्तासुकै नेता भए पनि, जतिसुकै प्रचार–प्रसार गर्नुपर्ने भए पनि साँझ परेपछि घर फर्किनैपर्ने हुन्छ, जबकि पुरुषहरू रातिसम्म बसे पनि केही फरक पर्दैन । उनीहरूको चरित्रमाथि, उनीहरूको क्रियाकलापमाथि कसैले प्रश्नचिन्ह उठाउँदैन । तर, महिला घर बाहिर गएर राति घर फर्केन भने ऊ माथि उसैको घरबाट पहिलो प्रश्न उठ्छ । यो सब पितृसत्तात्मक सोच र संरचनाको कारणले हो । यो सोच परिवारमा सबैभन्दा बढी हुन्छ, समाजमा हुन्छ र हाम्रो राजनीतिक दलमा पनि छ । जस्तासुकै परिवर्तन भए पनि यो अवस्था अहिलेसम्म परिवर्तन हुन सकेको छैन ।

रीता शाह

सार्वजनिक जीवनमा भए पनि महिलाले घर चाहिं सम्हाल्नै पर्छ भन्ने हुन्छ चाहे काठमाडौंका महिलामा होस् या गाउँघरका महिलामा । उनीहरूलाई दोहोरो–तेहोरो भूमिका निर्वाह गर्नुपर्ने बाध्यता छ । यसलाई हामीले लैंगिक सामाजिकीकरण भन्छौं । यो कुरा घरबाटै लागू गर्नुपर्छ । हामी छोरा र छोरीलाई हुर्काउँदादेखि नै छोरीलाई घरको काम सिकाउने, लजालु हुन सिकाउने र छोरालाई चाहिं बलियो हुनुपर्ने, घर बाहिरको काम गर्नुपर्ने, सम्पत्तिको रेखदेख गर्नुपर्ने गरी हुर्काउँछौं । यो हुर्काइमै समस्या हो ।

दोस्रो कुरा; हाम्रो शिक्षा प्रणाली पनि त्यस्तै खालको छ । विद्यालयमा महिलाहरू शिक्षक हुने र पुरुषहरू डाक्टर, इन्जिनियर हुने भनेर सिकाइन्छ । तेस्रो कुरा चाहिं हाम्रो सामाजिक संरचना हो । जहाँ महिलालाई दोस्रो दर्जामा राखिन्छ । हाम्रो समाजमा रहेका धार्मिक संघसंस्था र तिनीहरूको संस्कृतिले पनि पुरुषलाई नै प्राथमिकतामा राखेको हुन्छ ।

हामी मन्दिर गयौं भने त्यहाँ पुजारी पुरुष र दासी महिला हुन्छन् । गाउँघरमा हुने पञ्चायतमा पनि पुरुष नै हुन्छन् । यसरी महिला र पुरुषले गर्ने काम निर्धारण गरिएको हुन्छ । यसैको कारण यो समस्या भइरहेको छ । यसको लागि सबैभन्दा पहिले घरबाटै सुधार गर्नुपर्छ । हामीले छोराछोरी हुर्काउँदादेखि लिएर विद्यालयमा शिक्षा दिंदा र हरेक सामाजिक कुराहरूमा परिवर्तन गर्न सक्यौं भने मात्र यस्तो प्रवृत्तिको अन्त्य गर्न सकिन्छ ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

सोमबार, १९ बैशाख, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved