• बुधबार, १२ बैशाख, २०८१
  • १५:३३:०२
  • नेपालीको अभिमत

व्यक्ति-कथा

‘...अनि अन्याय विरुद्ध लड्ने अठोट गरें’

इन्द्रसरा खड्का

आइतबार, ४ बैशाख, २०७९

माजमा भइरहेको हिंसा, विभेद, अन्याय विरुद्ध सामान्य नागरिकले तब आवाज उठाउँछ, जब स्वयंले भोग्छ ।  महिला हिंसा तथा मानव बेचबिखन विरुद्ध आवाज उठाइरहनुभएकी अधिकारर्मी तथा अभियन्ता इन्दिरा घलेको कथा पनि यस्तै छ । 

करिब ३३ वर्षअघि इन्दिराकी दिदीको हत्या भयो तर आत्महत्या भनियो । दिदी हराएको तीन दिनपछि एउटा रुखमा झुन्डिएको अवस्थामा शव फेला पर्‍यो । घटनाको प्रकृति हेर्दा झुन्डिएको नभई झुन्ड्याइएको प्रष्ट देखिन्थ्यो; शरीरभरि निलडाम थिए, घुँडाले भुईंमा छोएको थियो । इन्दिराले यो आत्महत्या नभई हत्या हो भनेर आवाज उठाउनुभयो तर उहाँको कुराको सुनुवाइ भएन । अन्यायका विरुद्ध आवाज उठाउँदा न प्रहरी न अस्पताल न त समाजले नै साथ दियो । यसैले; हिजोआज उहाँ अन्यायका विरुद्ध आवाज उठाउँदै समाज सुधारको अभियानमा होमिनुभएको छ ।

३३ वर्षअघिको उक्त घटनामा पोष्टमार्टम रिपोर्टले आत्महत्या गरेको देखायो, प्रहरीले त्यही रिपोर्टलाई आधार मानी आत्महत्या भन्यो । १७ वर्षकी एउटी किशोरीले विरोध भन्दा बढी के नै गर्न सक्थी ! कसैले कुरा नसुन्दा दिदीको हत्या आत्महत्या कहलियो । बरु समाज र दिदीको घरकाले उल्टै चरित्रहत्या गर्न भ्याए– परपुरुषसँग सल्किएकाले बदनाम हुने डरले झुन्डिएर मरी ।

धनकुटाबाट काठमाडौं आउन त्यो वेला तीन दिन लाग्थ्यो । पहिलो दिन धरान पुगिन्थ्यो, अर्को दिन वीरगञ्ज वा जनकपुरमा बास हुन्थ्यो, अनि तेस्रो दिन मात्र काठमाडौं । धरान–काठमाडौं सिधा यातायात सम्पर्क थिएन ।

दिदीको हत्याको पीडामाथि झन् यस्तो आरोप एउटी बहिनीलाई कसरी सह्य हुन सकोस् ! यो घटनाले इन्दिरालाई अन्याय विरुद्ध सशक्त आवाज उठाउनुपर्छ भन्ने लाग्यो । उहाँले भोलिपल्टै गाउँका दिदीबहिनी जम्मा पारेर समूह बनाउनुभयो । समूहमा आबद्ध महिलाहरूलाई हिंसाको बारेमा जानकारी दिन थाल्नुभयो । हिंसा हुँदा सहेर नबस्न चेतना दिन थाल्नुभयो । “समाज र प्रशासनबाट पाएको अन्यायले मभित्र आगो दन्किसकेको थियो । मैले गर्न सक्ने भनेकै यही थियो । महिलाको चेतनास्तर उकास्न सकेमा मात्र यस्ता हिंसाविरुद्ध लड्न सकिन्छ भन्नेमा दृढ थिएँ । यसरी १७ वर्षको उमेरदेखि नै समाज सुधार अभियानमा होमिएँ,” इन्दिराले नेपालमतसँग भन्नुभयो ।

को हुन् इन्दिरा ?

इन्दिरा घले अन्याय र महिला हिंसा विरुद्ध लामो समयदेखि आवाज उठाउँदै आउनुभएकी अभियन्ता एवं महिला अधिकारकर्मी हुनुहुन्छ । घर धनकुटा हो । परिवर्तनका लागि सहकार्य नेपाल नामक संस्थाको कार्यकारी निर्देशक हुनुहुन्छ । उहाँलाई अन्याय विरुद्ध आवाज उठाउन घच्घच्याउने अरू घटना पनि छन् । १४ वर्षको उमेरमा बिहे गरेर १५ वर्षको उमेरदेखि बच्चा जन्माउन थालेकी आमाको अवस्था; ९ वर्षमा बिहे गरेर १४ वर्षमा बालविधवा बनेकी शिक्षिका स्व. तुलजा शर्माका कुरा तथा समाजमा भएका यस्तै अन्य घटनाले उहाँलाई अधिकारका बारेमा बोल्न प्रेरित ग‍र्‍यो । इन्दिरा भन्नुहुन्छ, “अहिले न्याय प्रणाली फराकिलो हुँदै गयो, मानिसहरूले पनि आवाज उठाउन थाले । त्यो वेला यस्तो थिएन । दिदीको हत्यालाई आत्महत्या प्रमाणित गरिदिंदा पनि हामी निरीह भएर बस्नुपर्‍यो । यसपछि पीडालाई शक्तिमा बदल्नुपर्छ भन्ने लाग्यो अनि विभेद विरुद्ध बोल्ने आँट बढ्यो ।” इन्दिरा थप्नुहुन्छ, “हत्या भएर आत्महत्या भनिएकी मेरी दिदी मात्र होइन, कलिलो उमेरमा बिहे गरेर बच्चा जन्माउने एउटी आमा मात्र होइन, समाजका यस्तै धेरै दिदी, आमाहरूका लागि केही गर्नुपर्छ भन्ने लागेर यो क्षेत्रमा लागेकी हुँ ।”

नौ वर्षको उमेर काठमाडौं–धनकुटा एक्लै यात्रा

इन्दिराको घर धनकुटा भए पनि सानैदेखि काठमाडौं बस्नुभयो । ७ वर्षको हुँदा पूर्वाञ्चल विकास क्षेत्रबाट छात्रवृत्तिमा छानिनुभयो र काठमाडौंमा पढ्ने अवसर मिल्यो । दुई दिदी, दुई बहिनी, एक दाइ र एक भाइमध्येकी उहाँ साइली हुनुहुन्छ । काठमाडौं आएर उहाँले महेन्द्र आदर्श विद्याश्रममा पढ्नुभयो । होस्टेलमा बसेर पढ्दा स्वर्गीय तुलजा शर्मा शिक्षक हुनुहुन्थ्यो । उहाँले महिला सक्षम हुनुपर्छ, आवाज उठाउने हुनुपर्छ भन्दै सिकाउनुहुन्थ्यो । आमाबुवा अशिक्षित भएर दुःख पाएकोले छोराछोरीलाई पढाउनुपर्छ भन्नुहुन्थ्यो । इन्दिराले छात्रवृत्तिमै आईएसईसम्म पढ्नुभयो । त्यसपछि धनकुटा गएर शिक्षण पेशामा आबद्ध हुनुभयो । त्यही वेला दिदीको घटना भएको थियो ।

इन्दिरा घले

धनकुटाबाट काठमाडौं आउन त्यो वेला तीन दिन लाग्थ्यो । पहिलो दिन धरान पुगिन्थ्यो, अर्को दिन वीरगञ्ज वा जनकपुरमा बास हुन्थ्यो, अनि तेस्रो दिन मात्र काठमाडौं । धरान–काठमाडौं सिधा यातायात सम्पर्क थिएन । इन्दिरालाई पहिलो दुई वर्षसम्म काठमाडौं पुर्‍याउने–ल्याउने काम बुवाले गर्नुभयो । त्यसपछि भने नौ वर्षको उमेरदेखि नै एक्लै यात्रा गर्न थाल्नुभयो । “म सानैदेखि निडर र जिद्धी स्वभावकी हुँ । आमाले हुँदैन भन्दा पनि एक्लै काठमाडौं–धनकुटा नौ वर्षको उमेरदेखि नै यात्रा गर्थें,” इन्दिरा भन्नुहुन्छ ।

अनि, समाजसेवामा समर्पित

गाउँमा भएका अनेक घटनाले इन्दिरालाई धनकुटा गएको तीन वर्षपछि फेरि काठमाडौं फर्कायो । काठमाडौं आएर साथीहरूसँग मिली जोखिममा परेका, आर्थिक अवस्था न्यून भएका बालिकालाई शिक्षा दिन थाल्नुभयो । एउटा कोठाबाट शुरू गरिएकोमा विस्तारै बालिकाको संख्या बढ्दै गयो । त्यसपछि परिवार भएका बालिकालाई परिवारसँगै राखेर आर्थिक सहयोग गर्ने र अभिभावक नभएकालाई होस्टेलमा राखेर पढाउने गर्नुभयो । २०५२ सालदेखि शुरू गरेको यो अभियानमा अहिले तीन सय बालिका छन् । समाजमा हुने हत्या, हिंसा, बलात्कार कम गर्न शिक्षाले नै मुख्य भूमका खेल्न सक्ने इन्दिराको विश्वास छ । “जबसम्म समाजमा बालिका, महिला शिक्षित हुँदैनन्, तबसम्म अधिकार र चेतनाको कुरा जति गरे पनि कम नै हुन्छ,” उहाँ भन्नुहुन्छ, “समाजका लागि ठूलो काम गर्न नसके पनि परिवर्तनको झिल्को निकालेको छ भन्ने लागेको छ ।”

पहिले साथीभाइसँग मिलेर काम गर्नुभएकी उहाँसँग अहिले आफ्नै संस्था छ । परिवर्तनका लागि सहकार्य नेपाल नामक संस्थाले महिला सशक्तीकरण, महिला अधिकार र महिला शिक्षाका बारेमा कार्यक्रम गर्दै आएको छ ।

कानून राम्रो, कार्यान्वयन फितलो

इन्दिराको बुझाइमा राज्यले कानून राम्रो बनाएको छ तर कार्यान्वयन भएन । कार्यान्वयन नहुँदा केही नगरेको जस्तो देखियो । आफू जस्ता काम गर्न खोज्नेहरूका लागि कार्यान्वयन प्रभावकारी भइदिए सहज हुने उहाँको धारणा छ । साथै, महिला शिक्षा निःशुल्क र अनिवार्य हुनैपर्ने उहाँ बताउनुहुन्छ । अहिलेको शिक्षा प्रणाली प्रमाणपत्र बुटल्ने माध्यम मात्र बनेको इन्दिरालाई लाग्छ । “व्यावहारिक र प्रयोगात्मक शिक्षा प्रणाली नभएको कारण पनि यो समस्या भइरहेको छ । व्यावहारिक पढाइ हुने हो भने पढ्नेबित्तिकै काम पाइन्छ । आर्थिक रूपमा सवल भयो भने यस्ता घटना हुँदैनन् । त्यसैले, शिक्षा प्रणालीमा सुधार ल्याउनुपर्छ,” उहाँको सुझाव छ ।

उमेरले ५० कट्नुभएकी घलेले विवाह गर्नुभएको छैन । उहाँलाई धेरैले सोध्ने विषय पनि हो यो । बिहे सम्बन्धमा जिज्ञासा राख्नेहरूलाई उहाँ ‘जन्म नदिए पनि कर्म दिएर राखेका धेरै छोरी आफूसँग भएको’ सन्देश दिन चाहनुहुन्छ ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

आइतबार, ४ बैशाख, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved