जंगल गायन थलो, डाँडापाखा र चराचुरुंगी दर्शक/स्रोता । अछामकी निरुता खत्रीको बालापन यसरी नै बित्यो । स्कूल पढ्ने भए पनि महिनामा एक साता मात्र किताबको झोला पिठ्युँमा पथ्र्यो अरू दिन उक्त स्थान डोको–नाम्लोले लिन्थ्यो । यसरी घाँसदाउरा गर्न वनपाखा गरिरहँदा कहिले सुखदुःखका त कहिले मायाप्रेमका गीत गाउँदा मन हलुंगो हुन्थ्यो ।
अहिले भने समय फेरिएको छ । गायन थलो जंगलबाट रेकर्डिङ स्टुडियोमा पुगेको छ भने दर्शक/स्रोता पनि चुराचुरुङ्गी होइन मानिस भएका छन् । त्यस्तै; कहिले देशमै हुने मेला महोत्सव त कहिले विदेशका कार्यक्रमले व्यस्तता बढाएको छ । भारत, कतार र दुबइ कार्यक्रमकै लागि गइसक्नुभएको छ । अछामको ढकारी गाउँपालिकाकी यी लोकदोहोरी तथा देउडा गायिकाले संगीतको औपचारिक कक्षाविनै सयौं गीत रेकर्ड गराइसक्नुभएको छ ।
‘माया सल्यान म बस्ने अछाममा, कस्तो माया बस्यो नि अचम्म’ डण्डीराज जोशीको शब्द, टंक तिमिल्सिनाको संगीत तथा टंक र निरुताको आवाज रहेको यही झ्याउरे गीतबाट उहाँको औपचारिक सांगीतिक यात्रा शुरू भएको हो । यो गीत उहाँले २०७३ सालमा गाउनुभएको हो । यसपछि विभिन्न अवसरहरू आउन थाले, अहिलेसम्म देउडा र दोहोरी गीत गरी दुई सय जति गाउनुभएको छ । अझ कतिपय रेकर्ड भएर बजारमा आउने साइत कुरेर बसेका छन् ।
“‘हुर्केको छोरीले घर गरेर खाने हो गाउँठाउँ डुल्दै हिँड्ने होइन ।’ गाउँलेको यस्तो कुरा सुनेर रोकिएको भए आज म एउटी आमा र बुहारीको रूपमा सीमित हुन्थें होला ।”
खासमा निरुताको रुचि कलाकार बन्नमा थिएन । आर्मी, पुलिस वा खेलाडी बन्ने उहाँको सानैदेखिको चाहना थियो । “मेरो इच्छा त कि खेलाडी कि आर्मी बन्ने थियो । त्यो हुन सकिनँ, अनि रेडियोमा बोल्ने इच्छा जाग्यो । मलाई यो क्षेत्रमा लाग्ने आँट बढेकै रेडियोमा काम गर्न थालेपछि हो,” उहाँ भन्नुहुन्छ ।
चार इञ्चले धोका !
विद्यालय पढ्दा छात्रा र छात्रलाई खेलाइने खेल फरक हुन्थे । छात्रहरू फुटबल, भलिबल खेल्दा छात्राहरूलाई चाहिं रमाइलो हुने खालका कार्यक्रममा भुलाइन्थ्यो । निरुता भने त्यो छोडेर केटाहरूले खेल्दै गरेको खेल हेर्न जानुहुन्थ्यो । उहाँ कक्षा ६ मा पढ्दा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भयो । प्रतियोगितामा छात्राहरूले पनि सहभागिता जनाउनुपर्ने भयो । यसपछि भने उहाँले रुचिको खेल खेल्न पाउनुहुने भयो । “पहिले हामीलाई भलिबल खेलेको हेर्न नदिने सर प्रतियोगिता हुने भएपछि भने सिकाउन थाल्नुभयो,” उहाँ भन्नुहुन्छ ।
यसपछि त उहाँले जिल्ला तथा क्षेत्रीयस्तरका खेलमा स्कूलबाट प्रतिनिधित्व गर्ने अवसर पाउनुभयो । विद्यालयस्तरीय तथा जिल्लास्तरीय खेलहरूमा उहाँको टीम धेरै पटक प्रथम भएको थियो । क्षेत्रीयस्तरमा खेलिसकेका राम्रा खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गर्ने क्रममा निरुता छनोट हुनुभयो । तर, उहाँको उचाइले भने धोका दियो । उचाइ नपुगेर राष्ट्रिय टोलीमा नपर्दा निरुतालाई साह्रै दुःख लाग्यो । उहाँ भन्नुहुन्छ, “इच्छा भएर मात्रै पनि हुँदैन रहेछ । खेलाडी बन्न उचाइ, तौल, स्वास्थ्य सबै चाहिंदो रहेछ । उचाइ नपुगेकै कारण राष्ट्रिय स्तरमा पर्न सकिनँ ।”
राष्ट्रिय टीममा प्रवेशको लागि उचाइले साथ नदिएपछि उहाँलाई प्रहरी सेवामा गएर खेलाडी बन्ने इच्छा जाग्यो । उहाँ जस्तै खेल क्षेत्रमा रुचि राख्ने सात जना साथीसहित अर्को वर्ष दिपायलमा प्रहरीको फर्म भर्नुभयो । तर, प्रहरीमा छनोट हुनको लागि पनि उचाइ पुगेन । “मलाई चार इञ्च उचाइले धोका दियो । न खेलाडी बनें, न आर्मी पुलिस नै । उचाइ नपुग्दा मन परेको पेशाबाटै बाहिरिनुपर्यो,” उहाँ भन्नुहुन्छ ।
रेडियो–यात्रा
खेलाडी बन्ने आशा मरिसकेको थियो । निरुतालाई अब रेडियोमा बोल्ने मान्छे बन्न मन लाग्न थाल्यो । उहाँको घरमा कुकुर र रेडियो परिवारको सदस्य जस्तै थिए । कुकुर जहिल्यै पाल्ने र रेडियो कहिल्यै बन्द नहुने ! बिहान ६ बजेदेखि खुलेको रडियो राति ९ बजेपछि मात्र बन्द हुन्थ्यो । रेडियो सुनिरहँदा रेडियोमा बोल्ने मान्छे कस्ता हुन्छन् होला, कसरी बोल्छन् होला, म पनि बोल्न पाए हुने भन्ने लाग्थ्यो ।
यसै क्रममा जिल्लामा पनि एफएमहरू सञ्चालनमा आउन थाले । त्यसपछि उहाँको रुचि झन् बढ्यो । थपिंदै गएका रेडियोले आधारभूत तालिमहरू दिन थाले । उहाँ पनि तालिममा सहभागी हुनुभयो र पछि रेडियो सोसाइटीमा काम गर्न थाल्नुभयो । रेडियोमा काम शुरू गरेको एक वर्षमै उहाँलाई गीत गाउने अवसर मिल्यो । “रेडियोकै कारण सांगीतिक दुनियाँमा प्रवेश गर्न पाएँ । ठ्याक्कै रुचिको क्षेत्रमा प्रवेश नपाउँदा केही दुःख लागे पनि कलाकार हुन पाउँदा भने खुशी नै छु । अब तन, मन र धन दिएर यही क्षेत्रमा लाग्छु,” उहाँ भन्नुहुन्छ ।
अप्ठ्यारा पनि छन् !
अछाम जिल्लाको ग्रामीण समाजले अहिले पनि छोरीलाई गीत गाएको, नाचेको, घर बाहिर गएको मन पराउँदैन । निरुतालाई पनि भलिबल खेल्न, रेडियोमा काम गर्न तथा गीत गाउँदै हिंड्न सहज थिएन । गाउँका मान्छे अनेक कुरा काट्थे । आमाबुवालाई ‘छोरीलाई जहाँ मन लाग्यो त्यतै पठाउने’ भन्दै नानाथरी भन्थे । स्कूल पढ्दा भएको क्षेत्रीयस्तरको भलिबल प्रतियोगितामा भाग लिन जाँदा बुवाआमा पनि रिसाउनुभयो ।
“‘हुर्केको छोरीले घर गरेर खाने हो गाउँठाउँ डुल्दै हिँड्ने होइन ।’ गाउँलेको यस्तो कुरा सुनेर रोकिएको भए आज म एउटी आमा र बुहारीको रूपमा सीमित हुन्थें होला,” उहाँ भन्नुहुन्छ, “तर, मलाई दाइको साथ थियो । उहाँले हरेक कुरामा सहयोग गर्नुभयो । आफू भारत बसेर मलाई पढाउनुभयो । कुनै काम गर्दा ऊर्जा भर्नुभयो ।” उहाँ थप्नुहुन्छ, “दाइको साथ नहुँदो हो त आज मलाई तपाईंहरूले शायदै चिन्नुहुन्थ्यो ।”
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
गोरखाको सहिद लखन गाउँपालिकाका महिला सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिन थालेका छन्। विभिन्न सङ्घसंस्था तथा स्थानीय पालिका र वडामार्फत प्रदान गरिँदै आएको सीपमूलक तालिम लिएर...
काठमाडौं - एकाउन्टविलिटी ल्याब नेपालले पाँच जना 'इन्टेग्रिटी आइकन'को नाम सार्वजनिक गरेको छ । विगत दश वर्षदेखि उत्कृष्ट सेवादिने कर्मचारीलाई खोजेर ल्याबले इन्टेग्रिटी आइकन मार्फत् सम्मानित गर्दै...
नेपालगञ्ज – लोकप्रिय स्रष्टा श्यामानन्द सिंह ठकुरी अहिले क्यान्सर रोगसँग जुधिरहनु भएको छ । ६९ वर्षिय वरिष्ठ कलाकार सिंहको पेटको आन्द्रामा क्यान्सर देखिएपछि एक महिनादेखि...
म्याग्दी- रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ । विगतमा...
बझाङ- बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ...