• मंगलबार, १४ असार, २०७९
  • १७:४३:१९
  • नेपालीको अभिमत

व्यक्ति-कथा

‘आठ हजार मिटर माथिका १४ हिमाल चढेर मात्र यात्रा रोक्नेछु’

इन्द्रसरा खड्का

शनिबार, १९ चैत, २०७८

हिमाल चढ्नुभन्दा पहिले पर्वतारोहीले इच्छापत्रमा हस्ताक्षर गर्नुपर्छ । आरोहणका क्रममा मृत्यु या दुर्घटना भए स्वीकार्य हुनेछ भनेर लेखिएको पत्रमा हस्ताक्षर गर्नु पर्छ । यस्ता पत्रमा हस्ताक्षर गर्न खोज्दा उहाँका हात काँप्छन् । मरियो भने छोराको हालत के होला भन्ने लाग्छ । तर, यो सोचले काँपेको हातलाई रोकेन बरु पटक–पटक अघि बढ्दै गयो । र त अहिले उहाँ ८ हजारभन्दा माथिका चारवटा हिमाल चढिसक्नुभयो । उहाँ अर्थात् ‘आमा आरोही’ शर्मिला ।

शर्मिलाले ६ हजारभन्दा माथिका ८ वटा हिमाल चढिसक्नुभएको छ । अब उहाँको तयारी छ, कञ्चनजंघा हिमालको शिखर चुम्ने । ८ अप्रिलमा कञ्चनजंघा हिमाल चढ्ने योजनामा रहनुभएकी उहाँ अहिले आरोहणका लागि पैसाको जोहो गरिरहनुभएको छ । “तीन वटा पालिकाले सहयोग गर्ने भनेको छ तर त्यति पैसाले मात्र पुग्ने देखिएन । अन्य निकायबाट पनि सहयोग पाउन पाए सजिलो हुन्थ्यो,” मंगलबार अनामनगरमा भेटिनुभएकी शर्मिलाले भन्नुभयो ।

कञ्चनजंघा चढ्नको लागि उहाँले ३५ दिन छुट्याउनुभएको छ । हिमाल चढ्नुमा शर्मिलाकोे ध्येय रहर मात्र नभई महिला सशक्तीकरण र लैंगिक समानताको आवाज उठाउनु पनि हो । घरभित्रैबाट विद्रोह गरी १४ महिनाको दुधे बालक छोडेर हिमालको चुचुरोमा टेकेर महिलामाथि हुने हिंसा विरुद्ध बोल्ने शर्मिला आफूलाई ‘आमा आरोही’ भनेर चिनाउनुहुन्छ । “हिमालमा पुगेर महिला हिंसा र समानतासँगै नेपाललाई पर्यटकीय क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु मेरो उद्देश्य हो,” उहाँ भन्नुहुन्छ ।

शर्मिलाको लक्ष्य आठ हजारमाथिका विश्वका १४ वटा हिमालको आरोहण गर्नु हो । आठ हजारमाथिका विश्वका १४ हिमालमा अहिलेसम्म विश्वका दुई जना महिलाले मात्र पाइला टेकेका छन् । उहाँ भन्नुहुन्छ, “अब तेस्रो महिलाको रूपमा मेरो सहभागिता होस् चाहना छ । ‘स्पोन्सर’ पाइयो भने तीन वर्षभित्र १४ वटै हिमालको आरोहण गरिसक्नेछु ।” 

शर्मिलाको लक्ष्य आठ हजारमाथिका विश्वका १४ वटा हिमालको आरोहण गर्नु हो । जसमध्ये चार वटा सफल भएका छन् । आठ हजारमाथिका विश्वका १४ हिमालमा अहिलेसम्म विश्वका दुई जना महिलाले मात्र पाइला टेकेका छन् ।

१४ वटा हिमाल चढ्ने योजना बनाउनुभएकी यी साहसी महिलाको पूरा नाम शर्मिला लामा हो । घर काभ्रेको रोसी गाउँपालिका ११ मा पर्छ । पहाड चढेर र हिमाल देखेर हुर्केकी शर्मिला घरको जेठी छोरी हुनुहुन्छ । उहाँ सानो हुँदा बुवा टे«किङ गाइडको रूपमा काम गर्नुहुन्थ्यो । पर्यटकसँगै डोल्पा, सोलुखम्बु लगायत विभिन्न ठाउँमा पुगेर फर्किएपछि बुवाले आफू गएको ठाउँको बारेमा सुनाउँदा उहाँलाई त्यो ठाउँमा म पनि पुग्न पाए भन्ने लाग्थ्यो । ठूली हुँदै गएपछि भने बुवासँगै ट्रेकिङमा जान थाल्नुभयो । 

सानैदेखि खेलकुदमा रुचि राख्ने, एडभेञ्चर खेल्न मन पराउने शर्मिलालाई पनि हिमाल चढ्न मन लाग्यो । तर, हिमाल चढ्न मन लागेर मात्र हुँदैन, हिमाल चढ्दा आवश्यक सामानहरू हुनुपर्‍यो, पैसा हुनुपर्‍यो । यति जुटाउन उहाँलाई गाह्रो थियो । पर्यटकहरूसँगै जाँदा मनमा म पनि यसैगरी हिमाल चढ्न पाए हुन्थ्यो भन्ने उहाँलाई लागिरहन्थ्यो ।

हिमाल चढ्दाको पहिलो अनुभव

शर्मिला १८ वर्षको हुनुहुन्थ्यो । उहाँ ट्रेकिङ गाइडको रूपमा रसुवाको गोसाइकुण्ड जानुभएको थियो । त्यो ग्रुपमा मलेशियन बुढाबुढी हिमाल चढ्ने योजनामा थिए । तर, त्यहाँ पुगेपछि मलेशियन महिलाको योजना रद्द भयो । मलेशियनको योजना रद्दसँगै शर्मिलालाई भने मौका जुर्‍यो । उहाँले ती महिलाका सामान लिएर सूर्यपिक हिमाल चढ्नुभयो । पाँच हजार एक सय ४५ उचाइको सूर्यपिक आरोहण गरिसकेपछि उहाँलाई झन् हिम्मत आयो । तर, यो आँट र हिम्मतलाई भने रोक्नुपर्‍यो । २२ वर्षको उमेरमा बिहे भएपछि कामलाई निरन्तरता दिन सक्नुभएन । बिहे गरेको दुई वर्षपछि छोरा जन्मियो ।

खेलकुद मन पराउने, हिमाल चढ्ने सपना देख्ने शर्मिलाको बिहेपछिको जिन्दगी घरभित्रै सीमित रह्यो । यसले उहाँमा छटपटी पैदा भयो । “मलाई घरभित्र बस्दा उकुसमुकुस भयो । म किन घरमा सीमित ? के अब म छोराछोरी जन्माएर घरमै मात्र बस्ने हो ? मैले आफैंलाई प्रश्न गर्न थालें । यस्तै प्रश्नले मलाई छटपटी गरायो । त्यसपछि भने मभित्रको छटपटी क्रोधको रूपमा विस्फोट भयो र फेरि यात्रा शुरू गरें,” शर्मिला भन्नुहुन्छ, “घरमै मात्र बस्दा कता–कता विभेद भएको महसूस हुन्थ्यो । अरूको कमाइमा बस्न गाह्रो हुँदो रहेछ । इच्छा मार्दै बस्नुभन्दा बरु स्वतन्त्र भएर एक्लै बस्न मन लाग्यो ।”

घरबाट विद्रोह गरेर बाहिर निस्कनुभएकी उहाँ फेरि हिमालको यात्रातिर लाग्नुभयो । १४ महिनाको छोरा छोडेर सन् २०१७ मा दोलखाको रामदुङ हिमाल चढ्नुभयो । पाँच हजार नौ सय २५ मिटरको उचाइमा रहेको हिमाल आरोहण गरेपछि सगरमाथा चढ्ने सोच बनाउनुभयो । यसका लागि हिमाल कसरी चढ्ने, हिमाल चढ्दा कस्ता सामग्री आवश्यक पर्छन्, अक्सिजन कम हुँदा के गर्नुपर्छ, कसरी सफल आरोहण गर्नुपर्छ भन्ने विषयमा तालिम लिनुभयो । अनि; सन् २०१८ मा सगरमाथा आरोहणका लागि जानुभयो तर ८ हजार ७ सय मिटरभन्दा माथि उक्लिन सक्नुभएन ।

यतिले उहाँको हिम्मत रोकिने कुरै भएन । फेरि तालिम लिनुभयो र ‘स्पोन्सर’ खोजेर सन् २०१९ मा सगरमाथाको सफल आरोहण गर्नुभयो । सगरमाथा आरोहण गरिसकेपछि उहाँले युरोपको हाइस्टपीक माउन्ट एल्व्रोस्ट आरोहण गर्नुभयो, जुन पाँच हजार ६ सय ४२ मिटर उचाइको छ । त्यसपछि साना–ठूला हिमाल चढ्ने यात्रा चलि नै रहेको छ । 

आठ हजार मिटर माथिका १४ हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएकी शर्मिलाले अहिलेसम्म चार वटा हिमालको सफल आरोहण गरिसक्नुभएको छ । ८८४८.८६ मिटर उचाइ भएको विश्वको सर्वोच्च शिखर सगरमाथा २२ मे २०१९ मा, ८५१६ मिटर उचाइको लोत्से हिमाल २३ मे २०२१ मा, ८१६३ उचाइ रहेको मनास्लु २८ सेप्टेम्बर २०१९ मा र ८०९१ उचाइको अन्नपूर्ण हिमाल १६ अप्रिल २०२१ मा आरोहण गर्नुभएको हो ।

हिमाल चढ्दाको जोखिम

हिमाल चढ्नु सहज पक्कै छैन । कहिले हिमपहिरो, कहिले हावाहुरी, कहिले हिउँ पर्ने जस्ता समस्या हिमालमा सामान्य हुन् । तर, कहिलेकाहीं हिंड्दाहिंड्दै हिउँले खाएर आँखा बन्द हुन्छन् । सन् २०१९ मा मनास्लु हिमाल चढ्दा शर्मिलाका आँखा २४ घण्टासम्म बन्द भए । त्यतिखेर ३८ घण्टासम्म दिनरात नभनी हिंड्नुपरेको थियो । “हिमाल चढ्ने कुरा सहज त कत्ति पनि छैन, कति वेला कहाँ के हुन्छ थाहै हुँदैन,” शर्मिलाले भन्नुहुन्छ, “यसमाथि महिला हुँदाको अर्को समस्या पनि थपिन्छ– केटाहरूसँग टेन्ट शेयर गरेर जानुपर्छ, यस्तो वेला अरू खतरा उत्तिकै हुन्छ ।”

सगरमाथा, मनास्लु, अन्नपूर्ण जस्ता हिमाल चढिसक्नुभएकी शर्मिलालाई शिखरमा पुगेर लैंगिक समानता र महिला सशक्तीकरणका कुरा गर्दा गौरव लाग्छ । शर्मिलालाई समाजमा मान्छेले बनाएको नियम तोड्न मन छ । उहाँ भन्नुहुन्छ, “तिमी महिला हो, महिलाले यो गर्न सक्दैन । यो गर, त्यो नगर, यो गर्न हुन्छ, त्यो हुँदैन र सक्दैनौ जस्ता रोकछेकलाई चिर्नुपर्छ ।”

एउटा महिला जब आर्थिक रूपमा सवल हुँदैन उसले हिंसा सहेर बस्नुपर्छ । “म दुधे बालकलाई छोडेर त हिमाल चढ्ने आँट गर्छु भने अरू महिला किन सक्दैनन् ? यसका लागि घरभित्र खुम्चिएर मात्र बस्ने होइन, खुलेर बाहिर आउने आँट राख्नुपर्छ,” शर्मिला भन्नुहुन्छ ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शनिबार, १९ चैत, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal