ताजा

  • शनिबार, ६ पौष, २०८१
  • २१:३५:१३
  • नेपालीको अभिमत

व्यक्ति-कथा

‘सिर्जनाको मोल अमूल्य हुन्छ तर यहाँ गीतकारको मूल्य छैन !’

इन्द्रसरा खड्का

बिहीबार, १ पौष, २०७८

कोरोनाले असरसँगै अवसर पनि दिएको छ । जसले मान्छेलाई मिहिनेती बनायो । धरै सीप सिकायो । एउटा काम र एक मात्र सीप भएकाहरूलाई अरू सीप सिक्न अग्रसर गरायो । जागीर गर्नेलाई बारीको काम गर्न सिकायो । गीत लेख्नेलाई खाजा बनाउन, चिया पकाउन सिकायो ।

अहिले धेरै जनाले आफू आबद्ध पेशासँगै वैकल्पिक क्षेत्र पनि रोज्न थालेका छन् । बन्दाबन्दीपछि गीतकार लोकराज अधिकारीले पनि त्यसै गर्नुभयो । त्यो हो– व्यवसाय ।

काठमाडौं, अनामनगरस्थित पुरानो गोर्खा एफएम चोकमा ‘ए लेभल फास्टफुड एण्ड सेकुवा कर्नर’ छ । हो त्यो नै हो उहाँले रोजेको वैकल्पिक क्षेत्र । दिउँसोमा उहाँको धेरै समय यहीं नै बित्छ ।

“सम्पूर्ण गीतको मूल स्रोत शब्द लेखन हो । सिर्जनाको मोल अमूल्य हुन्छ । तर, म्युजिक भिडिओ लगायत अन्य क्षेत्रमा जति पनि खर्च गर्नेहरूले गीतकारसँग सित्तैमा गीत लिनपाए हुन्थ्यो जस्तो गर्छन् । यो सम्झँदा कहिलेकाहीं अति चित्त दुख्छ ।”

“यो मेरो नयाँ अनुभव हो । सानो लगानीबाट शुरू गरेको छु । छोटो समयमै राम्रै चलिरहेको छ,” लोकराजले नेपालमतसँग भन्नुभयो ।

अनामनगर कलाकारिताको ‘हब’ हो भन्दा फरक पर्दैन । यहाँ कला क्षेत्रका मानिसहरूको निकै चहलपहल हुन्छ । लोकराजलाई गीत, भिडिओबारे छलफल गर्न साथीभाइहरूसँग भेटघाट गरिरहनुपर्छ । यसअघि यस्तो भेटघाटको लागि कहाँ भेट्ने भनेर ठाउँ तय गर्नुपर्थ्यो । तर, अहिले आफ्नै खाजा पसल भएपछि कहाँ भेट्ने भनेर सोच्नै परेको छैन ।

को हुन् लोकराज ?

लोकराज आफूलाई सञ्चारकर्मी र गीतकारको रूपमा चिनाउन रुचाउनुहुन्छ । उहाँको घर घोराही उपमहानगरपालिका–४, दाङमा हो । उहाँका राष्ट्रिय गीत, सिनेमाका गीत, आधुनिक, लोकदोहोरी लगायत डेढ सय गीत बजारमा आएका छन् । ती मध्ये ‘तिमीले पराइ ठानेपछि’, ‘रुपै मोहनी’ लगायत चर्चित छन् ।

कोरोनाको डर अझै छ । त्यसमाथि अहिले नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रास पनि बढ्दै गएको छ । यस्तो अवस्थामा लगानी बढाउन लोकराजलाई डर लागिरहेको छ । दुई कोठाको उहाँको खाजा पसलमा चिया, चना, मःम, चाउमिनदेखि हाँसको छोयलासम्म पाइन्छ । यी खानेकुरा स्वादिष्ट पस्कनको लागि एउटा ‘कुक’ पनि राख्नुभएको छ ।

कविता लेखनमा रुचि

लोकराज सानैदेखि कविता लेख्नुहुन्थ्यो । आफूले लेखेका कविता घरमा बुवा र विद्यालयमा नेपाली विषयको शिक्षकलाई देखाउनुहुन्थ्यो । उहाँले कक्षा ४ मा हुँदा ‘परिर्वतन’ शीर्षकमा कविता लेख्नुभएको थियो–
यसोगरी पुगीगया सिंहदरबार उहाँ
जनताको कुरा सुन्थ्यो उनीहरू कहाँ
त्यस्तै हुँदा धन्य–धन्य ४६ साल महाँ
४६ साल चैत्र महीना २६ गते राति
सबैलाई सुनाइदिया भयो अति जाति  

उहाँ कक्षा ४ मा पढ्दा २०४६ सालको जनआन्दोलन भएको थियो । यही परिप्रेक्ष्यमा लेख्नुभएको कविता शुरूमा शिक्षकलाई देखाउनुभयो । नेपालीे शिक्षक शंकरकिरण घिमिरेले ‘राम्रो छ’ भनेपछि बुवालाई देखाउनुभयो । बुवाले शब्द नमिलेको ठाउँमा परिमार्जन गरिदिनुभयो । त्यसको केही समयपछि घोराहीमा ठूलो आमसभा भयो । उहाँले त्यही आमसभामा यो कविता वाचन गर्नुभयो ।

“गीत गाउनेहरू फूल हुन् । फूलमा सबैको आँखा जान्छ । संगीतकार भनेको काण्ड हो, फूललाई आड दिन्छ । गीतकार भनेको जरा हो माटो मुनि हुन्छ । माटो मुनि खोस्रेर कसैले हेर्दैन ।”

“त्यतिवेला माइक समाउनै डर लागेको थियो । तर, पनि कविता वाचन गरें । मलाई ठूलो अवार्ड पाएजस्तै महसूस भएको थियो,” बाल्यकाल सम्झँदै उहाँ ‘रोमान्टिक’ बन्नुभयो ।

त्यसपछि उहाँलाई अझै कविता लेख्न हौसला मिल्यो । कक्षा १० सम्म निकै कविता लेख्नुभयो । त्यसपछि गजल, हाइकु लेख्न थाल्नुभयो । अनि विद्यालय, गाउँमा हुने साहित्यिक कार्यक्रमहरूमा वाचन गर्न थाल्नुभयो । स्थानीय पत्रपत्रिकामा पनि छापिन थाले । यस्तो क्रमसँगै उहाँमा ‘म लेख्न सक्छु’ भन्ने आँट थपिंदै गयो ।

सांगीतिक यात्रा

लोकराजले २०५८ सालमा रेडियोमा काम शुरू गर्नुभयो । दाङमा रहेको रेडियो स्वर्गद्वारीमा ‘गीताञ्जली’ नामक साहित्यिक कार्यक्रम चलाउनुहुन्थ्यो । त्यसपछि उहाँलाई लेखन कार्यमा झन् सहज भयो ।

त्यस्तै; बुटवलबाट प्रकाशित हुने पत्रिका ‘राप्ति’ साप्ताहिकमा जिल्ला (दाङ) संवाददाताको रूपमा काम गर्नुभयो भने रेडियो सगरमाथाको पनि जिल्ला प्रतिनिधि भएर काम गर्नुभयो । रेडियोमै काम गर्ने लोकराजका साथी पीताम्बर रिजाल गीत गाउनुहुन्थ्यो । उहाँले गीत लेख्न सल्लाह दिएपछि ‘किन होला तिमी छेउ नआउँदा मान्दैन यो मन’ लोकदोहोरी गीत लेख्नुभयो । २०५८ सालमा माधव चौधरी र शर्मिला गुरुङको आवाजमा गीत रेकर्ड भयो । यो उहाँको पहिलो गीत थियो ।

२०६० सालमा ‘कान्छीको रुमाल खस्यो पानीमा’ बोलको अर्को गीत गोविन्द मदुर आचार्यको आवाजमा रेकर्ड भयो । लोकदोहोरीबाट गीत लेख्न शुरू गर्नुभएका लोकराजले त्यसपछि सिनेमा र केही एल्वममा फुटकर गीत लेख्नुभयो । लोकराजले दाङमा बसेर लेखेका एक दर्जन बढी गीत रेकर्ड भए । त्यसपछि भने उहाँलाई काठमाडौंमै गएर गीत लेख्न मन लाग्यो ।

काठमाडौं यात्रा

लोकराजलाई गीत रेकर्ड गर्न दाङबाट काठमाडौं आउनुपथ्र्यो । यसको लागि समय छुट्याउन समस्या हुने । उहाँलाई काठमाडौं नै गएर करिअर बनाउने सोच मनमा आयो । यसको लागि अवसरको खोजीमा हुनुहुन्थ्यो । यो अवसर रेडियो सगरमाथाले जुराइदिने भयो । काठमाडौंमै जागीर पनि हुने र गीति करिअर पनि अघि बढाउन पाइने भएपछि २०६५ सालमा काठमाडौं आउनुभयो ।

काठमाडौं आइसकेपछि उहाँले ‘तिमीले पराइ ठानेपछि’ गीत लेख्नुभयो । उक्त गीत महिला आवाजमा अन्जु पन्त र पुरुषको आवाजमा शिशिर योगीको आवाजमा रेकर्ड भयो । यो गीतले उहाँलाई गीतकारको रूपमा स्थापित गरायो । उहाँले नाटक पनि लेख्नुभएको छ ।

लाजिम्पाटमा हराउँदा...

लोकराज काठमाडौं आएर लाजिम्पाटमा बस्नुभयो । रेडियो सगरमाथामा काम गर्न बिहान ५ बजे जानुपथ्र्यो । धेरै पटक उहाँ बाटोमा हराउनुभएको छ । “सबै ठाउँ उस्तै लाग्ने । कतिपटक त लाजिम्पाट वरिपरि घुमेको घुमै भएको छु,” लोकराजले सुनाउनुभयो ।

उहाँले २०६५ देखि २०७३ सालसम्म रेडियो सगरमाथामा काम गर्नुभयो । ‘तिमीले पराइ ठानेपछि’ गीत चर्चामा आएपछि उहाँलाई गीत लेख्ने प्रस्तावहरू आउन थाले । यो गीत ‘सीआरबिटी’मा सर्वाधिक डाउनलोड भएको गीत होे । त्यसपछि ‘रुपै मोहनी’, ‘मर्छु बरु छटपटीमा’ लगायत गीत चले ।

‘मेरो गीत गाइदिनुस्’ कहिल्यै भन्नु परेन

लोकराजलाई मेरो गीत गाइदिनुस् भन्दै कहिल्यै कसैसँग हात जोड्नु परेन । चलेका गायक/गायिकासँग तपाईंले गीत गाइदिंदा चल्थ्यो कि ! पनि भन्नु परेन । ‘तिमीले पराइ ठानेपछि’को चर्चाले गीतको माग आउन थाल्यो । त्यसपछि सिनेमाहरूबाट प्रस्ताव आए । रेडियोका जिंगलहरूमा पनि उहाँका गीतले स्थान पाएका छन् ।

“मेरो काम सिर्जना गर्ने हो । गायक/गायिकाको काम स्वर भर्ने । उहाँहरूसँग दर्शक/स्रोताको प्रत्यक्ष ‘अट्याचमेन्ट’ हुने नै भयो । त्यसैले उहाँहरूकै नाम बढी आउँछ । यद्यपि, कलाकारले आफ्नै शब्द स्टेजमा गाइरहँदा सिर्जना गर्नेको नाम नलिइदिंदा भने दुःख लाग्छ ।”

यति हुँदाहुँदै पनि उहाँको एउटा गुनासो छ । त्यो हो– गीतकारको उचित पारिश्रमिक छैन । “मादल बजाउने, बाँसुरी बजाउने, गीत गाउनेहरूको पारिश्रमिक यति भनेर तोकिन्छ । तर, गीत लेख्नेहरूको छैन । यो निकै पीडादायी कुरा हो,” लोकराजले निराशा व्यक्त गर्नुभयो, “सम्पूर्ण गीतको मूल स्रोत शब्द लेखन हो । सिर्जनाको मोल अमूल्य हुन्छ । तर, म्युजिक भिडिओ लगायत अन्य क्षेत्रमा जति पनि खर्च गर्नेहरूले गीतकारसँग सित्तैमा गीत लिनपाए हुन्थ्यो जस्तो गर्छन् । यो सम्झँदा कहिलेकाहीं अति चित्त दुख्छ ।”

पर्दा पछाडिको हिरो

गीत जति चलेको भए पनि दर्शक/स्रोताले कसको गीत हो भनेर हतपत ध्यान दिंदैनन् । जसले गीत गाएको छ उसैको भन्ने सम्झछन् । यसमा गीतकार लोकराजलाई खासै दुःख लाग्दैन । “गीत गाउनेहरू फूल हुन् । फूलमा सबैको आँखा जान्छ । संगीतकार भनेको काण्ड हो, फूललाई आड दिन्छ । गीतकार भनेको जरा हो माटो मुनि हुन्छ । माटो मुनि खोस्रेर कसैले हेर्दैन,” उहाँ भन्नुहुन्छ, “मेरो काम सिर्जना गर्ने हो । गायक/गायिकाको काम स्वर भर्ने । उहाँहरूसँग दर्शक/स्रोताको प्रत्यक्ष ‘अट्याचमेन्ट’ हुने नै भयो । त्यसैले उहाँहरूकै नाम बढी आउँछ । यद्यपि, कलाकारले आफ्नै शब्द स्टेजमा गाइरहँदा सिर्जना गर्नेको नाम नलिइदिंदा भने दुःख लाग्छ ।”

रोयल्टी व्यवस्थापन हुनुपर्छ

नेपालमा रेडियो, टेलिभिजनदेखि लिएर सार्वजनिक स्थानहरूमा गीत बज्छन् । तर, रोयल्टी भने उठ्दैन । यतिका ठाउँमा बजेका गीतहरूको रोयल्टी मात्र उठ्ने हो भने पनि कलाकारलाई जिउन समस्या पर्दैन ।

श्रीमतीको साथ

लोकराजको चार जनाको परिवार छ । आमाबुवाको निधन भइसक्यो । उहाँ यहाँसम्म आइपुग्नुमा उहाँकी श्रीमतीको ठूलो योगदान छ । उहाँ भन्नुहुन्छ, “मेरो पहिलो स्रोता नै श्रीमती हुन् । केही लेख्न थालें वा लेखिसकें भने सबैभन्दा पहिले उनीलाई सुनाउँछु । कतिपय शब्दमा उनले सल्लाह दिन्छिन् ।” यति मात्र होइन कहिलेकाहीं श्रीमतीले नै दिएको विषयवस्तुमा पनि गीत लेख्नुभएको छ लोकराजले ।

लोकराज २०६५ सालदेखि काठमाडौंमा बस्दै आउनुभएको भए तापनि श्रीमती भने अहिले पनि दाङमै हुनुहुन्छ । “पहिले केटाकेटी पनि उतै थिए, अहिले चाहिं दुवै जना पढ्नको लागि काठमाडौं आएका छन् । अब श्रीमतीलाई पनि यतै ल्याउँछु ।”

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बिहीबार, १ पौष, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved