• मंगलबार, १४ मङ्सिर, २०७८
  • ०३:०८:१६

समयले मासिदियो मेरो बालापनको दशैँ

उटा यस्तो समय थियो, स्कुलको ड्रेस लगाएर दशैँको टिका थापिन्थ्यो । निलो स्कर्ट र आकाशी रंगको सर्ट पाए पछि हामी त्यसै दंङ्ग...!

स्कुलको गर्जो पनि टर्ने हुनाले बाआमा पनि खुसी, अनि दशैंमा नयाँ लुगा पाएपछि हामी केटाकेटी पनि खुसी । प्राय सबैजसो केटाकेटीको दशैंको उपहार स्कुल ड्रेस हुन्थ्यो ।

अनि त्यहि ड्रेस लगाएर मेला बजार घुम्न जाँदा पनि आहा कति रमाइन्थ्यो ! तर, लाग्छ अहिले महिनै पिच्छे किनेका अनेकौँ ब्राण्ड र डिजाइनका कपडामा पनि त्यो बालापनको त्यो खुसी पाउन सकिन्न ।

दशैँ भन्ने वित्तिकै मनमा अर्कै उमंग छाउँछ । नछाओस् पनि किन बर्ष दिनमा आउने ठूलो चाड । तर जति उमेर बढ्दै गयो त्यतिनै मनमा कतै खल्लो, कतै निराशा, कतै तनावले अड्डा जमाउने रहेछन् ।
सानो छँदा दशैँको अर्कै हर्ष हुन्थ्यो, ठूलो हुँदै जाँदा उमेरसँगै बढेको जिम्मेवारीको चाङले थिच्ने रहेछ  ।

हुर्किँदै जाँद्या कहिले दशैँ आउँछ होला र नयाँ लुगा लगाउन पाइन्छ, त्यही एउटा सपना हुन्थ्यो । तीज सकिए पछि दशैं आउन यति दिन बाँकी भन्दै आमा बुबा सँग यस्तो लुगा किनिदिनु उस्तो लुगा किनिदिनु भनेर घुर्की लाइन्थ्यो । आमा बुबाले दुखसुख सिलाइदिएको बुट्टे जामा होस् या स्कुलको ड्रेस त्यसमै खुसी भइन्थ्यो । त्यसबेलाका थानका कपडाको बासना नै कस्तो मिठो लाग्थ्यो ।

लुगा जे सुकै होस् तर पखाई भने टिकाको दिनकै हुन्थ्यो । कहिले टिकाको दिन आउँछ र त्यो लुगा लगाउँ, लुगा किनेको दिनदेखि कति पटक लगाउँदै देखाउँदै पनि त गरिन्थ्यो नि ! अरु बेला जे जस्तो लगाए पनि, जे जस्तो खाएपनि दशैँँमा नयाँ लुगा र मिठो खाना कहिले टुटाउनु भएन आमाबाले ।

दशैं भन्नासाथ बालापनको याद आउने गर्छ, त्यतिखेर नै थिए अविस्मरणीय क्षणहरु । गाउँमा त झन् वातावरण र परिवेशनै अर्कै हुन्थ्यो  । सोह्र श्राद्ध सकिना साथ दशैंको तयारी हुन थाल्थ्यो । वारी–पारी खुलेका हरिया डाँडा, खुलेको निलो आकाश, चरक्क लागेको घाम, कतै कोपिला बसेका सयपत्रीको बास्ना, ढकमक्क फुलेका फूलहरु, जङ्गलमा झ्याउँकिरीको ट्यारट्यारले दशैँ आएको संकेत गर्दथ्यो ।

घन्टौं हिँडेर घर पोत्नका लागी रातो माटो, कमेरो खन्न गइन्थ्यो । बर्खामा चर्किएका भित्तामा माटोले लिम्सिएर चुना, कमेरोले छ्यापेर रातोमाटोले पोतेपछि अब चाहिँ दशैँ लाग्यो भन्ने भान हुन्थ्यो ।

त्यो बेला दशैँ लाग्ने बित्तिकै हर्ष र खुसीका अनेक कारणहरु थपिन्थे । घटस्थापनाका दिन बाले पाठ पुजा गरेर आमाले खोल्साबाट बलौटेमाटो ल्याएर मकै, जौँका दानालाई जमराको रुपमा राख्नुहुन्थ्यो अनि दिनै पिच्छे नौरथाको पाठ गर्नुहुन्थ्यो । नौरथा सुरु भएसँगै रेडियो, टिभिमा दशैंका गीत बज्न थाल्थे । उदित नारायण र दिपा नारायणको दशैँ आयो, उमेश पाण्डे र रमाना श्रेष्ठको रातो टिका निधारमा, सुगम पोख्रेलको दशैं तिहार, योगेश्वर अमात्यको दशैँ नै होकि यो मेरो दशा, एपिएफको दशैं गीत (फौजीलाई कुन हो दशैँ कुन हो चाड तिहार) बजेपछि मात्र खास दशैँ लाग्थ्यो ।

नवमीका दिन नौ जना कन्या भेला गरेर पुजा गरेर उपहार दिएर (नौ केटी) खुवाएपछि नौरथा सकिन्थ्यो ।

दशैँमा नै थियो अगाउँन्जेल मासु खान पाइने । गाउँमा खसी काटेर भाग लगाउने चलन थियो । खसी काट्छन् र मासु खान पाइन्छ भनेर पनि दशैँमा उल्लास थपिन्थ्यो ।

अघिल्लो दिन धान भिजाएर भोलीपल्ट भिजेको धान हाँडी या मकै भुट्ने टिनको होर्ल्याङ्गेमा भुटेर ढिकिमा चिउरा कुटिन्थ्यो । आमाहरुसँगै चिउरा कुट्न सकिनसकि ढिकिमा बल लगाएको, रहरले घान लगाउन खोज्दा हात कुटिन्छ भनेर आमाले गाली गरेको आजै जस्तो लाग्छ ।

गाउँमा ४–५ ठाउँमा बाँसलाई ढड्याएर, सालिम्बोको डोरी बाटेर लिङ्गे पिङ राखिन्थ्यो । बजारमा मेला लाग्थ्यो । एक दिन मेला जाँदा अनेक थरिका खेलहरु खेल्न, हेर्न पाइन्थ्यो । दशैँमा आर्शिवाद भन्दा पनि दक्षिणा बटुल्न हतार हुन्थ्यो । भाइबैनी सँग कस्को दक्षिणा कति भयो ? मेरो यती भयो भन्दै सुनाउनुको मजा आहा !

हात भरी ५ र १० का सुकिला नोट मुठी पारेर सवैलाई देखाउँदै हिँडेको अहिले पनि याद आउँछ । मामाघर जान नपाउँदा रोइ कराइ गरेर ६–७ घण्टा हिँडेर पनि दशैंमा मामाघर नपुगी मनै मान्दैन थ्यो ।
पहिलेको जस्तो रेडियोमा दशैं गीत बजेको भन्दा भन्दा घरघरमा मोवाइलबाटै विदेशी गीतमा रमाउने चलन बढेको छ । प्रविधि, विकास र समय सँगै चाडबाड मनाउने शैली पनि फेरिएको छ ।

अहिले इटा र सिमेन्टका घरमा अनेकथरी रङ्ग्याइएका छन् । प्लास्टिक र कागजका कृत्रिम फूलमा दशैंको त्यो वास्ना छैन । बजारमा बनेका अनेकथरि रेडिमेट खानेकुरा पाउने भएकाले त्यसबेला कुटिएका चिउरा यादमा मात्र रहन्छ ।

अहिले मासु खानलाइ दशैँ कुर्न पर्दैन तर त्यो वेलाको जस्तो मिठास छैन, उमंग छैन । मिठो खानलाई नयाँ लाउनलाई दशैँ कुर्न पर्दैन । त्यतिखेर भेला पारिएका दक्षिणाको पनि अहिले त्यो बेलाको जस्तो महत्व रहेन । लिङ्गे पिङ राख्न छोडियो अचेल ।

अहिले पिङ खेल्न फनपार्क तिर जान पर्ने हुन्छ त्यो पनि मेसिनबाट आफै चल्छन् । अहिले खेल हेर्न खेल्न कतै जान पर्देन हातमैं अनेक थरी खेल । मोवाइल, टिभीबाटै अनेक खेल हेर्न पाइन्छ ।

हो प्रविधिले मौलिकताका धेरै कुरा मासिदिए पनि परदेशमा रहेका आफन्तलाई भने चिठ्ठीपत्र कुर्न नपर्ने बनाइदिएको छ । दशैँ तिहारमा फोटो हेरेर सम्झन पर्दैन । अहिले त भर्चुअल तरिकाबाट कुराकानी, शुभकामना आदान प्रदान गर्न सकिन्छ ।

समयले मेरो गाउँ फेरिदैछ । परिवेश फेरिदैछ ।

कोहि छुट्टिए । कोहि जोडिए । कोहि बदलिए । कोहि हराए ।

धेरै विरानो हुँदैछ गाउँ अनि दशैं ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।