• सोमबार, १ कार्तिक, २०७८
  • ०१:५०:१३

थला परेको फिल्म क्षेत्रलाई विस्तारै उठाउनुपर्छ : निर्देशक नेपाल

नेपाली चलचित्र क्षेत्रमा परिचित नाम हो– नवल नेपाल । दुई दशकभन्दा बढी समयदेखि नेपाली चलचित्र क्षेत्रमा आबद्ध नेपालले सफल निर्देशकका रूपमा आफ्नो पहिचान बनाइसक्नुभएको छ । सहायक, सहायक निर्देशक, मुख्य सहायक निर्देशक हुँदै निर्देशनमा प्रवेश गर्नुभएका नेपालले ‘श्रीमान्’, ‘महसूस’, ‘लज्जा’, ‘भाग सानी भाग’, ‘मंगलम्’, ‘मारुनी’ जस्ता फिल्मका साथै केही सिरिज, छोटा चलचित्रमा समेत निर्देशन गर्नुभएको छ । प्रस्तुत छ, निर्देशक नेपालसँग गीताञ्जली दाहालले गरेको कुराकानीः

 

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

अहिले मेरो निर्देशनमा रहेको ‘दिल चुप छ’ सिरिज युट्युबमार्फत हरेक हप्ता सार्वजनिक हुँदैछ । अलिकति समय त्यता दिंदैछु । केही भिडियो र छोटो चलचित्र सकेको छु ।

कोरोनाले कत्तिको असर गर्‍यो ?

चलचित्र क्षेत्रमै आफूलाई समर्पित गरेका व्यक्तिलाई असर त परिहाल्छ नि ! हाम्रो क्षेत्रलाई मात्र होइन, सबैतिर पर्‍यो तर अलि धेरै चाहिं हामीलाई पर्‍यो । किनभने यो क्षेत्र सरकारको महत्त्वमा पर्दैन । त्यसमाथि पनि सिनेमा हललाई अत्यधिक असर पर्‍यो । अब सबै मिलेर उठाउनुपर्छ ।

अझै पनि कोरोनाको महामारी सकिएको छैन । सावधानी अपनाऔं । स्वस्थ रहौं । आउँदै गरेका महान् चाड दशैं, तिहार र छठ हर्षोल्लासका साथ तर स्वास्थ्य मापदण्ड अपनाएर मनाऔं । तंग्रिन लागेको हाम्रो जीवनशैली लयमा आओस् । नेपाली चलचित्रलाई माया गरिदिनुस् र हामीले पनि आम दर्शकको मन र मस्तष्कमा छाप छोड्नसक्ने सिनेमा दिनसकौं ।

नयाँ चलचित्रको योजना/तयारी कस्तो छ त ?

महामारीकै समयमा केही कथा, पटकथा संकलन गरेको छु । केही निर्मातासँग छलफल भइरहेको छ । सबै कुरा मिल्यो भने चाडबाडपछि कामले गति पाउँछ । दशैं–तिहारपछि एउटा चलचित्रको पूर्व तयारीमा लाग्छु । लेखिसकेको छु, स्क्रिप्टलाई पुनःलेखन गर्दैछु ।

कति फिल्म निर्देशन गर्नुभयो ? धेरै चलेका कुन–कुन हुन् ?

मैले आधा दर्जन बढी फिल्म निर्देशन गरेको छु । चलचित्र चल्नु/नचल्नुलाई दुई किसिमले मापन गर्न सकिन्छ– एउटा व्यावसायिक र अर्को समीक्षागत । व्यावसायिक रूपमा सन्तोषजनक हुन् मेरा चलचित्र तर समीक्षागत रूपमा अब्बल छन् । व्यावसायिक रूपमा सफल चलचित्र चाहिं पछिल्ला दुई चलचित्र हुन्– मंगलम र मारुनी । श्रीमान्, महसूस, लज्जाले पनि तत्कालीन समयमा सन्तोषजनक व्यापार गरेका हुन् ।

कलाकारहरूसँग काम गर्न कत्तिको सहज छ ?

एकदम सहज छ । जो आफूलाई कलाकार भन्छ ऊ सँग काम गर्न सहज/असहज भन्ने नै हुँदैन । मैले देखेका/भेटेका सबैसँग मलाई सहज लाग्छ । कोही त्यस्ता अप्ठ्यारा पनि होलान् जो कलाकार नै होइनन्, व्यापारी हुन् । बाँकी कुरा कलाकारबाट काम कसरी लिने आफूमा भर पर्छ । आफ्नो लक्ष्य, सपना पहिल्याएर जो अगाडि बढेका छन्, कामप्रति मोह, इमान्दारिता लिएर जो प्रवेश गरेका छन्, उनीहरूसँग काम गर्न रुचि लाग्छ मलाई चाहिं ।

फिल्ममा गीतको भूमिका कस्तो रहन्छ ?

सिनेमा दर्शन मात्र नभएर श्रृंगार पनि हो । गीत–संगीतले सिनेमाको सौन्दर्यता बढाएको हुन्छ ।

तपाईंका आफ्ना कथा सिनेमाका रूपमा कति सिनेम्याटिक छन् जस्तो लाग्छ ?

पूर्ण घरको स्वरुप जगमा आधारित हुने हो । मैले जुन विषयलाई चयन गरेको छु, जुन लयमा दौडिएको छु, त्यसमा सही छु भन्ने लाग्छ । स्रोत, साधन र मस्तिष्कको संयोजन हो सिनेमा । त्यसकारण, सिनेम्याटिक नै छन् भन्ने लाग्छ ।

आफू उम्रिएको माटोको बासना भएको सिनेमामा आफ्नै मौलिकता होस् । आफ्नै संस्कार, आफ्नै सभ्यता होस् ।  कथाले मन र मस्तिष्कमा तरंग उत्पन्न गरोस्, सबैले चाहने त्यही त हो ! त्यो सँगै मनोरञ्जनात्मक पनि हुनुपर्‍यो ।

आफ्नै बुझाइमा तपाईं कस्तो निर्देशक ?

छटपटीमा बसेको निर्देशक, तिर्खाएको निर्देशक, राम्रा–राम्रा सिनेमा बनाउन पाऊँ भनेर लालायित भएर बसेको निर्देशक ! जो समयको गतिसँगै बग्न चाहन्छ; नेपाली आदर्श, मूल्य, मान्यता र सामाजिक धरातललाई टेकेर सिनेमा बनाउन चाहन्छ ।

नेपाली फिल्मका कमजोरी के–के हुन् ?

सुक्ष्म रूपमा केलाउने हो भने त धेरै होलान् । तर समग्रमा हामीले बोल्ने कथा खोजमूलक र समय सान्दर्भिक भएका छैनन् । केही त्यस्ता विषय अगाडि आइरहेका छन्, जसले खोज अध्ययनको आभास दिलाउँछ । गहिराई भन्दा पनि सतहमा खुशी हुने हाम्रो संस्कारलाई विस्तारै निस्तेज पार्दै लानुपर्छ ।

नेपाली दर्शकले कस्तो सिनेमा चाहन्छन् ?

आफू उम्रिएको माटोको बासना भएको सिनेमामा आफ्नै मौलिकता होस् । आफ्नै संस्कार, आफ्नै सभ्यता होस् ।  कथाले मन र मस्तिष्कमा तरंग उत्पन्न गरोस्, सबैले चाहने त्यही त हो ! त्यो सँगै मनोरञ्जनात्मक पनि हुनुपर्‍यो ।

फिल्म हल खुल्ने तयारीमा छन्, माहोल पहिलेको जस्तो होला ?

हामीले त विश्वास गर्ने हो । सबै मिलेर पहल गर्नुपर्छ । त्यो एकजना व्यक्ति वा संस्थाले गरेर हुन्न यसमा आबद्ध सबैजना हातेमालो गर्दै अगाडि बढ्नुपर्छ । जसमा अभिभावकको रूपमा सरकारले पूर्ण सहयोग गर्नुपर्छ । राम्रो हुने भनेकै नराम्रो पछि हो ।

क्षतिलाई कसरी व्यवस्थापन गर्न सकिएला ?

क्षति त सबैले व्यहोरेकै छन् । प्रदर्शनको तयारीमा रहेर थन्किएर बसेका फिल्महरूले पनि क्षति व्यहोरेका छन् । कतिपय श्रमजीवी प्राविधिकहरू पलायन समेत भएका छन् । तुलनात्मक रूपमा हलले बढी क्षति व्यहोरेको छ । अब राम्रा चलचित्र आउँछन्, आउनु पनि पर्छ, चल्नु पनि पर्छ । आम चलचित्र पारखीलाई मनपर्ने सिनेमा हुनुपर्छ । विस्तारै सबै लयमा आउनेछ भन्ने विश्वास छ ।

कोभिड–१९ ले हाम्रो क्षेत्रलाई मात्र होइन, सबैतिर असर गर्‍यो तर अलि धेरै चाहिं हामीलाई पर्‍यो । किनभने यो क्षेत्र सरकारको महत्त्ववमा पर्दैन । त्यसमाथि पनि सिनेमा हललाई अत्यधिक असर पर्‍यो । अब सबै मिलेर उठाउनुपर्छ ।

सरकार पक्षबाट बढी क्षति भएकाहरूलाई राहतको व्यवस्था हुनुपर्छ । करको दायरा फराकिलो बनाउनुपर्छ जसमा सबै अट्न सकियोस् ।

दर्शकहरूलाई के भन्न चाहनुहुन्छ ?

अझै पनि कोरोनाको महामारी सकिएको छैन । सावधानी अपनाऔं । स्वस्थ रहौं । आउँदै गरेका महान् चाड दशैं, तिहार र छठ हर्षोल्लासका साथ तर स्वास्थ्य मापदण्ड अपनाएर मनाऔं । तंग्रिन लागेको हाम्रो जीवनशैली लयमा आओस् । नेपाली चलचित्रलाई माया गरिदिनुस् र हामीले पनि आम दर्शकको मन र मस्तिष्कमा छाप छोड्नसक्ने सिनेमा दिनसकौं ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।