अहिले प्रायः मान्छे पैसा बोकेर हिंडदैनन् । लुगा कपडा किन्न त परैको कुरा खाजा खाँदा पनि मोबाइल बैंकिङबाटै पैसा तिर्ने गर्छन् । खल्तीमा पैसा र कार्ड बोक्न नपर्ने हुँदा प्रायःले यसै गरिरहेका हुन्छन् । प्रविधि र विकासले यति फड्को मारिसक्दा पनि दृष्टिविहीनहरूले भने अझै पनि सहजै बैंकमा खाता खोल्न पाएका छैनन् ।
खाता खोल्नुपर्दा साक्षी बस्ने मान्छे खोज्नुपर्ने, पैसा झिक्दा अथवा पठाउँदा हस्ताक्षरको साटो ल्याप्चे लगाउनुपर्ने, एटिएम नदिने आदि समस्याहरू भोग्नु परिरहेको दृष्टिविहीनहरूको गुनासो छ ।
नवलपरासीका सौगात वाग्ले काठमाडौंको धुम्बाराहीमा बस्नुहुन्छ । उहाँ केही महिना पहिले लाजिम्पाटमा रहेको माछापुच्छ्रे बैंकमा खाता खोल्न जानुभयो र बैंकका कर्मचारीलाई आफू बैंकमा खाता खाल्न आएको बताउनुभयो । तर, सौगातलाई एक्लै आएको देखेर कर्मचारीले खाता खोल्न मानेनन् ।
आफ्नो खाता खोल्नलाई अर्को व्यक्तिको खोजी हुँदा आफूलाई निकै खिन्न लागेको सौगातले नेपालमतसँग बताउनुभयो ।
दृष्टिविहीन शिल्पा ढुंगेल नेपालका सरकारी बैङ्कहरूले नै आफूहरूमाथि विभेद गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सबै दृष्टिविहीन अरूको भरमा पर्नुपर्ने अवस्था छैन । दिनभरि आफैं काम गरी आत्मनिर्भर भएका छौं । सक्षम हुँदाहुँदै पनि आफूहरूमाथि बैङ्कले गरेको व्यवहारले थप पीडा दिएको छ ।”
“पढाइको लागि काठमाडौं आएको छु । जता गयो उतै साथमा कसलाई लिएर हिंड्नु ! आफैं हस्ताक्षर गर्न सक्छु भन्दा पनि बैंकले पत्याएन,” सौगातले भन्नुभयो ।
राष्ट्रबैंकदेखि लिएर कुनै पनि बैंकले दृष्टिविहीनलाई एटीएम दिन मान्दैनन् । सौगात भन्नुहुन्छ, “खाता खोल्दा मान्छे चाहिने, पैसा झिक्न, जम्मा गर्न जाँदा पनि अर्को मान्छे नै चाहिने । कतिसम्म खेताला खोजिहिंड्नु ! बैंकको नीतिले हामीलाई निकै समस्या भएको छ ।”
सौगात आफैं फाइनान्स पढिरहनुभएको छ । उहाँलाई पढाइसकेपछि बैंकमै काम गर्ने इच्छा छ । तर, बैंकले दृष्टिविहीनहरूलाई गरेको व्यवहार देख्दा भने दिक्क लागेको बताउनुहुन्छ ।
“मलाई लोकसेवा लडेर राष्ट्र बैंकमा जागिर खाने रहर छ । तर, नेपालका बैंक र दृष्टिविहीनहरूका लागि बनाइएको नीतिले गर्दा यो अवसर गुमाउनुपर्छ कि भन्ने पीर परेको छ,” सौगातले भन्नुभयो ।
गोर्खाको अजिरकोटकी रोशनी अधिकारीले बनस्थलीमा रहेको ग्लोबल आईएमई बैंकमा खाता खालेको २ वर्ष भयो । तर, आफैं पैसा निकाल्न पाउनुभएको छैन । बैंकिङ कारोबार गर्दा आमालाई साथमै लिएर जानुपर्छ ।
आमा वा बुवासँगै बैंकमा पुगे पनि पैसा झिक्दा हस्ताक्षरको साटो ल्याप्चे लगाउनुपरेकोमा भने उहाँलाई निकै चित्त दुख्यो । एएलबीमा अध्यनरत रोशनीले आफू हस्ताक्षर गर्न सक्षम हुँदाहुँदै पनि ल्याप्चे लगाउनुपर्दा मनमा खिन्न लागेको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “ल्यापटप चलाउँछु, मोबाइल सजिलैसँग चलाउँछु, हस्ताक्षर पनि गर्न सक्छु तर बैङ्कले हामीले हस्ताक्षर गरेको स्वीकार्दैन । सबै क्षेत्रबाट विभेदमा परेका हामीलाई बैङ्कले पनि विभेद गर्छ ।”
दृष्टिविहीनहरूले ल्याप्चे लगाएर झिक्नुपर्ने पैसा पनि सँगै अर्को सहयोगी नहुञ्जेल झिक्न मिल्दैन । “म अहिले विद्यार्थी छु । कहिले कतै कहिले कतै जानुपर्छ । सधैं साथमा बा, आमा र भाइलाई लान त सकिंदैन नि ! अन्य सबैको विश्वास पनि हुँदैन ! के त्यस्तो वेला मैले बैङ्कबाट पैसा झिक्न नै नपाउनु त ? किन बैंङ्कले हामीलाई यति धेरै अविश्वास गर्छ ?” रोशनीले प्रश्न गर्नुभयो ।
अझ एटीएम नदिंदा बैङ्कहरूले दृष्टिविहीनहरूमाथि निकै विभेद गरेको उहाँको ठहर छ ।
रोशनी भन्नुहुन्छ “म त अहिले परिवारसँगै बस्छु । समस्या पर्दा आमाबुवालाई भन्छु, सहज नै छ । तर, म जस्ता धेरैजसो साथीहरू विभिन्न जिल्लाबाट काठमाडौं आएका छन् । उनीहरूलाई बैङ्कले गर्ने यस्तो व्यवहारले निकै समस्या भएको छ ।”
इमेल, इन्टरनेटको जमानामा नेपाल सरकारले दृष्टिविहीनहरूका लागि नम्बर डायल गर्दा आवाज दिने एटीएमको व्यवस्था गर्नुपर्ने दृष्टिविहीनहरू बताउँछन् ।
दृष्टिविहीन शिल्पा ढुंगेल नेपालका सरकारी बैङ्कहरूले नै आफूहरूमाथि विभेद गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सबै दृष्टिविहीन अरूको भरमा पर्नुपर्ने अवस्था छैन । दिनभरि आफैं काम गरी आत्मनिर्भर भएका छौं । सक्षम हुँदाहुँदै पनि आफूहरूमाथि बैङ्कले गरेको व्यवहारले थप पीडा दिएको छ ।”
नेपाल नेत्रहीन संघका अध्यक्ष सुरेशचन्द्र न्यौपाने यो विषयमा पटक–पटक आवाज उठाए पनि सुनुवाइ नभएको बताउनुहुन्छ ।
बैङ्कमा एक्लै कारोबार गर्न नपाउँदा र एटीएमको प्रयोग गर्न नपाउँदा संविधानले दिएको गोपनीयताको हक आफुहरूमा लागू नभएको उहाँको तर्क छ । न्यौपाने भन्नुहुन्छ, “बैङ्कमा कति पैसा जम्मा छ, कति झिक्ने भन्ने व्यक्तिगत गोपनीयताको कुरा पनि दृष्टिविहीनहरूले अरूलाई सुनाउँदै हिंड्नुपर्छ ।
एभरेष्ट बैङ्क, एनआईसी एसिया बैङ्क र सनराइज बैङ्कले कतिपय सुविधा दिएको भए पनि सबैले पाउन नसकेको नेपाल नेत्रहीन संघले जनाएको छ ।
न्यौपाने भन्नुहुन्छ, “हामीले ६ वर्षदेखि सरकारसँग यो विषयमा कुरा गरिरहेका छौं, आफ्ना समस्या सुनाइरहेका छौं तर अहिलेसम्म सुनुवाइ भएको छैन ।”
राष्ट्रबैङ्कले दृष्टिविहीनहरूले चिन्नसक्ने पैसा छाप्ने व्यवस्था हुनुपर्ने न्यौपानेको थप भनाइ छ ।
बैङ्कमा एक्लै कारोबार गर्न नपाउँदा र एटीएमको प्रयोग गर्न नपाउँदा संविधानले दिएको गोपनीयताको हक आफुहरूमा लागू नभएको नेपाल नेत्रहीन संघका अध्यक्ष सुरेशचन्द्र न्यौपानेको तर्क छ । उहाँ भन्नुहुन्छ, “बैङ्कमा कति पैसा जम्मा छ, कति झिक्ने भन्ने व्यक्तिगत गोपनीयताको कुरा पनि दृष्टिविहीनहरूले अरूलाई सुनाउँदै हिंड्नुपर्छ ।
नेपालमा राष्ट्रबैंङ्क लगायत ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्ग गरी १ सय ५३ वटा बैंक तथा वित्तीय संस्था छन् । तर, कुनै पनि बैङ्कले दृष्टिविहीनहरूलाई साक्षीविना एक्लै कारोबार गर्न दिंदैनन् र एटीएम पनि दिदैनन् ।
दृष्टिविहीनहरूको गुनासोमा नेपाल राष्ट्र बैङ्कका प्रवक्ता देवकुमार ढकाल भने अपांगता भएका व्यक्तिलाई विभेद नगरेको दावी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अपांगता भएका व्यक्तिलाई कुनै पनि विभेद नगरीकन सपांगलाई भन्दा प्राथमिकतामा राखेर वित्तीय कारोबार गर्न दिनू भन्ने स्पष्ट व्यवस्था छ । तसर्थ; अपांग, महिला, जेष्ठ नागरिकलाई विशेष ध्यान दिएर सेवा दिइरहेका छौं ।”
दृष्टिविहीनहरूको गुनासोलाई सम्बोधन गर्दै समग्र बैंकिङ प्रणालीलाई सरल सेवा उपलब्ध गराउन निर्देशन दिएको उहाँको भनाइ छ ।
“एटीएम दिएर मात्रै भएन । सपांग व्यक्तिको लागि प्रयोगमा आएको एटीएम दृष्टिविहीनको लागि उपयुक्त नभएर उनीहरूकै सुरक्षाको लागि कुनै बैङ्कले नदिएको हुनसक्छ,” दृष्टिविहीनहरूलाई एटीएम किन नदिइएको भन्ने प्रश्नमा ढकालले भन्नुभयो ।
नेपालमा दृष्टिविहीनहरूको संख्या ठ्याक्कै कति छ भन्ने तथ्यांक छैन । २०६८ सालको जनगणना अनुसार ९४ हजार ७ सय ६५ दृष्टिविहीन छन् भने दृष्टिविहीनको क्षेत्रमा गर्ने संस्थाहरूले देशभर तीन लाखभन्दा बढी दृष्टिविहीनहरू भएको दाबी गर्दै आएका छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक (डिएसपी) गोविन्द पन्थी भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, कागज किर्तीलगायतका गम्भीर अपराधको अनुसन्धानमा संलग्न हुँदा धम्की, राजनीतिक दबाब...
अहिले चट्याङको सिजन छ। दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन्। सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ, अर्का सात वर्षीय बालक...
कालिकोट - कर्णाली नदीको पारि, विकट र कच्ची सडकहरूलाई चिर्दै एउटा ट्याक्टर आइतबार राति आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको थियो। पलाँता गाउँपालिका-९ को थिर्पुबाट निस्केको त्यो सानो सवारी...
अप्रिल १५, २०२५ को सिएनएनको अनलाइन पोर्टलको समाचरमा ‘भारत र पाकिस्तानमा बढेको चरम गर्मीको लहरले तापक्रम डेथ भ्याली स्तरमा पुग्ने छ’ भन्ने प्रसंग छ। यस...
तपाईंले ओलम्पिक, क्रिकेट, फुटबल, दौड देख्नुभएको होला तर के तपाईंले कहिल्यै ‘स्पर्म रेस’ सुन्नुभएको छ ? र त्यो पनि स्टेडियममा हजारौं मानिसहरूको अगाडि लाइभ कमेन्टरी सहित...