• सोमबार, १ कार्तिक, २०७८
  • ०२:२८:१३

'हामी त धेरैजसो तँ भनेर बोल्छौँ, तिमी त सामान्य हो'

महिलालाई पुरुष सरह समान स्थान दिनु र अधिकार हुनुको अर्थ पुरुषमाथी अधिपत्य जमाउनु हुँदै होइन । शासन पनि होइन र प्रतिस्पर्धा पनि होइन बरु अर्थपूर्ण जीवन जीउन सहकार्य गर्नु हो ।

कुनै समय म र मेरो श्रीमान् ओम त्रिभुवन विश्वविद्यालय कलेज किर्तिपुर गइ रहन्थ्यौँ । कहिले पढ्न, कहिले बाइक-स्कूटर सिक्न त्यहाँ पुग्थ्यौँ त कहिले विश्वविद्यालयको बाटो भएर हिड्थ्यौँ ।

एकदिन कलेजमा ओमको साथीहरूसँग भेट भयो । साथीहरू मध्ये एकजनासँग लगभग १२-१३ वर्ष अघि भेट भएको थियो मेरो । एकछिन बसेर गफ गर्न नजिकैको क्यान्टिनमा छिर्यौं । त्यहाँ बस्ने टेवल र कुर्सी हाम्रो समूह बस्न मिल्ने गरि मिलेका थिएनन् । त्यसैले मिलाएर बस्ने क्रममा ओमलाई तिमी कुर्सी तानेर यता बसन भनेछु।

त्यति बेलै ओहो ! तिमीले ओमलाई तिमी भन्छौ? अनौठो मान्दै एकजनाले सोध्नु भयो । मैले भनेँ, हामी त धेरैजसो तँ भनेर बोल्छौँ, तिमी हाम्रो लागि सामान्य हो ।

उहाँले थप कुरा केही भन्नू भएन । तर उहाँको लागि याे विषय स्वीकार याेग्य थिएन भन्ने अनुभूति रह्यो । मैले उसलाई तिमी भनेको सुनेर मेरा आफन्त, परिवारका सदस्य सबैले सामाजिक नियमबारे सम्झाउन बुझाउन निकै कोसिस गर्नु भयो । यसमा मेरो एउटै जवाफ हुने गर्दथ्यो र गर्दछ । उसको र मेरो समान हैसियत हो, हामीवीच सुमधुर सम्बन्ध छ र सम्मान उस्तै छ । जिम्मेवारी मिलेर पूरा गर्छौँ । हामीबीच कुनै विमती छैन । त्यसैले यो नियमसँग म सहमत छैन ।

मैले सामाजिक नियम र दवावहरू पाइला पाइलामा सामना गरेकी छु । जसले मलाई भित्र भित्रै आन्दोलित बनाउँथ्यो र बनाउँछ । यसले झन बढी विद्रोही बनायो । त्यसैले मैले अटोट गर्न थालेँ कि "मलाई हानी पुर्याउने, हेप्ने, निरीह तुल्याउने नियमहरू मान्न कुनै पनि हालतमा तयार हुने छैन ।

यस्ता हानिकारक अभ्यासले न त म कसैलाई हानी पुर्याउनेछु, न त आफैलाई हानी पुर्याउने छु। म मेरो बिचार र विश्वासमा अडिग रहेर अघि बढ्ने कोसिस गरि रहें र भविष्यमा पनि गरि रहनेछु । मेरो मेहनत, भोगाइ र सिकाइबाट संकल्प गरेँ कि "म भएर समाजमा बाँच्न चाहन्छु, मेरो पहिचान आफैले बनाउन चाहन्छु, आफ्नो अस्तित्वको लागि कसै सामु शीर निहुर्याउने छैन ।"

यी सबै समाजमा धर्म र संस्कारको नाममा हुने विभेद र हिंसाहरू हुन् । यसका अनेक रुप छन् । ती मध्ये विवाहित महिलाप्रति गरिने साँस्कृतिक - सामाजिक विभेद र हिँसाको बारेमा यहाँ चर्चा गर्न चाहन्छु ।

श्रीमानलाई तपाईं भन्न लगाउनु, विवाह मन्डपमा वा अन्य विशेष समारोहहरूमा श्रीमानको खुट्टा ढोगाउनु, विवाहित हो भनेर चिनाउन सिन्दुर-चुरा-पोते लगाउन वाध्य पार्नु, श्रीमानको दीर्घायुको लागि निराहार व्रत वस्न लगाउनु जस्ता वाध्यात्मक शर्तहरू मानिराख्नु भनेको श्रीमती र श्रीमानको हैसियतलाई समान स्थान नदिनु हो ।

यी सबै महिलामाथिको साँस्कृतिक तथा सामाजिक हिँसा हो भन्ने लाग्छ । महिलाले यी सबै शर्तहरू पालना गर्नु आफ्नो जिम्मेवारी ठान्छन् । यस्ता शर्तहरू पालना गर्नेलाई संस्कारी मानिन्छ । तर मैले आलोचनात्मक भएर त्यसका कारण-असर तथा सान्दर्भिकता केलायर हेर्दा यी सबै 'आउट डेटेट' पाएँ, असान्दर्भिक पाएँ । यस्ता शर्तहरू पालना गरिरहनु आफैमाथी आफैले हिंसा गर्नु हो भन्ने लाग्छ ।

'आउट डेटेट' बारे कृष्ण धराबासीको 'झोला' कथाको एउटा सन्दर्भ जोड्न चाहन्छु । कथा पढ्दै गर्दा कथामा चित्रण गरिएका पात्रहरू, अनमेल विवाह, नारी अस्तित्व र सती प्रथाको कुराले म निकै भावविह्वल भएकी थिँए । कथा पढ्दै त्यो बेलाको समाज, जीवन शैली, निरीह महिला, महिला माथिको अत्याचारको बिम्ब मेरो दिमागले खिच्दै गयो ।

कथामा कलिलो उमेरको केटीलाई आफ्नो बुवा-हजुरबुबा समानको प्रौढसँग विवाह गराइन्छ । जसको कारण कलिलै उमेरमा निर्दोष केटीलाई श्रीमानको चितामा जिउँदै जलाउन लगिन्छ । साँझको समयमा राम्रोसँग मान्छे नदेखिने र नचिनिने अँध्यारो हुन्छ । त्यसकारण चितामा जलाउन पुर्याइएकी ती केटी नाङ्गै भाग्न सफल हुन्छिन्। सम्झिदै आङ सिरिङ्ग हुन्छ ।

त्यो बेला श्रीमानको दीर्घायुको लागि निराहार व्रत बस्न बाध्यता नै थियो नत्र प्रौढ श्रीमानको मृत्यु हुनासाथ आफू पनि सँगै जल्नु पर्थ्यो । 'झोला'मा जस्तो श्रीमतीको अवस्था छैन अहिले । अत्याचार र हिंसा पनि कम हुने गर्दछ जसलाई व्यवस्थित गर्न संविधान, ऐन कानुनहरूमैं व्यवस्था गरिएका छन् । तथापी धर्म र संस्कारको नाममा अझै पनि महिला विरुद्ध विभेद र हिंसाले भने स्थान पाई रहेको छ ।

आजको प्रतिस्पर्धात्मक विश्वमा 'झोला'को जस्तो असमान शक्ति सम्बन्ध, विभेद, अत्याचार आदिले समाजलाई झन पछाडी धकेल्दछ । रामायणकी सीता (जसलाई अपमान, शोषण र हिंसा हुँदा पनि सहेर वस्नु)लाई आदर्श भन्न सकिदैन । शोषण र हिंसा हुने शर्तहरूको पालना गर्ने महिलालाई संस्कारी मान्न सकिँदैन । किनकी श्रीमान र श्रीमती दुबै मिलेर जिम्मेवारी पूरा गर्नु आजको आवश्यकता सावित भइसकेको छ ।

अन्यथा अपवाद बाहेक एउटैको कमाइले आवश्यकता अनुसार सामान्य जीवनयापन गर्न पनि निकै हम्मे पर्ने अवस्था सिर्जना भएको छ । त्यसकारण महिलाका लागि बनाइएका सामाजिक नियमहरू र संस्कारी महिलाको परिभाषालाई पुन: परिभाषित गर्न जरुरी छ । यस्ता मूल्य मान्यता, नियमहरू र संरचनालाई पुनर्निर्माण र पूनर्व्याख्या गर्न आवश्यक छ । जसको लागि पुरूष, महिला, अभिभावक र प्रशासनिक निकायहरूले विशेष भूमिका खेल्नु पर्दछ ।

दाइभाइहरू अर्थात श्रीमानज्यूहरू दिलदार बन्न जरुरी छ । सामाजिक संरचनालाई पुनर्संरचना गर्न सहयोगी भूमिका निर्वाह गर्न आवश्यक छ । महिलालाई पुरुष सरह समान स्थान दिनु र अधिकार हुनुको अर्थ पुरुषमाथी अधिपत्य जमाउनु हुँदै होइन । शासन पनि होइन र प्रतिस्पर्धा पनि होइन बरु अर्थपूर्ण जीवन जीउन सहकार्य गर्नु हो । लैगिंक समानता र महिला सशक्तिकरणले घर-समाज र सिङ्गो देश नै समृद्ध बन्दछ जहाँ आत्मसम्मानका साथ स्वस्थ्य र खुशी जीवन बाँच्न सकिन्छ ।

श्रीमतीलाई मायाले तिमी भनेर बोलाएको हो भन्ने तर्कहरू सुनिन्छन् । श्रीमतीले पनि श्रीमानलाई मायाले तिमी भनेर बोलाउँदा स्वीकार्न सक्ने तागत चाहीं किन नभएको होला त?  सबैभन्दा राम्रो तरिका तिमी-तिमी, तपाईं-तपाईंले सम्बोधन गर्नु उत्तम हुन्छ जस्तो लाग्छ ।

तिमी-तपाईं/हजुरले असमानताको खाँडल पुर्न सक्दैन । चाहे त्यो मायाले होस् या सम्मानले होस्। त्यसरी नै जानेर या नजानेर श्रीमानले विवाह समारोह, चाडपर्वहरूमा श्रीमतीलाई खुट्टा ढोगाउनु पनि माहिला माथी हिंसा गर्नु हो। यहाँ संस्कारको नाममा विभेद र हिँसा गरिँदैछ । यस्तो अभ्यासले महिलाको आत्मसम्मानमा चोट पुग्छ र दोस्रो दर्जाको स्थानमा राखि राख्न भूमिका खेल्दछ । यो विभेद हो, हिँसा र हेपाइ हो भन्ने चेत र हिम्मत कहिले आउला हामीमा?

श्रीमानको दीर्घायुको लागि निराहार व्रत बस्न करकाप छैन । व्रत बस्दा श्रीमती खुशी हुन्छिन् भने नबस किन भन्ने? जस्ता श्रीमान्ज्यूहरूको तर्क पनि सूनिन्छ । निराहार व्रत किन बस्ने? उसकै नामको चुरा पोते, सिन्दुर किन लगाउनु पर्ने ? उसलाई पनि माया र सम्मानले नै किन तिमी भन्न नसक्ने ? खुट्टा किन ढोग्नु पर्ने? महिलामाथी शासित नियमहरू किन मानि राख्ने?

सचेत वा अचेत भएर यी सबैलाई मानिरहेका छौं । मान्न वाध्य पारी रहेका छौँ । दिदीबहिनीहरू हामी पनि किन हिम्मतिलो नबन्ने ? हाम्रो लागि लगाइएको घेराभित्रै किन बसि रहने? बरू हिम्मतका साथ प्रयास गरौं । कडा प्रयासले मात्र घेरा तोड्न सम्भव छ । हामीलाई अझै पनि हाम्रै घरले र समाजले सधैं रोक्न नै खोजिरहेको हुन्छ ।

हाम्रो लागि सामाजिक मूल्य मान्यता र साँस्कृतिक अभ्यास जहाँ पनि, जहिले पनि बाधक बनिदिन्छ । हामीले बुझेका छौँ, जब रेल लिक बाहिर जान्छ, त्यहाँ दुर्घटना हुन्छ । हामी पनि सामाजिक रेलको लिकभित्र मात्रै कुद्न खोजिरहेका हुन्छौं । तर, नयाँ बाटो तय गर्दा रेलले लिक छोडेरै अघि बढे झैं हामी किन अघि नबढ्ने ? जोखिम नलिइकन समान अस्तित्व, हैसियत, अधिकार र स्वतन्त्रता प्राप्ति नहुने देखिएको छ । त्यसैले दूरदर्शी भएर हिम्मतका साथ कडा प्रयास गर्दै अघि बढ्न जरूरी छ ।

आमाबुबाले पनि छोरा र छोरीलाई समान अवसर, शिक्षा, अधिकार र हैसियत प्रदान गरौँ र दायित्व पनि बुझाऔँ । छोरा र बुहारीलाई समान रूपमा हेरौँ र व्यवहार गरौँ । छोरा र बुहारी सम्बोधन गर्ने नामहरू हुन् । उनीहरूको भूमिका र योगदानमा कम-धेरै भन्ने हुँदैन । एक अर्काको परीपूरक हुने गर्दछन्।

प्रशासनिक निकायहरूले पनि महिला विरुद्ध हुने यस्ता हेपाइ, विभेद र हिँसा अन्त्य गर्न अहम भूमिका खेल्न जरुरी देखिन्छ । यस्ता निकायहरू सबैको आशा र भरोसा बन्न सक्नु पर्दछ । पितृसत्तात्मक मूल्य-मान्यता र संस्कारमा सामाजिकीकरण भएकोले हाम्राे संस्कार हामीलाई प्यारो र राम्रो लाग्छ ।

पितृसत्तात्मक 'माइन्ड सेट' हामीमा विद्यमान रहेको छ । त्यसैले 'आउट अफ बक्स' गएर सोच्न पनि सक्दैनौं । तर हामीले आत्मसम्मान सहितको समृद्ध र खुशी परिवार तथा समाज निर्माण गर्नुछ । त्यसको लागि समाजशास्त्रीय अध्ययन र विश्लेषण गर्न सक्ने खुवी विकास गर्न जरुरी छ र सामाजिक रुपान्तरणको लागि सामाजिक परिचालनको खाँचो छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।