लामो समय अमेरिका बसेर नेपाल फर्किदा आफ्नो देशमा त्यस्तो के चाहिं परिवर्तन पाउनु भयो भन्ने प्रश्नमा अभिनेत्री ऋचा घिमिरे एक निजी टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा भन्दै थिइन्, ‘अरु उस्तै रैछ । भवन चाँहि धेरै ठूल्ठूला बनेछन् । अनि सबभन्दा बढी त टिकटककै विकास भएको पाएँ । मानिसहरु टिकटकमा निकै नै रमाउन थालेछन् । जहाँ पनि टिकटक मात्र बनाएको देखियो । एअरपोर्टबाट ओर्लिने क्रममै एकजना महिलाले आफू नाच्दै, छोरालाई भिडियो खिच्न लगाएर टिकटक बनाउँदै थिइन् ।’
ऋचा घिमिरेले भने जस्तै टिकटकमा यति धेरै मानिसहरुको लगाव र चाहना देखिएको छ कि वर्णन गरि साध्य छैन । सबै वर्ग, पेशा र व्यवशायका व्यक्ति पनि टिकटकमा रमाएको देख्न पाइन्छ ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटकमा खाता खोलेपछि यो समाचार निकै नै गसीप बनेको थियो । कलाकारले त आफ्नो प्रतिभा देखाउनका लागि टिकटकको प्रयोग गर्ने नै भए अन्य व्यक्ति समेत टिकटकमा धेरै रमेको पाइन्छ । खुसी रहनका लागि भन्दै दिनभर घरमा बसेर टिकटक बनाउने महिलाको संख्या पनि धेरै छ ।
चीनले विकास गरेको यो टिकटक, पछिल्लो समय युवापुस्ताबाट निकै नै रुचाइएको एप्स हो । फेसबुकमा जस्तै टिकटकमा पनि सबैसँग जोडिन सकिन्छ त्यसैले आफ्नो कुरा राख्ने तथा प्रचार प्रसार गर्ने एउटा राम्रो प्लेटफर्म बनेको छ टिकटक । १५ सेकेण्डसम्मको भिडियो बनाउन मिल्ने टिकटकका प्रयोगकर्ता नेपालमा धेरै छन् ।
विश्वभर १० करोड भन्दा बढीले टिकटकको प्रयोग गर्ने गरेको अनुसन्धानले देखाएको छ । दिनभर काम नभएर घरमा यत्तिकै सुतेर बस्ने मानिसमा समेत टिकटक बनाउन जाँगर देखिन थालेको छ ।
प्लेटफर्म नपाएर आफ्ना प्रतिभाहरु प्रस्फुटन गर्न नपाएका कलाकारहरुले आफ्ना प्रतिभाहरु टिकटकका माध्यमबाट देखाइरहेका छन् र कतिपय व्यक्ति त टिकटकमा आफ्नो प्रतिभा प्रस्तुत गरेपछि कलाकार समेत बनेका छन् । कतिपय फिल्म प्रोडयुसरले आफनो नयाँ फिल्मको लागि टिकटकबाटै कलाकार छान्ने घोषणा पनि गरिरहेका हुन्छन् ।
टिकटक नाच्न, गाउन र अभिनय गर्न जान्ने कलाकारका लागि त आफ्नो प्रतिभा प्रस्तुत गर्ने राम्रो थलो त हुँदै हो त्यसबाहेक कतिपय गृहिणीले पनि थरिथरिका खाना बनाएर भिडियो हाल्ने गरेका छन् ।
घर कसरी सफा गर्ने, घरलाई कसरी सुन्दर बनाउने लगायतका यावत कुराहरु देख्न सकिन्छ । बास्तुका कुरा, करेसाबारी, फुलबारी लगायतका धेरै नै ज्ञानवद्र्धक कुराहरुको टिकटकमा भिडियो बनाएर राख्ने गरेको पाइन्छ ।
कतिपयले त टिकटक मैं आफ्नो व्यवसायको राम्रो बजार प्रवद्र्धन पनि गरिरहेका छन् । लुगा गरगहना, फर्निचर, खाद्यान्न लगायतका थुप्रै सरसामग्रीको टिकटककै माध्यमबाट बजारीकरण पनि गरिहेका छन् । टिकटकको सदुपयोग गरि आफ्नो व्यापार बढाउने र यसबाट फाइदा लिनेको संख्या पनि ठूलो नै छ ।
टिकटकलाई जति सजिलो र हल्का रुपमा लिइन्छ यो बनाउन भने त्यत्ति सजिलो छैन । १५ सकेण्ड भित्र आफूले भन्न खोजेका र देखाउन खोजेका कुराहरु प्रस्तुत गर्नु पर्ने हुन्छ । त्यसैले छोटो समयमा के मेसेज दिने भनेर अलिकति दिमाग त खियाउनै पर्छ । यस्को मतलब सबै प्रयोगकर्ताले उत्तिकै महत्वपूर्ण भिडियो बनाउँछन् भन्ने होइन । कत्तिले गीतमा लिप्सींग मात्र गरेका हुन्छन् भने कत्ति त अरुको गीतमा नाचेका मात्र हुन्छन् ।
जुन गीतमा बढी टिकटक बन्ने गर्छ उही गीत नै लोकप्रिय भन्ने चलन पनि छ । आफ्नै मोवाइलबाट टिकटक बनाउन सकिने भएकाले पनि धेरै मानिसको आर्कषण बढेको हो र जो मानिस आफ्नो पहिचान बनाउन खोज्छ अथवा भनौं धेरै मानिसका वीच आफूलाई चिनाउन खोज्छ त्यस्ता मानिस टिकटकको प्रयोगकर्ता हुने गरेका छन् ।
बच्चा, तरुण, बुढाबुढी सबै वर्ग र उमेरका व्यक्तिहरु टिकटकमा रमाएको पाइन्छ । गुगल प्ले स्टोरले १३ वर्ष भन्दा माथि उमेर समूहकाले मात्र चलाउन पाउने कुरा उल्लेख गरे पनि २ वर्षका भरखर बोली फुटेका बच्चाहरुको पनि एकाउण्ट खोलेर टिकटक बनाएको पाइन्छ ।
मेरो छुट्टै पहिचान बनोस्, मलाइ सबैले चिनोस् भन्ने चाहना त कस्लाई पो हँदैन र ? टिकटक प्रयोगकर्ताहरुको यस्तो चाहना हुनु अस्वाभाविक होइन । त्यसो त राम्रो काम गरेर ख्याती कमाउन भने निकै नै संघर्ष र धैर्य चाहिन्छ । संघर्ष र मिहेनत नगरि पाइएको नाम र चर्चा चाँडै नै सेलाउँछ ।
कतिपय ४० कटिसकेका महिलाहरु टिकटकमा भाइरल हुनका लागि ब्लाउज र कट्टु लगाएर नाच्ने गरेका छन् । यस्ता भिडियोहरु एकछिनको लागि सबैले हाँस्दै हेर्लान् र भ्यूज पनि बढी होला तर यस्ले समाजमा अवश्य पनि राम्रो सन्देश दिदैंन ।
फेसनमा फ्यूजन दिन गरिएको हो भने पनि ढाडमा आधा खोलिएको ब्लाउज सँग कट्टु लगाउँदा पटक्कै सुहाउँदैन र हामी यस्तो पहिरन लगाएर हिँड्दा पनि हिँड्दैनौं त्यस माथि कट्टुसँग छड्के तिलहरी लगाइँदैन । छड्के तिलहरीको आफ्नै सांस्कृतिक महत्व र महिमा छ ।
विवाहित महिलाको सौभाग्यको प्रतिकका रुपमा लगाइने छड्के तिलहरी कट्टु सँग कदापी लगाउनु हुँदैन । यद्यपी छड्के तिलहरी अरुबेला लगाइँदैन पनि । विवाह, पूजा लगायत विशेष समारोहमा मात्र लगाइने यति महत्वपूर्ण तिलहरी, कट्टु सँग लगाएर नाच्दा न राम्रो देखिन्छ न त भाइरल नै बनिन्छ । उल्टो सबैको गाली बर्षिन्छ ।
कत्तिले टिकटकलाई विशुद्ध मनोरञ्जन गर्न प्रयोग गर्ने गरेका छन् । टिकटकमा राम्री भएर प्रस्तुत हुने अनि चल्तीको गीतमा नाँच्न कोशिस गर्ने गरेका छन् । कोशिस आफैंमा राम्रो कुरा हो । घरमा यत्तिकै बस्नु भन्दा टिकटक बनाएर बस्दा अल्छी होइँदैन । केही न केही नयाँ सिर्जना हुन्छ । अरुको गीतमा लिप्सींग गरेर उफ्री उफ्री नाँच्दा आफ्नो ज्यान पनि घट्छ । तर केही महिलाहरुले भने यही टिकटकमा देखाउन अनावश्यक गरगहना, कपडा र जुत्ता किन्ने गरेका छन् ।
आफ्नो कमाइ भएर आफ्नो रहर मेट्नु त ठीकै होला तर टिकटकमा देखाउनका लागि नै लुगा गरगहना किन्न श्रीमान् वा परिवारका सदस्यलाई दवाव दिन थालियो भने सम्वन्धहरु विग्रन सक्छन् । एकदिन एकजना साथीले टिकटक बनाउनको लागि भन्दै एक सय जोर भन्दा बढी एअर रिंग देखाउँदै थिइन् ।
'माइ लाइफ इज माइ चोइस' भन्दै धेरै महिलाहरु आफ्नो शरीर माथिको अधिकार उपभोग गर्न खोज्दैछन् । आफ्नो शरीर माथि आफ्नै अधिकार र नियन्त्रण हुन्छ, हुनुपर्छ । तर आफूलाई जे गर्न मन लाग्यो त्यही गर्दै टिकटकमा पस्किँदा यस्ले समाजमा के कस्तो प्रभाव पार्छ भन्ने कुराको ख्याल राख्नु त्यत्तिकै जरुरी छ ।
रिस उठेको व्यक्तिलाई मुखमा आएको जति गाली गर्ने, रिस साँध्ने जस्ता क्रियाकलापहरु गर्दा एक छिनलाई मन शान्त हुने भएपनि यस्ले आफ्नै हैसियत र औकात देखाइरहेको हुन्छ । जून कुरा गलत हो भन्ने थाहा हुँदा हुँदै एउटाले गाली गरेको देखेपछि अर्कोले पनि त्यस्तै गरि गाली गर्ने प्रवृत्ति पनि बढ्दो छ ।
टिकटकमा नेपालीहरुले आफ्नो घरको सुत्ने बेडरुमदेखि ट्वाइलेटसम्म, किचनदेखि आफूले साँझ विहान गरेको खाना, अनि लिभिङ्ग रुमदेखि घरको सबै सजावट देखाउने गरेका छन् । यस्ले गर्दा कतिपय नजानेका कुराहरु टिकटककै माध्यमबाट सिक्न सकिन्छ । तर सुरक्षाको हिसावले हेर्ने हो भने यो निकै नै जोखिमपूर्ण छ । सुत्ने ठाउँदेखि आफूले कमाई गरेको रुपैयाँ राख्ने ठाउँ समेत देखाउँदा प्राइभेसी भन्ने नै के पो रह्यो र ?
सन् २०१८ मा इण्डोनेशियामा त्यहाँका किशोर किशोरीले अश्लील सामग्री अपलोड तथा सेयर गरेपछि त्यहाँ टिकटक बन्द गरिएको थियो । यसैगरि छिमेकी राष्ट्र चीन र भारतको लडाई हुँदा चीनले भारतको टिकटकलाई व्यान्ड गरिदिएको थियो । अहिले भारतले छुट्टै एप टिकटक इण्डियाको विकास गरेको छ । पछिल्लो समय लाइकी एपको विकास भएको छ जून संसार भर नै प्रयोगमा छ । यो लाइकी एप टिकटक जस्तै हो तर हाम्रो देशमा त्यति प्रयोगमा छैन ।
सुचना प्रवाह गर्न होस् वा आफ्नो प्रतिभा देखाउन होस् यदि टिकटकको प्रयोग सही तवरले गरिन्छ भने छोटो समयमा धेरै जनतासामु जाने निकै नै उपयोगी भिडियो प्लेटफर्म हो टिकटक । त्यसैले यस्को सही उपयोग गरेर यसबाट भरपूर फाइदा लिऔं । ख्यालगरौं, गाली गलौज, अश्लिल सामग्री र रिस साँध्ने ठाउँ नबनोस् है टिकटक ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...
नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...
१९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...
नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...