मेलम्ची (सिन्धुपाल्चोक) - अष्ट्रेलियामा स्थापित उद्यमी बन्न सफल नेपाली युवा समाजसेवी खेम शर्माले आफ्नो नयाँ पुस्तकको विक्रिबाट नेपालमा विपन्न समुदायका बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग अभियान सुरु गर्नु भएको छ ।
शर्माले गत वर्ष नेपालबाट अष्ट्रेलिया फर्किदा अनिवार्य १४ दिन विताउनु पर्ने 'क्वारेन्टीन'को समयमा लेखेको 'स्वर्णिम रहस्य' नामक पुस्तकको विक्रिबाट उठेको रकमबाट यस्तो सहयोग अभियान सुरु गर्नु भएको हो ।
गएको असार १ गते आएको भीषण बाढीमा परेको सिन्धुपाल्चोकको तालावारांग ६ मेलम्ची स्थित तेर्से माध्यामिक विद्यालयमा एक हजार थान कापी सहयोग गर्दै सोमबार यस्तो अभियान सुरु गरिएको छ । बाढीले यो विद्यालयको चार कक्षा कोठा, २ शौचालय, स्टोर र क्यान्टीन भत्काएको छ भने विद्यालय परिसरको केहि भागमा अहिले नदी बगिरहेको छ । झण्डै एक सय बालबालिका प्रभावित भएका छन् ।
काठमाडौंमा रहेको होटल म्यानेजमेन्ट पढाउने गेट कलेज लगायत नेपालबाट र अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले खरिद गरेको झण्डै ८० हजार रुपियाँबाट ती कापी किनेर सहयोग गरिएको हो ।
विद्यालयका प्रधानअध्यापक कृष्ण ढुंगानाले विद्यालयमा अध्ययनरत झण्डै साढे ६ सय बालबालिकाहरुलाई दामासाहीले वितरण गरिने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलबहादुर शाहीले कुल २६ मध्ये १४ जना शिक्षक नीजि दरबन्दीबाट व्यवस्थापन गर्नु पर्ने बाध्यता रहेको भन्दै अभिभावकको सहयोग लगायतबाट मासिक झण्डै २ लाख ७० हजार रुपियाँ तलव स्थानीय स्रोतबाट व्यवस्थापन गरिरहेको बताउनु भयो । यस्तो अवस्थामा पुस्तक विक्रिको रकमबाट विद्यार्थीलाई गरिएको यो सहयोगले निकै ठूलो अर्थ राख्ने उहाँको भनाई थियो ।
शैक्षिक सामग्री वितरणका अबसरमा नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका पुर्व अध्यक्ष तथा समाजसेवी सुदर्शन आचार्यले विदेशमा बसेर पनि नेपालको माया गर्ने लेखक शर्माको यो प्रयास प्रशंसनीय भएको बताउनु भयो ।
सहयोगी गेट कलेजका प्रमुख खेम लकाइले आफुले किनेको पुस्तक पनि बाँडेर ज्ञान साट्न पाएको र त्यो रकम पनि सेवामा प्रयोग हुंदा खुसी लागेको बताउनु भयो ।
शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष तुला अधिकारीले पुस्तक आफैमा ज्ञानको भण्डार भएको भन्दै यसको विक्रिबाट आएको रकमले विपन्न बालबालिकाको पढाईमा सघाउने लेखक शर्माको काम नौलो र उदाहरणीय भएको बताउनु भयो ।
हाल अष्ट्रेलिया र नेपालमा मात्र यो पुस्तक अनलाइनबाट किन्न पाइन्छ भने भने छिटै नेपाली बसोबास गर्ने अन्य देशमा पनि पुस्तक उपलव्ध हुने लेखक शर्माको भनाई छ ।
विदेशमा विक्रि भएको एक पुस्तकबाट ६ थान र नेपालमा विक्रि भएको एक पुस्तकबाट २ थान झण्डै एकसय पृष्ठको कापी किनेर विपन्न समुदायका बालबालिकालाई सहयोग गर्ने अभियान भएको उहाँले बताउनु भयो ।
शर्माले केहि वर्ष अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र वीर अस्पताल सरसफाईको नमूना काम गरी सरकारलाई सघाउनु भएको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...