• शनिबार, १५ बैशाख, २०८१
  • १७:२७:४४
  • नेपालीको अभिमत

स्वास्थ्य

सिकलसेल थालेसिमिया र हेमोफिलियाका बिरामीलाई निःशुल्क बिमा

नेपालमत

बिहीबार, २६ पौष, २०८०

लुम्बिनी प्रदेश सरकारले सिकलसेल एनिमिया, बिटा थालेसिमिया र हेमोफिलियाका बिरामीहरूका परिवारलाई निःशुल्क बिमा कार्यक्रम सुरु गरेको छ ।

प्रदेश सरकारले बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट निःशुल्क बिमा कार्यक्रम सुरु गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र सहरी विकास मन्त्री कृष्णा केसीले राप्तीसोनारी गाउँपालिका–३ का आरुस थारुलाई बिमा कार्ड हस्तान्तरण गरी बिमा कार्यक्रमको सुरुवात गर्नुभएको हो ।

सिकलसेलका बिरामीलाई उपचारमा थोरै भए पनि राहत होस् भन्ने उद्देश्यका साथ चालू आर्थिक वर्षदेखि प्रदेश सरकारले सिकलसेल, थालेसिमिया र हेमोफिलियाका बिरामीहरूका परिवारलाई निःशुल्क बिमा कार्यक्रममा जोड्न सुरु गरेको स्वास्थ्य मन्त्री खनालले बताउनुभयो । उहाँले स्वास्थ्यमा सहज पहुँच स्थापित गर्न बिमा कार्यक्रममा सबैलाई जोड्न आवश्यक रहेको पनि बताउनुभयो । ‘विपन्न तथा गरिब परिवारलाई बिमा कार्यक्रममा समेट्न झनै आवश्यक छ उहाँले भन्नुभयो–‘नत्र उपचार अभावमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ ।’ सिकलसेलका बिरामीको उपचारका लागि बर्दियामा सिकलसेल अस्पताल निर्माणाधीन अवस्थामा रहेकाले त्यसलाई प्रदेश सरकारको मातहतमा रहने गरी सञ्चालन गरिने पनि उहाँले बताउनुभयो । उहाँले उक्त अस्पतालका लागि प्रदेश सरकारले ३० लाख बजेट विनियोजन गरेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा सहरी विकास मन्त्री कृष्णा केसीले सिकलसेल तथा थालेसिमियाका परिवारलाई आर्थिक आर्य आर्जनसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

रोगबाट पीडित परिवारलाई उनीहरूको आयआर्जनमा टेवा पुग्ने खालका कार्यक्रमहरू प्रदेश सरकारले ल्याउन आवश्यक रहेको औँल्याउनुभयो । आफ्नै निर्वाचन क्षेत्रबाट बिमा कार्यक्रम सुरु गरिएकोप्रति खुसी व्यक्त गर्नुभएकी मन्त्री केसीले यसलाई प्रभावकारी र अझै व्यवस्थित बनाएर लैजानु पर्ने सुझाव दिनुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य सञ्जु कुमारी थारुले सिकलसेल तथा थालेसिमिया बिरामीलाई उपचार र बिमासँगै आर्थिक आयआर्जनका कार्यक्रमसँग जोड्ने गरी योजना ल्याउन मन्त्री खनालको ध्यानाकर्षण गराउनुभयो । उहाँले सिकलसेलका बिरामीलाई आजीवन उपचारको व्यवस्था सरकारले गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राप्तीसोनारीमा ३३ जना सिकलसेलका बिरामीको बिमा गरिएको छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सिकलसेल तथा थालेसिमिया रोग नियन्त्रणका लागि गाउँपालिकाले रोगीको पहिचान गर्ने र चेतना जगाउने काम गरिरहेको जानकारी दिनुभयो ।(आइएनएस समाचार)

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved