कास्की- जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो । आयोजना माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको छ । विसं २०७७ भदौदेखि विद्युत् आयोजना निर्माण सुरु भएको थियो ।
आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार ढिलोमा पनि आगामी मङ्सिरभित्रमा आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत् उत्पादन हुनेछ । स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाटनै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जलविद्युत््मा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । एक हजार पाँच सय जना प्रवद्र्धकको लगानी छ, सुरुआती लागत बढेको छैन । पारदर्शीरुपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका छौँ, छिट्टै सफलता मिल्नेमा आशावादी छौँ ।”
सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।
कोरोना कहरकाबीच सुरु भएको आयोजनामा सुरुआती चरणमा काममा असर पुगेकाले एक वर्ष म्याद थप भएको अध्यक्ष पोखरेलले बताउनुभयो । आयोजनाको म्याद विसं २०८१ साउनसम्म रहेको छ । उहाँले भन्नुभयो, “कोरोनाले काममा असर गर्दा एक वर्ष म्याद थप गर्नुपरेको हो । स्थानीय सरकार, स्थानीयवासी तथा सबैको साथ सहयोगले आयोजना सम्पन्न हुने चरणमा छ । अबको पाँच महिनाभित्रमा आयोजना सम्पन्न भएर विद्युत् उत्पादन हुनेछ ।”
सेती जलविद्युत् आयोजनामा रु पाँच अर्ब लगानी रहेको छ । यसमा रु तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवद्र्धक, स्थानीयवासी तथा आइपियो जारी गरेर पूरा गरिने आयोजनाले जनाएको छ ।
आयोजनाका इन्जिनियर उपेन्द्र घिमिरेले हेडबक्र्सको काम सकिएर पानी पठाउन सुरु भएको बताउनुभयो । त्यसैगरी पाइपलाइनतर्फ एक सय ५० मिटर जति मात्र काम बाँकी छ । “पावर हाउसको सिभिलको काम सकिएको । स्विचयार्डको काम भइरहेको छ र इलेक्ट्रोमेकानिकलको केही सामान आउन बाँकी रहेको छ”, घिमिरेले भन्नुभयो, “सबै क्षेत्रतर्फ गर्नुपर्ने मुख्य काम सकिएको छ । केही सानातिना काम पूरा गर्नुपर्नेछ ।”
सेती आयोजनाबाट उत्पादित विद्युत् चार किमी दूरीमा लाहाचोकमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जोडिनेछ । विद्युत्गृहबाट सवस्टेशनसम्म प्रसारण लाइन निर्माण भइरहेको छ । प्रसारण लाइमा १३ वटा टावर रहनेमा हालसम्म ११ वटामा काम भइरहेको इन्जिनियर घिमिरेले बताउनुभयो ।
आयोजनाको सञ्चालकसमेत रहनुभएका सामाजिक क्षेत्र निर्देशक बमबहादुर गुरुङले स्थानीय जनताको सहयोगबाटनै आयोजना सम्पन्न हुने चरणमा पुगेको बताउनुभयो । निर्माणका क्रममा आउने सानातिना समस्या छलफलका माध्यमबाट समाधान गर्दै आयोजनाबाट निकट भविष्यमा विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको उहाँले उल्लेख गर्नुभयो । आयोजनाबाट देशको ऊर्जा क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास गुरुङको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...