काठमाडौं- सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती) जडान गर्ने कार्य अघि बढेको छ ।
बत्ती जडानको लागि पहिलो पटक विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य गर्ने गरी सम्झौता भएको थियो ।
यस अघि मुख्य विषय स्मार्ट सडक बत्ती जडान गर्ने सम्बन्धमा सम्झौता भए पनि कुन कम्पनीको, कति थान र कुन क्षमताको बत्ती जडान तथा त्यसको मर्मतसम्भार कस्ले गर्ने र बत्तीको महसुल कस्ले तिर्नेजस्ता विषय स्पष्ट नभएकाले काम अघि बढ्न सकेको थिएन ।
केही दिनअघि ती सबै विषयमा पुनः सम्झौता भएपछि बत्ती जडानको काम अघि बढेको हो । कामपाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार अलमल भएका तथा कुरा नमिलेका विषयमा पनि थप सहमति भई सम्झौता भइसकेकाले बत्ती जडानको काम अघि बढ्ने भएको हो ।
बत्ती जडान गर्न रु ११ करोड ९९ लाख ७४ हजार नौ सय २५ लागत अनुमान गरिएको छ । जसमा कामपाले ६० र नेपाल विद्युत् प्राधिकरणले ४० प्रतिशत रकम व्यहोर्ने छन् । रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको हो ।
स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता कायम गर्न साझेदारसँग सहकार्य गरिएको विभागका प्रमुख थापाको भनाइ छ ।
लैनचौरदेखि महाराजगञ्ज, माइती घर मण्डलादेखि बागबजार, बागबजारदेखि शीतल निवास, सिनामङ्गल अन्तरराष्ट्रिय विमानस्थलदेखि गौशालाहुँदै कमल पोखरी र चावहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन् ।
यसैगरी विद्युत् प्राधिकरणको लगानीमा सिनामङ्गल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलङ्की, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरी बत्ती जडान हुनेछन् ।
जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि कामपालाई हस्तान्तरण गरिनेछ । सडक बत्ती प्रयोग भएबापत्को शुल्क कामपाले प्राधिकरणलाई बुझाउनेछ । कामपाको अधिकारक्षेत्रभित्र पर्ने सडकका जम्मा ६० किलोमिटर क्षेत्रमा बत्ती जडान गर्ने सम्झौता उल्लेख छ ।
बत्ती जडानसँगै राति सडकमा हुने दुर्घटना कम हुने र यात्रुलाई आवतजावतमा सहयोग पुग्ने विश्वास कामपाको छ । उक्त बत्तीले सडकमा सोलार वा अन्य बत्तीले भन्दा बढी उज्यालो दिने र त्यसको प्रकाश साँझको समयमा बढी चम्किलो हुने बताइएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...