आयो तीज भन्दाभन्दै गयो डाँडा परी,
हलौं हलौं गयो वर्षा वनमा भयो झरी
फेरि फर्की जान पर्यो त्यही सौताको घर
मेरो छाती चिरिएर आ’छ चररर
मरौं भने आउन्न काल, बाँचौं सधैंको यो चाल
उहिले तीजका गीतमा यस्ता विरह हुन्थे । श्रीमान्ले सौता ल्याउँदाको पीडा । सासूससुराले गर्ने व्यवहार । जेठानी देउरानीको टोकसो । जे भोगिन्थ्यो त्यही गीत हुन्थ्यो । लामो समय भेट नभएका माइती, आ–आफ्नो घर लागेका साथीसँगीसँग भेट हुने, रमाइलो गर्ने भनेकै तीजको वेला हुन्थ्यो । तीज आउन १०/१२ दिन अगावैदेखि दिनगन्ती शुरू हुन्थ्यो । कहिले तीज आउला र माइत जान पाइएला भन्ने हुन्थ्यो । तीज आउँथ्यो दुई दिन मनको पीडा जान्थ्यो अनि घर फर्केपछि फेरि मन गह्रुँगो हुन्थ्यो ।
“हुनेहरूले उतिखेर पनि राम्रै लाउँथे, राम्रै खान्थे । तर, अहिलेको जस्तो मलाई फलानीकै जस्तो सारी चाहिन्छ । फलानीकै जस्तो तिलहरी, माडवारी चाहिन्छ भन्ने थिएन ।”
झापाको दमककी नरमाया बिस्टको उहिलेको तीजको अनुभव ठ्याक्कै यस्तै छ । ६४ वसन्त पार गर्नुभएकी नरमायालाई अहिलेका चाडबाड सबै फरक लाग्छन् । अझ तीज त बिलकुल फरक लाग्छ ।
पशुपतिनाथको दर्शनका लागि काठमाडौं आउनुभएकी उहाँ झापा होस् वा काठमाडौं जताततै तीज पहिलेको भन्दा फरक रहेको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिलेको जस्तो ६/७ दिन अगाडि देखि दर खाने, नाच्ने, गाउने फुर्सद हामीले कहाँ पाउनु ! माइत जानु पहिले घरको सबै काम सक्नुपर्थ्यो । अभल कहिले त जानै पाइँदैनथ्यो ।”
उहाँ तीजलाई माइतीसँग भेट गराउने चाडका रूपमा लिनुहुन्छ । भन्नुहुन्छ, “माइतीको न्यास्रो लागेको वेला तीजको बाटो कुर्दै बसेका हुन्थ्यौं । जब तीजको दिन नजिक आउँथ्यो मनमा बेग्लै खुशी हुन्थ्यो । माइत जाँदा दुई/चार दिन भए पनि आनन्द हुन्थ्यो । त्यो पो तीज हो । अहिलेको तीज त के तीज !”
नरमाया बिस्ट
सँगै खेले बढेका साथीहरूसँग भेट्न पनि तीज कुर्नुपर्थ्यो । दिदीबहिनी फुपू भदैहरू जम्मा हुँदा सुखदुःखका कुरा हुन्थे । कसैलाई राम्रै हुन्थ्यो कसैलाई धेरै दुःख हुन्थ्यो । वर्षभरि मनमा पोको पारेर राखेको दुःख तीजमा आमा, काकी, दिदीबहिनी, साथीसँगीसँग पोख्ने मौका हुन्थ्यो । नरमाया अहिले प्रविधि गर्दा पनि यी सबै कुरा छोट्याएको अनुभव गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले सबैको हातहातमा मोबाइल छ, इन्टरनेट छ । सम्झना आउँदा फोन गरे भयो । अझ भिडिओ कल पनि गर्न सकिन्छ । त्यसैले पहिले जस्तो अहिले मनको बह पोख्न तीज नै कुर्नु पर्दैन ।”
नरमायाको घर लेकमा थियो, माइत औलमा । “घरमा पेटभरि खान नपाउनेहरू तीजमा माइत आउँदा विभिन्न परिकार बनाउँथ्यौं, पेटभरि खान्थ्यौं । अनि हामीलाई त्यही रमाइलो हुन्थ्यो नि !” उहाँले भन्नुहुन्छ । कामले धपेडी भएका चेलीहरू माइत आएर आराम गर्ने अवसर पनि हुन्थ्यो तीज ।
“हुनेहरूले उतिखेर पनि राम्रै लाउँथे, राम्रै खान्थे । तर, अहिलेको जस्तो मलाई फलानीकै जस्तो सारी चाहिन्छ । फलानीकै जस्तो तिलहरी, माडवारी चाहिन्छ भन्ने थिएन,” नरमाया अहिलेको विकृतितर्फ दिग्दारी पोख्नुहुन्छ ।
ललितपुर, इमाडोलकी मनमाया तामाङ पनि पहिले र अहिलेको तीजमा फरक रहेको बताउनुहुन्छ । उहाँको पालामा मनाइने तीजमा टोलका सबै दिदीबहिनी जम्मा भएर कसैले मादल बजाउँथे, कोही गीत गाउँथे, अनि अरू पालैपालो नाच्थे । तर, अहिले उहाँले यस्तो तीज देख्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “अहिले त दर खाने भन्छन्, पार्टी प्यालेस हिंड्छन् । हामी त दिदीबहिनी एक ठाउँमा जम्मा भएर नाचगान गर्थ्यौं, रमाइलो गर्थ्यौं । अहिलेको तीज त खै कस्तो कस्तो !”
आज यस वर्षको हरितालिका तीज । गाउँदेखि शहरका महिलालाई तीजले छपक्कै छोपेको छ । हप्ता दिनभन्दा अगाडि देखि विभिन्न समूहमा आबद्ध महिला, टोलटोलका महिला मिलेर दर खाने नाच्ने; कार्यालयहरूमा पनि तीज विशेष कार्यक्रम भएको देखिएका छन् । गाउँमा हरेक टोलमा महिलाहरू नाचगान गरेर रमाइरहेका छन् भने शहरका पार्टी प्यालेस र होटेलहरू भरिभराउ देखिएका थिए । रातो सारीमा छपक्कै गहनामा सजिएका महिलाले तीज आउन अगावै पार्टी प्यालेस भरिएका थिए ।
अहिलेका दर खाने चलन र महिलाका नाचगान पुराना पुस्ताका महिलाहरूलाई मन पर्दैन । तीज पार्टी प्यालेसमा रमाउनको लागि नभइ महिलाहरूको दुःख बिसाउने र मन हल्का बनाउने चाड भएको बुढापाका महिलाहरू बताउँछन् ।
“अहिलेका महिलाहरूको जस्तो तीज आउनु अगावै कहाँ नाच्ने फुर्सद हुन्थ्यो र ? दिनभरि वस्तुभाउलाई घाँस काट्ने, घरको अन्य काम सकेर साँझ खाना खाइवरी बल्ल नाच्न शुरू गर्थ्यौं ।”
रसुवाकी उर्मिला बस्नेत अहिले काठमाडौंको पशुपतिमा रहेको वृद्ध आश्रममा हुनुहुन्छ । उहाँ आफूहरूको पालामा जस्तो रमाइलो अहिले नभएको सुनाउनुहुन्छ । विगतको तीजबारे सुनाउँदै उहाँ भन्नुहुन्छ, “अहिलेका महिलाहरूको जस्तो तीज आउनु अगावै कहाँ नाच्ने फुर्सद हुन्थ्यो र ? दिनभरि वस्तुभाउलाई घाँस काट्ने, घरको अन्य काम सकेर साँझ खाना खाइवरी बल्ल नाच्न शुरू गर्थ्यौं ।”
उहाँलाई अहिलेका गीत पनि चित्त बुझदैनन् । “पहिलेका गीत विरहका हुन्थे । जे हामीले भोगेका हुन्थ्यौं त्यही कुरा गीतमा गाइन्थ्यो,” उहाँ भन्नुहुन्छ, “पहिले गीत सुन्दै रुन मन लाग्थ्यो । अहिले त न गीत बुझिन्छ न केही रमाइलो लाग्छ ।”
उर्मिला बस्नेत
अघिपछि ढिंडो खाए पनि तीजको वेला माइत जाँदा भात खान पाइने आशा हुन्थ्यो । उर्मिला, मनमाया र नरमायाको पालामा जस्तो तीज अहिले पक्कै छैन । तीज महिलाहरूको बिलौना पोख्ने तथा माइती भेट्ने नभई फेसनको रूपमा मनाइन थालिएको छ । अहिले तीजका कार्यक्रममा हिन्दी, अंग्रेजीका र्याप गीतमा नाचिरहेको देखिन्छ । यो विकृति हो । यसबाट सजग भई हामीले हाम्रो संस्कृति बचाउनतर्फ लाग्नु पर्छ ।
संस्कृतिविद् कान्ता भट्टराई पछिल्लो समय नेपालमा मनाइने हरेक चाडबाडमा विकृति फैलिएको बताउनुहुन्छ । पछिल्लो समय समाज देखासिकीमा बढी केन्द्रित भएकाले हामीले मनाउने चाडबाडमा मौलिकपन हराएको उहाँको दावी छ । “तपाईंले हेर्नुभएकै होला; सारी लगाएका हुन्छन्, तीज कार्यक्रम भनेका हुन्छन् । डग डान्स गरेर सामाजिक सञ्जालमा पोस्ट गर्छन् । के हाम्रो संस्कृति यही हो त ?” उहाँ भन्नुहुन्छ ।
आजभोलिका तीजमा विरहभन्दा गहना र सारीको प्रतिस्पर्धा बढी हुन थालेको छ । महँगा कपडा र गरगहनाले पनि तीजलाई फेसनको रूपमा विकसित गर्दै लगेको उहाँको भनाइ छ ।
“तीज आउन अगावै दरको लागि भनेर तारे होटेलदेखि लिएर पार्टी प्यालेस बुकिङ हुन्छन् । यसले हाम्रो समाज र संस्कृति कतातिर जाँदैछ भन्ने चिन्ताको विषय हो,” भट्टराई चिन्ता व्यक्त गर्नुहुन्छ ।
तीजमा दिदीबहिनीले रमाइलो गर्ने चलन राम्रो भए पनि महिनौंअघि देखि दर खाने, तडकभडक गर्ने चलन राम्रो नभएको उहाँको भनाइ छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपाल सरकारले ‘हिमाल, मानव र जलवायु परिवर्तन’ विषयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय संवादको तयारी सुरु गरेको छ। आगामी जेठ ९ र १० गते काठमाडौँमा सम्बन्धित विषयका...
बारा - मधेशको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट मधेश प्रदेशका स–साना बिरुवा नष्ट हुन थालेका छन् भने पूर्वपश्चिम राजमार्गमा समेत डढेलोका कारण यत्रा...
वन डढेलोसँगै वायु प्रदूषण बढेको छ। डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार २६ चैतमा...
काठमाडौं - समाजमा दिनानुदिन वालवालिकाहरुमा अटिजम हुनेको संख्या बढिरहेको छ । अटिजम वालवालिकाको जन्मजात नै एउटा बिशिष्ट अवस्था हो र यो कुनै रोग होइन ।...
मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य स्वच्छताका बारेमा उपभोक्ताले आफूले खानेकुराको स्तर (लेबल) हेर्न अति आवश्यक हुने स्वास्थ्य विज्ञ बताउँछन्। लेबल ख्याल नगरी कतिपय उपभोक्ताले...