• शनिबार, ८ बैशाख, २०८१
  • ०१:१६:४६
  • नेपालीको अभिमत

अभिमत / विचार

जलवायु परिवर्तनको असर मात्र होइन, संकट नै आइसक्यो

डा.धर्मराज उप्रेती

शनिबार, ११ भदौ, २०७९

लवायु परिवर्तनको असर नेपालमा विभिन्न क्षेत्रमा देखिन थालेको छ । कृषि, नदी, वन सबै ठाउँमा असर परेको छ । तथ्यांक विभाग र नेपाल सरकारले गरेको एक अध्ययनले कुन कुन क्षेत्रमा कहाँ र कसरी असर परेको छ भनेर देखाएको छ । पछिल्लो दश वर्षमा यो असर दोब्बर भएको छ भने कुनै ठाउँमा तेब्बर पनि भएको छ । जसले गर्दा अब जलवायु परिवर्तन मात्र भन्दा पनि जलवायु संकट उन्मुख भइसक्यो । जलवायु परिवर्तनको असर कुनै पनि क्षेत्रमा दुई तरिकाले देखिन्छ । एउटा; विस्तारै देखिने र अर्को एकैचोटि देखिने असर । धान, आलु, कोदो लगायतका खाद्य बाली क्रमशः कम फल्दै जानु विस्तारै देखिने असर हो भने मनाङमा आएको हिम पहिरो, मेलम्चीको बाढी, सुदूरपश्चिममा भएको बेमौसमी वर्षा एकैचोटि देखिने असर हो । 

जलवायु परिवर्तन भनेको पानी पर्ने तरिकामा परिवर्तन हुनु, हावा लाग्ने तरिकामा परिवर्तन हुनु तथा तापक्रममा परिवर्तन हुनु हो । पछिल्लो समयलाई हेर्ने हो भने विश्व तापमान बढेको अवस्था छ । कार्बन यति धेरै बढ्यो कि २० वर्ष अगाडिको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ । वायुमण्डलमा कार्बन धेरै भयो भने तापक्रम वृद्धिमा त्यसले सहयोग गर्छ । तापक्रम वृद्धि भयो भने त्यसले हरेक बोटबिरुवालाई असर गर्छ । आजको बीस वर्ष अगाडि कुनै ठाउँमा जसरी बिरुवा उम्रिरहेको थियो, तापक्रम बढ्दा त्यही ठाउँमा त्यही बिरुवा उम्रन गाह्रो हुन्छ ।

अहिले जताततै सडक खनिएको छ । सडक खन्दा माटोको भार कति छ, यसले कति भार थाम्न सक्छ भन्ने अध्ययन नै भएको छैन । यस्ता कुरामा ध्यान दिनुपर्‍यो ।

जलवायु परिवर्तनको यति असर भोगिरहेको नेपालको यो आफ्नै समस्या भने होइन । जलवायु परिवर्तनको कारक तत्व भनेको हरितगृह ग्यासको उत्सर्जन हो । हरितगृह ग्यास उत्सर्जन भारत, अस्ट्रेलिया, चीन, अमेरिका लगायत ठूला देशहरूले गर्छन् । त्यसको असर हामीले भोग्नुपरेको छ । वायुमण्डलमा कार्बन बढ्दै जाँदा यो समस्या भयो । नेपाल यसको समस्यामा परेपछि नेपालले स्वच्छ ऊर्जामा जानुपर्छ भनेर संयुक्त राष्ट्र संघको महासन्धिमा प्रतिबद्धता पत्र पेश गरेको छ । यो भन्नुको अर्थ कृषि क्षेत्रमा यति घटाउनेछौं, यातायात, वनको व्यवस्थापनबाट यति यति घटाउनेछौं भनेर प्रत्येक वर्ष रिपोर्ट गरिरहेका छौं । एक सय ९६ राष्ट्रले नै यस्तो गरिरहेका छन् ।

अस्ट्रेलियामा कस्तो तापक्रम हुन्छ । अस्ट्रेलियाको समुन्द्रको तापक्रम के हुन्छ भन्ने जे आँकलन हुन्छ त्यसको असर नेपालमा के हुन्छ भन्नेसँग जोडिन्छ । यहाँ सुक्खा भयो भने ल्याटिन अमेरिकामा सुक्खा हुन्छ । त्यहाँ एकदम सुक्खा भयो भने यहाँ पानी पर्छ । पृथ्वी यसरी जोडिएको छ । पाँच सय वर्ष यताको रेकर्ड अनुसार युरोपमा गर्मी बढेको छ । अहिले तापक्रम चल्ने क्रम बढेको छ ।

अब जलवायु परिवर्तनको असर छ वा छैन भन्ने प्रश्न नै रहेन । संकट नै आइसक्यो । नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार गर्नुपर्ने कामहरूमा सन् २०५० सम्म जलवायु परिवर्तनले पर्ने असर कम गर्न के के गर्नुपर्छ भन्नेमा राष्ट्रिय अनुकूलन योजना ल्याएको छ । सन् २०३० सम्म हामी के गर्छौं, २०४५ सम्म के गर्छौं, जुन हरितगृह ग्यासको उत्सर्जन छ त्यसलाई कसरी घटाउँछौं र कुन क्षेत्रबाट घटाउँछौं भन्ने प्रतिबद्धता सरकारले महासन्धिमा गरेको छ ।

डा. धर्मराज उप्रेती, जलवायु विज्ञ

सन् २०१९ मा जलवायु नीति भनेर ल्याएको छ । यो पटक विपद् ऐन २०७४ आएको छ । नीतिमा गर्नुपर्ने काम अन्तर्राष्ट्रिय समुदायलाई दिएको प्रतिबद्धता अनुसार भएको छ । त्यसको आधारमा सबै स्थानीय तहमा जलवायु र विपद् फोकल पर्सन राख्ने व्यवस्था गरेको छ । यस्तै; स्थानीय आपतकालीन केन्द्र बनाउने घोषणा गरेको छ । कतिपय ठाउँमा शुरू पनि भइसकेको छ । अब हामी जलवायु परिवर्तनले सिर्जित गरेको र अरू विपद्को बारेमा जानकारी दिन सबै पालिकामा तालिम दिने योजनामा छौं ।

जोखिम बढ्दैछ भन्ने आधारमा नीति बनाउने काम भइरहेको छ । तर, जुन गतिमा काम हुनुपर्ने हो त्यस्तो हुन नसक्दा जोखिम उस्तै छ ।

के गर्ने त ?

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न प्रत्येक नागरिकको उत्तिकै भूमिका हुन्छ । एक जना व्यक्तिले जंगलमा आगो लगाइदियो भने पूरै जंगल सखाप हुन्छ । नेपालमा हामी करोडौं नागरिक छौं, सबैले दाउराको प्रयोग अत्यधिक गरियो भने समस्या हुन्छ । यसका लागि हरेक व्यक्तिले ध्यान दिनुपर्छ । त्यो कसरी भन्दा; सुधारिएको चुलो राखियो भने त्यो पनि सहयोग हो । विद्युत् भएको ठाउँ छ भने विद्युतीय चुलो राखेमा त्यो पनि सहयोग भयो । जल, जंगलको  क्षेत्रमा पनि प्रत्येक नागरिकले यस्तै भूमिका निभाउने हो भने न्यूनीकरणमा सहयोग पुग्छ । यद्यपि राज्यले गर्नुपर्ने भूमिका ठूलो छ । यसमा नागरिकको साथ आवश्यक हुन्छ । 

अहिले तीन थरीका सरकार छन् । स्थानीय, प्रदेश र केन्द्र तीन वटै सरकारले गनुपर्ने कामहरू फरक छन् । यो कामको दायरा ऐनले छुट्याइदिएको छ । काम भइरहेको छ तर जुन गतिमा हुनुपर्ने हो त्यो भएको छैन । जलवायु परिवर्तनको गति र हाम्रो काम गर्ने गति पनि एउटै भयो भने हुन्छ । यसको असर दिनहुँ बढेको बढ्यै छ तर हामी योजना बनाउनमा मात्र व्यस्त भयौं । कार्यान्वयनमा लागेनौं भने जोखिम हुन्छ ।

भौतिक संरचना बनाउँदा ध्यान दिऔं

घर बनाउँदा, बाटो निर्माण गर्दा, पुल बनाउँदा अथवा हरेक भौतिक संरचना निर्माण गर्दा ध्यान दिनुपर्ने देखिएको छ । सिचाइँको लागि जसरी पहिले हामी कुलो निर्माण गर्थ्यौं अब त्यसले हुँदैन, ठूलो बाढीले परम्परागत कुलोलाई बगाइदिन्छ । अहिले जताततै सडक खनिएको छ । सडक खन्दा माटोको भार कति छ, यसले कति भार थाम्न सक्छ भन्ने अध्ययन नै भएको छैन । यस्ता कुरामा ध्यान दिनुपर्‍यो । त्यसैमाथि अहिले जलवायु परिवर्तनले पानी पर्ने प्रणालीमा परिवर्तन भएको छ । कुनै ठाउँमा एकैचोटि दुई सय मिलिमिटर पानी पर्छ भने त्यो खतराको संकेत हो । नेपाल सरकारले २४ घण्टामा दुई सय मिलिमिटर पानी पर्नु खतरा मानेको छ ।

२४ घण्टामा एक सय ४० मिलिमिटरभन्दा बढी पानी पर्‍यो अर्थात् एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १०० मिलिमिटर, १२ घण्टामा एक सय २० मिलिमिटर र २४ घण्टामा एक सय ४० मिलिमिटरभन्दा बढी पानी पर्‍यो भने बाढी पहिरो निम्त्याउँछ भन्ने थ्रेसहोल्ड छ ।

२४ घण्टामा एक सय ४० मिलिमिटरभन्दा बढी पानी पर्‍यो अर्थात् एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १०० मिलिमिटर, १२ घण्टामा एक सय २० मिलिमिटर र २४ घण्टामा एक सय ४० मिलिमिटरभन्दा बढी पानी पर्‍यो भने बाढी पहिरो निम्त्याउँछ भन्ने थ्रेसहोल्ड छ । त्यसैले हाम्रो संरचनामा पनि परिवर्तन गर्नुपर्‍यो । सानो खहरे खोलामा पनि एकैचोटि ठूलो बाढी आउन सक्छ भन्ने हिसाबले पानीका संरचना, सडकको संरचना, पुल बनाउँदादेखि लिएर घरको संरचना, विद्यालय, अस्पताल आदिका संरचना बनाउँदा ध्यान दिनुपर्छ । विपद्‌मैत्री र जलवायुमैत्री भौतिक संरचना बनाउनु पर्छ ।

खाद्य बालीमा पर्ने असर कम गर्न ध्यान दिने

रैथाने खेती प्रणाली लोप हुँदैछ । यसको लागि हामीले लगाउने खेतीपातीमा परिवर्तन गर्नुपर्छ । माटोमा परिवर्तन आइरहेको छ तर त्यो माटोलाई सन्तुलित बनाउने मल हामीसँग भएन जसले गर्दा खाद्यमा असर पर्छ । कृषि कर्म गर्दा परिवर्तनलाई आत्मसाथ गर्नुपर्‍यो । जस्तै; पहिले रोपाइँ गर्ने महिना जेठ असारमा थियो भने अब पानी पहिले नै पर्छ भने त्यही अनुसार छिटो बीउ राखेर छिटो रोपाइँ गर्ने । परिवर्तित जलवायुसँग मिल्ने खेती लगाउनु पर्‍यो ।

कृषि कर्म गर्दा परिवर्तनलाई आत्मसाथ गर्नुपर्‍यो । जस्तै; पहिले रोपाइँ गर्ने महिना जेठ असारमा थियो भने अब पानी पहिले नै पर्छ भने त्यही अनुसार छिटो बीउ राखेर छिटो रोपाइँ गर्नुपर्‍यो ।

अहिले हाम्रो रैथाने अन्नहरूको उत्पदान घट्दो अवस्था छ । हाम्रो जिब्रोको स्वाद, हामीलाई अहिलेसम्म स्वस्थ राख्ने खाद्यान्नको उत्पादन घटिरहेको छ । जस्तो परिवर्तन हुन्छ त्यही अनुसारको मिल्ने खेती लगाउनुपर्छ । अब हामीले अनुकूलनका उपायको खोजी गर्नुपर्‍यो । यसका लागि स्थानीय तहले जलवायु परिवर्तनको असरलाई कसरी न्यूनीकरण र अनुकूलित गर्न सकिन्छ भनेर योजना बनाउनुपर्छ । वार्षिक योजना बनाउँदा यो वर्ष पानी कति पर्छ; बाढी, पहिरोको जोखिम कति छ आदि बारे नागरिकलाई पूर्व सूचना दिने प्रणालीको विकास गर्नु पर्छ ।

त्यस्तै; विकल्पमा जान सक्नु पर्छ । जस्तो; कुनै ठाउँमा मकै राम्रो फल्थ्यो अहिले राम्रो फल्न छोड्यो, आलु राम्रो फल्थ्यो अहिले राम्रो फल्न छोड्यो भने विकल्पमा गइहाल्नुपर्छ । एउटामा मात्र निर्भर हुनुहुन्न । यसो भयो भने समस्या पर्छ । यसको लागि स्थानीय सरकारले सहजीकरण गर्नुपर्‍यो ।

(जलवायु विज्ञ डा. उप्रेतीसँग इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    ज्योतिषीय नजरमा नयाँ वर्ष २०८१

    ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...

  • नेपालमत

    नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा

    नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...

  • नेपालमत

    आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

    १९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...

  • नेपालमत

    'प्राचीन नेपालले इतिहासको नयाँ र शानदार अध्याय लेख्‍नै बाँकी छ'

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...

  • नेपालमत

    एफएम रेडियोमा कानुनको घनचक्कर

    नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved