• बिहीबार, २७ बैशाख, २०८१
  • ०५:१२:१८
  • नेपालीको अभिमत

अभिमत / विचार

हरिया चुरापोते र साउन महिनाको कुनै सम्बन्ध छैन

कान्ता भट्टराई

मंगलबार, २४ श्रावण, २०७९

हिला भन्नेबित्तिकै सुन्दर देखिनुपर्ने, लिपिस्टिक लगाएको हुनुपर्ने । हामीले महिलाको कल्पना गर्ने हो भने यही गर्छौं । सारीमा देखिएका नारी, चुरा, पोते, लिपिस्टिक लगायतका शृङ्गारले सजिने चलन छ । हिन्दू धर्मशास्त्र अनुसार चुरा, पोते, सिन्दूरको सम्बन्ध महिलासँग घनिष्ट हुन्छ । गीतामा महिलाको सुन्दरता नै उसको गहना भनिएकाले शृङ्गार गर्नुपर्छ भनेको छ । तर, साउन महिना लागेसँगै नेपाली महिलाले हरिया चुरा, पोतेले झकिझकाउ हुनुको भने कुनै धार्मिक महत्व छैन ।

हाम्रो धर्म, संस्कृति र परम्पराहरू पुर्खाका बिरासत हुन् । यी सम्पत्ति हाम्रा पुर्खाले हामीलाई दिएर गएका हुन् । यसको जगेर्ना र संरक्षण गर्नु पर्छ । नारी प्रकृतिको योगदान हो । नारीले तडकभडकको रूपमा होइन, शिष्ट रूपमा आफ्नो संस्कारलाई जोगाउनु पर्छ ।

विवाहित नारीसँग सिन्दूर, पोतेको घनिष्ठ सम्बन्ध हुन्छ । सिन्दूर, पोते र तिलहरीले विवाहित नारी हुन् भन्ने जनाउँछ । यो नारीको परिचय हो । तर, आजभोलि मालामा पनि पोते राखिएको हुन्छ । अहिले अविवाहित नारीले पनि माला लगाएका हुन्छन् । आजभोलिका पढेलेखेका नारीहरूले सिन्दूर–पोते लगाउनै छाडे । उहाँहरू अफिसमा काम गर्नुहुन्छ, हतार भएकोले पनि होला तर लगाउनु चाहिं राम्रो हो । विवाहित महिलाका लागि सिन्दूर, चुरा जस्तै पुरुषको लागि ब्रतबन्ध हुन्छ ।

अहिले हाम्रा महिलाले जे सोचेर साउनमा हरियो लगाइरहेका छन् यसले झन् विकृति बढ्ने देखिन्छ । यस्तो कुरा न कुनै शास्त्रमा लेखिएको छ न कुनै ग्रन्थमा । यो आयातीत संस्कृति हो । यस्ता विकृतिलाई हामीले रोक लगाउनुपर्छ ।

नारीले किन सिन्दूर–पोते लगाउनुपर्छ भने; सिन्दूर लगाएकी महिला विवाहित हुन्, यिनीमाथि कुदृष्टि राख्न हुँदैन । उनलाई मातृतुल्य सम्मान गर्नुपर्छ भनेर हाम्रो शास्त्रले भनेको छ । शास्त्रले अर्काकी श्रीमतीलाई आमातुल्य मान भनेको छ । चुरा, पोतेको सन्दर्भमा हाम्रो शास्त्रले के भनेको छ भने गहना लगाउनु उचित छ । तर, तडकभडकमा होइन ।

साउन र हरियोको सम्बन्ध

पछिल्लो समय साउनमा महिलाहरूले हरिया चुरा, हातमा मेहेन्दी मात्र होइन, हरियो नेल पोलिस र लुगा समेत हरियो रङकै लगाएको पाइन्छ । अझ विशेष मानिने सोमबारको दिन पहेंलो र रातो वस्त्रमा बिहानैदेखि शिव मन्दिरमा लाइन लागेको पाइन्छ । हरियो वस्त्र पहिरेर व्रत बस्दा विवाहित महिलाको श्रीमान्‌को आयु बढ्ने र अविवाहित महिलाले राम्रो वर पाउने भन्ने जुन भनाइ छ यो गलत हो । हाम्रो हिन्दू धर्म शास्त्रले साउनको महिनामा महिलालाई हरायो लगाउने कुरालाई कतै उल्लेख गरेको छैन । अर्को कुरा; हातमा श्रीमान् वा हुनेवाला श्रीमान्‌को नाम लेखेर हात रङ्गीबिरङ्गी बनाउने कुरा पनि शास्त्रमा छैन । बरु यसले नेपालमा विकृति फैलाएको छ । हरिया चुरा किन्न नसक्ने महिलाहरूले पनि अनिवार्य लगाउनैपर्ने जस्तो देखिएको छ ।  संस्कृतिको नाममा यसरी विकृति फैलाउनु हामी स्वयं र देशकै लागि राम्रो होइन । 

यही तडकभडकका नाममा अर्बौं रुपैयाँ विदेशिएको छ । यो राष्ट्रको निम्ति घातक हो । चुरा हाम्रो देशमा बन्दैन । सारी, नेलपोलिस, मेहन्दी पनि बन्दैन । साउन महिनाकै लागि बर्सेनि करोडौंको शृङ्गारका सामग्री नेपाल आएको समाचार सुनिन्छ । हरेक वर्ष हरियो सारी किन्नैपर्ने, चुरा किन्नैपर्ने, पोते किन्नैपर्ने  किन ? यो घरलाई आर्थिक भार हो र देशलाई पनि ।

हो; भागवत गीतामा महिलालाई सुन्दरताको प्रतीक मानेको छ । चुरा, पोते र सिन्दूरले महिलालाई सुन्दर देखाउँछ । अझ विवाहित महिलाका लागि चुरा, सिन्दूर, पोते अनिवार्य भनेको छ । तर, देखासिकीको रूपमा लगाउने होइन, आफूसँग जे छ त्यही लगाउँदा हुन्छ । हरियो नलगाउँदैमा श्रीमान्‌को आयु घट्ने, राम्रो नपाउने भन्ने कहीं लेखिएको छैन । अहिले हाम्रा महिलाले जे सोचेर गरिरहेका छन् यसले झन् विकृति बढ्ने देखिन्छ । यस्तो कुरा न कुनै शास्त्रमा लेखिएको छ न कुनै ग्रन्थमा । यो आयातीत संस्कृति हो । यस्ता विकृतिलाई हामीले रोक लगाउनुपर्छ ।

व्रत किन बस्ने ?

साउन महिना हिन्दू धर्मावलम्बीहरूले भगवान् शिवको पूजाआराधना गरी मनाउँछन् । साउनभरिको सोमबार महिलाहरू व्रत बस्नुहुन्छ, आजभोलि पुरुषहरू पनि यदाकदा बसेको सुनिन्छ । व्रत बस्दा सबै जना दिनैभरि भोकै बस्न स्वास्थ्यले साथ नदिन पनि सक्छ । यस्तो विषयमा शास्त्रले के भनेको छ भने; सकीनसकी उपवास गर्नु हुँदैन । जो स्वस्थ छ, कुनै रोग छैन, बिहानदेखि साँझसम्म उपवास गर्न सक्छ उसले उपवास गरेको अति राम्रो । नसक्नेहरूले जलाहार गर्ने, फलाहार गर्ने । नभए एक छाक मात्र खाने वा त्यति पनि गर्न नसके पवित्र भोजन गर्ने भनेको छ ।  भन्नुको मतलब शुद्ध र पवित्र मनले जल मात्र चढाउँदा पनि भगवान् खुशी हुनुहुन्छ ।

कान्ता भट्टराई

हामीले शुद्ध मनले विधिपूर्वक सोमबारको व्रत लियौं भने; सन्तान नभएकाहरूलाई सन्तान हुन्छ, विद्यावान् हुन्छ, धनवान् हुन्छ भनेको छ । अर्को कुरा; महिला र पुरुषबीच विभेद छ हाम्रो समाजमा तर धर्मशास्त्रले छोरा र छोरीबीच विभेद गरेको छैन । हो; नारीले शृङ्गार गर्नुपर्छ व्रत बस्नुपर्छ भनेर भागवत गीतामा लेखिएको छ तर हरियो लगाउनुपर्छ, सकीनसकी उपवास बस्नुपर्छ भन्ने कहीं कतै लेखिएको छैन । शास्त्रले बताए अनुसार गर्नुपर्छ । नभनेको काम गर्नुहुँदैन । यही हो धर्म ।  

हामी टीका लगाउँछौं, टीका भगवान्को प्रसाद हो । हाम्रो धर्म संस्कृतिमा टीकाको ठूलो महत्व छ । पूजा गर्दा टीका लगाइएन भने त्यो फलदायी हुँदैन । संस्कृति भनेको हाम्रो सम्पत्ति हो । राष्ट्रको साझा सम्पत्ति हो । हाम्रो पहिचान हो । नेपाल र भारतको संस्कृति धेरै मेल खान्छ । यस्तो अन्त कुनै देशमा छैन । हामीले गर्ने हरेक पूजा शास्त्रलाई टेकेर गर्नुपर्छ तर अहिले मनलाग्दी भएको छ । मलाई मन लाग्छ हरियो चुरा लगाउँछु, हरियो सारी लगाउँछु भन्नु मनगढन्ते कुरा हो ।

साउन महिना भगवान् शिवको पूजा गर्ने महिना हो । भगवान् शिव अत्यन्त दायालु हुनुहुन्छ । त्यसैले उहाँलाई आशुतोष पनि भनिन्छ । उहाँ हरिया चुरा र पोते लगाउँदैमा प्रशन्न हुनुहुने होइन । जो शुद्ध छ, पवित्र छ, दयालु छ,  शास्त्रमा टेकेर विधिपूर्वक पूजाआजा गर्छ उसलाई देख्दा प्रशन्न हुने हो ।

भगवान्‌लाई प्रशन्न पार्नको लागि शुद्ध हृदयले पात मात्र चढाइदिऊँ, जल मात्र चढाइदिऊँ, गच्छेअनुसार हुनेले अरू पनि गर्न सक्लान् तर नहुने अर्काको देखासिकीमा लागेर हैसियतभन्दा बाहिर नजाऊँ । भगवान् सम्पत्ति होइन; प्रेमको, पवित्रताको, मित्रताको भोको हुनुहुन्छ ।

(पूर्व राज्यमन्त्री एवं संस्कृतिविद् भट्टराईसँग इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved