ताजा

  • बिहीबार, ४ असोज, २०८०
  • १४:३१:४६
  • नेपालीको अभिमत

अभिमत / ब्लग

‘समाजवादीको मान्छेलाई बाटो देखाइँदैन’

इन्द्रसरा खड्का

सोमबार, ९ श्रावण, २०७९

राजनीति म त्यति बुझ्दिनँ, तर रुचि खुब हुन्छ । राजनीतिमा आएको उतारचढाव, राजनीतिज्ञहरूले गरिरहेका क्रियाकलापमा उत्तिकै चासो हुन्छ । अझ राजनीतिभित्र भइरहेको फोहोरी खेलको त देखे, सुनेजति लेखेरै विरोध पनि गर्छु । आज म राजनीति गर्नेहरूको होइन, गाउँका किसानहरूमा परेको राजनीतिक प्रभावको कुरा गर्दैछु ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन भयो । केही ठाउँमा झडप, वादविवाद भए पनि समग्रमा राम्ररी नै चुनाव सकियो । नवनिर्वाचित जनप्रतिनिधिहरू आ–आफ्नो काममा व्यस्त छ्न । तर, यही चुनावका कारण कतिपय गाउँमा भने गाउँलेहरूबीच पानी बाराबारको स्थिति कायमै छ । अझ गाउँले बीच मात्र होइन, एउटै घरका परिवारभित्र बोलचाल बन्द छ । वर्षौंदेखि अर्मपर्म गर्दै आएका दाइभाइ, जेठानी–देउरानी एउटै बाटो हिंड्दैनन् । मिलेर बसेको समाज दुई धारमा विभाजित भएको छ । यतिसम्म कि एक घरका केटाकेटी समेत अर्को घरमा जान–आउन बन्देज छ ।

“हामी पार्टीको मान्छे होइन अंकल । हामी त सुतार जान लागेको, बाटो नै भुल्यौं ।” यसपछि चाहिं बल्ल चित्तबुझ्दो कुरा गर्नुभयो, “ल आउ मसँगै । म पनि स्याउलेसम्म पुग्नुछ ।”

यो व्यथा सुदूरपश्चिमको पहाडी जिल्लाको हो । दुई साताअघि म रिपोर्टिङको क्रममा अछाम जाने मौका मिल्यो । उसो त मेरो घर पनि अछाम नै हो । घर जाने मौका खोज्न पनि पत्रकारलाई कामै पर्नु पर्छ । जलवायु परिवर्तनका कारण निम्तिएको समस्याले किसानमा परेको असरका विषयमा खोजी गर्न अछामको मेल्लेख गाउँपालिका र रामारोशन गाउँपालिका जाने योजना अनुसार अछाम गएँ । यो कार्यका लागि म मेल्लेख गाउँपालिकाको वडा नं. एक र दुई तथा ऋषिदह र रामारोशन गाउँपालिकाको सुतारसम्म पुग्नुथियो । ऋषिदह र सुतार अछामको सबैभन्दा दुर्गम ठाउँ हुन् । जहाँ कच्ची सडकसम्म पुगेको छ, हिउँदमा फाट्टफुट्ट जीप गुडे पनि वर्षायाममा भने ठप्प हुन्छ । त्यहाँका अधिकांश नागरिक कृषि पेशामा आबद्ध छन् । शोडषाबाट दूरीको हिसाबले ऋषिदह नजिकै भए पनि हिंडेर जान दिनभर नै लाग्छ । उता सुतार पुग्न पनि उत्तिकै समय लाग्छ ।

असार २६ गते बिहानैदेखि परेको पानी रोकिने छाँटकाँट थिएन । बिहान ७ बजे घरबाट हिंडें । जंगलको बाटो, बाटोमा अल्लो र सिस्नोको बाक्लो झाडी, बाटो पत्ता लगाउनै मुश्किल थियो । त्यसमाथि, स्याउँस्याउँती जुका । साथीको रूपमा मेरो सानो भाइलाई सँगै लगेको थिएँ ।

टाढाबाट हेर्दा सामान्य लाग्ने जंगलमा हिंड्दा बाटो पहिल्याउनै गाह्रो हुँदो रहेछ । बीच–बीचमा भेटिने गोठालालाई बाटो सोध्दै आधा बाटोसम्म पुगियो । त्यसपछि भने कोही मान्छे भेटिएन, अनुमान लगाउँदै हिंड्यौं । जंगलैजंगलको बीचमा विनामेसै हिंड्दा कता कता मनमा डर लागेको थियो । अलिमाथि पुगिसकेपछि भने एक जना भेटिनुभयो । अनि बल्ल सास आयो । लामो सास फेर्दै सोधें, “अंकल, सुतार जाने बाटो यही हो ?” उत्तरको साटो उल्टै उहाँको प्रश्न आयो, “घर कता हो ?” मैले ‘शोडषा’ भन्न नपाउँदै भन्नुभयो, “समाजवादीको मान्छेलाई बाटो देखाइँदैन ।” के भन्न खोजेको हो नबुझेर एकछिन अलमलमा परें ।

ठूलो जंगल, मुसलधारे पानी, टमक्क लागेको कुहिरो, बल्लतल्ल भेटिएको मानिसले पनि यस्तो जवाफ दिंदा हैरान भइयो । “हैन, के समाजवादी भन्नुभएको अंकल ? हामीलाई बाटो देखाइदिनु न ।” यति भन्नासाथ फेरि त्यही कुरा दोहोर्‍याउनुभयो । “हामी पार्टीको मान्छे होइनौं अंकल । हामी त सुतार जान लागेको, बाटो नै भुल्यौं ।” यसपछि चाहिं बल्ल चित्तबुझ्दो कुरा गर्नुभयो, “ल आउ मसँगै । म पनि स्याउलेसम्म पुग्नुछ ।”

शोडषामा वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी)ले जितेको रहेछ । मेल्लेख गाउँपालिकाको अध्यक्षमा पनि समाजवादी, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनले जितेको छ । एमालेको गढ भनेर चिनिने शोडषामा एमालेले हार्दा उहाँले यसो भन्नुभएको रहेछ । कुराकानीका क्रममा एमालेले हारेकोमा उहाँको आक्रोश रहेको प्रस्ट देखिन्थ्यो । चुनावको कुरा निकाल्दै उहाँले फेरि भन्नुभयो, “यो पटक चुनावमा पहिलेका एमालेहरू पूरै समाजवादी भए रे । तिमीले पनि त समाजवादीलाई भोट दियौ होला नि ?”

झट्ट हेर्दा राजनीति गर्ने जस्तो नदेखिने व्यक्तिले यति चासो राखेको देख्दा अचम्मका साथै रोचक पनि लाग्यो । करिब एक घण्टा उहाँका कुरा सुन्दै उकालो चढ्दा बाटो काटेको पत्तै भएन ।

उमेरले अन्दाजी ५५/५६ वर्ष, नाम धु्रव साउद, काम भैंसी पाल्ने । यही हो उहाँको परिचय । एउटा सामान्य किसानलाई त राजनीतिले यहाँसम्म छुन्छ भने आफूलाई राजनीतिमै समर्पित गरेकाहरूलाई कत्तिको छोएको होला भनेर कुराकानी हुँदा मनमनै सोचें ।

यसको केही दिनपछि उपचारको लागि भारत जानुभएका एक जना दाइ नेपाल फर्किंदा बाटैमा बित्नुभयो । भारतबाट एक्लै फर्किनुभएको उहाँ गाडीबाट झर्नेबित्तिकै अछामको साँफेबगरमा नाकमुखबाट रगत आएर बीच बाटोमा ढलेको देखेपछि मानिसहरू जम्मा भएछन् । प्रहरीले ‘घर कता हो ?’ भन्दा शोडषा नवाघर भन्नेबित्तिकै नवाघरका मान्छेको प्रहरीले खोजी गर्न लाग्यो । साँफेमा बस्ने नवाघरका व्यक्तिलाई प्रहरीले बोलाएछ । उहाँले देख्नेबित्तिकै गाडीमा राखेर बयालपाटा अस्पताल लानुभयो । तर, दुःखको कुरा अस्पताल पुग्नेबित्तिकै डाक्टरले मृत घोषित गर्‍यो । उहाँले गाउँमा फोन गरेर घटनाबारे जानकारी दिंदै शव घरसम्म पुर्‍याउने व्यवस्था गर्नुभयो । तर, घरमा शव पुग्नेबित्तिकै राजनीतिले गिजोल्यो ।

राजनीति झगडा र वैरभाव मात्र होइन, मित्रतापूर्ण प्रतिस्पर्धा हो भनेर कहिले सिकाउने ? कसले सिकाउने ? यस्तै हुँदै गएमा हाम्रो समाज भोलि कतातिर जाला ? यस्ता कुरामा दूरदराजका नागरिकलाई बुझाउन ढिला भइसक्यो ।

बिरामीलाई अस्पताल लग्ने र घरमा खबर गर्ने व्यक्ति मेल्लेख गाउँपालिकामा एमालेबाट उम्मेदवार बनेर पराजित व्यक्ति हुनुहुँदो रहेछ । गाउँमा शव फलानाले गर्दा पुग्यो भनेको सुन्नेबित्तिकै एक जना महिलाले ‘भोट दिने वेला नदिए पनि अखिर काम पर्दा त उही नै चाहियो । पाप धुरीबाट कराउँछ भनेको यही हो’ भन्नुभएछ । यसै कुरालाई लिएर शव भएकै ठाउँमा हंगामा मच्चियो । झगडा गर्नेहरू जो थिए, उनीहरूलाई राजनीति के हो ? भन्नेबारे त्यति गहिरो ज्ञान थिएन । राजनीतिले नागरिकमा पारेको गलत प्रभावबारे आफ्नै आँखाले देखेको यो घटनाले मनमा निकै खिन्नता छायो ।

यति मात्र होइन, गाउँठाउँमा हुने काम, पालिका, वडाबाट पाइने सुविधामा पनि दलगत राजनीति नै हावी भएको रहेछ । एउटा विकट ठाउँमा मिलेर बसेको समाज नै भड्किने गरी राजनीतिले असर पारेको देख्दा साह्रै नरमाइलो लाग्यो ।

दिनभर बारीमा काम गरेर साँझ एक छाक पेटभरिसम्म पाउन नसक्नेहरूलाई पनि राजनीतिले उस्तै गिजोलेको रहेछ । काम गरिखानेहरूलाई यति साह्रो राजनीति किन लाग्नुपर्‍यो ? राजनीति झगडा र वैरभाव मात्र होइन, मित्रतापूर्ण प्रतिस्पर्धा हो भनेर कहिले सिकाउने ? कसले सिकाउने ? यस्तै हुँदै गएमा हाम्रो समाज भोलि कतातिर जाला ? यस्ता कुरामा दूरदराजका नागरिकलाई बुझाउन ढिला भइसक्यो ।

इन्द्रसरा खड्का

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

सोमबार, ९ श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved