यतिखेर स्थानीय निर्वाचन २०७९ को मौन अवधि छ । देश–विदेशमा रहेकाहरू भोट खसाल्नका लागि गाउँ फर्किएका छन् । आफ्नो वडा, पालिकाका प्रतिनिधि चुन्न नागरिक आ–आफ्नो पालिका फर्केका हुन् । यसरी फर्कनेहरू आजै गन्तव्यमा पुगिसक्नुपर्ने हुन्छ । देशका विभिन्न शहरबाट गाडी रिजर्भ गरेरै पनि गाउँ फर्कनेहरूको भिड देख्न सकिन्छ ।
देश चुनावमय भइरहेको वेला ज्याला–मजदूरी गरी दैनिक गुजारा चलाउनेहरूलाई भने चुनावी माहोलले छोएको देखिएन । न त उनीहरूलाई भोट खसाल्न जाने हतारो नै देखिन्थ्यो । उनीहरू बिहानदेखि बेलुकासम्म नियमित दैनिकीमै व्यस्त छन् ।
मौन अवधि शुरू हुनुभन्दा अघिल्लो दिन कालिमाटीको लामपाटी सडकमा सयौं गाडी ओहोरदोहोर गरिरहेका थिए । कयौं पटक उक्त सडक हुँदै विभिन्न पार्टीका र्याली, जुलुसहरू आए/गए । त्यही सडकको छेउमा हातमा बेल्चा लिएर बालुवा ओसार्दै हुनुहुन्थ्यो गणेश कार्की । वैशाखको चर्को घाममा खलखली पसिना चुहाउँदै काम गरिरहनुभएका गणेशलाई यस्ता र्याली, नाराजुलुसले छोएनन् । एकैछिन कम्मर सोझ्याएर हेर्नुहुन्छ अनि फेरि काममै लाग्नुु हुन्छ । मंगलबार काम गरिरहेको स्थानमा भेटिनुभएका गणेशसँग हामीले एकैछिन कुराकानी गर्ने समय माग्यौं । उहाँ कुरा गर्न तयार हुनुभयो । गणेशको घर सिन्धुलीको कमलामाइ नगरपालिकामा रहेछ । सबैभन्दा पहिले गणेशलाई ‘चुनावमा भोट हाल्न गाउँ जानुहुन्न ?’ भनेर सोध्यौं । निधारको पसिना पुछ्दै भन्नुभयो, “गाउँ गएर के गर्नु ! एक दिन काम नगरे ८ सय घाटा हुन्छ । त्यो पैसा हामीलाई कसले दिन्छ ?”
निर्माण क्षेत्रमा काम गर्ने गणेश मिस्त्री हुनुहुन्छ । उहाँले यो पेशामा जीवनका तीन दशक बिताइसक्नुभयो । अहिले पनि काम निरन्तर छ । उहाँ भन्नुन्छ, “के दशैं–तिहार, के चुनाव ! काम छोडेर गाउँ जानै गाह्रो हुन्छ । दैनिक ज्याला मजदूरी गर्नेलाई समय नै नमिल्दो रहेछ ।”
गणेश कार्की
५३ वर्षको उमेरसम्म आइपुग्दा गणेशले दुई पटक मात्र भोट खसाल्नुभएको छ २०४६ र २०५४ सालमा । २०६३ सालमा काठमाडौं छिरेदेखि यतै काममा व्यस्त हुनुभयो । भोट खसाल्नको लागि निर्वाचन आयोगको मतदाता नामावलीमा नाम हुनुपर्दछ । उहाँलाई आफ्नो नाम छ कि छैन भन्ने थाहा छैन । “पहिले एक/दुई पटक त भोट दिएकै थिएँ । त्यसपछि भोट हाल्न के–के नियम ल्याएको छ रे । यो विषयमा न मैले कसैलाई सोधें, न त कसैले भन्यो,” उहाँ भन्नुहुन्छ ।
गणेशले यही पेशाबाट तीन छोरा र श्रीमतीको पालनपोषण गर्नुभयो । अहिले छोराहरू ठूला भइसके । दुई जना काठमाडौंमा गाडी चलाउनुहुन्छ भने एउटा छोरा विदेशमा हुनुहुन्छ । गणेशलाई आफ्नै देशमा पसिना बगाउन पाएकोमा गर्व लाग्छ । “राम्रो काम गर्नको लागि न पढेलेखेको छु न केही । यही काम गर्र्दा पनि मासिक ४० हजार जति आइहाल्छ । विदेश जानु परेन । आफ्नै देशमा काम गर्न पाउँदा सन्तुष्ट छुँ,” उहाँ भन्नुहुन्छ । उहाँलाई न कसैलाई जिताउनुपर्छ भन्ने छ न कसैले मेरो लागि यो काम गरिदिए हुन्थ्यो भन्ने नै लाग्छ । त्यसैले चुनावको माहोल जतिसुकै तातिओस् उहाँ आफ्नै काममा मस्त हुनुहुन्छ ।
संखुवासभाका नर्वु शेर्पा पनि उहाँसँगै इट्टा बोक्ने, बालुवा बोक्ने काम गर्नुहुन्छ । नर्वु २० वर्ष पुग्नुभयो । उहाँसँगैका साथीहरू गाउँमा चुनावको र्याली जुलुसमा सहभागी भइरहेका छन् । नेताहरूसँग घरघर प्रचारप्रसारमा लागेका छन् तर, नर्वुलाई भने चुनावबारे कुनै चासो छैन । “चुनावबारे मलाई केही थाहा छैन । आज के काम गर्ने भन्ने थाहा हुन्छ । यस बाहेक देशमा के भइरहेको छ भन्ने मलाई जानकारी हुँदैन,” मंगलबार नेपालमतसँगको भेटमा नर्वुले भन्नुभयो ।
नर्वु शेर्पा
१६ वर्षको उमेरमा संखुवासभाबाट काम खोज्दै काठमाडौं आउनुभएका उहाँले यो काम गर्न थालेको पाँच वर्ष भयो । पाँच वर्षसम्म उहाँ एक पटक पनि घर जानुभएको छैन । नेपालमतसँगको कुराकानीमा नर्वु भन्नुहुन्छ, “६ कक्षा पढ्दापढ्दै पढाइ छोड्नुपर्यो । गाउँमा केही काम पाइँदैन । यो काममा दुःख भए पनि पेटभरि खाना त पाइन्छ । कामकै कारण घर जान चाहिं पाएको छैन, कहिलेकाहीं पैसा पठाइदिन्छु । बाँकी यस्तै त हो । काम गर्यो, बस्यो, खायो ।”
नर्वुसँग नागरिकता छैन । नागरिकता बनाउनुपर्छ भन्ने समेत उहाँलाई थाहा छैन । “यो काम गर्न नागरिकता चाहिँदैन । अरू काम गरेको छैन । नागरिकता बनाउनुपर्छ भनेर कता–कता सुनेको थिएँ तर बनाएको छैन,” उहाँ भन्नुहुन्छ ।
नर्वु र गणेश जस्ता हजारौं युवालाई न त चुनावी रौनकले छोएको छ न त उम्मेदवारहरूको घोषणापत्रले नै । चुनावबारे चासो नै नभएका उहाँहरू न भोट हाल्न गाउँ जाने तयारीमा हुनुहुन्छ न जनप्रतिनिधिको बारेमा थाहा नै छ ।
सर्लाहीको मानपुरका राजेश राय कलंकीमा केरा व्यापार गर्नु हुन्छ । बिहान बल्खु गएर केरा ल्याउने र दिउँसो कलंकीमा आएर सडकमा बसी केरा बेच्न थालेको १२ वर्ष भइसक्यो । राजेशलाई चुनावको बारेमा थाहा छ तर घर जाने फुर्सद छैन । छोराछोरी र श्रमती सहित काठमाडौंमा बस्दै आउनुभएका उहाँ भन्नुहुन्छ, “श्रीमती केरा बेच्दै बस्छे । म चाहिं कहिले भारी बोक्ने, कहिले सिरक–डस्ना बनाउने काम गर्छु । जे भेटियो त्यही काम गर्ने हामी जस्तालाई हत्तपत्त गाउँ जान समस्या छ ।”
राजेश राय
धादिङका भीम लम्सालको पनि भोलि हुने स्थानीय तहको निर्वाचनमा भोट खसाल्न गाउँ जाने योजना छैन । चस्मा, घडी बोक्दै सडकमा डुलेर व्यापार गर्ने उहाँ गाउँमा जाँदा काममा समस्या पर्ने भएकाले नजाने बताउनुहुन्छ ।
सात वर्षदेखि कलंकी चोकमा बसी व्यापार गर्दै आउनुभएका उहाँ भन्नुहुन्छ, “चुनावमा भोट दिनको लागि काम छोडेर गयो । पछिल्लो दिन भात खान पनि धौ हुन्छ । आखिर जसलाई भोट दिएर जिताए पनि हाम्रो दुःख उस्तै हो ।”
भीम लम्साल
दैनिक ज्याला–मजदूरी गरी खाने हजारौंको कथा यस्तै छ । उनीहरू धेरैलाई चुनावले छोएको छैन । छोओस् पनि कसरी ! चुनावअघि भोट माग्ने क्रममा विभिन्न प्रतिबद्धता जनाउने नेताहरू चुनाव जितेपछि आफ्नो स्वार्थ बाहेक अन्त हेर्दैनन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य स्वच्छताका बारेमा उपभोक्ताले आफूले खानेकुराको स्तर (लेबल) हेर्न अति आवश्यक हुने स्वास्थ्य विज्ञ बताउँछन्। लेबल ख्याल नगरी कतिपय उपभोक्ताले...
बुटवल - बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा एक हजार दुई सय शय्याको नयाँ १० तले आधुनिक अस्पताल भवन बन्ने...
रामबाबु कार्की बिहानै उठेर आमाबुवालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो । पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो । आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २०...
वातावरण तथा पर्यावरणविद्हरुले मधेसमा पानीको सङ्कट गहिरिँदै गएकाले समयमै उचित व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। कदम नचालेमा मधेसमा पानीको सङ्कट आउनसक्ने चेतावनी दिनुभएको छ। जनकपुरधाममा जारी...
नेपालको एक मात्र घुमन्ते फिरन्ते समुदाय हो राउटे समुदाय । जङ्गलमा फिरन्ते जीवन बिताउँदै काठका कोशी मदुस बनाएर गाउँमा गएर अन्न पातसँग साटेर जीविका धान्ने...