ताजा

  • आइतबार, २३ मङ्सिर, २०८१
  • ०३:४२:१३
  • नेपालीको अभिमत

अभिमत / ब्लग

सम्बन्ध तोड्ने होइन जोड्ने हुनुपर्छ हाम्रो शिक्षा नीति

सुष्मा राई

बुधबार, २९ मङ्सिर, २०७८

विद्यार्थी कालमा औसत खालको विद्यार्थी थिएँ । कहिल्यै प्रतिस्पर्धामा भाग लिइनँ । प्रथम, दोस्रो, तेस्रो स्थानमा विश्वास पनि गरिनँ । प्रथम हुनेहरू मात्र जिन्दगीमा सफल हुन्छन् भन्ने मान्यता पनि थिएन । सबल बन्नुपर्छ त्यसको लागि शिक्षा चाहिन्छ । बस् यति थाहा थियो त्यो वेला ।

प्रथम हुनेहरूको वाहवाह हुन्थ्यो । अहिले पनि गरिन्छ । प्रथम हुनेहरू बाहेक अरूले केही गर्न सक्दैनन् जस्तै गरि अरूको क्षमताको बेवास्ता गरिन्थ्यो र गरिन्छ । हामीले यस्ता थुप्रै क्रियाकलापहरू गर्ने गर्छौं जसले दोस्रो, तेस्रो व्यक्ति वा समूहलाई चोट पुर्‍याइरहेका हुन्छौं ।

मलाई स्कूलको एउटा घटना स्मरणीय लाग्छ । स्कूल पढ्दा कक्षाको प्रथम विद्यार्थीले “हामी पृथ्वीमा बसेर चन्द्रमाको दूरी नाप्छौं” भनेको कुरा अझै मेरो दिमागमा ताजै छ । त्यो वेला यसले निकै चोट दिएको थियो । किनकि मैले कक्षा ९ मा ऐच्छिक विषय गणित लिएकी थिइनँ । कक्षा ९ मा ऐच्छिक विषय छान्नुपर्थ्यो । जान्नेहरूले मात्र गणित र कम जान्नेहरूले अर्थशास्त्र लिन्छन् भन्ने मान्यता थियो । तसर्थ, जान्ने भनाउँदाहरूले ऐच्छिक विषय गणित लिएका थिए भने कम जान्नेहरूले अर्थशास्त्र ।

हामी परिवारमा सँगै बस्छौं, सँगै खान्छौं । तर धेरैजसो एकअर्काको योजना र विचारहरू परिवारलाई सुनाउदैनौं । आफूखुशी गर्छौं  र सहयोगी भावना कम राख्छौं । हामीलाई अलिकति पनि चेत हुँदैन कि त्यहाँ दूरी बढाउदैछौं । अविश्वास सिर्जना गर्दैर्छौं । हाम्रो व्यवहारले सम्बन्धलाई जोड्नेभन्दा पनि तोड्ने  काम गर्दैछौं ।

स्कूलमा सयौं विद्यार्थी थियौं तर स्कूलभरिमा चार/पाँच जना जतिको मात्र वाहवाह हुन्थ्यो । बाँकी सबै मूल्यहीन जस्तै । हेपाहा प्रवृत्ति निकै हावी थियो ।

हामीले बच्चैदेखि सिक्छौं र सिकाउँछौं प्रतिस्पर्धा गर्न र गराउन । परीक्षामा, खेलकुदमा वा कुनै पनि प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वनाको महत्त्व बुझ्छौं र बुझाउँछौं । जित्न सिक्छौं र सिकाउँछौं । तर हारको चोट कहिल्यै मनन गर्दैनौं ।

हार्दाको चोटको गहिराइमा कहिल्यै प्रवेश गर्न सक्दैनौं । अनुभूति गर्न सक्दैनौं । जीतमा उत्सव मनाउछौं । अरूको हारमा खुशीको सास फेर्छौं । यो विधिले एउटा पक्षलाई खुशी त दिन्छ नै तर धेरैलाई चोट पुर्‍याइरहेको हुन्छ । नकारात्मक धारणा सिर्जना गर्दछ । यस्तो नकारात्मक धारणा अत्यधिक हुँदा मानसिक स्वास्थ्यमा समस्या उत्पन्न भएको पनि देखिएको छ । जसको कारण पुनः प्रयास गरेर सफल बन्नुको सट्टा बीचमै छोडिदिएका थुप्रै उदाहरणहरू भेटिन्छन् ।

त्यसैगरी; कहिलेकाहीं सहकर्मीहरूबीच कार्यालय समयभन्दा बाहिर रमाइलो गर्छौं । दुई/चार जना मिलेर खान्छौं, खेल्छौं, उत्सव मनाउँछौं, रमाउँछौं । निकै आनन्दको अनुभूति गर्छौं । तर जसलाई छुटाउछौं, उसलाई निकै नरमाइलो लाग्छ भन्ने हेक्कासम्म राख्दैनौं ।

हामी परिवारमा सँगै बस्छौं, सँगै खान्छौं । तर धेरैजसो एकअर्काको योजना र विचारहरू परिवारलाई सुनाउदैनौं । आफूखुशी गर्छौं  र सहयोगी भावना कम राख्छौं । हामीलाई अलिकति पनि चेत हुँदैन कि त्यहाँ दूरी बढाउदैछौं । अविश्वास सिर्जना गर्दैर्छौं । हाम्रो व्यवहारले सम्बन्धलाई जोड्नेभन्दा पनि तोड्ने  काम गर्दैछौं ।

‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भने जस्तै तुलनात्मक रूपमा जसले जीवनमा बढी चोट भोगेको हुन्छ उसलाई यस्ता कुराले झन् बढी चोट दिन्छ । जसलाई चोट पुग्छ उसले त्यसको प्रतिक्रिया पनि जनाउँदछ । तर प्रतिक्रिया दिने महिला पर्‍यो भने सानो चित्तका हुन्छन् । दलित पर्‍यो भने दलितका खाली यस्तै कुरा हुन्छन्, सानो मनका हुन्छन् भन्दै बेवास्ता गर्ने गर्छौं । समानुभूतिपूर्ण सुनाइ गर्दैनौं ।

हामीले प्रयोग गर्ने शब्द र व्यवहारप्रति संवेदनशील नहुँदा अर्को पक्षलाई आघात पुर्‍याइरहेका हुन्छौं । अवचेतन दिमागले जे भन्छ त्यही व्यवहार गर्छौं । जस्तै; महिलाको समूह, पुरुषको समूह भन्छौं । निर्णय गर्छौं, आवेगमा आउँछौं । घरमा पनि छोरी छोरीको समूह, छोरा छोराको समूह आदि गर्छौं, बुहारीहरूलाई बेवास्ता गरिरहेका हुन्छौं । यस्ता व्यवहार र क्रियाकलापले जो बेवास्तामा पर्दछ, उसलाई चोट पुर्‍याइरहेका हुन्छौं ।

‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भने जस्तै तुलनात्मक रूपमा जसले जीवनमा बढी चोट भोगेको हुन्छ उसलाई यस्ता कुराले झन् बढी चोट दिन्छ । जसलाई चोट पुग्छ उसले त्यसको प्रतिक्रिया पनि जनाउँदछ । तर प्रतिक्रिया दिने महिला पर्‍यो भने सानो चित्तका हुन्छन् । दलित पर्‍यो भने दलितका खाली यस्तै कुरा हुन्छन्, सानो मनका हुन्छन् भन्दै बेवास्ता गर्ने गर्छौं । समानुभूतिपूर्ण सुनाइ गर्दैनौं ।

त्यसरी नै तुलना गर्ने बानी हुन्छ हाम्रो । हरेकको विशेषता, क्षमता र विज्ञता भिन्नाभिन्नै हुन्छ भन्ने महसूस गरिरहेका हुँदैनौं । कोही व्यक्ति पढाइ, लेखाइमा अब्बल होलान्, कोही नाचगानमा होलान्, कोही खेलकुदमा होलान्, कोही हाँस्य व्यङ्ग्यमा । हरेकको क्षमता भिन्न हुन्छ भन्ने कुरा बुझ्नसम्म कोशिश गर्दैनौं । फलानोको त यस्तो भयो, यस्तो गर्‍यो, खै तिमीले गरेको ? भनी तुलना गरेर चोट पुर्‍याइरहेका हुन्छौं ।

यस्तो खालको हाम्रो व्यवहारले त जोड्नेभन्दा पनि बढी तोड्ने काम पो गर्दैछौं । निर्माण गर्नुभन्दा पनि भत्काउने, नष्ट गर्ने काम गर्दैछौं । त्यसैले हामीलाई जीवन उपयोगी सीपहरू समानुभूति, प्रभावकारी सञ्चार, समालोचनात्मक सीप र सही निर्णय जस्ता सीपहरूको खाँचो छ ।

हाम्रो शिक्षा र संस्कारको स्रोतहरूलाई पनि केलाएर हेर्न सक्छौं । चर्चित ग्रन्थहरू महाभारत र रामायणबाट यति धेरै कुराहरू सिक्छौं, सिकेका छौं कि रामायण र महाभारत दुवैबाट ईर्ष्या गर्न, बदला लिन, अपमान गर्ने आदि प्रकारका शिक्षा लिइरहेका हुन्छौं । यहाँबाट भाइभाइबीच प्रतिस्पर्धा, लडाइँ, आन्तरिक द्वन्द्व, कलह बढाउने खालको सिकाइ भइरहेको हुन्छ । हारजीतमा  जोड दिने, आफ्नैभित्रको लडाइँमा जीतको उत्सव मनाउने शिक्षा लिइरहेका हुन्छौं । यसबाट हितकारीभन्दा बढी अहितकारी शिक्षा लिइरहेका हुन्छौं ।

प्रत्यक्ष या अप्रत्यक्ष रूपमा हामीले यस्ता पाठ सिकिरहेका हुन्छौं । हाम्रो शिक्षा र संस्कारका अभिन्न स्रोतहरू हुन् यी ग्रन्थ । जुन शिक्षाले हानी पुर्‍याउन सिकाइरहेको छ । शिक्षाको स्रोत नै यस्तो भएपछि कहाँबाट सिकियोस् मिलन, सहिष्णुता, समावेशीकरण, समानुभूति आदि राख्न !

हाम्रो शिक्षा, सामाजिक नियम, संस्कार आदि जुन प्रकारका छन्, जसले  जे सिकाउँछ त्यसलाई हुबहु स्वीकार्नुपर्छ भन्ने मान्यता छैन मेरो । अलिक बढी विश्लेषणात्मक र तार्किक हुन जरुरी ठान्दछु ।

परीक्षा वा प्रतिस्पर्धामा प्रथम हुनेहरू मात्र जीवनमा सधैं सफल हुन्छन्  र ? प्रथम नहुनेहरूले केही गर्न सक्दैनन् र ? सहभागिता र निरन्तर प्रयास नै सफलताको कसी हो भनेर किन स्विकार्न सक्दैनौं ? नयाँ पुस्तालाई सिकाउन किन सक्दैनौं ?

समानुभूति र समालोचनात्मक सीपको विकास गरी कारण, असर र सम्बन्धहरू जोड्ने तथा तोड्ने तत्त्वहरू के के छन्, कुन कुन तत्त्वहरूले कस्तो भूमिका खेल्दैछन्, हानी कहाँ पुर्‍याउँदैछन् र के कस्ता फाइदा वा बेफाइदाहरू छन् भनी विश्लेषण गर्न जरुरी छ । विश्लेषणको आधारमा नकारात्मक असर र सम्बन्ध तोड्ने तत्त्वलाई घटाएर निर्माण गर्ने तत्त्वहरूको खोजी गर्नुपर्दछ । त्यसपछि मात्र निर्णय गर्न सकियो भने अरूलाई हानी नपुर्‍याउने व्यवहारलाई लागू गर्न सकिन्छ । भन्नुको अर्थ अरूलाई हाम्रो व्यवहारले र क्रियाकलापले कम हानी पुर्‍याउँदछ । कम चोट पुर्‍याउँदछ ।

एकचोटि मनन गरौं न । परीक्षा वा प्रतिस्पर्धामा प्रथम हुनेहरू मात्र जीवनमा सधैं सफल हुन्छन्  र ? प्रथम नहुनेहरूले केही गर्न सक्दैनन् र ? सहभागिता र निरन्तर प्रयास नै सफलताको कसी हो भनेर किन स्विकार्न सक्दैनौं ? नयाँ पुस्तालाई सिकाउन किन सक्दैनौं ?

मलाई लाग्छ; जीवनमा सफल हुनलाई प्रथम, द्वितीय केही नभए पनि हुन्छ । तर लगनशीलता र दृढता भने अवश्य हुन जरुरी छ । यी नै कुराले सफलताका सिंढीहरू एकपछि अर्को गर्दै चढ्न मद्दत गर्दछ । हामीले यो शिक्षा बाँड्न र व्यवहारमा देखाउन सक्नुपर्दछ ।

त्यसैले; सिद्धान्त र व्यवहार दुवैमा अरूलाई हानी नपुर्‍याई हितकारी कदमहरू अगाडि बढाउने प्रयत्न रहने छ मेरो । प्रतिस्पर्धामा भन्दा पनि समतामूलक, अर्थपूर्ण सहभागिता र लगनशीलतामा विश्वास रहनेछ । कसैलाई हानी पुर्‍याउने र सम्बन्ध तोड्नेभन्दा जोड्नेमा र निर्माणमा ध्यान जानेछ । जीतजीतको रणनीति हुनेछ । सर्वोत्तम हितमा ध्यान जानेछ र निर्माणमा जोड हुनेछ ।
 

सुष्मा राई

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बुधबार, २९ मङ्सिर, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved