• बुधबार, १२ बैशाख, २०८१
  • २३:४१:०१
  • नेपालीको अभिमत

अभिमत

यौन र महिला-पुरुष सम्बन्ध

अनिता निरौला

मंगलबार, २९ भदौ, २०७८

छोरा र छोरीको लैंगिक विभेदविना नै प्राकृतिक रूपबाट क्रमश: छोरा र छोरीको बराबर संख्यामा जन्म भएको कारणले हो वा आफूभित्रको आध्यात्मिक स्वभावले गर्दा हो मेरा बुबाआमाले छोराछोरीको जन्म र हुर्काइमा एउटै भाव/समभाव महसूस गर्नुभएको मैले पाएँ । मेरा मातापिताबाट ६ छोरा र ६ छोरीको जन्म भएको र २ छोरीहरूको सानैमा मृत्यु भई हामी ६ दाजुभाइ र ४ दिदीबहिनीलाई विद्यालय शिक्षाको लागि मेरा मातापिता संखुवासभाको माल्टा भन्ने गाउँबाट सदरमुकाम खाँदबारी बसाइँ सरेर हामी १० जनै छोराछोरीलाई विद्यालय/विश्वविद्यालय शिक्षा दिनुभएको त्यो पारिवारिक वातावरणलाई फर्केर हेर्दा छोरा र छोरीमा विभेदको गुञ्जायस म कतै पनि पाउँदिनँ ।

मेरा सबैजना दाजुभाइ अत्यन्त मिल्ने साथीजस्ता हुनुहुन्छ । मलाई सधैं हौसला दिने, आफ्नो खुट्टामा आफैं उभिन सक्ने बनाउन हरतरहले सहयोग गर्ने र आफ्नो जीवनको निर्णय मलाई आफैं गर्ने स्वतन्त्रता प्रदान गर्नुभएको छ दाजुहरूले । सानैदेखि घरको काममा होस् वा पढाइमा हामीले बराबर अवसर पायौं । बुबाको कृषि पेशाबाहेक औपचारिक र नियमित आम्दानीको स्रोत नहुँदा खाँदबारीमा उपलब्ध विद्यालय/विश्वविद्यालय शिक्षाका अतिरिक्त थप शिक्षा लिन मामाहरूको सहयोगमा दाजुहरू र दाजुहरूको सहयोगमा हामी भाइबहिनीहरू क्रमश: काठमाडौं भित्रियौं ।

यसैक्रममा आफ्नो खुट्टामा आफैं उभिने भएर पनि भाइबहिनीको पढाइ र पालनपोषणको जिम्मेवारीले गर्दा दाजुहरूले विवाहको औसत उमेरभन्दा केही ढिला विवाह गर्नुभयो भने म बाहेक ३ जना दिदीहरूले विवाहपश्चात् थप पढाइ र रोजगारीलाई निरन्तरता दिनुभयो । मैले चाहिं १९ वर्षको उमेरदेखि नै नेपाल सरकारको निजामती सेवामा प्रवेश गरें र हालसम्म सोलाई निरन्तरता दिइरहेकी छु ।

हामी दाजुभाइ र दिदीबहिनीबीच यो काम महिलाले मात्र र यो काम पुरुषले मात्र गर्ने भन्ने भेद थिएन । खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, घर सफा गर्ने सबै काम जसले भ्यायो वा देख्यो उसैले गर्ने गर्थ्यौं । दाजुहरूसँग बसेर नै पढाइ र जागिर गरेको, एकअर्काको समस्या बुझेकोले गर्दा पनि होला कलेजमा केटा साथीहरू नै धेरै भए मेरा वा अझ भनौं मिल्ने साथीहरूमध्ये थोरै मात्र केटी र अधिकांश केटा साथीहरू नै थिए ।

सानैदेखि पढाइप्रति रुचि, बुबाले बुझाउनुभएको पढाइको महत्त्व र छोरीले झनै आफ्नो खुट्टामा आफैं उभिनसक्ने हुनुपर्छ भनेको कुरा मनमा गढेको कारणले होला पढाइप्रति लगाव भएका मेहनती र जेहेन्दार स्वभावका साथीहरूसँग मेरो कुरा मिल्थ्यो । फिल्म हेर्ने, घुम्न जाने र होटल/क्यान्टिनमा गएर खाने कुराका लागि अधिकांश समय पैसा नभएर र कहिलेकाहीं बानी पर्छ भनेर साथीहरूबाट त्यस्ता प्रस्ताव आउँदा कुनै न कुनै बहाना बनाएर फुत्किने गर्थें । कहिलेकाहीं पत्रकारिताको इन्टर्नसीप गर्ने, लेख वा समाचारहरू लेख्ने क्रममा मात्र क्यान्टिन वा चिया पसलमा बसेर साथीहरू (सबैजसो केटा साथीहरू नै हुन्थे)सँग थोरबहुत समय बिताउँथे पनि ।

कतिले आफैं र कतिले अरूमार्फत प्रेम प्रस्ताव राखे भने कतिले राख्न नसकी भाव मात्र प्रस्तुत गरे । मैले संगत गरेका सबै केटा साथीहरूलाई मैले साथीको रूपमा मात्र हेरेकी थिएँ जीवनसाथीको रूपमा होइन । यस्तो मित्रता जीवनभर पनि साथीकै रूपमा कायम राख्न, संगत गर्न र सहकार्य गर्न सकिने रूपमा म बुझ्ने गर्थैं र चाहन्थें पनि ।

किन हो कुन्नि, कलेजको परीक्षाका वेला कोचिङ्ग/ट्युसन पढ्दा होस् वा कार्यालयका कार्यक्रम/बैठकहरूमा अधिकांश पटक धेरै पुरुष साथी/सहकर्मीहरूका माझमा म एक्लै वा एकदुईजना मात्र केटी साथी/सहकर्मीहरूसँग हुन्थें अझै पनि हुन्छु । घरमा पनि दाजुभाइहरूसँग धेरै समय बिताएको विश्वविद्यालय शिक्षा र जागिरका क्रममा पनि धेरै केटा साथी/सहकर्मीहरूसँग पढाइ वा पेशागत सहकार्य र संगत गर्ने अवसर मिल्यो र मिलिरहेको पनि छ । यसक्रममा १३/१४ वर्षको उमेरदेखि मैले देखेका/सुनेका केटा र केटी साथीबीचको सम्बन्धका विषयमा समाजले गरेको व्याख्या र यथार्थ सधैं एउटै नभएको र समाजले गरेको टिकाटिप्पणी सुन्दा अधिकांशत: केटा र केटीबीचको सम्बन्ध आफ्ना सहोदर दाजुभाइ दिदीबहिनीबीचको जस्तो वा एउटै लिंगी साथीबीचको जस्तो हुनसक्दैन भन्ने भाव म पाउँथें ।

हाइस्कूलमा हुँदा अरू कक्षा वा आफ्नै कक्षाका केटा र केटी साथीबीचको सम्बन्धमा अन्य साथीहरू, शिक्षक लगायतले गरेको टिकाटिप्पणी सुन्दा मेरो मनमा प्रश्न उब्जिने गर्थ्यो कि, ‘के आफ्ना सहोदर दाजुभाइ वा मिल्ने केटी साथीजस्तै केटा साथीसँगको सम्बन्ध वा मित्रता सम्भव छैन र ?’ यो प्रश्न मेरो मनमा उब्जिएको करिब २५ वर्ष भयो तर मैले कहिलेकाहीं प्रसंगवश मेरा मन मिल्ने साथीसँग शेयर गरें होला तर प्रष्ट गरी कसैलाई पनि सोधेकी थिइनँ । काठमाडौंको आर. आर. क्याम्पसमा पत्रकारिता र अंग्रेजी विषय लिएर अध्ययन गर्ने क्रममा कोचिङ्ग/ट्युसन पढ्ने क्रममा र पत्रकारिताको इन्टर्नसीप गर्ने क्रममा धेरै केटा साथीहरू मेरा मिल्ने साथी थिए ।

समयक्रममा कोही छुट्दै त कोही नयाँ थपिंदै गए र अहिलेसम्म पनि सम्पर्कमा छन् । यसबीचमा कतिले आफैं र कतिले अरूमार्फत प्रेम प्रस्ताव राखे भने कतिले राख्न नसकी भाव मात्र प्रस्तुत गरे । मैले संगत गरेका सबै केटा साथीहरूलाई मैले साथीको रूपमा मात्र हेरेकी थिएँ जीवनसाथीको रूपमा होइन । यस्तो मित्रता जीवनभर पनि साथीकै रूपमा कायम राख्न, संगत गर्न र सहकार्य गर्न सकिने रूपमा म बुझ्ने गर्थैं र चाहन्थें पनि । तर धेरैजसो यस्ता सम्बन्धहरू केही प्रेम प्रस्ताव त केही विवाह प्रस्तावमा गएर टुंगिएको मैले पाएँ । त्यसपछि मेरो मनमा अर्को प्रश्न उब्जियो त्यो हो, ‘के सबै केटा र केटी साथीबीचको सम्बन्ध प्रेम वा विवाह प्रस्तावमा गएरै टुंगिनुपर्छ ?’ ‘प्रेम वा विवाहभन्दा पर केटा र केटी साथीबीचको दीर्घकालीन/स्थायी साथीत्व (फ्रेन्डसीप) सम्भव हुँदैन ?’

मानौं; यसरी प्रस्ताव गर्नेहरूको प्रस्तावमा आफू राजी नै भइएछ रे त्यो त एकजनाको प्रस्ताव स्वीकारेपछि वा आफैंले प्रस्ताव गरेको भए पनि एकजनामा गएर प्रेम वा विवाहको प्रस्ताव टुंगिन्छ । त्यसपछि आफ्नो जीवनमा आएका वा आउने सबै केटा साथीहरूसँगको साथीत्वको नाता टुंगिन्छ त ? श्रीमान्-श्रीमतीको रूपमा वा प्रेमी-प्रेमिकाको रूपमा एकजनासँग गएर टुंगिनु अत्यन्त राम्रो हो र टुंगिनुपर्छ नै भन्छु म पनि । तर अन्य साथीहरू जोसँग विचार मिल्छ; रुचि मिल्छ; पेशागत वा पढाइजन्य विषय मिल्छ; परिवार, समाज र राष्ट्रमा सकारात्मक सुधारका कुराहरू मिल्छन् भने मिल्ने साथीको सम्बन्ध कायम रहनुपर्छ । यस्तो साथीत्वको स्वीकारोक्ति मेरो मनले समाजमा, परिवारमा र राष्ट्रमा नै खोजिरहेको थियो । केही केही अपवादमा यस्ता सम्बन्धहरू नभएका होइनन् तर समग्रतामा वा औसतमा सबैले बुझ्नसक्ने गरी स्वीकारिएको वा अपनाइएको भने देखिंदैन ।

अनेकौं पटक केटा सहकर्मी वा हाकिमहरूसँग फिल्डमा कार्यक्रम र बैठक आदिमा सहकार्य वा सहयात्रा गर्ने क्रममा कतिपय अवस्थामा अरूका प्रश्न, प्रश्नमिश्रित आँखाको भाव र कहिलेकाहीं अप्रत्यक्ष रूपमा अनुचित आशय समेतको सामना गर्नुपरेको छ । यस्ता सिलसिलाबाट मेरो मनमा अर्को प्रश्न थप भयो, ‘के केटा र केटी साथीबीच सधैं यौनजन्य आकर्षण जरुरी छ ?’

मेरो आफ्नो जीवनमा मात्र नभएर अन्य साथीहरूको जीवनमा पनि विभिन्न कालखण्डमा विभिन्न केटा वा केटी साथीको साथ र सहयोगबाट आफ्नो प्रतिभा/क्षमता चिनेको, त्यसलाई प्रस्फुटन गर्ने हौसला र सहयोग पाएको देखेकी छु, अनुभव गरेकी छु । यद्यपि; समाजका सबैले बुझ्नेगरी केटा र केटी साथीबीचको पवित्र सम्बन्ध स्थापित भएको हेर्न, देख्न र अनुभव गर्न चाहन्थें ।

जागिरको क्रममा त झन् महिला कर्मचारीको संख्या मैले जागिर शुरू गर्दा ३ प्रतिशत थियो भने अहिले बढेर पनि २७ प्रतिशतको हाराहारीमा मात्र पुगेको छ । यसक्रममा अनेकौं पटक केटा सहकर्मी वा हाकिमहरूसँग फिल्डमा कार्यक्रम र बैठक आदिमा सहकार्य वा सहयात्रा गर्ने क्रममा कतिपय अवस्थामा अरूका प्रश्न, प्रश्नमिश्रित आँखाको भाव र कहिलेकाहीं अप्रत्यक्ष रूपमा अनुचित आशय समेतको सामना गर्नुपरेको छ । यस्ता सिलसिलाबाट मेरो मनमा अर्को प्रश्न थप भयो, ‘के केटा र केटी साथीबीच सधैं यौनजन्य आकर्षण जरुरी छ ?’

यी करिब एउटै भावका तीनवटा प्रश्नको उत्तर एमफिलसम्मको औपचारिक शिक्षा, पेशागत सम्पूर्ण तालिमहरू र अध्यात्म तथा साहित्यिक पुस्तकहरूको स्वअध्ययनबाट समेत चित्तबुझ्दो रूपमा नपाएर अनुत्तरित नै रहेका थिए ।

चार वर्षदेखि अप्रत्यक्ष र २ वर्षदेखि प्रत्यक्ष रूपमा जीवन विज्ञान फाउण्डेसनबाट सञ्चालित विभिन्न आध्यात्मिक कार्यक्रमहरू– दैनिक योगाभ्यास, प्राणायम र ध्यान गर्ने क्रममा ‘समृद्धि संवाद’, ‘दिव्य संवाद’ र ‘स्वसंवाद’ कार्यक्रमबाट मैले मेरा अनुत्तरित उपरोक्त सबै प्रश्नहरूको उत्तर पाएँ । त्यो हो– ‘श्रद्धाको सम्बन्ध विकास गर्न सकेमा केटा र केटी साथीबीचको सम्बन्ध सहोदर दाजुभाइ, दिदीबहिनी वा मिल्ने केटाकेटा/केटीकेटी साथीसँगको सम्बन्धजस्तो पवित्र र प्रगाढ हुन सम्भव छ । सबै केटा वा केटी साथीबीचको सम्बन्ध प्रेम वा विवाहमा मात्र गएर टुंगिनुपर्दैन केटा र केटी साथीबीचमा सधैं यौनजन्य आकर्षण जरुरी छैन र हुँदैन पनि ।’

प्रेम मानिसको जन्मजात स्वभाव हो । यो ईश्वरले नै दिएर पठाएको हुन्छ । संसारलाई आफ्नो बनाउने र सहज जीवन यापन गर्ने एक मात्र अस्त्र प्रेम हो । यसको सही अर्थ बुझ्न/बुझाउन नसकेर मात्र प्रेमका नाममा अरूबाट सुख खोज्ने प्रवृत्ति जन्मियो र यही अरूबाट सुख खोज्ने प्रवृत्तिले नै ठूला-ठूला हत्यारा, बलात्कारी, तानाशाही जन्मायो ।

गुरुहरूका अनुसार श्रद्धाको सम्बन्ध यस्तो सम्बन्ध हो जसमा प्रेम त हुन्छ नै त्यसमा सम्मान र विश्वास थप गरिएको हुन्छ । यस्तो प्रेम मातापिताप्रति सबैको हुन्छ, गुरुहरूप्रति शिष्य/साधकको हुन्छ र ईश्वरप्रति भक्तको हुन्छ । यस्तो सम्बन्धमा एकअर्काप्रति सम्मान र विश्वास हुन्छ जसरी मातापितासँग रहेको बच्चाले जहाँ जस्तो अवस्थामा रहे पनि आफूलाई सुरक्षित ठान्दछ । श्रद्धाको सम्बन्धको विकास ऊर्जा ध्यानको विशेष आध्यात्मिक प्रयोगबाट हुन्छ । श्रद्धाको सम्बन्धको विकास हरेक व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्व ब्रह्माण्डमा गर्न सकेमा सबै प्रकारका विभेद, हिंसा, विसंगति र विकृतिको अन्त्य भई सभ्य, समतामूलक र समृद्ध समाज निर्माण गर्न सकिन्छ ।

श्रद्धाको सम्बन्ध विकास गर्न सकेमा केटा र केटी साथीबीचको सम्बन्ध सहोदर दाजुभाइ, दिदीबहिनी वा मिल्ने केटाकेटा/केटीकेटी साथीसँगको सम्बन्धजस्तो पवित्र र प्रगाढ हुन सम्भव छ । सबै केटा वा केटी साथीबीचको सम्बन्ध प्रेम वा विवाहमा मात्र गएर टुंगिनुपर्दैन केटा र केटी साथीबीचमा सधैं यौनजन्य आकर्षण जरुरी छैन र हुँदैन पनि ।

मेरो हृदयले खोजेको भाव र श्रद्धाको सम्बन्धको वैज्ञानिकता पहिले नबुझे पनि जीवन विज्ञान फाउण्डेसनसँग जोडिएपछि गुरुहरूबाट मैले प्रष्टसँग बुझ्न  पाएँ । जसरी आफूले विश्वास गरेको व्यक्ति वा समूहले बन्दुक, गोली-बारुद नै बोकेको भए पनि त्यस्ता व्यक्तिको साथमा व्यक्ति ढुक्कले निदाउन सक्छ किनकि आफ्नाविरुद्ध ती बन्दुक, गोली र बारुदहरू चल्दैनन् भन्नेमा ऊ विश्वस्त हुन्छ । ठिक त्यसैगरी श्रद्धाको सम्बन्ध भएको व्यक्तिसँग निर्धक्क मनका भावना साट्न दु:खसुख बाँड्न र परेको वेला जस्तोसुकै सहयोग गर्न तत्पर हुन सकिन्छ ।

यदि यस्तो श्रद्धाको सम्बन्ध छैन भने हरेक सम्बन्धहरू आकर्षण, तथाकथित प्रेम र विवाहको प्रस्तावमा गएर टुंगिन्छन् । यस्तो प्रस्ताव गर्नु वा स्वीकार गर्नुलाई नै नकारात्मक भन्न भने खोजिएको होइन यहाँ, बरु यस्ता प्रस्ताव स्वीकार भए पनि नभए पनि मित्रता चाहिं सम्भव हुन्छ दि त्यहाँ सच्चा प्रेम (प्रेम, सम्मान र विश्वास) छ भने भन्न खोजिएको हो ।

२५ वर्षदेखि अनुत्तरित रहेको मूल प्रश्नको उत्तर एक्कासी स्पष्ट रूपमा पाएको र आफ्नो हृदयले खोजेको सम्बन्धको यथेष्ट सम्भावना रहेको देखेर मन अत्यन्त हलुका भएको छ । अनुत्तरित अन्य प्रश्नहरूको उत्तर पनि आध्यात्मिक साधनका क्रममा पाएकी छु जुन क्रमश: अक्षरमार्फत साट्दै जानेछु । धन्य गुरुदेव धन्य अध्यात्म

अनिता निरौला

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

मंगलबार, २९ भदौ, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    ज्योतिषीय नजरमा नयाँ वर्ष २०८१

    ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...

  • नेपालमत

    नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा

    नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...

  • नेपालमत

    आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

    १९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...

  • नेपालमत

    'प्राचीन नेपालले इतिहासको नयाँ र शानदार अध्याय लेख्‍नै बाँकी छ'

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...

  • नेपालमत

    एफएम रेडियोमा कानुनको घनचक्कर

    नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved