• बिहीबार, १३ बैशाख, २०८१
  • १३:०५:५९
  • नेपालीको अभिमत

अभिमत

कर्मकाण्डी ब्राह्मणहरूलाई प्रश्न : ऋषिपञ्चमी व्रत किन बस्नु ?

अनिता निरौला

मंगलबार, २२ भदौ, २०७८

षिपञ्चमी: महिनावारी बार्नेले पाप गरेकै हुँदैन किन व्रत बस्नु ?

महिनावारी नबार्नेले पनि पाप गरेको ठान्दैन किन व्रत बस्नु ?

हरेक वर्षको तीज र ऋषिपञ्चमी आउँदै गर्दा एकातिर माइती/चेलीबेटीबीचको भेटघाट, सम्पर्क र शुभकामना आदानप्रदानले मन हर्षित हुन्छ भने अर्कातिर ऋषिपञ्चमी व्रतको विषयमा आमा (सासु)को असन्तुष्टिले अमिलो पनि हुन्छ ।

हाम्रा चाडपर्व, रीतिथितिहरूमा कुनै न कुनै शास्त्रीय, वैज्ञानिक र आध्यात्मिक महत्त्व लुकेका छन् । ती चाडपर्व मान्नुमा धेरैले त्यसको अविधा अर्थ (शाब्दिक अर्थ) बुझेका हुन्छन् भने त्यसभन्दा गहिरो त लक्षणा (लाक्षणिक अर्थ) र व्यञ्जना (गुड अर्थ अर्थात् गहिरो अर्थ जुन थोरैले मात्र बुझ्न सक्छन्) अर्थ हुँदोरहेछ ।

अरूलाई कस्तो लाग्छ कुन्नि ! तीजको नजिकमा मेरो मन भने हर्षित हुन्छ । तीज व्रतको मात्र हकमा भने, पहिला-पहिला सानैमा विवाह हुने, शिक्षा र स्वरोजगार वा सम्पत्तिमा महिलाको पहुँच र नियन्त्रण नहुने वा भए पनि एकदमै न्यून हुने कारणले महिलाहरू विवाह गरेर गएको घरमा वर्षैभरि घरधन्दा, मेलापात, श्रीमान्, सासु-सासुरा, नन्द-आमाजु, जेठाजु-देवर, भान्जाभान्जी आदिको सेवा टहलमा व्यस्त हुनुपर्ने, आफ्ना मनका भावना, दु:खसुख साट्ने वातावरण घरमा त्यति नहुने हुँदा वर्षमा एकचोटि तीजको बहानामा माइती जाने आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूसँग धक फुकाएर आफ्ना भावना पोख्ने, मिठो खाने र सँगसँगै श्रीमान्‌सँगको प्रेमलाई बढावा दिन व्रत बस्ने चलन मलाई राम्रै लाग्छ ।

शिक्षाको विस्तार र समयक्रम सँगसँगै तीजका व्रतमा पनि आधुनिकता र सुधार हुँदै आएको छ । बच्चा वेलामा हाम्रा मनमा जे छाप पर्‍यो त्यो गहिरो गरी बसेको हुन्छ त्यही भएर होला हाम्रा आमाहरूले व्रत बसुन्जेल पानी पनि नखाई व्रत बस्नुभयो, शुरू-शुरूमा करले, पछि बानी पर्‍यो र विश्वासले पनि । तर अहिले हामी तीजको व्रत पानी नखाई बस्न कसैको कर छैन । फेरि श्रीमान्‌को अनुमति लिएर खान मिल्छ भन्ने लचकतालाई उपयोग गरेर अहिलेका महिलाहरूले आफ्नो इच्छा र शरीरको क्षमताअनुसार पानी, फलफूल जस्ता फलाहार खाएरै व्रत बस्ने गरेका पनि छन् ।

यस पर्वमा बाबुआमाले छोरीको सृजनाशक्ति जागृत भएको हर्षमा उत्सव मनाउन् । छोरीले आफैं आफू बालिग भएको, दुनियाँको छलछाम बुझ्न र आफूजस्तै अर्को मानव आफूले चाहँदा विकास गर्नसक्ने भएको तथा जीवनको विज्ञान बुझ्न तयार भएकोमा उत्सव मनाउन् । आफन्त, साथीभाई सबैले उनको र उनको परिवारको खुशीमा खुशी थप्न, बाँड्न र समग्र समाजको सृजना शक्तिको प्रतीकलाई सम्मान गरेर उत्सव मनाउन् ।

हाम्रा चाडपर्व र रीतिथितिहरूमा रहेका असल संस्कार, वैज्ञानिक र आध्यात्मिक पक्षको लक्षणा र व्यञ्जना अर्थ समेत बुझेर आफ्नो जीवन, परिवार, समाज र राष्ट्रमा सोही अनुरूप अनुसरण गर्दै (कुसंस्कार, हिंसा, विभेद आदिलाई छोड्दै) चाडपर्व मनाउने र संस्कार मान्ने कुरामा सुधार गर्दै जानुपर्ने आवश्यकता देख्छु ।

शिक्षा, सचेतना, स्रोत साधनहरूमा पहुँच र नियन्त्रण बढ्दै जाँदा महिलाहरूमा पनि क्रमश: आत्मविश्वास र निर्णय गर्ने क्षमता बढ्दै गएको छ, यसलाई अझै बढाउनुपर्नेछ । यसबाट क्रमश: तीज पर्वलाई नारी शक्ति उजागर गर्ने पर्वको रूपमा मनाउने, यसका वैज्ञानिक र आध्यात्मिक लक्षणा र व्यञ्जना अर्थ केलाउने तथा यसका राम्रा पक्षको अनुसरण गर्दै नराम्रा पक्षलाई छोड्दै जानेगरी बहस, पैरवी, अन्तरक्रिया, छलफल गर्ने पर्वको रूपमा विकास गर्नुपर्छ र क्रमश: हुँदैछ पनि । थोरै भए पनि महिला चेतना बढेको र नारी स्वतन्त्रता तथा महिला-पुरुष सहकार्य तथा सहअस्तित्वको बहस पैरवी हुन थालेकोमा तीजको सन्दर्भ रमाइलो नै लाग्छ ।

अब लागौं, पञ्चमी व्रतको विषयमा आमाको असन्तुष्टितिर

शास्त्रहरूमा कहाँ लेखेको छ मलाई थाहा छैन- मले पढेका श्रीमद्भागवत गीता लगायतका शास्त्रमा त मैले रजस्वला हुनु र भएको वेला पूजा गर्नु, अरूलाई छुनु पाप हो भनेर लेखेको देखिनँ/भेटिनँ । लेखेकै भए पनि आध्यात्मिक गुरुहरूका प्रवचनहरूमा त्यो कुरा आउनुपर्ने हो । रजस्वला महिलाको  नियमित शारीरिक प्रकृया हो, यो सृजनाको मूल आधार हो । ईश्वरले नै मानिसलाई दिएर पठाएको एउटा गुण प्रजनन र सन्तान उत्पादनसँग यसको ठूलो महत्त्व रहेको हुन्छ । जसरी पुरुषहरूमा पनि उमेर सँगसँगै प्रजनन अगंहरू सक्रिय हुने, शारीरिक परिवर्तनहरू हुने गर्छन्, त्यसैगरी महिलाहरूमा पनि यो सामान्य शारीरिक परिवर्तन हो र यो निश्चित समयबाट शुरू भई निश्चित समयपछि आफैं बन्द हुन्छ । यसमा पापको प्रश्न कहाँबाट छिर्‍यो ? हाम्री आमा (सासु) यसलाई नछुने भन्ने गर्नुहुन्छ । पहिलोचोटि नछुने हुँदा घाम हेर्न हुँदैन रे, पिता र घरका पुरुषको अनुहार हेर्न हुँदैन रे, भगवानको नाम लिन र पुस्तक छुन/पढ्न हुँदैन रे आदि आदि ।

सासुआमाको हरेक वर्ष पञ्चमीको आसपासमा र प्रसंग पर्दा अरूवेला पनि एउटै गुनासो छ, “यो प्रयुक्ति (मेरो ठूली छोरी)लाई एकचोटि विधि पुर्‍याएर पञ्चमीको व्रत लिन लगाउनुपर्ने, आमाचाहिंलाई मतलबै छैन, पाप र धर्मको डर भए पो ! नछुने हुँदा बार्दा पनि बार्दैनन्, नछुने भएर भान्सामा नपसेर, भात नपकाएर, सँगै बसेर नखाएर मात्र के गर्नु ! जहाँ मन लाग्यो त्यहीं बस्छन्, बाउलाई छुनुहुँदैन भन्ने छैन, बाउकै काखमा बस्न खोज्छे, मैले नदेख्ने हो भने त सँगै बसेर खान्छन् पनि ! यिनीहरूलाई नछुने बार्नु त मेरा लागि मात्र जस्तो छ । वर्षभरि नछुने हुँदा छोएको पाप पखाल्न प्रत्येक वर्षमा एकचोटि व्रत बस्दा के हुन्छ ?” हामी केही बोल्दैनौं । घरि-घरि छोरीको बाबाले ‘पाप लाग्दैन आमा !’ भन्नुहुन्छ अनि आमा “तिमीहरू नै जान्ने छौ, त्यही भएर जसलाई देखाए पनि पितृ रिसाका छन् भन्छन्” भन्नुहुन्छ । आमालाई कसरी बुझाऊँ यो पाप होइन भनेर !

यस पर्वमा बाबुआमाले छोरीको सृजनाशक्ति जागृत भएको हर्षमा उत्सव मनाउन् छोरीले आफैं आफू बालिग भएको, दुनियाँको छलछाम बुझ्न र आफूजस्तै अर्को मानव आफूले चाहँदा विकास गर्नसक्ने भएको तथा जीवनको विज्ञान बुझ्न तयार भएकोमा उत्सव मनाउन् । आफन्त, साथीभाई सबैले उनको र उनको परिवारको खुशीमा खुशी थप्न, बाँड्न र समग्र समाजको सृजना शक्तिको प्रतीकलाई सम्मान गरेर उत्सव मनाउन् ।

यसमा सासुआमालाई दोष देखाउन खोजेको होइन । विचरा उहाँ पनि हामीजस्तै महिनावारी भएर नछुने बारेर हरेक वर्ष पञ्चमी व्रत बसेर अहिले ७५ वर्षको हुनुभयो । ‍औपचारिक शिक्षा पाएको छैन, शास्त्रमा के लेखेको छ, त्यसको अर्थ के हो, आफैंले पढ्न र छुट्याउन सक्नुहुन्न, अझै हामीले त सकेका छैनौं ! कर्मकाण्डी तथाकथित बाहुनहरूले कति वर्ष अघिदेखि हाम्रा आमा-हजुरआमाहरूलाई रजस्वला भएको वेला छुनु पाप हो र हरेक वर्ष ऋषिपञ्चमीमा कर्मकाण्डी बाहुनहरूले भनेका नानाभाँती विधि पुर्‍याएर व्रत बसेपछि मात्र एक वर्षभरि विभिन्न कुरा/व्यक्ति छोएको पाप पखालिन्छ ।

पहिलो महिनावारीदेखि त्यो नसुकेसम्म हरेक वर्ष यो क्रम दोहोर्‍याउनुपर्छ भनेर त्यो औपचारिक शिक्षा नपाएको मानसपटलमा अमिट छाप बसालिदिएका छन् मेरो प्रश्न ती कर्मकाण्डी बाहुनलाई छ जसले मेरा सासु जस्ता आमा, हजुरआमा, दिदीहरूलाई रजस्वला भनेको नछुने हो,  यो पाप हो, यो वेलामा ती केकेजाति सबै गर्न हुँदैन भन्ने सिकाएर शास्त्रको अपव्याख्या गरे, जसले गर्दा आजसम्म वहाँहरूमा त्यही छाप पर्‍यो । घरमा केही संकट वा अप्ठ्यारो परिस्थिति आए पनि ‘नछुने नबारेर’ तथा ‘पञ्चमी व्रत नलिएर’ भन्ने भ्रमलाई अदेत (एउटै वा शास्वत) सत्य मान्न बाध्य बनाए ।

ती कर्मकाण्डी बाहुनलाई मेरो प्रश्न छ, “महिनावारी तिमीहरूले भनेजसरी नै बार्ने मेरा आमा, सासु, हजुरआमाहरूले किन व्रत बस्नु त त्यसो भए ? वहाँहरूले त पक्कै पनि ‘नछुने भएको वेला’ तिमीहरूले बनाएको ‘नछुनेको विधि’ विपरीत नछुने कुरा र मान्छेलाई छोएर जानीजानी पक्कै पाप गर्नुभएको थिएन । यो पाप कसरी भयो ? पाप गरेको थिएन भने गर्दै नगरेको पाप पखाल्न किन व्रत बस्न लगायौ ?

अनि; यदि रजस्वला (नछुने) हुनु नै पाप हो भने तिम्री आमा रजस्वला नभएको भए तिमी हुन्थ्यौ र यो पाप र धर्मको भ्रमयुक्त नियम बसाउन ? अनि कसरी यो पाप भयो ?  यो त ईश्वरले दिएको वरदान हो !

अर्को प्रश्न: म र मेरी छोरीजस्ता रजस्वलालाई ‘नछुने’ भन्न नरुचाउने, शब्दप्रति नै घोर असहमति/आपत्ति हुने र यो पाप होइन भन्नेमा विश्वास गर्नेहरूले पनि किन व्रत बस्नु ?

यी दुई प्रश्नबाट ‘पञ्चमी व्रतको औचित्यलाई दुईतिरबाट निचोरेर हेर्दा पञ्चमी व्रत किन बस्नु ? भन्ने मूल प्रश्न जन्मिन्छ ।

महिलाहरू बालिग भएको, गर्भधारण गर्न योग्य भएको, संसारका छलछाम, कुदृष्टि र गलत संस्कार बुझ्न सक्ने भएको, सृजनाको अनुपम शक्ति प्राप्त भएको खुशीयालीमा उत्सव मनाउने पर्वको रूपमा यसलाई मान्ने हो भने व्रत बस्न र बसाउन म तयार छु । पञ्चमी व्रत तीजको व्रत जस्तो कठोर पनि छैन र उत्सवको रूपमा मनाउने भएपछि ती कर्मकाण्डी बाहुनले लगाएका सबै झन्झटिला नियमहरू छोडिदिएर आफ्ना अनुकूलका नियम बनाई उत्सव मनाउने पर्वको रूपमा विकास गर्नुपर्छ ।

यस पर्वमा बाबुआमाले छोरीको सृजनाशक्ति जागृत भएको हर्षमा उत्सव मनाउन् । छोरीले आफैं आफू बालिग भएको, दुनियाँको छलछाम बुझ्न र आफूजस्तै अर्को मानव आफूले चाहँदा विकास गर्नसक्ने भएको तथा जीवनको विज्ञान बुझ्न तयार भएकोमा उत्सव मनाउन् । आफन्त, साथीभाई सबैले उनको र उनको परिवारको खुशीमा खुशी थप्न, बाँड्न र समग्र समाजको सृजना शक्तिको प्रतीकलाई सम्मान गरेर उत्सव मनाउन् । यसले गर्दा समाजमा महिलाको इज्जत गर्ने संस्कार बन्न सक्छ, किशोरीहरूमा आत्मविश्वास र आँट बढ्छ, पुरुषहरूमा हिंसाजन्य कर्म गर्ने आँट कम हुन्छ । यसले हाम्रो चाडपर्वप्रति विश्वास र सम्मान बढाउँछ ।

संस्कार र धर्मका नाममा परम्परादेखि जे चलिआयो त्यही अनुसरण गर्दै जाने हो भने त सती प्रथा, दास प्रथा पनि अहिलेसम्म चलि नै रहेका हुन्थे र युग-युगसम्म चलिरहन्थे ! परापूर्वकालदेखिका नियमप्रति प्रश्न कसैले नउठाउने हो भने जातीय, लैंगिक विभेद सदियौंसम्म चलिरहने थियो ।

हाम्रा सबै चाडपर्वमा कर्मकाण्डी तथाकथित बाहुनहरूले बसाएको तर्कहीन, विभेदकारी र निकृष्ट संस्कार हुबहु अनुसरण गर्न कर गर्दा यस्ता सांस्कृतिक र आध्यात्मिक महत्त्व बोकेका चाडपर्वहरूमा अबका पुस्ताको वितृष्णा जन्मिने खतरा रहन्छ । तसर्थ यस्ता मानव सभ्यता र मानव जीवनलाई असहज पार्ने गलत संस्कारलाई वैज्ञानिक र आध्यात्मिक तर्कहरूमार्फत परिमार्जन गर्न जरुरी छ।अबका पुस्ताले यस्ता संस्कार, धर्म र संस्कृतिका नाममा रहेका कुसंस्कारहरूप्रति प्रश्न उठाउन सक्नुपर्छ र हामीले सुधारको प्रयास हामीबाटै गर्नुपर्छ ।

मानव जीवनको वृहत्तर हित हुने किसिमका चालचलन, रीतिरिवाज र परम्परा बसाल्न हाम्रा चाडपर्वलाई बढी वैज्ञानिक र सहज बनाउँदै अबका पुस्ताको हाम्रा चाडपर्व र संस्कृतिप्रति सम्मान जन्माएर मात्र हामी सुखी र समृद्ध हुन सक्छौं । संस्कार र धर्मका नाममा परम्परादेखि जे चलिआयो त्यही अनुसरण गर्दै जाने हो भने त सती प्रथा, दास प्रथा पनि अहिलेसम्म चलि नै रहेका हुन्थे र युग-युगसम्म चलिरहन्थे ! कर्मकाण्डी ब्राह्मणका नियमप्रति प्रश्न कसैले नउठाउने हो भने जातीय, लैंगिक विभेद सदियौंसम्म चलिरहने थियो । बडादशैं पर्वको महासप्तमी र महाअष्टमीमा पञ्चबलि चढाउनुको अर्थ (लक्षणा र व्यञ्जना) व्यक्तिभित्र रहेका काम, क्रोध, लोभ, मोह र इर्ष्या जस्ता आफ्नै आन्तरिक शत्रुहरूको बलि चढाउनुपर्नेमा कर्मकाण्डी ब्राह्मणको अल्पज्ञानले लगाएको अविधा अर्थ अर्थात शाब्दिक अर्थले पशु बलि गर्ने गलत प्रचलन बस्यो ।

त्यसैले हाम्रा पर्वहरूलाई कसरी बढी वैज्ञानिक र आध्यात्मिक अर्थहरूसहितका उत्कृष्ट पर्व बनाउने भन्ने चिन्तन, बहस गर्ने गरौं । ती चाडपर्वमा रहेका लक्षणा र व्यञ्जना अर्थ केलाउने, बुझ्ने र बुझाउने गरौं । आउँदै गरेको महिलाहरूको महान् चाड तीज र ऋषिपञ्चमीको सबैलाई शुभकामना !

अनिता निरौला

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

मंगलबार, २२ भदौ, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    ज्योतिषीय नजरमा नयाँ वर्ष २०८१

    ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...

  • नेपालमत

    नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा

    नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...

  • नेपालमत

    आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

    १९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...

  • नेपालमत

    'प्राचीन नेपालले इतिहासको नयाँ र शानदार अध्याय लेख्‍नै बाँकी छ'

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...

  • नेपालमत

    एफएम रेडियोमा कानुनको घनचक्कर

    नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved